Tuesday, July 26, 2016

मछिन्द्रनाथको रथ जावलाखेलमा (फोटो फिचर)


११ श्रावण, २०७३ /  वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ शुभ साइतमा मंगलबार ललितपुरको लगनखेलबाट तानेर जावलाखेल ल्याइएको छ। नेपालको सबैभन्दा लामो जात्राको रुपमा परिचित मछिन्द्रनाथको रथ जेठ ६ मा लगनखेल पुर्याइएको थियो।

रथ जावलाखेल लगेको चौथो दिन राष्ट्रप्रमुखलाई भोटो देखाएपछि मात्र जात्रा समाप्त हुने परम्परा छ। यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो। करिब १६ सय वर्ष अघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ।

नेवारी परम्परा तथा बाजागाजाका साथ मंगलबार दिउँसो साढे ४ बजे लगनखेलबाट रथ तान्दै करिब साढे ६ बजे जावलाखेल पुर्याइएको गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले जानकारी दिए।

वि.सं. ५४६ देखि जात्रा शुरु भएको किंवदन्ती छ । यो जात्रालाई सहकालका देवताका रुपमा हिन्दू धर्मवलम्बी र बौद्ध धर्मालम्बीले पनि मनाउँछन् । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालिन राजा नरेन्द्र देवले यो जात्राको सुरुआत गराएको पौराणिक कथन छ । हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ पञ्चबुद्ध मध्येका चौथो बुद्धका रूपमा पूजा गर्ने गर्छन् ।

ललितपुरको पुल्चोकमा निर्माण गरिएको रथ अक्षय तृतियादेखि शुभ साइत पारी मच्छिन्द्रनाथको रथारोहण गरिन्छ । भगवान मछिन्द्रनाथलाई रथमा विराजमान गराइसकेपछि विधिवत रुपमा रथ यात्रा शुरु हुन्छ। रथ तान्नु अगाडी गुरुज्यूको पल्टनबाट सलामी समेत दिइन्छ । बाजागाजासहित तान्न थालिएको रथ यात्रा पहिलो दिन ललितपुरको पुल्चोकबाट गाःबहालसम्म पुर्याइन्छ। दोस्रो दिन सुन्धारा पुर्याइन्छ भने सुन्धारा पुर्याएको एक दिन रथ सोही स्थानमा राखिन्छ। त्यहाँ भएका स्थानीयहरुले सोही दिन मच्छिन्द्रनाथको पूजा अर्चना गर्छन्।
 त्यसपछि ललितपुरको थटीटोलमा रथ पुर्याएर नरिवल जात्रा निकाल्ने परम्परा छ । जहाँबाट जावलाखेल लैजान ज्योतिषहरुले साइत हेर्दछन्। थटीटोलबाट जावलाखेल लैजाँदा पश्चिम गमन हुने भएकाले साइत हेर्ने परम्परा चलेको गुठी संस्थान प्रमुख आचार्यले जानकारी दिए।

यात्रा जावलाखेलमा पुगेको चौथो दिनमा भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्याउनुपर्ने परम्परा रहिआएको छ।  छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ । यसरी रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राख्ने गरिन्छ।






सरकार परिवर्तन आन्तरिक मामिला - चीन


११ श्रावण, २०७३ /  उत्तरको छिमेकी मुलुक चीनले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई आन्तरिक मामिलाको रुपमा विश्लेषण गरेको छ ।
प्रधानमन्त्री केपी ओलीले राजिनामा घोषणा गरेको पर्सिपल्ट चीनको विदेश मन्त्रालयले नेपालको राजनीतिक घटनाक्रमबारे प्रतिक्रिया दिंदै भनेको छ– ‘यो नेपालको नितान्त आन्तरिक मामिला हो ।’ छिमेकी चीनको विदेश मन्त्रालयका प्रवक्ता लु खाङले नियमित पत्रकार सम्मेलनमा आएको जिज्ञासा मत्थर गर्दै भने, ‘नेपालको राजनीतिक स्थितिको परिवर्तनमा हामीले ध्यान दिएका छौं । छिमेकी र साथीको रुपमा रहेको चीनले नेपालका विभिन्न पार्टीले राष्ट्रिय र जातीय हितलाई प्राथमिकतामा राख्दै स्थिरता र विकासका लागि कोसिस गर्ने हाम्रो आशा छ ।’ उनले नयाँ सरकारले मुलुकको हितलाई सर्वोपरी ठानेर काम गर्नेमा समेत चीन विश्वस्त रहेको बताए ।

चिनियाँ विदेशमन्त्रालयको वेवसाइटमा चिनियाँ भाषामा राखिएको नियमित पत्रकार सम्मेलनको पूर्ण अंशमा एक जिज्ञासा नेपालको पनि थियो । प्रधानमन्त्री ओलीको राजिनामालाई चीनले कसरी लिएको छ भन्ने जिज्ञासामा विदेश मन्त्रालयका प्रवक्ता लुले भने, ‘चीन र नेपाल एकै पक्षमा रहेको र अन्तराष्ट्रिय तथा आ–आफ्नो आन्तरिक स्थितिको जसरी परिवर्तन भए पनि चीन–नेपाल मैत्रीपूर्ण र आपसी सहकार्य तथा सहयोग रणनीतिमा परिवर्तन हुदैन ।’

 सरकारमा जाने तयारीमा रहेका दलका शिर्ष नेताले समेत सत्ता परिवर्तनले चीन नेपाल सम्वन्धमा कुनै असर नपर्ने बताइरहेका बेला चिनिया सरकारबाट समेत चीनको समान धारणा आएको हो । नेपालमा सरकार परिवर्तनको गृहकार्य भइरहदा चीनको विभिन्न तहका नेता तथा उच्च अधिकारीहरु काठमाडौंमा आएर राजनीतिक भेटघाट समेत गरिरहेका थिए । चीनका नेताहरुले पछिल्लो समय नेपाली कांग्रेससँगको सम्वन्धलाई बढि नै जोड दिइरहेका छन् । काँग्रेस र चिनिया कम्युनिष्ट पार्टि बीचको सम्वन्धलाई उचाईमा लैजान दुवै पक्षले महत्व दिइरहेको अवस्थामा सरकार परिवर्तनको प्रक्रिया अघि बढेको हो ।   

अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा संसदमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा भएका चीनसँग भएका सम्झौता कार्यावन्यनमा आगामी सरकार गम्भिर भएर अघि बढ्ने बताउदै दुवै छिमेकीसंगको सम्वन्धलाई महत्व दिएर अघि बढ्ने बताएका थिए । माओवादी केन्द्रका अध्यक्ष तथा आगामी प्रधानमन्त्रीको दावेदार पुष्पकमल दाहालले पनि चीनसँगको सम्वन्धमा कुनै असर नपर्ने र दुवै छिमेकीलाई बराबर महत्व दिएर अघि बढ्ने बताएका थिए ।

आगामी असोजको अन्त्यसम्म चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण हुने गरि तयारीहरु भइरहेको छ । चिनियाँ प्रवक्ताको पछिल्लो सकारात्मक धारणाले नेपालमा सरकार परिवर्तन भए पनि चिनियाँ राष्टपतिको भ्रमण नरोकिने संकेत गरेको छ । परराष्ट्र मन्त्रालयका अधिकारीहरु ले पनि चीनको तर्फबाट नेपालमा उच्चस्तरको भ्रमण हुनेमा द्विविधा नभएको दावी गरे । नयाँ सरकार बनेपछि भ्रमणको तिथि तलमाथि होला सन् २०१६ को अन्त्यसम्ममा चीनबाट उच्चस्तरको भ्रमण नेपाल तर्फ हुनेछ, ति अधिकारीले बताए ।



बाढीमा फसेकाहरुको हेलिकप्टरबाट उद्दार [फोटो फिचर]

११ श्रावण, २०७३ /  राप्ती नदीमा आएको भिषण बाढीमा फसेका होलिया चौफेरी गाउँका चार सय बढी सर्वसाधारणहरुलाई सेनाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । डुबानमा परेका फत्तेपुर क्षेत्रका एक सय बढी सर्वसाधारणहरु बिस्थापित भएका छन् । उद्दार गरिएका चौफेरीका स्थानीयलाई होलियाको सुरक्षित स्थानमा राखिएको छ । फत्तेपुरका बिस्थापितरहरु पनि सुरक्षित स्थानमा सरेका छन् ।

















कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

११ श्रावण, २०७३ /  काठमाडौं– रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखा नेपालसँगको समन्वयमा कोरियाको मानव संसाधन विकास विभागले रोजगार अनुमति प्रणालीअन्गर्तत लिएको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
सन् २०१७ मा दक्षिण कोरियाका लागि आवश्यक नेपाली कामदार लैजान गरिएको उक्त परीक्षाको नतिजा एचआरडी कोरियाले मंगलबार सार्वजनिक गरेको हो। नतिजाअनुसार कुल ३ हजार ५ सय १७ जना भाषा परीषामा उत्तीर्ण भएका छन्। यस मध्ये २ हजार १ सय ४० जना कृषि तथा पशुपालनतर्फ र १ हजार ३ सय ७७ जना उत्पादनमूलक उद्योगतर्फ काम गर्न चाहनेहरु रहेको इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले बताए। यस मध्ये ३ सय ३४ महिला र ३ हजार १ सय ८३ जना पुरुष रहेका छन्।

परीक्षाको नतिजा  http://www.dofe.gov.np  मा हेर्न सकिने छ।

यस नतिजामा उत्तीर्ण भएकाहरुले कामका लागि कोरिया जान स्वास्थ्य परीक्षणमा राम्रो नतिजा आउनु पर्ने हुन्छ। स्वास्थ्य परीक्षणमा सफल हुनेहरुले रोजगार आवेदन फारम भर्न पाउँछन् । त्यस्तै, आफूसँग भएको सीपको परीक्षण गराउन चाहनेले परीक्षण पनि गराउन सक्ने व्यवस्था रहेको उनले बताए। सन् २०१६ का लागि भाषा परीक्षा उत्तीर्ण गरेका ८ हजार ४ सय ९० मध्ये ५ हजार ७ सय जना कोरिया पुगिसकेको उनले जानकारी दिए।


राष्ट्रपतिद्वारा जारी 'बाधा अड्काउ फुकाउ' आदेश स‌ंसदद्वारा अनुमाेदन

११ श्रावण,२०७३ /  राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा जारी गरेको बाधा अड्काउ फुकाउ आदेश मंगलबार व्यवस्थापिका संसदले बहुमतले पारित गरेको छ ।
राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा जारी गरेको बाधा अड्काउ फुकाउ आदेश सभामुख औनसरी घर्तीमगरले व्यवस्थापिका संसदमा प्रस्ताव गरेकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राजिनामा दिएसँगै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न ओलीले राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाउ आदेश जारी गर्न सिफारिस गरेका थिए ।

संसदको पहिलो बैठकको विशेष समयमा बोल्दै सांसदहरुले देशका विभिन्न भागमा आएको बाढी पहिरोका कारण कष्टकर समय गुजारी रहेका मानिसहरुका लागि राहतको कार्यक्रम तत्काल ल्याउन सरकारलाई आग्रह गरेका छ । यस्तै सांसदहरुले विपद् व्यवस्थापनका लागि यथेष्ठ तयारी नगरेकोमा पनि सरकारको आलोचना समेत गरेका थिए ।


बेवारिसे झोलामा १० लाख नगद र पेस्तोल

११ श्रावण ,२०७३ /  दार्चुलाको घुसा गाविस वडा नम्बर ८ धनबोरा ठाउमा मंगलबार एक थान पेस्तोल सहित वेवारिसे सामान फेला परेको छ । खण्डेश्वरीका स्थानीय कमल रोकायले वेवारिसे अवस्थामा २ झोला देखेपछि प्रहरीलाई खबर गरेको हो । 
खण्डेश्वरी प्रहरी चौकीले उक्त जानकारी पाएपछि वेवारिसे अवस्थामा झोला रहेको स्थानमा असई कैलाश दत्त भट्ट नेतृत्वमा प्रहरी टोली पुगी वेवारिसे अवस्थामा भेटिएका २ झोलामा १ थान अवैध पेस्तोल सहित ९ लाख ९९ हजार नगद रुपैया र अन्य सामान फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पेस्तोलमा लाग्ने ५ राउन गोली, १ थान चक्कु, एक तोला यार्सागुम्बा, १ किलोग्राम सतुवा, यार्सागुम्बा जोक्ने तराजु, ४ थान ढक, सिक्का ४ थान, क्याल्कुलेटर, पेन, छाता, एक पोका औषधी र यार्सागुम्बा संकलन परिचय पत्र समेत फेला परेको छ । 

आफ्गानिस्तानमा सुरक्षा कारवाहीमा आईएस उच्च नेतासहित १२० मारिए

११ श्रावण, २०७३ /  अफ्गानिस्तानमा सुरक्षाफौजको कारावाहीमा इस्लामिक अतिवादी संगठन आईएसका उच्च नेतासहित १ सय २० लडाकुको मृत्यु भएको छ । 
अफ्गानिस्तानको नान्गार्हारमा भएको कार्बाहिका क्रममा आईएसको अफ्गानिस्तान–पाकिस्तान क्षेत्र हेर्ने प्रमुख साद ईमारतीसहित १ सय २० जना मारिएका हुन् । अफ्गानिस्तान र पाकिस्तानमा सक्रिय आईएसका संस्थापक मध्ये एक ईमारतीको अगुवाईमा सरकार तथा तालेवान बिद्रोही विरुद्ध थुप्रै आक्रमण भएको थियो । काबुलमा केहि दिन अघि आईएसले गराएको बम आक्रमणमा ८० जनाको मृत्यु भएपछि अफ्गान सुरक्षाफौजले कारवाही अभियान तीब्र बनाएको छ ।

अबिरल वर्षापछिको बाढी पहिरोले २६ जनाको मृत्यु

११ श्रावण, २०७३ /  अबिरल वर्षापछिको बाढी पहिरोले मुलुकका बिभिन्न स्थानमा जनधनको ठुलो क्षति पुगेको छ । बाढी पहिरोका कारण गएराति यता कम्तिमा २६ जनाको मृत्यु भएको छ । करिब १ दर्जन बेपत्ता भएका छन् । थुप्रै राजमार्ग अवरुद्ध भएका छन् । 
गएरातिदेखिको अवरिल वर्षाका कारण विभिन्न नदीमा आएको बाढी तथा पहिरोका कारण प्यूठानमा मात्र ९ जनाको मृत्यु भएको छ । त्यहा पहिरोले पुरिएर ४ जना बेपत्ता छन् । पुजा गाविस १ मा पहिरो गइ घर भत्कदा स्थानीय ४५ वर्षीय सुपारी मल्न र उनका १० वर्षीय छोरा मुकेशको मृत्यु भएको छ । प्रहरी चौकी पुजा लिवासेबाट गएको टोलीले पहिरोबाट उनीहरुको शव निकालेको जिल्ला प्रहरी प्रमुख डिएसपी रञ्जीतसिंह राठौरले जानकारी दिनुभयो । यस्तै, खबाङ ३ सुत्लाबाङमा पहिरोले पुरिएर घर भत्किदा दविले विक र उनकी श्रीमती दोवन्तीको मृत्यु भएको छ । 

उनीहरुको शव पहिरोबाट निकालिएपनि सँगै पहिरोमा परेका एक बालक भने बेपत्ता रहेको स्थानीयले बताएका छन् । पहिरोका कारण खबाङका १९ परिवार बिस्थापित भएका छन् । प्यूठानकै झिमरुक खोलाले बगाएर पाँच जनाको मृत्यु भएको छ । उनीहरुको सनाखत हुन सकेको छैन । यस्तै, लुङ–६ बाहानेमा घर भत्किदा पुरिएर स्थानीय शोभा रिजाल बेपत्ता भएकी छन् । बाहानेकै सिमलबुटामा बसन्ता केसीको घर भत्कदा डेरा गरि बस्ने २५ वर्षीय कालि परियार र  ११ वर्षीय  किरण थापा पुरीएर वेपत्ता भएका छन् । 

यस्तै विजुवारमा निर्माणाधिन प्यूठान नगरपालिका भवन नजिक एक शव खोलाले बगाएर ल्याएको छ । अन्दाजी ४५ वर्षीय पुरुषको परिचय खुलेको छैन । त्यस्तै प्यूठानकै बाग्दुला पुल नजिक झिमरुक खोला किनारमा २ बालबालिका तथा रम्दी खोला किनारमा २ महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको सनाखत भएको छैन ।  पाल्पाको गोठादी र दोभान गाविसमा पहिरोले पुरिएर ४ जनाको मृत्यु भएको छ । गोठादी ५ मा मध्यराती खसेको पहिरोले घर पुर्दा एकै परिवारका ताम बहादुर कनौजे, खगीसरा कनौजे र यशोदा कनौजेको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दोभान गाविसको झुम्सामा घर पुरिदा १६ वर्षिया अस्मि विकको मृत्यु भएको छ । झुम्सामा पहिरोका कारण घरभित्रै ३ जना पुरिएको स्थानीयलाइ उद्यृत गर्दै सहकर्मी माधव अर्यालले जनाएका छन् । पाल्पाको दोभान र अर्गली गाविसको रिडीमा १ दर्जनभन्दा वढी घर पुरिएका छन । झुम्सा पानी मिल नजिकै खसेको पहिरोले सिद्दार्थ राजमार्ग समेत अवरुद्ध भएको छ ।  यस्तै, गुल्मीका दुई स्थानमा गएको पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । ५ घर र ३ झोलुङ्गे पुल बाढीले बगाएको छ । 

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार हस्तिचौर गाविस १ मल्दीमा आज विहान गएको पहिरोले भिमबहादुर दर्जीको घर बगाउँदा उनकी ६२ वर्षिया दिदी कालिका, ४९ वर्षिया श्रीमती तुलसी र १९ वर्षिया बुहारी अस्मिताको मृत्यु भएको हो । यस्तै बिशुखर्क ९ पदमपानीमा गएको पहिरोले स्थानीय गोपाल बहादुर रानाको घर बगाउँदा उनका ९ वर्षिय छोरा सुजन र ७ वर्षिया छोरी सिमानाको मृत्यु भएको छ ।  यस्तै, मकवानपुरको भिमफेदी ५ सोलाभञ्याङमा पहिरो खस्दा एकै परिबारका ३ जनाको मृत्यु भएको छ । पहिरोले २७ बर्षिय तेजबहादुर रुम्बा, उनकी पत्नी पार्बती र ६ बर्षिय छोरा बिकासको मृत्यु भएको प्रहरीले जनाएको छ ।  खोलाले बगाएर तथा पानीमा डुबेर उदयपुरमा दुई जनाको मृत्यु भएको छ । 

उदयपुरको रामपुर २ स्थित गुहे खोलाले बगाउँदा स्थानीय कालीमाया राईको मृत्यु भएको हो । यसैगरी तपेश्वरी १ का मानबहादुर प्रधानका १३ वर्षीय छोरा ऋतु प्रधानको घरनजिकै जमेको खोल्साको पानीमा डुबेर मृत्यु भएको छ । मोरङको टंकीसिनवारी ३ का १८ वर्षीय कृष्ण खड्काको पौडी खेल्ने क्रममा सिंघिया खोलामा डुबेर मृत्यु भएको छ । बाग्लुङको राजकुत ७ मा बर्षाले घर भत्किदा ८ बर्षीया बालिका दुही तामाङको मृत्यु भएको छ । उनकी आमा शुशिला गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।  

अर्घाखाँचीको ठाडा गाविस–५ मैदानमा पहिरोले घर पुरि‘दा १७ वर्षीय शारदा घर्तीको मृत्यु भएको छ । उनकी १६ वर्षीय बहिनी बालकुमारी घर्ती गंभिर घाइते भएकी छिन ।  लगातारको बर्षापछि खसेको पहिरोले रामेछापको भुजि गाविस–२ मा ३ घर पुरिएका छन्  । पहिरोका कारण दर्जन भन्दा बढी घर जोखिममा परेका छन् । भूकम्पले कमजोर भएका पहाडबाट खसेको पहिरोले रामेछापको दुरागाउं, भुजी , पुरानोगाँउ र कुभुुकास्थली गाविस पहिरोको उच्च जोखिममा परेको स्थानिय प्रशासनले जनाएको छ । पहिरोले बाटो समेत अवरुद्ध भएपछि घटनास्थलमा उद्धारका लागि जान समस्या परेको छ ।  

कास्कीको हेम्जामा पहिरो खसेपछि पोखरा बागलुङ सडकखण्ड गएरातिदेखि अवरुद्ध बनेको छ । यस्तै सेती नदीमा आएको बाढीका कारण पोखरा १ कसेरीका ३० र रामघटका १० परिवार विस्थापित भएका छन् । सेतीनदी किनारका सुकुम्वासी वस्तीका बासिन्दा भने राती नै सुरक्षित स्थानमा सरेको सहकर्मी लालप्रसाद शर्माले जनाएका छन् ।  यस्तै कालिगण्डकी नदीमा आएको बाढीका कारण स्याङजाको सेतीवेडीका १५ घर डुवानमा परेका छन् । बाढीका कारण १ सय ४० मेगावाटको कालिगण्डकी जलविद्युत आयोजना पनि जोखिममा परेको छ । बुटवलको तिनाउ नदीमा आएको बाढीले कम्तीमा १५ घर बगाएको छ । २ सय बढी घर डुवानमा परेका छन् । बाढीले बुटलस्थित तिनाउ नदिको झोलुंगे पुल पनि बगाएको छ । 

 पहिरोका कारण सुर्खेत नेपालगञ्जको रत्न राजमार्ग अवरुद्ध भएको छ । सडक खण्डका बिभिन्न स्थानमा पहिरो खसेपछि दाङ तुलसीपुर सडक खण्डपनि पुर्णरुपमा अबरुद्ध भएको हाम्रा सहकर्मीले जनाएका छन् । बर्दिया गुलरियास्थित रानीपुर नगरपालिकामा बाढीले १ दर्जन वढी घर डुवानमा परेका छन । दाङका बिभिन्न खोलामा बाढी आएपछि घोराही–तुलसीपुर सडक खण्ड अबरुद्ध भएको छ । 

सुनसरीका बिभिन्न गाविसका सयौ घर डुवानमा परेका छन्  यस्तै स्थानीय खोलामा पानीको बहाव बढेसंगै सडक छिरेको पानीका कारण  लमजुङ सदरमुकाम बेसीसहरदेखि तनहुँको डुम्रेसम्मको मुख्य सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध भएपछि आज बिहानैदेखि सवारी साधन संचालन हुन सकेका छैनन् ।

सौर्य उर्जाबाट सञ्चालित पहिलो विमान सफल अवतरण

११ श्रावण, २०७३ /  सौर्य उर्जाबाट सञ्चालित पहिलो विमानले पृथ्वीको परिक्रमा पुरा गरेको छ । गत बर्षको मार्च ९ तारिख युनाइटेड अरब इमिरेट्सको अबुधाबीबाट आफ्नो उडान थालेको विमानले पुनस् अबुधाबीमा अवरतण गरेपछि यात्रा पुरा गरेको हो । 

पृथ्वीको परिक्रमाका क्रममा विमानले ४ वटा महादेश, ३ वटा समुन्द्र र २ वटा महासागर गरी ३५ हजार किलोमिटरको दुरी पार गरेको छ । कारको जत्रो तौल भएको सो विमानमा बोइङ ठद्धठ को पंखा जडान गरिएको थियो । विमानमा १७ हजार सौर्य ब्याट्रि प्रयोग गरिएको थियो ।   

Sunday, July 24, 2016

डा. केसी र सरकारबीच सम्झौता, आज अन्सन तोड्ने

१० श्रावण,२०७३,काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोगसहित चारबुँदे माग राखेर १६ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसी र सरकारबीच आइतबार सम्झौता भएको छ।
आइतबार राति सम्झौतापत्रमा हस्ताक्षरपछि डा. गोविन्द केसी। 
लामो समयदेखि विवादमा रहेको मनमोहन मेडिकल कलेज सरकारले किन्ने सम्झौता गरेका दुवै पक्ष अख्तियारको विषय संसद्मा प्रवेश गरिसकेको भन्दै अन्य महत्वपूर्णमा विषयमा सहमतिमा पुगेका हुन्। केसीले आइतबार बेलुकी १० बजेर २० मिनेटमा टिचिङ अस्पतालको अनशनकक्षमा सम्झौतापत्रमा हस्ताक्षर गरे। सरकारका तर्फबाट वार्ता टोली संयोजक डा. सेनेन्द्रराज उप्रेतीसहित निमित्त शिक्षा सचिव लवदेव अवस्थी र प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले हस्ताक्षर गरेका छन्।
सम्झौताबारे समर्थक र विद्यार्थीलार्ई व्याख्या गरेर सोमबार मध्याह्न अनशन तोड्ने केसीको तयारी छ। त्यसअघि 'सोलिडारिटी फर डा. केसी' अभियानअन्तर्गत अख्तियार कार्यालयअगाडि एक घन्टा प्रदर्शन गर्ने कार्यक्रम छ।
 
के–के छ सम्झौतामा
 
– प्रस्तावित मनमोहन मेडिकल कलेजको सम्पत्ति वीर अस्पतालका लागि किन्ने
 
– एक प्रदेशमा एक मेडिकल कलेज खोल्ने
 
– महाभियोग विषय संसद्मा प्रवेश गरिसकेकाले सरकारले केही गर्नुनपर्ने
 
– आगामी दस वर्षसम्म उपत्यकामा नयाँ सम्बन्धन नदिने र मनशायपत्र नवीकरण नगर्ने
 
– चिकित्सा शिक्षा विधेयकमा छुटेका विषय थप्ने
 
– शुल्क  र अधिकतम सिट संख्यासम्बन्धी पुरानो सम्झौता कार्यान्वयन गर्ने
 
– यस वर्षदेखि नै केन्द्रीय प्रवेश परीक्षा गर्ने जिम्मा चिकित्सा शिक्षा आयोगलाई दिने
सम्झौताअघि दुवैतर्फका वार्ताटोली र मध्यस्थकर्ताबीच विभिन्न चरणमा छलफल भएको थियो। दुवै पक्षबीच सहमति जुटेपछि सरकारी वार्ता टोलीप्रमुख उप्रेतीले सम्झौताको प्रति वाचन गर्दै केसीलाई अनशन तोड्न आग्रह गरेका थिए। चिकित्सकले केसीलाई स्वास्थ्य निकै नाजुक भइसकेकाले राति नै जुस खाएर आइसियु सर्न आग्रह गरे पनि उनले समर्थक र विद्यार्थीसँग सल्लाह लिएर उनीहरूकै उपस्थितिमा सोमबार बिहान अनशन तोड्ने इच्छा दर्साए।
सम्झौतापछि केसीले सरकारसँग केही बुँदामा सम्झौता भएको र महत्वपूर्ण मागमा लडाइँ जारी रहेको बताए। 'अहिले भोकै बसेर लड्ने लडाइँको सम्झौता भयो, खाएर गरिने लडाइँ जारी छ,' उनले नागरिकसँग भने, 'अब नयाँ चरणमा प्रवेश गर्छ।' केसीले  चिकित्सा क्षेत्र सुधारमा मधेस, हिमाल, पहाड डुलेर युवालाई जागरूक गराउने र नेपालमा सुशासन र बलियो लोकतन्त्र स्थापित गरिछाड्ने अठोट दर्साए।
लामो प्रयासपछि चिकित्सा शिक्षा सुधारमा अर्को चरणको उपलब्धि हुने गरी नयाँ सम्झौता भएको डा.केसीका तर्फबाट वार्ता टोली संयोजक डा. रञ्जन सापकोटाले बताए।
सम्झौताको तेस्रो बुँदामा सरकारले नेपाल स्वास्थ्यसेवा सहकारी संस्था लिमिटेडद्वारा प्रस्तावित स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत स्वयम्भूस्थित अस्पताल भवन र दहचोकस्थित बेसिक साइन्स भवन मनमोहन अधिकारीका नाममा सञ्चालन हुने गरी विज्ञ टोलीको मूल्यांकनका आधारमा कानुनसम्मत तरिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका लागि खरिद गर्ने उल्लेख  छ।
संसदीय कार्यक्षेत्रभित्र पर्ने अख्तियारसम्बन्धी मागको विषय संसद प्रवेश गरिसकेकाले सरकारले केही गर्न नपर्ने सम्झौतामा उल्लेख छ।
त्यसै गरी प्रस्तावित चिकित्सा शिक्षा विधेयकमा विभिन्न सुधारसम्बन्धी बुँदा थप्ने सहमति भएको छ। यसअनुसार सरकारी मेडिकल कलेजमा चिकित्साशास्त्र विषय अध्ययनका लािग कम्तीमा पचास प्रतिशत सिट संख्या निःशुल्क गर्ने र त्यसलाई बढाउँदै ७५ प्रतिशतसम्म पुर्‍याउने सम्झौता छ।
सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउने विषय विधेयकमा समावेश गरिने भएको छ। विगत सम्झौताको भवनाअनुसार काठमाडौं उपत्यकाभित्र दस वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने, जारी भइसकेका मनशायपत्र नवीकरण नगर्ने सहमति जुटेको छ। नवीकरणका हकमा सरकार र डा. केसीबीच २०७२ साल भदौ १९ मा भएको सम्झौतालाई आधार बनाइएको छ।
त्यसैगरी सम्झौतामा चिकित्सा शिक्षामा शुल्क र सिट निर्धारणको आधार चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारभित्र राखेर आयोगले निर्धारण गरेबमोजिम हुने उल्लेख छ। यस्तो निर्धारण गर्दा यसअघि भएका सम्झौतासमेत नियमावलीमा समेट्ने सहमति छ। यसअघि एमबिबिएस शुल्क प्रत्येक दुई वर्षमा पुनरवलोकन हुने गरी ३५ लाख र सिट संख्या अधिकतम १ सयमा झार्ने सहमति थियो।
त्यसै गरी आगामी शैक्षिक सत्रदेखि नै केन्द्रीय प्रवेश परीक्षा लिने व्यवस्था गर्नसमेत सरकार सहमत भएको छ। यसअनुसार सबै विश्वविद्यालय र स्वास्थ्यविज्ञान प्रतिष्ठानमा रहेको कानुनी व्यवस्था सम्बोधन गरी केन्द्रीय प्रवेशपरीक्षा लिने व्यवस्थासम्बन्धी विषय प्रस्तावित चिकित्सा शिक्षा विधेयकमा समावेश गरेर पारित गरिनेछ। प्रस्तावित विधेयकमा परीक्षा सञ्चालन निर्देशनालयको नियमावली तर्जुमा गर्दा हालका परीक्षा लिने सबै विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञतालाई उपयोग गर्ने निर्णयसमेत भएको छ।
नयाँ मागसँगै यसअघि भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता सरकारी टोलीले देखाएको छ जसअनुसार चिकित्सा शास्त्र अध्ययन संस्थानमा रिक्त डिन तत्काल नियुक्तिका लागि त्रिवि उपकुलपतिलाई निर्देशन दिइने भएको छ।
यसअघि प्रतिबद्धता जनाइए पनि कार्यान्वयन हुन नसकेको मेरिटका आधारमा भर्ना र तोकिएको मापदण्डअनुसारको शुल्क लिने व्यवस्था गर्न विगतमा भएको परिपत्रको स्मरण गराउँदै शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयले सम्बद्ध विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिने सम्झौता भएको छ। यसको प्रगति समयसमयमा सम्बन्धित मन्त्रालयलाई उपलब्ध गराउने पत्रमा उल्लेख छ।
त्यसै गरी सरकारी शिक्षण संस्थाहरूमा निःशुल्क स्नातकोत्तर गर्ने चिकित्सकका लागि अध्ययनपछि अनिवार्य करार अवधिसमेत दुई वर्ष मात्रै हुने गरी प्रस्तावित विधेयकमा राख्न दुवै पक्ष सहमत छन्।
केसीले उठाएका अनियमितता र भ्रष्टाचारमा मुछिएका आइओएम र त्रिविका पूर्व पदाधिकारीमाथि कारबाहीका लागि शिक्षा मन्त्रालयबाट सम्बन्धित निकायमा लेखिपठाइसकिएको सम्झौतापत्रमा जनाइएको छ।
केसीले १५ दिनअघि चारबुँदे माग राखेर अनशन थाले पनि सरकारले १२औं दिन मात्रै वार्ता टोली बनाएको थियो। सुरुमा सरकारी टोली मनमोहन विधेयक फिर्ता र अख्तियारप्रमुखलाई महाभियोगको मागमा केही गर्न नसकिने अडानमा थियो। केसीले आफूले पटकपटकका अनशनमा उपत्यकाभित्र थप मेडिकल कलेज वा प्रतिष्ठान खोल्न नदिने गरी सम्झौता नै गरिसकेको भन्दै कुनै हालतमा नछाड्ने अडान लिएका थिए।
सरकारका तर्फबाट वार्तामा सहभागी सचिवहरूसमेत मनमोहन विधेयकको विषय संसद्मा विचाराधीन रहेको भन्दै छलफलबाटै पन्छिएका थिए। यसमा दुवै पक्ष टसमस नभएपछि केसी र एमालेनिकट केही चिकित्सकको पहलमा मध्यमार्गी प्रस्तावका रूपमा मनमोहनको नाम नहराउने र लगानीकर्ताको लगानीसमेत फिर्ता हुने गरी पुनः छलफल भएको थियो। त्यसमा पनि सरकारी वार्ता टोली सदस्य सचिव अधिकारी पूरै नकारात्मक रूपमा प्रस्तुत भएका थिए।
तीन दिनदेखि विभिन्न चरणमा भएका वार्तापछि मनमोहन प्रतिष्ठानसम्बन्धी विधेयकमा अड्किएपछि पूर्व मुख्य सचिव लीलामणि पौडेलको पहलमा राजनीतिक र प्रशासनिक नेतृत्वसँग सभावित विकल्पबारे छलफल भएको थियो। त्यस क्रममा अर्थमन्त्री विष्णु पौडेलले सरकारले पैसा दिने प्रतिबद्धता गर्दै सरकारी वार्ताटोलीलाई सहमतिको बाटो खोज्न निर्देशन दिएपछि न्याम्सले किन्ने गरी प्रस्ताव अघि बढेको थियो।
स्वास्थ्य मन्त्रालयमा सम्झौताको मस्यौदा बनेपछि त्रिवि पूर्वउपकुलपति केदारभक्त माथेमा, वरिष्ठ चिकित्सक रमेशकान्त अधिकारी, पूर्व मुख्य सचिव लीलामणि पौडेल, चिकित्सक संघ अध्यक्ष डा.अञ्जनीकुमार झालगायतले केसीलाई मनाउने प्रयास गरेका थिए। सुरुमा केसीले मस्यौदामा परिमार्जन खोजेपछि सरकारी टोलीले सम्बन्धन र मनशायपत्र नवीकरणबाट पछि हट्ने संकेत गरेको थियो। तर, केसीका तर्फबाट वार्तामा बसेका चिकित्सक र विज्ञले कार्यान्वयनको सम्भावनाबारे बुझाएपछि सहमति भएको थियो।
सरकारसँग भएका सम्झौता कार्यान्वयनका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्र्रेस र माओवादी केन्द्रका नेताहरूलाई समेत सहमत गराइएको छ। उनीहरूले सम्झौता कार्यान्वयनमा कसर नराख्ने अनौपचारिक प्रतिबद्धता जनाएपछि केसी आश्वस्त भएका हुन्।
चिकित्सा शिक्षा ऐनको मस्यौदामा माथेमा प्रतिवेदनको भावनाअनुसार छुटेका विषय थप्नुपर्ने, अख्तियार प्रमुखलाई महाभियोग लगाउनुपर्र्ने, संसद्मा विचाराधीन विधेयक फिर्ता लिनुपर्नेलगायत माग राखेर केसीले असार २६ गतेदेखि अनशन थालेका थिए।
अख्तियार प्रमुखको विषय जोडिएलगत्तै केसीलाई सुरुमा अनशन बस्नै नदिन अवरोध गरिएको थियोे। अनशनपछि पनि उपचारबाटै वञ्चित गर्न सरकारी संयन्त्र प्रयोग गरिएको थियो। मानवअधिकारकर्मी र केही सभासद्ले सुरु गरेको समर्थन आमनागरिक तहमा पुगेपछि सरकारले उपचार प्रबन्ध गरेको थियो। त्यसलगतै सभासद् गगन थापालगायतले संसद्मा सार्वजनिक महत्वको प्रस्तावसमेत दर्ता गराएपछि सरकारलाई दबाब बढ्दै गएको थियो।

प्रधानमन्त्रीको राजीनामा स्वीकृत, सरकार कामचलाउ

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले  राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दिएको राजीनामा स्वीकृत भएको छ। संविधानको धारा २९८ उपधारा ८ को खण्ड क बमोजिम ओलीले दिएको लिखित राजीनामा राष्ट्रपतिले स्वीकृत गरेकी हुन्।
 
संविधानको धारा १९८ को उपधारा १० बमोजिम अर्को मन्त्रिपरिषद गठन नहुञ्जेलसम्मका यही मन्त्रिपरिषदले कार्य सञ्चालन गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ।
संविधानको धारा १९८ को उपधारा १० बमोजिम अर्को मन्त्रिपरिषद गठन नहुञ्जेलसम्मका यही मन्त्रिपरिषदले कार्य सञ्चालन गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ।
मन्त्रिपरिषदले आफ्नो कार्यकालमा सम्पादन गरेका कार्यहरुका लागि प्रधानमन्त्री तथा मन्त्रीहरुलाई राष्ट्रपतिले धन्यावद दिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

दाहालले ओलीलाई भने, ‘राजनेताको परिचय दिनुभयो’

९ श्रावण, २०७३ /   माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबारदेखि नै कामचलाउ भएका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनेताको परिचय दिएको प्रतिक्रिया दिएका छन् ।
संसद बैठकमा सम्बोधनसँगै राजीनामा दिएका ओलीलाई संसद भवनस्थित प्रधानमन्त्रीको च्याम्बरमा पुगेर आगामी दिनमा पनि सहकार्य हुने अपेक्षा गरेको बताए । ‘तपाईंले असल राजनेताको परिचय दिनुभएको छ,’ दाहालको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका सञ्चार विज्ञ चेतन अधिकारीले भने, ‘आगामी दिनमा पनि सहकार्य हुने नै छ ।’

जवाफमा प्रधानमन्त्रीले ‘तपाईंलाई पनि आगामी कार्यकालको शुभकामना’ भनेका छन् । दुई नेताले त्यसपछि फोटो खिचाएका थिए । दाहालसँगै प्रधानमन्त्रीको च्याम्बरमा राजीनामा दिएका माओवादी मन्त्रीहरु पुगेका थिए । उनीहरुले पनि प्रधानमन्त्रीसँग तस्बिर खिचाए ।

यसैबीच राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले ओलीलाई ‘असल’ प्रधानमन्त्रीकोरुपमा चित्रण गरेका छन् । ‘देशलाई माया गर्ने असल प्रधानमन्त्रीकोरुपमा केपी ओलीको सम्झना सँधै रहनेछ, तपाईंसँग काम गर्न पाएकोमा खुसी छु । कुनै पछुतो छैन ।’


प्रधानमन्त्री ओलीद्वारा राजीनामा

९ श्रावण , २०७३ /   प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि छलफलको अन्तिम दिन जवाफ दिनुअघि प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएको शीतल निवास स्रोतले जनाएको छ । त्यसपछि संसद भवन पुगेका प्रधानमन्त्रीले केहीबेरपछि राजीनामा घोषणा गर्दैछन् । 

संसदमा सत्तासाझेदार माओवादीकै नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता गरेपछि अल्पमतमा परेका प्रधानमन्त्रीले संसद फेस गर्ने बताउँदै आएका थिए । संसदमा आफ्ना कुरा राखेपछि प्रधानमन्त्रीले राजीनामा घोषणा गरेका हुन् । आखिरी समयमा सत्तासाझेदार फोरम लोकतान्त्रिक, राप्रपा र समाजवादी जनता दलले पनि समर्थन फिर्ता लिंदै अविश्वासको प्रस्तावको पक्षमा मत दिने निर्णय गरेका थिए ।

ओली असोज २४ गते माओवादी, राप्रपा नेपाल, राप्रपासहितका साना पार्टीको समर्थनमा प्रधानमन्त्री भएका थिए । प्रधानमन्त्री निर्वाचनमा तत्कालिन कांग्रेस सभापति सुशील कोइरालालाई हराउँदै ३ सय ३८ मत ल्याएर निर्वाचित भएका थिए ।


छापामार शैलीमा सरकार परिर्वतनको खेल - प्रधानमन्त्री

९ श्रावण,२०७३, काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले छापामार शैलीमा सरकार परिर्वतनको खेल भएको बताएका छन् ।
आफ्नाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे संसदमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले काम नगरेकाले नभई चिक्त दुखेका र मन फाटेकाले समर्थन फिर्ता लिएको रहेछ भने । प्रचण्डको नाम नलिई उनले अविश्वासको प्रस्ताव प्रस्तोता भन्दै उनले भने, अस्ती कुरा सुनेपछि मलाई लाग्यो, आरोपहरु के छन् सुनेँ । आरोप सुन्दा थाहा भने ममाथिको अविश्वास कामको कारण होइन रहेछ, मन फाटेका, कमलो मन दुखेको, चिक्त नबुझेको आदि कारणले रहेछ ।’
उनले अघि भने, ‘मेले मेरा मित्रको च्यातिएको मन अरुणा लामाको गीतमा भने झै धेरै पटक सिउने कोशिष गरे ।’कहिले साँझ त कहिले रात अबेरसम्म धेरै पटक फाटेको मन तुन्ने काममा विताएको भन्दै उनले भने, ‘भयो के भने आज तुनेर जोडेर पठाउँछु, भोलिपल्ट आउँदा अर्कोतिर फाटेको हुन्छ ।’
प्रधानमन्त्री ओलीले माओवादीले समर्थन फिर्ता लिनु केही दिनअघि प्रचण्डसँग आफ्नो सवा दुई घन्टा कुरा भएको सुनाए । भेटमा आफूले अब कसरी अगाडि जाने भन्नेमा मोडालिटी आओस् भनेका भन्दै उनले अघि भने, ‘उहाँले भोलि पर्सीमा लिएर आउँछु भन्नु भएको थियो । मोडालिटी टेलिफोनबाट थाहा भो समर्थन फिर्ता लिने ।’

नयाँ सरकार गठन गर्न कुनै समस्या छैन : भट्टराई

९ श्रावण , २०७३ /  नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले देशको समृद्धि र विकासको लागि प्रत्यक्ष राष्ट्रपतीय प्रणाली आवश्यक रहेको बताउनु भएको छ । राजनीतिक स्थिरताको लागि पनि प्रत्यक्ष राष्ट्रपतीय प्रणाली आवश्यक रहेको उहाँको दाबी छ । 
प्रेस सोसाइटी पोखराले गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो - नयाँ संविधान जारी भएपछि देशले राजनीतिक स्थिरता, विधिको शासन र समृद्धि पाउने जनताले अपेक्षा गरेका थिए, पुराना राजनीतिक दलहरु सत्ताको खेलमा लाग्नु गलत छ । देश र जनताको काम गर्नुपर्ने बेला पार्टी र गुटबन्दीले देशलाई घाटा पुगेको छ । संविधानमा कुनै बाधा अवरोध नभएकाले सरकार बनाउन कुनै अप्ठेरो नभएको तर्क उहाँले गर्नुभयो । तर, आफूहरु सरकार गिराउने र बनाउन खेलमा नलागेको भट्टराईले स्पष्ट पार्नुभयो ।     

सरकार गठन विघटन लोकतान्त्रिक शासन प्रणालीका विशेषता : प्रधानमन्त्री

९ श्रावण, २०७३ /  काठमाडौं–प्रधानमन्त्री केपी ओलीले सरकार गठन विघटन लोकतान्त्रिक शासन प्रणालीका विशेषता रहेको बताएका छन्।
व्यवस्थापिका संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रधानमन्त्री ओलीले सरकार गठन विघटन र आवधिक निर्वाचन लोकतान्त्रिक शासन व्यवस्थाका विशेषता रहेको बताएका हुन्।
जनताको सर्वोच्चतामा विश्वास गर्ने, अध्यारो कोठामा नभइ संसदमा विश्वास गर्ने आफ्ना लागि अविश्वासको प्रस्ताव सामान्य रहेको बताए। त्यो प्रक्रियाका हिसाबले सामान्य भएपनि उद्देश्यका हिसाले उचित नभएको बताए। सात दशक लामो बलिदानपूर्ण संघर्ष र दुई वटा संविधानसभाको अनुभवबाट प्राप्त संधिवान कलिलै रहेको भन्दै त्यसलाई बलियो बनाउनुपर्ने बताए। मुलुक आर्थिक समृद्धि देख्न नचाहने र धमिलो पानीमा माछा मार्न पल्केकाप्रति सचेत रहन आग्रह गरे।

नयाँ सरकार बनाउन अवरोध खुल्यो

९ श्रावण, २०७३ /   सरकारले नयाँ सरकार गठन सहज बनाउन राष्ट्रपतिसमक्ष बाधा अड्काउ फुकाउन सिफारिस गरेको छ । 

नयाँ संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठन गर्न संवैधानिक अड्चन रहेकाले आइतबार बसेको मन्त्रिपरिषद बैठकले धारा ३०५ अनुसार राष्ट्रपतिलाई बाधा अड्काउ फुकाउन सिफारिस गरेको पर्यटन मन्त्री आनन्द पोखरेलले जानकारी दिए ।

संविधानअनुसार नयाँ सरकार बन्नेरनबन्ने रस्साकस्सीबीच सरकारले नै बाधा अड्काउ फुकाउका लागि सिफारिस गरेपछि सरकार गठन सहज भएको छ । नेपालको संविधान २०७२ अनुसार संविधान कार्यान्वयनमा कुनै बाधा अड्काउ परेमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउन सकिनेछ । त्यस्तो आदेशलाई संसदले अनुमोदन गर्नुपर्ने हुन्छ ।


प्रधानमन्त्री ओलीद्वारा राजीनामाको तयारी

९ श्रावण, २०७३ /  प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावमा मतदान अघि राजीनामा दिने तयारी गर्नुभएको छ । अविश्वास प्रस्तावमा आफु विरुद्ध उठेका प्रश्नको जवाफ दिएलगत्तै प्रधानमन्त्री ओलीले राजीनामा दिने तयारी गर्नुभएको उहाँ निकट स्रोतले जनाएको छ ।  


प्रधानमन्त्रीले राजीनामा दिए अविश्वास प्रस्ताव संसदमा निर्णयार्थ पेश हुने छैन । यसअघि व्यवस्थापिका–संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि आज मतदान गर्ने कार्यसुची तय गरिएको थियो । आजै बसेको मन्त्रिपरिषद बैठकले नयाँ सरकार गठनका लागि धारा २ सय ९८ अपुरो रहेको भन्दै वाधा अडकाउ फुकाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । निर्णय अनुसार प्रधानमन्त्री ओली सिफारिस लिएर राष्ट्रपतिलाइ भेटन शितल निवास पुग्नुभएको थियो । 

अल्पमतमा परेपछि पनि राजीनामा नदिएको भन्दै बिरोधी दलले प्रधानमन्त्रीको आलोचना गर्दै आएका छन् । संसद बैठक अविश्वास प्रस्तावमा छलफलपछि आज पौने ५ बजेसम्मका लागि स्थगित भएको थियो । अबको बैठकको शुरुमा कंग्रेस सभापति शेरवहादुर देउवाले बोल्नु हुनेछ । त्यसलगत्तै प्रधानमन्त्री ओलीले आफुमाथी परेको अविश्वास प्रस्तावमा उठेका प्रश्नको जवाफ दिनुहुनेछ ।

Saturday, July 23, 2016

अन्दुवा खोलाको बाढीले विर्तामोड बजार आसपारका करिब २ सय घर डुबानमा

९ श्रावण ,२०७३ /   झापाको विर्तामोड नगरपालिकास्थित अन्दुवा खोलाको बाढीले विर्तामोड बजार आसपारका करिब २ सय घर डुबानमा परेका छन् । बाढीका कारण पूर्वपश्चिम राजमार्गमा  यातायात समेत अवरुद्ध बनेको छ । अबिरल बर्षापछि खोलाको सतह बढेर राजमार्गसम्म आई पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, रतुवा खोलामा आएको बाढीले तटबन्धन भत्काउदा लखनपुर २ र गौरादहका केही गाउँ डुवेको छ । दक्षिण झापाको कुमरखोद ३ र ४ मा कन्काईको बाढी पसेपछि मिलन वस्ती डुबाएको छ । बाढीबाट विस्थापित आधा दर्जन स्थानीयलाई सुरक्षित स्थानमा राखिएको नेपाल रेडक्रस सोसाइटिको झापा शाखाले जनाएको छ ।  कन्काई नदीमा पानीको सतह वढेपछि सतासीधाम, सुरुङ्गा, शिवगञ्ज, सरणामति, पाँचगाछी, कुमरखोड, कोरोवाडी र महाभारा आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

पूर्वका मेची, निन्दा, रतुवा र त्रियुगा  नदीमा समेत पानीको बहाव बढेकाले सर्तकता अपनाउन जल तथा मौसम विभाग अन्र्तगतको बाढी पुर्वानुमान शाखाले सर्वसाधरणमा अपिल जारी गरेको छ । नदीको तटीय क्षेत्र र आसपासका स्थानीयलाई मोबाइल एसएमएस मार्फत सुरक्षित रहन पूर्वसूचना गराइएको जलबिद् बिनोद पराजुलीले जानकारी दिनुभयो । मनुसन सक्रिय भएका कारण केही दिनसम्म बर्षा जारी रहने भएकाले सम्भावित खतराबाट सावधान रहन आवश्यक शाखाले आग्रह गरेको छ ।  

प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव आज निर्णयार्थ प्रस्तुत हुदै

९ श्रावण ,२०७३ /  प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव आजको बैठकमा निर्णयार्थ प्रस्तुत हुदैछ ।  


व्यवस्थापिका–संसदको आजकै पहिलो बैठकमा अविश्वासको प्रस्तावमाथिको छलफल सकिएपछि दोस्रो बैठकको प्रारम्भमा प्रधानमन्त्री ओलीले उनी विरुद्ध लगाइएका आक्षेपहरुको जवाफ दिने छन् । त्यसपछि अविश्वासका प्रस्तावमा मतदान हुनेछ । 

अविश्वासको प्रस्तावमाथि शुक्रबारबाट सदनमा छलफल हुँदै आएको छ । वर्तमान गठबन्धन सरकारको ठूलो दल नेकपा ९माओवादी केन्द्र०ले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै ओली सरकार संकटमा परेको हो । 

प्रधानमन्त्री ओलीको दम्भ र अहंकारका कारण आफूले समर्थन फिर्ता लिएर उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताउँदै आएका छन् । 
व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका २८१ जना सांसदको हस्ताक्षर गरेर उक्त प्रस्ताव संसद्मात पेश गरिएको हो । 

माओवादीले समर्थन फिर्ता लिएसँगै मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राप्रपाले पनि समर्थन फिर्ता लिएर अविश्वासको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । 

नेपालको संविधान जारी भएसँगै व्यवस्थापिका–संसद्माक प्रतितिनिधित्व गर्ने अधिक राजनीतिक दलको समर्थनमा नेतृत्व सम्हाल्न पुगेका प्रधानमन्त्री ओली सरकार नौ महिनाको अवधि पार गर्दा नगर्दै संकटमा परेको हो । प्रधानमन्त्री ओलीलाई सहमतीय राजनीतिलाई बेवास्ता गर्दै एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप छ ।


दाहालको आरोपबारे प्रधानमन्त्रीको जवाफ, 'म राजतन्त्रविरुद्ध संघर्ष गर्दा कुन स्कुल पढ्दै हुनुहुन्थ्यो ?'

९ श्रावण, २०७३ / प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार संसदमा लगाएका आरोपप्रति असन्तुष्टि जनाएका छन् ।


नेपाल टेलिभिजनको सीधा कुरा प्रधानमन्त्रीसँगमा उनले दाहालले आफूविरुद्ध लाञ्छानापूर्ण अभिव्यक्ति दिएको बताए । राजतन्त्रविरुद्ध संघर्ष गर्दा उहाँ कुन स्कुल पढ्दै हुनुहुन्थ्यो, राजतन्त्रविरुद्ध संघर्ष गरेकै कारण जेल जाँदा कुन स्कुल पढ्दै हुनुहुन्थ्यो भन्दै जबाफ दिएका छन् । , उनले आफू वादविवाद गर्न नचाहेको बताउँदै भने, मैले राजासँग कार्यगत एकता गरिन, उहाँसग पनि सम्झौता अन्तर्गत चलेको हो, तर सम्झौता अरु आस्थागत विषय होइन, परिस्थितिगत विषय हो ।

अविश्वासको प्रस्ताव पेस गर्दै दाहालले शुक्रबार संसदमा प्रधानमन्त्री गणतन्त्र र संघीयताविरोधी रहेको आरोप लगाएका थिए । उनले इतिहासको यो नै अन्तिम घडी नभएको बताउँदै पछि आफैले खण्डन गर्ने दिन आउने बताए । म आधा शताब्दीभन्दा बढी संघर्ष गरेको व्यक्ति हो, २९ वर्षदेखि खुल्ला छु, मलाई लाखौंले भेटेका छन्, तथ्य र प्रमाणबाट पुष्टि गरे हुन्थ्यो, पछि काट्नुपर्दा असुविधा हुन्छ कि भन्ने हेक्का राखे राम्रो, उनले भने ।

प्रधानमन्त्रीले आफूलाई धेरै ठूलो योजना र प्रयासपछि हटाइएको दाबी गरे । सरकारले ऐतिहासिक काम गरेको छ, जति पनि काम भएको छ, त्यसलाई मन नपराउनेहरु, स्वाभिमानको लहर जो सिर्जना भयो, देश परनिर्भरताबाट आत्मनिर्भरतारित लाग्यो, त्यसलाई मन नपराउनेहरु सक्रिय भए, उनले भने ।

प्रधानमन्त्रीले आफूविरुद्ध माओवादीले धोका दिने पूर्वजानकारीमा रहेको बताए । चैतदेखि नै डिलिङ भएको थियो, सबैले सबैतिर कुरा गरिरहेका थिए, उनले भने, असार लागेपछि म्याचुअर्ड भयो ।

वैशाख २२ गते सभामुख ओनसरी घर्तीको निवासमा कांग्रेससँग माओवादीको ७ बुँदे सहमति भएको प्रधानमन्त्रीको भनाइ थियो । उनले आफूले सुरु गरेका कतिपय कामलाई नयाँ सरकारले पनि असफल पार्न नसकने बताए । जसरी जम्मा गरेर सरकार बनाएको थिएँ, मौका पाएकाबेला अप्ठ्यारो बेला, सहकार्य कसरी गरेको छु हिजो देखियो नि, उनले भने, कतिवटा मेट्न सक्दैन, हुती छैन, कतिपय मेट्नेछ ।

प्रधानमन्त्रीले मुलुकलाई अनुमान नगरिएको परिस्थितितर्फ जाने प्रयास भएको बताउँदै त्यतातर्फ जान नदिन सहजीकरण गर्ने उल्लेख गरे । उनले अहिले राष्ट्रवादी र अर्को पक्षधर समूहबीच ध्रुविकरण रहेको बताए ।प्रधानमन्त्रीले आफूलाई पदमोह नभएको बताउँदै तर संवैधानिक र कानुनी बाटो सहज बनाएरमात्रै नयाँ सरकार गठन टुंगो लाग्ने बताए ।

प्रधानमन्त्रीले संसदमा कांग्रेस सांसदले आफ्नो मानसिक अवस्थामाथि गरेको प्रश्न टिप्पणी गर्न लायक विषय नभएको बताए । कुनै जन्तुले खुट्टा टोक्छ, तर त्यसमा आक्रोसित भएर त्यसको खुट्टा टोक्न गइँदैन, त्यो दल र त्यसका सांसदले विचार गर्नुपर्ने हो, खुदै व्यक्तिले विचार गर्नुपर्ने हो, पढाइलेखाइ त छ होला, विषयगत ज्ञान त होला, तर सभ्यता सिकिंदो रहनेछ, उनको भनाइ थियो ।


कुनै आश्चर्य नभए एमाले १२ वर्षपछि सत्ताबाहिर पुग्ने

८ श्रावण,२०७३,काठमाडौं /  कुनै आश्चर्य नभए नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित विभिन्न दलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध शुक्रबार संसद्मा पेस गरेको अविश्वास पारित हुने देखिन्छ। एमाले संसद्मा प्रमुख प्रतिपक्षी रहनेछ।  
यससँगै ०६१ मा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारयता प्रत्येक दलीय सरकारमा सहभागी रहेको एमाले १२ वर्षपछि सत्ताबाहिर पुग्नेछ।
यसबीच डा. बाबुराम भट्टराई नेतृत्व सरकारमा भने एमाले १३ दिन मात्र रह्यो।
२०६२/६३ को जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वमा बनेको सात राजनीतिक दलको सरकारमा एमाले वरिष्ठ नेतृ सहाना प्रधान नेतृत्वमा सरकारमा सहभागी भएको थियो भने पछि नेकपा माओवादी पनि सरकारमा आएपछि केपी शर्मा ओली नेृतत्वमा सरकारमा रह्यो।
संविधानसभाको पहिलो निर्वाचनमा एमाले नराम्रोसँग पराजित भएर तेस्रो दल बन्यो। त्यसलगत्तै बनेको एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारमा वामदेव गौतम नेतृत्वमा सहभागी भयो।
प्रधानसेनापति रुक्मांगत कटवाल काण्डपछि माधवकुमार नेपाल नेतृत्वमा सरकार बन्यो।
२०५१ सालमा उपनिर्वाचनपछि मनमोहन अधिकारी नेतृत्वको एकमना सरकारपछि एमाले नेतृत्वमा बनेको दोस्रो सरकार यही थियो। नेपाली कांग्रेस, विभिन्न मधेसवादी दलसँगको गठबन्धन सरकार संवैधानिक जटिलताका कारण सात महिना कामचलाउ रुपमा रह्यो।
त्यसपछि नेकपा माओवादीसँग गठबन्धन गर्र्दै तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वमा नयाँ सरकार बन्यो र ६ महिना मात्र चल्यो। त्यसपछि माओवादी नेता बाबुराम भट्टराई नेतृत्वमा बनेको सरकारमा महासचिव ईश्वर पोखरेल नेतृत्वमा १३ दिन सरकारमा सहभागी भएको थियो एमाले।
दलहरुबीच संविधान निर्माणको विषयमा भएको सहमतिबाट सरकारको नेतृत्व गर्दै तत्कालीन एकीकृत नेकपा माओवादीले दलहरुबीच भएको सहमतिबाट पछि हटेको भन्दै कांग्रेस र एमाले सरकारबाट बाहिरिएका थिए। संवैधानिक रिक्तताका कारण दलहरुबीच दोस्रो संविधानसभा निर्वाचनका लागि बनेको तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी सरकारमा अन्य दलसँगै एमालेले दुई प्रतिनिधि पठाएको थियो।
२०७० मंसिरमा भएको निर्वाचनबाट संसद्मा पहिलो दल बनेको नेपाली कांग्रेस र दोस्रो एमाले गठबन्धनको सरकार गठन भयो। त्यसमा एमालेका तर्फबाट उपाध्यक्ष वामदेव गौतमले मन्त्रिपरिषदमा नेतृत्व गरे। दलहरुले निर्धारण गरेको समयभन्दा केही ढिलो गरी संविधान जारी भयो।
लगत्तै संविधानको संक्रमणकालीन व्यवस्थाअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। त्यही सरकार अहिले अविश्वासको प्रस्तावको सामना गरिरहेको छ।अहिलेसम्मको संसदीय गणित हेर्दा सरकार अल्पमतमा परेको छ।

प्रधानमन्त्रीको म्युजिकल चियरमा रुमल्लिएर देश बन्दैन् – नेपाल

८ श्रावण,२०७३, काठमाडौं /  नेकपा एमाले नेता तथा पूर्वप्रधामन्त्री माधव नेपालले सँधै प्रधानमन्त्रीको म्युजिकल चियरमा रुमल्लिएर देश नबन्ने बताएका छन्। 
संसदमा सरकारको अविस्वासको प्रस्तावको छलफलमा भाग लिँदै नेता नेपालले नेपाली नेता तथा दलमा समग्र राष्ट्रलाई कसरी अगाडि लाने भन्दा पनि आफ्नो दलगत तथा व्यक्तिगत स्वार्थबाट अगाडि बढ्न नसकेको बताए। उनले भने, ‘संविधानसभाका उपलब्धिलाई समाप्त पार्दै देशमा एक जटिल अवस्थामा लाने खेल भैरहेको छ। २०७४ माघ ७ सम्ममा संविधानलाई कार्यान्वयन नगर्ने षड्यन्त्र भैरहेको छ। देशलाई आर्थिक गती दिन र संविधान  कार्यान्वयनकालागि सबैमा आपसी सहमतिको खाँचो रहेको छ।’

उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय हतास र दुर्भाग्यपूर्ण भएको बताए। उनले अरुलाई आरोप प्रत्यारोप लगानु भन्दा पनि सबैले आफ्नो  कमी कमजोरीको आत्म समिक्षा गर्न जरुरी रहेको बताए। उनले भने, ‘अहिलेको सरकारले केही गरेन भन्नु भन्दा पनि सरकारमा रहेर पनि हामीले केही गर्न सकेनौं भनेर आत्म समिक्षा गर्नुपर्छ। बजेट ,सरकारको नीति तथा कार्यक्रम देशको हितमा भएपनि दलगत स्वार्थका कारण असफल बनाइएको छ।’
उनले अविस्वासको प्रस्ताव आश्रित विधेयक पछिपनि ल्याउन सक्ने भन्दै माओवादीले गल्ती गरेको आरोप लगाए। उनले राजनीतिक अस्थिरता भएपनि विकासका योजना तथा परराष्ट्र नीतिमा सबै दलको एक धारणा हुनुपर्ने बताए। नेपालले राम्रो कामको सकारात्मक समिक्षा गर्नु पर्ने र गलत कुरालाई आलोचना गर्न सक्नु पर्ने बताए।

जर्मनीको म्युनिखमा अन्धाधुन्ध गोली प्रहार ९ जनाको मृत्यु

८ श्रावण, २०७३ /  जर्मनीको बभेरिया राज्यस्थित म्युनिख शहरमा अन्धाधुन्ध गोली प्रहारबाट ९ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।


स्थानीय समय अनुसार शुक्रबार साँझ ६ बजेतिर ओलम्पिया शपिङ सेन्टरननजिकै १८ बर्षीय इरानी मूलका एक किशोरले अन्धाधुन्ध गोली प्रहार गरेको त्यहाँको प्रहरीले जनाएको छ । घटनापछि  एक हमलाकारीले आफूलाई समेत  गोली हानेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनालगत्तै गम्भीर आतंककारी परिस्थिति भन्दै संकटकाल घोषणा गरिएको छ । 

सर्वसाधारणलाई घरभित्रै बस्न र सार्वजनिक स्थानमा नजान अपिल जारी गरिएको छ । सो क्षेत्रमा हाल उच्च सुरक्षा सर्तकता अपनाएको छ । घटनापछि जर्मन चान्सलर एङ्गेला मर्कलले सुरक्षा परिषद्को आपतकालिन बैठक आव्हान गर्नुभएको छ ।


संसद बैठकमा प्रधानमन्त्रीको अविश्वासको प्रस्तावमाथि छलफल जारी

८ श्रावण , २०७३ /   बिहान ११ बजे सुरु भएको संसद बैठकमा प्रधानमन्त्रीको अविश्वासको प्रस्तावमाथि छलफल जारी रहेको छ । शुक्रबार बेलुकादेखि सुरु भएको छलफल शनिबार पनि जारी छ । 


बैठकको सुरुमा नेपाली कांग्रेसका सांसद रमेश लेखकले बोलेका थिए । त्यसपछि एमाले नेता माधव नेपाल र माओवादी सांसद हरीबोल गजुरेल बोलेका थिए । अन्य सांसदहरुले बोल्ने क्रम जारी छ । प्रस्ताव माथिको छलफल भोली सकिने र त्यसपछि मतदान हुने छ ।


Friday, July 22, 2016

बजेट अाश्रित विधेयकहरू पारित हुन सकेनन्, सरकार अल्पमतमा

७ श्रावण,२०७३,काठमाडौं / आर्थिक वर्ष २०७३/०७४ बजेट संसदबाट अस्वीकृत भएको छ। एमाओवादी केन्द्र बजेटविरुद्ध उभिँदा आर्थिक विधेयक, राष्ट्रऋण उठाउने विधेयक, ऋण तथा जमानत (२१ औं संशोधन) विधेयक संसदबाट पारित हुन नसकेका हुन्।
आज संसदमा भएको मतदानमा ध्वनि मतबाट बजेट आश्रित विधेयकहरु अस्वीकृत भएका हुन्। आर्थिक विधेयक असफल हुँदा सरकार स्वतः अल्पमतमा परेको छ।
नेपाली कांग्रेस, सरकार छोडेको माओवादी तथा मधेसी दलले विधेयकहरुका विरुद्धमा मतदान गरेका छन्।
 
शुक्रबार संसदमा भएको मतदानमा ध्वनि मतबाट बजेट आश्रित विधेयकहरु अस्वीकृत भएका हुन्। आर्थिक विधेयक असफल हुँदा सरकार स्वतः अल्पमतमा परेको छ।
मतदान अघि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले आर्थिक विधेयकको औचित्य नभएको बताएका थिए। माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले विधेयकको औचित्य नभएको उनले दाबी गरेका थिए।
माओवादीले उठाएका प्रश्नको जवाफमा अर्थमन्त्री विष्णु पौडेलले प्रश्न सोधका थिए, ‘पहिला मन्त्रिपरिषदबाट स्वीकृत गर्दा केही भएन। अहिले कसरी खिचडी भयो?’ महराले आर्थिक विधेयक एकातिकार र पुँजिवादको खिचडी भएको टिप्पणी गरेका थिए।
कांग्रेस, माओवादीले सरकारविरुद्ध संसदमा दर्ता गराएको अविश्वास प्रस्तावमा छलफल हुनुअघि बजेटसँग सम्बन्धित विधेयकहरु संसदमा पेश भएका थिए। एमाले आर्थिक विधेयकमाथि पहिला छलफल गर्ने सर्तमा संसद बैठक सञ्चालन गर्न दिन सहमत भएको थियो।
अर्थमन्त्रीले जेठ १५ गते संसदमा बजेट पेस गरेका थिए।गत असार २५ गते बसेको संसद बैठकले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको विनियोजन विधेयक २०७३ पारित गरे पनि अर्थसम्बन्धी अन्य तीन विधेयक पारित हुन बाँकी रहेका थिए। बजेटकाे एउटा विधेयक पारित भएकाे अवस्थामा असार २९ का लागि बाेलाइएकाे संसद बैठक सभामुखले पछि सारेकी थिइन्।
विगतमा असार मसान्तमा बजेट आउने र बजेट पारित गर्न समय लाग्ने हुँदा खर्च तथा पेस्की विधयेक पनि ल्याउने चलन थियो। नयाँ संविधानले जेठ १५ गतेलाई बजेट ल्याउने दिन तोकेपछि असार अन्तिममा बजेट पेस गर्ने र नयाँ आर्थिक वर्ष लागेपछि पेस्की विधेयकबाट खर्च गर्ने परम्परा हट्ने अनुमान गरिएकाे थियाे।
नयाँ संविधानअनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ गते आर्थिक वर्ष २०७३/०७४ का लागि १० खर्ब ४८ अर्ब रुपैयाँको बजेट पेस गरेका थिए। समयमै बजेट आएकाले अर्थतन्त्रमा यसको सकारात्मक असर पर्ने आस गरिएको वर्ष फेरि बद्लिँदो राजनीतिक घटनाक्रमले आर्थिक वर्षको सुरुमै बजेट कार्यान्वयनमै शंका सुरु भएको छ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...