Saturday, July 23, 2016

कुनै आश्चर्य नभए एमाले १२ वर्षपछि सत्ताबाहिर पुग्ने

८ श्रावण,२०७३,काठमाडौं /  कुनै आश्चर्य नभए नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित विभिन्न दलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध शुक्रबार संसद्मा पेस गरेको अविश्वास पारित हुने देखिन्छ। एमाले संसद्मा प्रमुख प्रतिपक्षी रहनेछ।  
यससँगै ०६१ मा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारयता प्रत्येक दलीय सरकारमा सहभागी रहेको एमाले १२ वर्षपछि सत्ताबाहिर पुग्नेछ।
यसबीच डा. बाबुराम भट्टराई नेतृत्व सरकारमा भने एमाले १३ दिन मात्र रह्यो।
२०६२/६३ को जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वमा बनेको सात राजनीतिक दलको सरकारमा एमाले वरिष्ठ नेतृ सहाना प्रधान नेतृत्वमा सरकारमा सहभागी भएको थियो भने पछि नेकपा माओवादी पनि सरकारमा आएपछि केपी शर्मा ओली नेृतत्वमा सरकारमा रह्यो।
संविधानसभाको पहिलो निर्वाचनमा एमाले नराम्रोसँग पराजित भएर तेस्रो दल बन्यो। त्यसलगत्तै बनेको एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारमा वामदेव गौतम नेतृत्वमा सहभागी भयो।
प्रधानसेनापति रुक्मांगत कटवाल काण्डपछि माधवकुमार नेपाल नेतृत्वमा सरकार बन्यो।
२०५१ सालमा उपनिर्वाचनपछि मनमोहन अधिकारी नेतृत्वको एकमना सरकारपछि एमाले नेतृत्वमा बनेको दोस्रो सरकार यही थियो। नेपाली कांग्रेस, विभिन्न मधेसवादी दलसँगको गठबन्धन सरकार संवैधानिक जटिलताका कारण सात महिना कामचलाउ रुपमा रह्यो।
त्यसपछि नेकपा माओवादीसँग गठबन्धन गर्र्दै तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वमा नयाँ सरकार बन्यो र ६ महिना मात्र चल्यो। त्यसपछि माओवादी नेता बाबुराम भट्टराई नेतृत्वमा बनेको सरकारमा महासचिव ईश्वर पोखरेल नेतृत्वमा १३ दिन सरकारमा सहभागी भएको थियो एमाले।
दलहरुबीच संविधान निर्माणको विषयमा भएको सहमतिबाट सरकारको नेतृत्व गर्दै तत्कालीन एकीकृत नेकपा माओवादीले दलहरुबीच भएको सहमतिबाट पछि हटेको भन्दै कांग्रेस र एमाले सरकारबाट बाहिरिएका थिए। संवैधानिक रिक्तताका कारण दलहरुबीच दोस्रो संविधानसभा निर्वाचनका लागि बनेको तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी सरकारमा अन्य दलसँगै एमालेले दुई प्रतिनिधि पठाएको थियो।
२०७० मंसिरमा भएको निर्वाचनबाट संसद्मा पहिलो दल बनेको नेपाली कांग्रेस र दोस्रो एमाले गठबन्धनको सरकार गठन भयो। त्यसमा एमालेका तर्फबाट उपाध्यक्ष वामदेव गौतमले मन्त्रिपरिषदमा नेतृत्व गरे। दलहरुले निर्धारण गरेको समयभन्दा केही ढिलो गरी संविधान जारी भयो।
लगत्तै संविधानको संक्रमणकालीन व्यवस्थाअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। त्यही सरकार अहिले अविश्वासको प्रस्तावको सामना गरिरहेको छ।अहिलेसम्मको संसदीय गणित हेर्दा सरकार अल्पमतमा परेको छ।

No comments:

Post a Comment

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...