३१ असार, २०७३ / नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक बसिरहेको छ । नेपाली कांग्रेसले अध्यक्ष पुष्पकमल दाहाललाई भावी प्रधानमन्त्रीका रुपमा स्विकार गरेपछि सत्तासमिकरणको जोडघटाउन मिलाउन माओवादी केन्द्रको बैठक बसेको हो । राजधानीको लाजिम्पाटस्थित अध्यक्ष दाहाल निवासमा झण्डै २ घण्टा यता जारी बैठकमा सरकार बिरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावमा समर्थन जुटाउने सम्बन्धमा आगामी रणनीतिबारे छलफल भईरहेको एक नेताले जानकारी दिए ।
प्रधानमन्त्रीलाई विश्वासको मत पुर्याउन नदिन कांग्रेस–माओवादी केन्द्रलाई २ सय ९८ मत आवश्यक छ । यस्तै बैठकमा आगामी आर्थिक बर्षको बजेट पारित गर्न दिने नदिने बिषयमा समेत छलफल भईरहेको ती नेताको भनाई छ ।
आफै सहभागी सरकारले ल्याएको बजेट पारित गर्न दिनु पर्ने भन्दै केही नेताले बजेटसँग सम्बन्धित केही विधेयकलाई रोक्न नहुने तर्क गरेका छन् ।
यसैबीच अध्यक्ष दाहालले आज सरकारका उपप्रधानमन्त्री समेत रहेका मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग छलफल गर्नुभएको छ ।
दाहाल निवासमा झण्डै ४५ मिनेट भएको भेटमा आफु नेतृत्वमा अब बन्ने सरकारमा सहभागी हुँदै अविश्वासको प्रस्तावमाथि समर्थन गर्न दाहालले आग्रह गर्नुभएको स्रोतको भनाई छ ।
सत्तारुढ दलहरुको बैठकमा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिम समयसम्म साथ दिने बताएका गच्छदारले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग पछिल्लो तीन दिनमा दुई पटक छलफल गरिसक्नु भएको छ ।
No comments:
Post a Comment