११ श्रावण, २०७३ / अबिरल वर्षापछिको बाढी पहिरोले मुलुकका बिभिन्न स्थानमा जनधनको ठुलो क्षति पुगेको छ । बाढी पहिरोका कारण गएराति यता कम्तिमा २६ जनाको मृत्यु भएको छ । करिब १ दर्जन बेपत्ता भएका छन् । थुप्रै राजमार्ग अवरुद्ध भएका छन् ।
गएरातिदेखिको अवरिल वर्षाका कारण विभिन्न नदीमा आएको बाढी तथा पहिरोका कारण प्यूठानमा मात्र ९ जनाको मृत्यु भएको छ । त्यहा पहिरोले पुरिएर ४ जना बेपत्ता छन् । पुजा गाविस १ मा पहिरो गइ घर भत्कदा स्थानीय ४५ वर्षीय सुपारी मल्न र उनका १० वर्षीय छोरा मुकेशको मृत्यु भएको छ । प्रहरी चौकी पुजा लिवासेबाट गएको टोलीले पहिरोबाट उनीहरुको शव निकालेको जिल्ला प्रहरी प्रमुख डिएसपी रञ्जीतसिंह राठौरले जानकारी दिनुभयो । यस्तै, खबाङ ३ सुत्लाबाङमा पहिरोले पुरिएर घर भत्किदा दविले विक र उनकी श्रीमती दोवन्तीको मृत्यु भएको छ ।
उनीहरुको शव पहिरोबाट निकालिएपनि सँगै पहिरोमा परेका एक बालक भने बेपत्ता रहेको स्थानीयले बताएका छन् । पहिरोका कारण खबाङका १९ परिवार बिस्थापित भएका छन् । प्यूठानकै झिमरुक खोलाले बगाएर पाँच जनाको मृत्यु भएको छ । उनीहरुको सनाखत हुन सकेको छैन । यस्तै, लुङ–६ बाहानेमा घर भत्किदा पुरिएर स्थानीय शोभा रिजाल बेपत्ता भएकी छन् । बाहानेकै सिमलबुटामा बसन्ता केसीको घर भत्कदा डेरा गरि बस्ने २५ वर्षीय कालि परियार र ११ वर्षीय किरण थापा पुरीएर वेपत्ता भएका छन् ।
यस्तै विजुवारमा निर्माणाधिन प्यूठान नगरपालिका भवन नजिक एक शव खोलाले बगाएर ल्याएको छ । अन्दाजी ४५ वर्षीय पुरुषको परिचय खुलेको छैन । त्यस्तै प्यूठानकै बाग्दुला पुल नजिक झिमरुक खोला किनारमा २ बालबालिका तथा रम्दी खोला किनारमा २ महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको सनाखत भएको छैन । पाल्पाको गोठादी र दोभान गाविसमा पहिरोले पुरिएर ४ जनाको मृत्यु भएको छ । गोठादी ५ मा मध्यराती खसेको पहिरोले घर पुर्दा एकै परिवारका ताम बहादुर कनौजे, खगीसरा कनौजे र यशोदा कनौजेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दोभान गाविसको झुम्सामा घर पुरिदा १६ वर्षिया अस्मि विकको मृत्यु भएको छ । झुम्सामा पहिरोका कारण घरभित्रै ३ जना पुरिएको स्थानीयलाइ उद्यृत गर्दै सहकर्मी माधव अर्यालले जनाएका छन् । पाल्पाको दोभान र अर्गली गाविसको रिडीमा १ दर्जनभन्दा वढी घर पुरिएका छन । झुम्सा पानी मिल नजिकै खसेको पहिरोले सिद्दार्थ राजमार्ग समेत अवरुद्ध भएको छ । यस्तै, गुल्मीका दुई स्थानमा गएको पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । ५ घर र ३ झोलुङ्गे पुल बाढीले बगाएको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार हस्तिचौर गाविस १ मल्दीमा आज विहान गएको पहिरोले भिमबहादुर दर्जीको घर बगाउँदा उनकी ६२ वर्षिया दिदी कालिका, ४९ वर्षिया श्रीमती तुलसी र १९ वर्षिया बुहारी अस्मिताको मृत्यु भएको हो । यस्तै बिशुखर्क ९ पदमपानीमा गएको पहिरोले स्थानीय गोपाल बहादुर रानाको घर बगाउँदा उनका ९ वर्षिय छोरा सुजन र ७ वर्षिया छोरी सिमानाको मृत्यु भएको छ । यस्तै, मकवानपुरको भिमफेदी ५ सोलाभञ्याङमा पहिरो खस्दा एकै परिबारका ३ जनाको मृत्यु भएको छ । पहिरोले २७ बर्षिय तेजबहादुर रुम्बा, उनकी पत्नी पार्बती र ६ बर्षिय छोरा बिकासको मृत्यु भएको प्रहरीले जनाएको छ । खोलाले बगाएर तथा पानीमा डुबेर उदयपुरमा दुई जनाको मृत्यु भएको छ ।
उदयपुरको रामपुर २ स्थित गुहे खोलाले बगाउँदा स्थानीय कालीमाया राईको मृत्यु भएको हो । यसैगरी तपेश्वरी १ का मानबहादुर प्रधानका १३ वर्षीय छोरा ऋतु प्रधानको घरनजिकै जमेको खोल्साको पानीमा डुबेर मृत्यु भएको छ । मोरङको टंकीसिनवारी ३ का १८ वर्षीय कृष्ण खड्काको पौडी खेल्ने क्रममा सिंघिया खोलामा डुबेर मृत्यु भएको छ । बाग्लुङको राजकुत ७ मा बर्षाले घर भत्किदा ८ बर्षीया बालिका दुही तामाङको मृत्यु भएको छ । उनकी आमा शुशिला गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।
अर्घाखाँचीको ठाडा गाविस–५ मैदानमा पहिरोले घर पुरि‘दा १७ वर्षीय शारदा घर्तीको मृत्यु भएको छ । उनकी १६ वर्षीय बहिनी बालकुमारी घर्ती गंभिर घाइते भएकी छिन । लगातारको बर्षापछि खसेको पहिरोले रामेछापको भुजि गाविस–२ मा ३ घर पुरिएका छन् । पहिरोका कारण दर्जन भन्दा बढी घर जोखिममा परेका छन् । भूकम्पले कमजोर भएका पहाडबाट खसेको पहिरोले रामेछापको दुरागाउं, भुजी , पुरानोगाँउ र कुभुुकास्थली गाविस पहिरोको उच्च जोखिममा परेको स्थानिय प्रशासनले जनाएको छ । पहिरोले बाटो समेत अवरुद्ध भएपछि घटनास्थलमा उद्धारका लागि जान समस्या परेको छ ।
कास्कीको हेम्जामा पहिरो खसेपछि पोखरा बागलुङ सडकखण्ड गएरातिदेखि अवरुद्ध बनेको छ । यस्तै सेती नदीमा आएको बाढीका कारण पोखरा १ कसेरीका ३० र रामघटका १० परिवार विस्थापित भएका छन् । सेतीनदी किनारका सुकुम्वासी वस्तीका बासिन्दा भने राती नै सुरक्षित स्थानमा सरेको सहकर्मी लालप्रसाद शर्माले जनाएका छन् । यस्तै कालिगण्डकी नदीमा आएको बाढीका कारण स्याङजाको सेतीवेडीका १५ घर डुवानमा परेका छन् । बाढीका कारण १ सय ४० मेगावाटको कालिगण्डकी जलविद्युत आयोजना पनि जोखिममा परेको छ । बुटवलको तिनाउ नदीमा आएको बाढीले कम्तीमा १५ घर बगाएको छ । २ सय बढी घर डुवानमा परेका छन् । बाढीले बुटलस्थित तिनाउ नदिको झोलुंगे पुल पनि बगाएको छ ।
पहिरोका कारण सुर्खेत नेपालगञ्जको रत्न राजमार्ग अवरुद्ध भएको छ । सडक खण्डका बिभिन्न स्थानमा पहिरो खसेपछि दाङ तुलसीपुर सडक खण्डपनि पुर्णरुपमा अबरुद्ध भएको हाम्रा सहकर्मीले जनाएका छन् । बर्दिया गुलरियास्थित रानीपुर नगरपालिकामा बाढीले १ दर्जन वढी घर डुवानमा परेका छन । दाङका बिभिन्न खोलामा बाढी आएपछि घोराही–तुलसीपुर सडक खण्ड अबरुद्ध भएको छ ।
सुनसरीका बिभिन्न गाविसका सयौ घर डुवानमा परेका छन् यस्तै स्थानीय खोलामा पानीको बहाव बढेसंगै सडक छिरेको पानीका कारण लमजुङ सदरमुकाम बेसीसहरदेखि तनहुँको डुम्रेसम्मको मुख्य सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध भएपछि आज बिहानैदेखि सवारी साधन संचालन हुन सकेका छैनन् ।
No comments:
Post a Comment