Showing posts with label Article. Show all posts
Showing posts with label Article. Show all posts

Friday, July 1, 2016

बुबाको सपना पुरा गर्ने योजनामा –रोहित

स्कुले जिवनमा बुबाको भनाई नमानेर बुबाको इच्छा विपरीत काम गर्दै हिड्ने झापा दमकका रोहित राई अहिले ब्रिटिस आर्मीमा कार्यरत छन् । उ बेला बुबाको मन दुखाएकोमा भगवानसँग क्षमा माग्ने उनी हाल बुबाको सपना पुरा गर्ने ध्याउन्नमा छन् ।  विक्रम संम्बत २०३१साल श्रावण १८ गते दमक १९ सानो बाह्रघरेमा जन्मिएका उनी बुबाको लयर बनाउने चाहाना पुरा गर्न छोडेर मन दुखाएकोमा आफुले जीवनमै कहिल्यै नभुल्ने गल्ति गरेको ठान्छन् ।  

८/९ बर्षको हङ्गकङ्ग बसाइपछि बेलायत पुगेका उनी २०६० सालमा ब्रिटिस आर्मीमा भर्ति भए । सो दिनलाई आफनो जिवनको टर्निङ्ग प्वाइन्ट मान्ने उनी विश्वका ३५ भन्दा बढी देश घुमिसकेका छन् ।
r4
आतंकबादका विरुद्ध ब्रिटिस आर्मीको फोर्समा रहेर उनले अफगानिस्तानमा आतंकबाद विरुद्ध कार्य गरिरहदा मृत्यसँग लडेर बाँचेको अनुभव सुनाउने उनी प्रजातन्त्र सेनानी स्व. मुगाधन राई तथा कृष्णकुमारी राइका १० औं सन्तानका रुपमा जन्मिएका हुन् ।
r 1
उनी अहिले बेलायतमा बसेर नेपालमा के गर्नेभनेर योजना बनाउ छन् । यसमा ब्रिटिस आर्मीका प्रशिक्षक खुकुरी ट्रेनर उनकै दाई राष्ट्र राईले साथ दिएका छन् ।
विद्यार्थी जिवनमा बुबाको मन दुखाएका उनी अहिले बुबाको चाहाना अनुसार लयर नबनेकोमा बुबाको आत्माको शान्तिका लागि भन्दै एक ट्रष्टका माध्यमबाट सामाजिक कार्यमा होमिएका छन् । बुबा आमाको नाममा परिवारका सबै सदस्य मिलेर खोलेको मुगाधन कृष्ण कुमारी राई मेमोरियल ट्रष्टका नामबाट उनले स्वदेश आए लगत्तै एक म्याराथुनको आयोजना पनि गरे । जसलाई उनले यस क्षेत्रमा रहेका दौड प्रति रुची राख्नेलाई सम्मान गर्न आयोजना गरिएको भनी प्रष्ट्याए ।
r2
म्याराथुन गर्नु अघि उनले पुर्व क्षेत्रमै पहिलो पटक च्यारिटी डान्सपार्टीको पनि आयोजना गरि मनोरञ्जन दिलाउने प्रयास गरे । उनी र राष्ट्र राईकै सहयोगमा शगरमाथा मल्टि मार्शल आर्ट एकेडेमी स्थापना गरि हाल प्रशिक्षक दीपक धिमालले निशुल्क तालिम पनि दिइरहेका छन्  ।
 r5
भविष्यमा विभिन्न क्षेत्रका गरिव विद्यार्थीहरुलाई आफ्नै लगानीमा अध्ययन गराउने उदेष्य रहेको बताउने उनी समाज नबनुन्जेल र नबदलुन्जेल मुलुक बन्न नसक्ने बताउँछन् ।
r6
समाज सेवा नै उत्तम जीवन भन्ने बुबाको विचारलाई ठ्याक्कै टिपेका उनी ब्रिटिस आर्मी पछिको जिवन समाज सेवामै समर्पित गर्ने योजनामा छन् ।

Tuesday, December 8, 2015

मधेसीहरु भारतीय आप्रवासी होइनन् - श्यामशरण

 

नेपालमा चीनको गतिविधिप्रति भारत सतर्क हुनुपर्छ - श्यामशरण

Shyam-Sharan

नेपालका लागि भारतीय पूर्वराजदूत श्यामशरणले मधेसमा बस्नेहरु भारतीय आप्रवासी नभएको बताएका छन् । नेपालबारे भारतमा केही भ्रम रहेको भन्दै उनले नेपाल सरकारले आरोप लगाएको जस्तो मधेसीलाई भारतको समर्थन नरहेको समेत उल्लेख गरेका छन् ।

‘तराईमा बसिरहेका जनता त्यहाँका मौलिक वासिन्दा हुन् र भारतबाट आएका आप्रवासी होइनन्,’ उनले एक लेखमा लेखेका छन् । लेखमा श्यामशरणले भ्रमपूर्ण तथ्य पनि पेश गरेका छन्, जहाँ उनी लेख्छन्, ‘सिंगो तराई भारतीय स्वतन्त्रताको आन्दोलन दवाउने कार्यमा योगदान दिएवापत बि्रटिशले नेपालालई उपहारस्वरुप दिएका हुन् ।’ जब कि बेलायतले नेपाललाई फिर्ता गरेका तराईका चार जिल्ला मात्रै हुन्, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर ।
श्यामशरण अगाडि लेख्छन्, ‘हो, तराईमा रहेका जनताको सीमा क्षेत्रका भारतीयहरुसँग रगतको सम्वन्ध रहेको छ । तर, यस्तो सम्वन्ध पहाडका अधिकांश जनताको समेत छ । कयौं लाख नेपाली मुलका भारतीय नागरिकहरु छन् जो हाम्रो देशका विभिन्न क्षेत्रमा बसोबास गर्छन् । उनीहरु भारतीय हुनुमा गर्व गर्छन्, यद्यपि नेपालमा बस्ने दाजुभाइ दिदीबहिनीसित उनीहरुको रगतको नाता छ ।’
माओवादी जनयुद्ध र आर्थिक मन्दीका कारण ६० देखि ८० लाख नेपालीहरु भारतमा बसेर काम गरिरहेको दावी श्यामशरणले गरेका छन् । तीमध्ये धेरै नेपालको पहाडी क्षेत्रका रहेको उनले उल्लेख गरेका छन् । नेपालमा काम गरेर बसिरहेका लाखौं भारतीयको विषयमा भने उनको लेखमा चर्चा छैन ।
उनले पेन्सनधारी हजारौं भूतपूर्व भारतीय सैनिकहरु नेपालका गाउँ तथा शहरमा छरिएर रहेको उल्लेख गरेका छन् । ‘उनीहरु सबै पहाडी मूलका हुन्,’ श्यामशरण लेख्छन्, ‘नेपालको उच्च जातका नेपालीहरु, पूर्वराजपरिवारको नातेदार दाबी गर्नेहरु समेत, वैवाहिक सम्वन्धमार्फत भारतका परिवारसित गाँसिएका छन् । यस्तो सम्वन्धले दुई देशका जनताबीच बलियो सम्वन्धको आधार निर्माण गरेको छ ।’
उनले मधेसी र जनजातिहरुलाई समेत बराबरी दमन गरिएको भन्दै उनीहरुको समान अधिकारका लागि भारतले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
‘धेरै मानिसहरुलाई थाहा छैन कि आज नेपालमा विद्युतको ठूलो हिस्सा भारतबाटै आउँछ । यो अहिले पनि अवरोधविना निरन्तर आइरहेको छ । अन्य नाका बिन्दूहरु सामान्यरुपमा सञ्चालित भइरहेका छन् । नाकाबन्दीको प्रश्न कहाँ छ ? यदि आन्दोलनमा रहेका प्रदर्शनकारीले दक्षिणी सीमामा अवरोध गरिरहेका छन् भने कसरी आपूर्ति सुचारु हुन सक्छ ?’ उनले प्रश्न गरेका छन् ।
नेपालको पहाडी क्षेत्रमा अर्कै तप्काका जनतालाई अराष्ट्रिय विदेशी एजेन्ट भन्दै निशाना बनाउने अति राष्ट्रवादी प्रवृत्ति घातक हुने उनको चेतावनी छ । यसको खतरनाक लक्षण देखिन थालिसकेको उनको भनाइ छ ।
श्यामशरण अगाडि लेख्छन्, ‘तराई नेपालको खाद्य भण्डार हो । यो देशका उद्योगहरु तराईमा छन्, जुन छिमेकी भारतका ठूला बजारसित नजिक छन् । सत्ता सञ्चालकले यो कुरा ध्यानमा राख्नुपर्छ ।’
लेखमा श्यामशरणले ‘चाइना फ्याक्टर’को पनि चर्चा गरेका छन् । उनी लेख्छन्, ‘नेपाल सरकारले तिब्बत-नेपाल बोर्डरबाट चीनले नेपाललाई सहयोग गर्ने हल्ला फैलाएर भारतमा बेचैनी सिर्जना गर्ने प्रयास गरिरहेको छ । केही तेलका ट्यांकहरु आएका छन् । तर, विगतको महिनामा चीनबाट भएको आपूर्ति भारत-नेपाल बीचको व्यापार र आर्थिक सम्वन्धको छेउछाउ पनि पुग्न सक्दैन भन्ने प्रमाणित भइसकेको छ ।’
उनले नेपालमा चीनको गतिविधिप्रति भारत सतर्क रहनुपर्ने सुझाव दिएका छन् । तर, भारतलाई दबाव दिन नेपाललाई चिनियाँ कार्ड प्रयोग गर्ने छुट दिनुपर्ने र नेपालका लागि यसको नतिजा प्रत्युत्पादक हुने चेतावनी दिएका छन् ।                                                   



                                                     

                                                                                                                                    from onlinekhabar

Thursday, October 8, 2015

विश्व दृष्टि दिवसः परिचय तथा महत्व


                                                              
 बिनोद दहाल (तुलसी)       /      “विश्व दृष्टि दिवस”एउटा अन्तराष्ट्रिय महत्व राख्ने दिवस हो जुन विश्व भर विविध कार्यक्रमहरुको आयोजना गरि मनाउने गरिन्छ । हरेक साल अक्टुबर महिनाका दोश्रो बिहिबार मनाउने गरिएको यो विश्व दृष्टि दिवस यस पटक ८ अक्टोबर (२१ आश्विन) मा परेको छ। सन १९९८ मा विश्व स्वास्थ्य संगठन (WHO),अन्धोपन निवारण सम्बन्धी अन्तराष्ट्रिय संस्था (IAPB)  तथा लायन्स क्लब अफ    ईन्टरनेशनलको अगुवाईमा पहिलो पटक “विश्व दृष्टि  दिवस” मनाएर यो परम्पराको थालनी गरिएको हो । हरेक बर्ष अलग अलग नारा दिएर मनाउँदै आएको यो दिवसले यस पटक भने “सबै का लागि आँखा उपचार” (EYE CARE FOR ALL),भन्ने नारा अघि सारेको हो । “अन्धोपन तथा न्यून दृष्टि”को समस्या नेपाल जस्तो अल्पविकसित राष्ट्रमा मात्र नभइ विश्वका सबै ठाँउहरुमा बिकराल समस्याको रुपमा अघि आईरहेको छ । तिन दशक अघि र अहिलेलाई तुलना गरेर हेर्दा अन्धोपन तथा न्यून दृष्टि गराउने कारणहरुमा धेरै ठूलो परिवर्तन आएको देखिन्छ । तिन दशक अघि यानी बि.स.२०४०को आसपासमा हाम्रो देशमा किटाणुबाट हुने संक्रमित रोग तथा पोषण यूक्त खानाको कमिले हुने रोग हरुका कारण दृष्टि विहिन तथा न्यून दृष्टि हुने हरुको संख्या उल्लेखिय थियो । सरसफाईमा कमी, जनचेतनाको अभावका कारण आखाँमा लाग्ने खस्रे रोग (Trachoma)  त्यो समयमा एउटा बिकराल समस्या थियो । बालबालिका देखि बयस्क तथा बृद्घहरु समेत यो रोगबाट ग्रसित थिए । त्यसै गरी पोषण युक्त खानाको अभावले गर्दा बालबालिकाहरुमा भिटामीन–ए को कमीले हुने रतन्धो तथा अन्धोपनको समस्या (Xerophthalmia)  समेत त्यो बेलाको प्रमुख चुनौती थियो । तर ,आज आएर नेपालीहरुको जिवन स्तरमा आएको क्रमिक सुधार, स्वास्थ्य सँस्थाहरुको सेवामा विस्तार, साथै शारिरिक स्वास्थ्यमा आएको सुधार  संगसगै  अन्धोपन तथा न्युनदष्टि को प्रकृतिमा समेत ठूलो परिवर्तन आएको छ । संक्रमणका कारणले गर्दा हुने खस्रे रोग, जुन तिन दशक अगाडी हाम्रा अगाडी विकराल रुपमा खडा थियो, आज आएर नेपालमा पूर्ण रुपमा निर्मुल भएर गएको छ । हालै मात्र मेची अञ्चलमा गरिएको सर्वेक्षणले एउटा पनि खस्रे रोगका विरामी फेला नपरेको सुखद समाचार हाम्रा सामु ल्याइदिएको छ । त्यसै गरी पोषणयुक्त खानाका कमिले हुने रोग “रतन्धो तथा आखाँको नानीमा आउने समस्या” (Xerophthalmia) पनि हाम्रो देशबाट उन्मुलन हुदै गईरहेको अवस्था छ । एकातिर माथि उल्लेखित समस्याबाट हामीले छुटकारा पाउदै गएको मा हर्षित हुने अवस्था त छदैछ, अर्को तर्फ अन्धोपन तथा न्यून दृष्टिका नयाँ कारणहरु हामी माझ चुनौती पूर्ण रुपमा अघि आइरहेका छन् । “मधुमेह (Diabetes) आँखाको चाप (प्रेसर) संग प्रत्यक्ष सम्बन्ध राख्ने रोग जलविन्दु (Glaucoma), उमेर वढ्दै जाँदा आँखाको पर्दामा आउन सक्ने परिवर्तनहरु ARMD जस्ता रोगहरुले पहिले देखा परेका रोगहरु खस्रे तथा संक्रमणहरुलाई विस्थापित गरिरहेको अवस्था छ । उपचार तथा रोकथाम गर्न यी समस्याहरु तुलनात्मक रुपमा कठिन साथै खर्चिला हुनाले यी रोगहरुमा नियन्त्रण पाउन अहिले निकै चुनौती थपिएको छ । सबै भन्दा हेक्का राख्नु पर्ने कुरा त के छ भने मधुमेहका कारणले आँखामा आउने असर (Diabetic Retinopathy) तथा आँखाको चाँपसंग प्रत्यक्ष सम्बन्ध राख्ने रोग जलविन्दु (Glaucoma ) का बिरामीहरुले प्रारम्भिक अवस्थामा कुनै लक्षण तथा चिन्हहरुको अनुभव नै गर्दैनन् । भन्नुको मतलव यी रोगहरुले हाम्रो आँखालाई  थाहै नपाई असर गर्दै जान थाल्छन् । जव विरामीले दृष्टि कम भएको महसुस गर्न थाल्दछन् तब उपचार गरेर पुनः दृष्टि प्राप्त गर्न निकै कठिन हुन जान्छ । यस्ता आँखाका रोगीहरु अरु कुनै समस्या भएर अस्पतालमा आई जाँच गर्दा मात्र पत्ता लाग्ने भएको हुदा धेरै ढिलो मात्र रोगको निदान  हुने गरेको पाईएको छ । यो सत्यतालाई दृष्टिगत गर्द यसपटकको दृष्टि दिवसले आफ्नो आँखा जाँच गराऔं (GET YOUR  EYES TESTED) भन्ने नारा अघि सारेको छ । 

तसर्थ विश्व दृष्टि दिवसले अघि सारेको यस नारालाई सफल पार्न हामी सबैले निम्न कुराहरुमा ध्यान पु¥याऔं । 
क)विद्यालय जानु अघि र गईरहेका बालबालिकाहरुको अनिवार्य रुपमा आँखा जाँच गराऔं । 
ख) चालिस बर्ष उमेर नाघेका सबैले हरेक बर्ष आँखा जाँच गर्ने बानी बसालौं । 
ग) मधुमेह (Diabetes)  तथा उच्च रक्तचाप(High Blood Pressure) जस्ता समस्या भएका सबैले नियमित रुपमा आँखा जाँच गराऔं । 
घ) परिवारका सदस्यहरु कसैमा जलविन्दु भएमा अन्य व्यक्तिहरुले समेत आँखा जाँच गराऔं ।


                                                                                                                                 बिनोद दहाल (तुलसी)
                                                                                                                                       (नेत्र अधिकृत)                                                                                                                                   बिर्तामोड आँखा अस्पताल

Tuesday, July 14, 2015

मन्त्री ज्यू, परदेशमा बेल्चा चलाइरहेकाहरूको सलाम छ तपाईंलाई


मन्त्री ज्यू, परदेशमा बेल्चा चलाइरहेकाहरूको सलाम छ तपाईंलाई


दोस्रो विश्वयुद्धताका जर्मन फौजले मैत्री सन्धि विरुद्ध गएर सोभियत युनियन माथि अचानक आक्रमण गरिदियो। उन्मादी जर्मन फौजको विजय यात्रा केही दिन भित्रै सोभियत सीमाबाट ५ सय माईल भित्रसम्म घुस्न सफल भयो। जर्मन फौजको उपस्थितिले लाल सेनामा आंतक छायो। कतै बटालियनका बटालियन आत्मसमर्पण गर्न लागे भने कोही हातगोडा छोडेर युद्ध लड्नु अगावै लमतन्न पर्न लागे। यो हिसाबले मस्कोको पतन अवश्यम्भावी जस्तै भयो।  
 
सोभियत सेनाको शीघ्र पतनको शृङ्खला रोक्न २८ जुलाई १९४२ मा अर्डर नम्बर २२७ जारी गर्दै स्टालिनले 'नट अ स्टेप ब्याक पोलिसी' कडाइका साथ लागू गरे। अब फौजको कुनै सिपाहीले पछि हट्न र आत्मासमर्पण नपाउने भयो। पछि हट्न खोज्नेलाई ठाउँको ठाउँ गोली हान्ने आदेश थियो। एक कदम पछि नहट्ने नीतिले अन्ततः लालसेना बर्लिन कब्जा गरेर मात्रै रोकियो। 
 
श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले पनि यो पटक सरकारको अघोषित मैत्री सन्धिको विरुद्ध गएर म्यान पावर व्यवसायी विरुद्ध अचानक आक्रमण गरिदिएका छ्न्। 
 
आम नेपाली नागरिकले बुझेको सत्य के हो भने उसले निर्वाचित गरेको सरकार उप्रति कहिल्यै बफादार र जिम्मेवार छैन। न उसको मानो खाने कर्मचारीतन्त्र उसको नुनको सोझो गर्छ। बर्षेनी फेरिने अस्थायी सरकार होस् कि साठी पुगेपछि करलाग्दी रिटायर हुने स्थायी सरकार, दुबैले अघोषित रुपमा म्यानपावर व्यवसायी, यातायात व्यवसायी, निजी अस्पतालका स्वास्थ व्यवसायी, पेट्रोलमा पानी मिसाउने व्यवसायी, सुनमा पित्तल मिसाउने व्यवसायीसँग उसको सरकारले मैत्रीपुर्ण सन्धि गरेको गम्भीर आशंका उसलाई  छ।                  
 
निर्वाचित जनप्रतिनिधिले चुनेको जनताको सरकार भनेर चिनिने संघीय लोकतान्त्रिक गणतन्त्रको नेपाल सरकार होस् कि भुतपुर्व श्री ५ को सरकार। दुबैको  म्यानपावर व्यवसायीसँग नाइटो जोडिएको मैत्री सम्बन्ध देख्दा त बेरोजगार युवाको हितमा भएको भर्खरैको फैसला कुनैदिन होला भनेर परिकल्पनासम्म गरिएको थिएन। लामो इतिहास बोकेको अघोषित मैत्री सन्धिको अलिखित समझदारीमा एक-अर्कालाई गरिखान सघाउ पुर्याई रहेका यी मित्रहरूलाई नागरिकको पिडासँग भने कुनै सरोकार थिएन। 
 
त्यसैले त हिमालयको काखमा हुर्केको नागरिक ५० डिग्रीको घाममा जतिसुकै मूल्यमा बेचियोस् उनीहरुलाई सरोकार विषय हुन्थेन।  हजारौं जिम्मेवारी र सपनाहरु बोकेर जिउँदै उडेको नागरिक दैनिक जस्तो बाकसमा बन्द भएर देश फर्किए पनि उनीहरुको संवेदनालाई आजका दिनसम्म कहिल्यै छुन सकेको थिएन। जुँगाको रेखी बस्दाबस्दै उडेको िकशोरले आफ्नो सम्पुर्ण यौवनकाल श्रम गरेर देश र परिवारको अर्थतन्त्रमा जतिसुकै ठूलो योगदान दिएर बुढेसकालमा तातोपानीले खुइलिएको टाउको लिएर देश फर्कियोस् मैत्री सन्धीमा बाँधिएका दुबै अनन्य मित्रहरूलाई केही फरक परेको थिएन। 
 
कमिसन, कमिसन र फेरि पनि कमिसनको अनियन्त्रित घोडेजात्राका प्रतिष्पर्धी घोडचढी सिपाही  जस्ता म्यानपावर कम्पनी लुट्ने धन्दामा कस्ले कस्लाई उछिनेर अगाडि बढ्ने भनेर सधैँ नै रेडी पोजिसनमा बसेका हुन्थे। बेरोजगार नौजवानको सपना र जिम्मेवारी बुझेका यी म्यानपावर व्यवसायीहरु उसैको पैसाले उसैलाई बन्दी बनाएर ऋणको दासत्व स्वीकार गरी जस्तोसुकै भूगोल र परिस्थितिमा पनि श्रम गर्न बाध्य बनाउँथे।  उनीहरुको त्यही लालच अन्ततः बाकसमा फिर्ता हुनुपर्ने नियतीको कारण हुन जान्थ्यो ।
 
तर घोर आश्चर्य ! दोस्रो विश्व युद्धमा हिटलरले स्टालिनलाई घात गरेजस्तो यतिबेला श्रम राज्यमन्त्री चन्द्रबहादुर गुरुङले म्यानपावर व्यवसायीसँगको वर्षौंदेखिको मैत्री सन्धिमा बाँधिएको मित्रता माथि एकाएक घात गरेका छन्। तर यी  विश्वासघातीलाई हिटलरले जस्तो मैत्री सन्धि विरुद्ध गएर आक्रमण गर्ने 'सन्काह' र 'धोखेबाज' मात्रै भएर पुग्दैन स्टालिन जस्तो एक कदम पछि नहट्ने दृढ र बर्लिन कब्जा गरेरै छाड्ने प्रतिवद्ध हुन पनि उत्तिकै जरुरी छ। 
 
इतिहास साक्षी छ यो देशमा जनहित र राष्ट्रहितमा जारी ऎन, कानुन र घोषणको हावा फुस्किन कुनै आइतबार कुर्नु परेको छैन। ठग्न नपाएर सडकमा पाउकष्ट गर्न आएका म्यानपावर व्यवसायीहरु सजिलोसँग आत्मसमर्पण गर्ने योद्धाहरु होइनन्। उनीहरूले राज्यमन्त्री गुरुङको हावा खुस्काउन कुनै कसर बाँकी नराख्ने निश्चित नै छ। तिनले अवश्य नै भर्नु पर्नेका गोजी, कान र दिमाग सबै भर्नेछ्न्। साम दाम दण्ड भेद सबैको उचित ठाउँमा उचित प्रयोग गर्ने नै छ्न्। त्यसैले चन्द्रबहादुर गुरुङले हिटलरले जस्तो दुस्साहस मात्रै गरेर पुग्दैन। स्टालिनको अर्डर नम्बर २२७ मा ७३ वर्ष पहिले जारी भएको एक कदम पनि पछि नहट्ने नीति 'बर्लिन कब्जा' नभएसम्म जारी राख्न सक्नुपर्छ।          
 
माननीय श्रम राज्यमन्त्रीलाई देश छोडेर परदेशमा बेल्चा हानिरहेका तीस लाख मौरी मजदुरको सलाम सहितको धन्यवाद र उनको कदममा प्रवासबाटै एेक्यवद्धता जाहेर गर्दै आफ्नो घोषणाबाट एक कदम पनि पछि नहट्न हार्दिक अनुरोध गर्दछु।

Tuesday, June 2, 2015

जातिवादी र मधेसवादीसँग प्रचण्डको सम्बन्ध-विच्छेद

मोहनविक्रम सिंह  
प्रमुख भनिने चार दलबीचको सोह्रबुँदे सहमतिपछि देशमा नयाँ प्रकारको वातावरण तयार भएको छ। लोकतान्त्रिक संविधान निर्माणको आशा उत्पन्न भएको छ। त्यो सकारात्मक र महत्त्वपूर्ण पक्ष हो। त्योभन्दा महत्त्वपूर्ण पक्ष प्रचण्डको जातिवादी र मधेसवादीसितको सम्बन्ध भने विच्छेद भएको छ। यही जेठ २० मा पंक्तिकारको एक साप्ताहिकमा प्रकाशित लेखमा भनिएको थियो, '...कतिपय प्रसंगमा प्रचण्डले त्यसरी संविधान निर्माणमा सकारात्मक दृष्टिकोणको संकेत दिने गरेको पाइन्छ। तर उनको नेतृत्वमा बनेको मोर्चा त्यसका लागि तयार हुने देखिन्न। पहिलो संविधानसभाकालको जेठ २ गतेको बहुजातीय आधारमा संविधान निर्माण गर्ने सम्झौतामा प्रचण्डको सहमति थियो। तर जातिवादी, क्षेत्रीयतावादी, एनजीओ, आईएनजीओ वा युरोपेली राष्ट्रहरूको दबाबमा उनी त्यो सहमतिबाट पछाडि हटेका थिए। त्यसको परिणामस्वरूप नै संविधान निर्माण नगरीकन संविधानसभा विघटन भएको थियो।
पछि पनि कतिपय सन्दर्भमा मोर्चाको दबाबका कारण उनले आफ्ना विचार बदलेका कैयन् उदाहरण छन्।' अहिले पनि उनले संविधान निर्माणका लागि केही सकारात्मक दृष्टिकोण अपनाए पनि उनको नेतृत्वमा बनेको जातिवादी र क्षेत्रीयतावादी मोर्चा त्यसका लागि कहाँसम्म सहमत हुनेछ? त्यो पनि कम महत्त्वपूर्ण प्रश्न होइन। संविधान निर्माणप्रति प्रचण्डले सकारात्मक दृष्टिकोण अपनाए र त्यस सन्दर्भमा जातिवादी र मधेसवादीसितको विरोधको सामना गर्न तथा उनीहरूसितको सम्बन्ध तोड्न पनि तयार भए त्यो स्वागतयोग्य कार्य हो र त्यसका लागि उनलाई धन्यवाद दिनुपर्छ।
अर्कोतिर माथिको लेखमा भनिए झैं उनले संविधान निर्माणको प्रश्नमा सकारात्मक दृष्टिकोण अपनाए पनि उनको नेतृत्वमा बनेको मोर्चा त्यसका लागि तयार हुने देखिन्न भन्ने जुन विचार प्रकट गरिएको थियो, व्यवहारले त्यसलाई सही साबित गरेको छ। सोह्रबुँदे सहमतिमा हाम्रा कयौं गम्भीर मतभेद छन्। खासगरी संघीयताका प्रश्नमा हाम्रो गम्भीर मतभेद रहेको सर्वविदित छ। हाम्रो त्यो मतभेदका कारणले संविधान निर्माण नै गर्नु हुन्न भन्ने हाम्रो सोचाइ छैन। अहिलेको प्रधान पक्ष लोकतन्त्र र गणतन्त्र स्थापना हो। लोकतान्त्रिक संविधान निर्माण भएपछि नै ती कार्य पूरा हुन सक्नेछन्। तर संविधान निर्माण हुन सकेन भने लोकतन्त्र र गणतन्त्रमा गम्भीर आँच पुग्ने मात्र होइन, देश प्रतिगमनतिर जाने, गम्भीर प्रकारको राजनीतिक अस्थिरता उत्पन्न भई अन्य कैयन् दुष्परिणाम हुने सम्भावना रहन्छ। 
त्यसैले देशको तात्कालिक स्थितिमा संविधान निर्माणले ठूलो राष्ट्रिय, ऐतिहासिक र प्रगतिशील महत्त्व राख्छ। तर त्यसको अर्थ अर्थात् संघीयता समावेश भएकाले संविधान निर्माण कार्यलाई विरोध नगर्ने हाम्रो नीतिको अर्थ संघीयता स्वीकार गर्नु अवश्य होइन। संविधान निर्माणका क्रममा त्यसप्रतिको हाम्रो विरोध रहनेछ र संविधानसभाले संघीयतासहितको संविधान पारित गर्‍यो भने पनि त्यसमा संशोधन वा खारेजीका लागि हाम्रो संघर्ष जारी रहनेछ। विभिन्न राजनीतिक शक्तिहरूका संघीयतासम्बन्धी सोचाइहरूसित हाम्रो गम्भीर प्रकारको मतभेद भए तापनि उनीहरूको लोकतान्त्रिक संविधान निर्माणको दिशामा गर्ने पहलकदमीलाई समर्थन गर्ने हाम्रो नीति रहनेछ।
हामीले पहिले पनि स्पष्ट गर्दै आएका थियौं र अहिले पनि त्यसैमा जोड दिन्छौं कि संघीयतालाई हामीले सम्पूर्ण रूपले नै अस्वीकार वा विरोध गर्दछौं। त्यसका साथै त्यससँग जोडिएर आएका जातीय राज्य, आत्मनिर्णयको अधिकार, मधेस एक प्रदेश, बहुराष्ट्रवाद वा जातीय अग्राधिकारलाई हामीले बढी आपत्तिजनक मान्छौं। त्यसैले कुनै पक्षले संघीयतालाई समर्थन गरे पनि उक्त प्रश्न (जातीय राज्य, आत्मनिर्णयको अधिकारबारे) उनीहरूले जेजति विरोध गर्दछन्, त्यसलाई समर्थन गर्ने नै हाम्रो नीति रहँदै आएको छ र आगामी दिनमा पनि त्यो नीति कायम रहनेछ। 
त्यस सन्दर्भमा एमाले र नेपाली कांग्रेसले सीमित र सम्झौतापरस्त प्रकारको भए पनि जातिवाद र क्षेत्रीयतावादविरुद्ध लिएको अडानलाई हामीले समर्थन गर्दै आएका छौं। त्यस प्रकारको पृष्ठभूमिमा अहिले प्रचण्डले पनि जातिवादी र क्षेत्रीयतावादीसित सम्बन्ध तोडेको कुरालाई हामी स्वागत गर्दछौं। उनीहरूले प्रचण्डले संविधान निर्माणप्रति लिएको सकारात्मक दृष्टिकोणलाई विश्वासघात बताएका छन्, तर वास्तविकता के हो भने उनीहरूसितको गठबन्धनका कारणले उनी (प्रचण्ड) देशको राजनीतिमा सही भूमिका खेल्न असमर्थ हुने गरेका थिए। 
अहिले उनले अपनाएको सकारात्मक दृष्टिकोणले उनलाई संविधान निर्माण वा लोकतन्त्र, गणतन्त्र संस्थागत गर्ने कार्यमा सही भूमिका खेल्न काफी हदसम्म मद्दत पु:याउनेछ भन्ने हामीले आशा गरेका छौं। त्यस सन्दर्भमा मोहन वैद्यको माओवादी पक्षले सोह्रबुँदे सहमति र प्रचण्डप्रति अपनाएको नीतिबारे पनि केही चर्चा गर्नु अप्रासंगिक हुने छैन। उनीहरूले प्रचण्डले धोका दिएको भन्दै उनीहरू (एमाओवादी) सित केही समय पहिलेदेखि सुरु गरेको एकताको प्रक्रियालाई नै भंग गरेका छन्। 
प्रथमत: त्यो एकता प्रक्रिया नै गलत र सिद्धान्तहीन प्रकारको थियो। उनीहरू (माओवादी) ले एमाओवादीले संविधानसभा छोड्ने र लोकतान्त्रिक संविधान निर्माण प्रक्रियाको विरोध गर्ने आशाले नै त्यो एकता प्रक्रिया सुरु गरेका थिए। 
अन्य सबै सैद्धान्तिक मतभेदहरूलाई एकातिर पन्छाएर खालि संविधानसभा र संविधान निर्माणको विरोधको आशाले मात्र त्यस प्रकारको पार्टी एकताको प्रक्रिया सुरु गर्नु हद दर्जाको अवसरवाद थियो। जे होस्, त्यस प्रकारको गलत नीतिबाट अलग भएर प्रचण्डले सही कार्य गरेका छन्। अर्कोतिर, ठीक त्यही बिन्दुमा वैद्यले गम्भीर प्रकारको सैद्धान्तिक गल्ती गर्दैछन्।
अहिलेको प्रधान पक्ष लोकतन्त्र र गणतन्त्र स्थापना हो। लोकतान्त्रिक संविधान निर्माण भएपछि नै ती कार्य पूरा हुन सक्नेछन्। तर संविधान निर्माण हुन सकेन भने लोकतन्त्र र गणतन्त्रमा गम्भीर आँच पुग्ने मात्र होइन, देश प्रतिगमनतिर जाने, गम्भीर प्रकारको राजनीतिक अस्थिरता उत्पन्न भई अन्य कयौं दुष्परिणाम हुने सम्भावना रहन्छ।
वैद्यले नयाँ जनवादी क्रान्ति, जनगणतन्त्र वा जनसंविधानको नाममा संविधानसभा, लोकतन्त्र, लोकतान्त्रिक गणतन्त्रसमेतको विरोध गर्दैछन्। उनीहरूको आधारभूत कमजोरी के हो भने उनीहरूले रणनीतिक नाराहरूलाई कार्यनीतिक नाराका रूपमा प्रस्तुत गर्दैछन्। त्यस सन्दर्भमा उनीहरूले देखाएको अर्को गम्भीर कमजोरी के हो भने उनीहरूले उक्त क्रान्तिकारी उद्देश्यहरू यस्तो सर्वदलीय संयन्त्रद्वारा पूरा गर्ने घोषणा गरेका छन्, जसमा सामेल हुने राजनीतिक शक्तिहरूको चरित्र अहिले संविधानसभामा रहेका राजनीतिक शक्तिहरूको भन्दा बेग्लै हुने छैन। उनीहरूको त्यसप्रकारको चिन्तनले माक्र्सवादी-लेनिनवादी सिद्धान्तसँग मेल खाँदैन र त्यो स्पष्टरूपले वामपन्थी संकीर्णवादी सोचाइ हो। अर्को शब्दमा, त्यस प्रकारको चिन्तनले बढी अराजकतावादी चिन्तनसित नै मेल खान्छ।
रिमले त्यही प्रकारको चिन्तन अपनाएको थियो र अहिले पुन: माओवादीले त्यही प्रकारको चिन्तनको अभ्यास गर्ने प्रयत्न गर्दैछ। उनीहरूको संविधानसभा, संविधान निर्माण, लोकतन्त्र वा गणतन्त्रलाई विरोध गर्ने नीतिले अग्रगमन होइन, प्रतिगमनलाई नै मद्दत पुर्‍याउनेछ। त्यस प्रकारको चिन्तन र कार्यविधिका कारणले इतिहासमा उनीहरू यस्ता शक्तिका रूपमा चिनिनेछन्, जसले देशमा लोकतन्त्र र गणतन्त्रका लागि ऐतिहासिक र निर्णयात्मक प्रकारको संघर्ष चलिरहेका बेलामा उनीहरू त्यसविरुद्ध उभिएका थिए। त्यसका लागि इतिहासले उनीहरूलाई कहिल्यै क्षमा दिने छैन। उनीहरूले भारतको सन् १९४२ को आन्दोलनको विरोध गरेर भारतीय कम्युनिस्टहरूले गरेको गल्तीलाई नयाँ प्रकारले दोहोर्‍याउने कोसिस गर्दैछन्।
मधेसवादीहरूले आठ प्रदेशमा सहमति भए पनि तिनीहरूको सीमांकन नगरिएकाले सहमतिप्रति सबैभन्दा बढी आपत्ति प्रकट गरेका छन्। कहाँसम्म भने त्यसरी प्रदेशहरूको सीमांकन नगरिएको कार्यलाई नै संघीयतालाई समेत तिलाञ्जली दिएको बताएका छन्। चार दलले त्यसरी संघीयतालाई छोड्ने निर्णय गरेको भए त्यो सही र स्वागतयोग्य कुरा हुन्थ्यो, तर उनीहरूले त्यसो गरेका छैनन्। त्यही कारणले मधेसवादीहरूले संघीयता छोडेको बताउँदैछन्। 
उनीहरूका लागि प्रदेशहरूको सीमांकन, संघीयताको आधारभूत विषयवस्तु बनेको छ। त्यसको रहस्य के हो? त्यसबारे केही प्रकाश हाल्नुपर्ने आवश्यकता छ। उनीहरूले प्रदेशहरूको सीमांकनमा जोड दिएर वास्तवमा पहाडी भूभागभन्दा बेग्लै तराईमा एक प्रदेश, बढीमा दुई प्रदेशको निर्माणलाई सुनिश्चित गर्न चाहन्छन्। त्यस प्रकारको नीतिका पछाडि अन्त्यमा तराईलाई नेपालबाट अलग गराएर स्वतन्त्र मधेस राज्य बनाउने दीर्घकालीन योजनाले काम गरेको पनि बुझ्न गाह्रो पर्दैन। अहिले सोह्रबुँदे समझदारीमा सीमांकनको जिम्मा विज्ञहरूको आयोगलाई दिने र संविधानसभाको दुईतिहाइ बहुमतद्वारा त्यसबारे निर्णय गर्ने भनिएको छ। 
त्यो अवस्थामा पहाडी भूभागलाई बेग्लै पूरै तराईको एउटा वा दुइटा प्रदेशहरू बन्ने मात्र होइन, पहिले एमाले र कांग्रेससित सहमति भएका पूर्व र पश्चिमका पाँच जिल्ला छोडेर बीच भागमा तराईका मात्र बेग्लै प्रदेशहरू बन्ने कुरा पनि अनिश्चित हुनेछ। त्यसैले सीमांकनबिनाको आठ प्रदेशको अवधारणालाई आफ्नो दीर्घकालीन योजनाविरुद्ध ठहर्‍याएका छन्।एमाले र कांग्रेसले पूर्व र पश्चिमका पाँच जिल्लाहरूबारे तराई र पहाडलाई अलग गर्न नदिने सही अडान लिएको भए पनि मध्य पहाडबारे उनीहरूले सम्झौतापरस्त र गलत नीति अपनाएका थिए। संविधान निर्माणका क्रममा उनीहरूले पहिलेको सम्झौतापरस्त र गलत नीतिलाई कायम राख्ने प्रयत्न गर्ने त होइनन्? त्यो सम्भावनालाई पूरै अस्वीकार गर्न सकिन्न। उनीहरूले त्यस प्रकारको नीति अपनाएमा त्यसविरुद्ध संविधानसभाभित्र र बाहिर शक्तिशाली जनदबाब र जनमत तयार पार्नुपर्ने आवश्यकता छ।
हाम्रो के निश्चित मत छ भने प्रदेशहरूको निर्माण गर्दा उत्तरी पहाड र तराईका भूभाग मिलाएर नै प्रदेश निर्माण गर्नुपर्छ। कुनै पनि विद्यमान अञ्चल, जिल्ला, गाउँ टुक्राउनु हुँदैन र जातीय आधारमा कुनै प्रदेशको निर्माण गरिनु हुँदैन। त्यसका साथै आत्मनिर्णयको अधिकारलाई पनि दृढतापूर्वक अस्वीकार गरिनुपर्छ। यस सन्दर्भमा एउटा अर्को कुराप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ। हामीले त्यही प्रकारको दृष्टिकोणअनुसार सातवटा प्रदेशहरूको निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिएका थियौं। 
त्यो संख्यामा एकाध संख्या कम-बेसी भएमा कुनै खास फरक नपर्ने कुरा स्पष्ट गर्न चाहन्छौं। तर यस सन्दर्भमा अर्को एउटा महत्त्वपूर्ण कुराबारे हामीले केही प्रकाश हाल्न चाहन्छौं। प्रदेशहरूको निर्माणमा जुन कुरामा जोड दिएका छौं, ती एकात्मक संरचनाअन्तर्गतका प्रशासकीय एकाइ नै हुन्। हामीले संघीय संरचनाको पूरै विरोध गर्ने भएकाले त्यस प्रकारको संरचनाअन्तर्गत एक प्रदेशको निर्माणलाई पनि गलत मान्दछौं र विरोध गर्दछौं। सोह्रबुँदे सहमतिमा स्थानीय निर्वाचनलाई यथासक्य चाँडो गर्ने भनिएको छ र त्यसलाई हामीले समर्थन गर्दछौं। तर त्यस सन्दर्भमा कतिपय कुरा स्पष्ट गर्नुपर्ने आवश्यकता छ। 
हाम्रो देशमा १६ वर्षदेखि स्थानीय निकायको निर्वाचन भएको छैन। सरकार वा प्रशासनको इच्छाअनुसार स्थानीय निकायको भाग्यको फैसला हुने स्वेच्छाचारी प्रणालीको अन्त्य हुनुपर्छ र त्यसका लागि के आवश्यक छ भने संविधानमा नै स्थानीय निकायलाई मौलिक अधिकारका रूपमा मान्यता दिइनुपर्छ। संसद्ले बनाएको कानुनअनुसार काम गर्ने उनीहरूको अधिकार सुरक्षित हुनुपर्छ र सरकार वा प्रशासनले उनीहरूमाथि कुनै हस्तक्षेप गर्नु हुँदैन। स्थानीय निकायहरू तथा सरकार र प्रशासनका बीचमा विवाद पैदा भएमा सम्बन्धित स्तरभन्दा माथिल्लो तहको अदालतद्वारा त्यसबारे निर्णय गर्ने अधिकार हुनुपर्छ। संघीय संरचनाअन्तर्गत खाली गाउँस्तरका स्थानीय निकायलाई कायम राख्ने र जिल्ला तहका स्थानीय निकाय समाप्त गर्ने कुरा पनि उठिरहेको छ। त्यसो गर्दा स्थानीय निकायको अधिकार कुण्ठित हुनेछ। त्यस्तो हुन नदिन जिल्ला तहका स्थानीय निकायलाई पनि कायम राखिनुपर्ने विषयमा हामीले जोड दिन्छौं। हामीले के कुरामा पनि जोड दिन्छौं भने स्थानीय निकायको निर्माण तीन तहमा गरिनुपर्दछ : गाउँ तह, जिल्ला तह र प्रादेशिक तह।
निश्चय नै यस तहको अधिकार, कार्यप्रणाली तथा विभिन्न तहका प्रशासनसित उनीहरूसित सम्बन्धको स्वरूपमा अन्तर हुनेछ र हुनुपर्नेछ। ती सबै विषयको व्यवस्था संसद्ले बनाएको कानुनअनुसार निर्धारित गरिनेछ। अन्त्यमा, सोह्रबुँदे सहमतिसित हाम्रा कतिपय मतभेदहरू भए तापनि मूलरूपमा त्यसको स्वरूप सकारात्मक प्रकारको छ र संविधान निर्माण तथा लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न त्यसले योगदान दिनेछ भन्ने हामीले आशा गरेका छौं। तर गत कालमा कैयन् सहमति वा सम्झौताहरू कार्यान्वयन नभएका वा भंग भएका उदाहरणमाथि विचार गर्दा त्यो सहमतिको कार्यान्वयनमा पनि बाधा वा समस्या पैदा हुने सम्भावनालाई पूरै अस्वीकार गर्न सकिन्न। हामीले आशा र कामना गर्दछौं: त्यसो हुने छैन र लामो समयदेखि कार्यान्वयन हुन नसकेको संविधान निर्माण कार्य समयमै पूरा हुनेछ।  तर त्यो संविधानको निर्माणबाट लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न केही मद्दत पुगे तापनि त्यो संविधानले नै देश र जनताका सबै समस्याको समाधान गर्न सक्ने छैन र संसद्भित्र र बाहिर लगातार संघर्षको आवश्यकता परिरहनेछ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...