Sunday, June 21, 2015

दाता सम्मेलनमा दुई छिमेकी प्रधानमन्त्रीको सहभागिता नहुने

७ असार, काठमाडौं/  विनाशकारी भूकम्पले तहस नहस बनाएका संरचनाहरुको पुनर्निर्माण र नवनिर्माणका लागि असार १० गतेदेखि काठमाडौंमा शुरु हुने दाता सम्मेलनमा दुई छिमेकी
चीन र भारतबाट प्रधानमन्त्रीस्तरको सहभागिता नहुने भएको छ । सरकारले दुवै देशका प्रधानमन्त्रीको सहभागिताका लागि आग्रह गरे पनि दुवै देशले विदेशमन्त्रीको नेतृत्वमा उच्चस्तरीय टोली पठाउने औपचारिक जानकारी दिएको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले बताए । चीनका विदेशमन्त्री वाङ यीको नेतृत्वमा १० सदस्यीय टोली नेपालको पुननिर्माणमा सघाउने प्रतिबद्धता सहित काठमाडौं आउन लागेको हो । चिनियाँ टोली बुधवार आउने जानकारी काठमाडौंस्थित दूतावासले गराइसकेको छ । त्यस्तै अर्को छिमेकी भारतबाट पनि विदेशमन्त्री सुष्मा स्वराजको नेतृत्वमा उच्चस्तरीय टोली काठमाडौं आउन लागेको छ । स्वराज पनि बुधवारै काठमाडौं आइपुग्ने भारतीय दूतावासका अधिकारीले जानकारी दिएको मन्त्री पाण्डेले बताए ।
     त्यस्तै युरोपेली युनियनबाट अन्तर्रा्ष्ट्रिय विकास तथा सहकार्य आयुक्त नेभेन मिमिकाको नेतृत्वमा युरोपेली टोली आउने जानकारी युरोपेली आयोगले विज्ञप्तिमार्फत जनाएको छ । नेपाललाई सघाउने अन्तर्रा्ष्ट्रिय दाताहरुको सम्मेलनमा अमेरिका, जापान, बेलायत, न्युजिल्याण्ड, ब्राजिल, अष्ट्रिया लगायत ६५ देशको प्रतिनिधित्व हुने मन्त्री पाण्डेले बताए । कतिपय देशका राजदूतहरुले नै सम्मेलनमा प्रतिनिधित्व गर्नेछन् । सरकारले दाता सम्मेलन स्थल होटल सोल्टी चयन गरेको छ । सबै हिसाबले सोल्टी होटल नै उपयुक्त भएकाले सम्मेलनको तयारी त्यहीँ भइरहेको योजना आयोगका एक सदस्यले बताए ।

No comments:

Post a Comment

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...