Thursday, October 15, 2015

एमाओवादीका ६ मन्त्रीको टुंगो आज लाग्ने


२९ असोज, काठमाडौं /  एकीकृत नेकपा माओबादिले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको आज टुंगो लगाउने भएको छ । एकीकृत माओबादिका तर्फबाट सहभागि हुने ६ जना मन्त्रीहरुको टुंगो आज पार्टी अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले लगाउने नेता दीनानाथ शर्माले  बताउनुभयो ।
एकीकृत नेकपा माओवादीका गृहमन्त्रीको टुङ्गो लागेपनि अरु मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्नेमा विवाद देखिएको छ । यसअघि गृहमन्त्री वा उपप्रधानमन्त्रीको दावी गरिरहनु भएका टोपबहादुर रायमाझिले कम्तिमा तीनजना आफ्नो सिफारिसका मन्त्री बन्नुपर्ने बताउनुभएको छ । हिजो माओबादीले सभामुखमा ओन्सरी घर्तिमगर र उपप्रधान तथा गृहमन्त्रालयमा कृष्णबहादुर महराले प्रतिनिधित्व गर्ने निर्णय गरिसकेको छ ।

राप्रपा नेपालले यादवलाई उपसभामुखको उम्मेद्वार बनाउने

२९ असोज, काठमाडौं / राप्रपा नेपालले उपसभामुखमा उम्मेद्वारी दिने भएको छ । आज बिहान बसेको राप्रपा नेपालको हाइकमान्ड बैठकले सांसद गंगाप्रसाद यादवलाई उपसभामुखको उम्मेद्वार बनाउने निर्णय गरेको सहप्रवक्ता मोहन श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

सत्तारुढ दलसँग बिहीबार भएको छलफल अनुसार सभाुमखका लागि एमाओवादी उम्मेद्वार ओनसरी घर्तीलाई मतदान गर्ने र उपसभामुखमा यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको श्रेष्ठले बताए ।
यादव राप्रपा नेपालको समानुपाति सांसद तथा पार्टीको केन्द्रीय सदस्य हुन् ।

सभामुखका लागि आज निर्वाचन हुँदै

२९ असोज, काठमाडौं / व्यवस्थापिका संसदको सभामुख र उपसभामुख चयनका लागि आज मतदान हुँदैन । दलहरुको सहमतिका आधार सभामुख र उपसभामुख चयन गर्न नसकेपछि बहुमतका आधार चयन गर्न निर्वाचन हुन लागेको हो ।

संसद सचिवालयले निर्वाचनको कार्यतालिका समेत तयार पारेको छ । उक्त तालिका अनुसार बिहान साढे ११ बजेदेखि दुई बजेसम्म सभामुख र उपसभामुखको लागि उम्मेद्वारी दर्ता गर्नुपर्ने र तीन बजेदेखि निर्वाचन गर्ने तयारी रहेको छ । उपसभामुख चयनका लागि भने पाँच बजेपछि निर्वाचन हुनेछ । संविधानको धारा २९९ मा सहमतिका आधारमा सभामुख र उपसभामुख चयन गर्न नसके बहुमतका आधारमा निर्वाचन गर्ने व्यवस्था गरिएको छ ।

म्याच फिक्सिङ प्रकरणमा अरू खेलाडी पनि तानिँदै

म्याच फिक्सिङ आरोपमा बुधबार पक्राउ खेलाडीलाई बिहीबार बयानका लागि हिरासत कक्षबाट प्रहरी कार्यकक्षतिर लगिँदै। म्याच फिक्सिङ आरोपमा बुधबार पक्राउ खेलाडीलाई बिहीबार बयानका लागि हिरासत कक्षबाट प्रहरी कार्यकक्षतिर लगिँदै।

काठमाडौं- मिडियामा छाइरहेका स्टार फुटबल खेलाडीहरू बिहीबार भने अनुहार लुकाउन खोजिरहेका थिए। उनीहरूको मुखमा मास्क थियो भने टाउको ज्याकेटको टोपीले पिएको थियो। यसरी सञ्चारकर्मीबाट छलिन खोज्नेहरू थिए– राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा, खेलाडी विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप थापा र अञ्जन केसी।

खेल मिलेमतो गरेको आरोपमा बुधबार पक्राउ परेका उनीहरूले बिहीबार राजधानीको टेकुस्थित महानगरीय प्रहरी अपराध महाशाखाको हिरासतबाट कार्यालयमा जाँदा अनुहार लुकाउन खोजेका थिए। बयानका लागि प्रहरीले उनीहरूलाई कार्यालय लाँदा परिसरमा सञ्चारकर्मीको भीड थियो।


६ वर्षदेखिफुटबलको मैदानमानेपाली टिमको नेतृत्व गरेका सागर प्रहरीको घेरामा सबैभन्दा पछाडि थिए। मिलनसार छविका उनले सञ्चारकर्मीतिर नजरनै लाएनन्। उनी नीलो ज्याकेट, जिन्स र चप्पलमा थिए। अञ्जन, विकाससिंह, रितेश र सन्दीपको अवस्था पनि उस्तै थियो। सबैको नजर भुइँतिर झुकेको थियो। हतकडी लुकाउन उनीहरूले हात ज्याकेटको खल्तीमा घुसारेका थिए।


सिंगापुर र मलेसियामा रहेका फुटबलका फिक्सर(दलाल)सँगको मिलेमतोमा ८ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा पक्राउ परेका उनीहरू बुधबारदेखिनै महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। पक्राउ परेको २४ घन्टाभित्र अदालतमा पेस गरी न्यायिक हिरासतमा राख्नुपर्ने कानुनी प्रावधान रहे पनि घटस्थापनासँगै अदालत बन्द भएकाले प्रहरीले बिहीबार उनीहरूलाई न्यायिक हिरासतमा राख्ने अनुमति लिन सकेन।


कानुनी परामर्शपछि प्रहरीले दसंैपछि अदालत खुलेलगत्तै अदालती प्रक्रियामा प्रवेश गर्ने गरी राज्यविरुद्धको अपराधसम्बन्धी कानुन टेकेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।संगठित रूपमा अपराध गरेको भन्दै संगठित अपराध ऐन र आपराधिक समूहसँग मिलेर आर्थिक फाइदा लिएको भन्दै सम्पत्ति शुद्धीकरण ऐनअनुसार समेत अनुसन्धान अगाडि बढाउने प्रहरीले तयारी गरेको छ।


महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले काठमाडौं परिसरसँगको समन्वयमा उनीहरूमाथि राज्यविरुद्धको अपराध र सजाय ऐनअनुसारको कसुरमा अनुसन्धान प्रक्रिया सुरु गरिएको जानकारी दिए।


प्रहरीले सो ऐनको दफा ३ को उपदफा ३.३ मा रहेको 'कसैले नेपालको सार्वभौम सत्ता, अखण्डता वा राष्ट्रिय एकतामा आघात पर्न सक्ने गरी कुनै विदेशी राज्य वा संगठित शक्तिसँग मिली कुनै प्रकारको षड्यन्त्र गरे निजलाई जन्मकैद वा दस वर्षसम्म कैद' हुने प्रावधानलाई उनीहरूमाथिको आरोपसँग जोडेर अनुसन्धान अगाडि बढाएको छ।


'अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्दै सहभागी खेलाडीले संगठित समूहसँग मिली खेल हारजित गराएकाले यो कानुनमा टेकेर अनुसन्धान अगाडि बढाएका हौं,' एसएसपी खनालले भने, 'योसँगै संगठित अपराध ऐन र सम्पत्ति शुद्धीकरण ऐनअनुसारको अनुसन्धानका लागि समेत सरोकारवाला निकायसँग परामर्श भइरहेको छ।'

पक्राउका चार आधार



नेपाली खेलाडीले अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको सूचना आएपछि प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धानमा उनीहरूको संलग्नतासम्बन्धी प्रमाण फेला परेपछि मात्रै उनीहरूलाई पक्राउ गरी औपचारिक अनुसन्धान प्रारम्भ गरिएको एसएसपी खनालले बताए।


खनालका अनुसार खेल मिलेमतो गरेको आरोप लागेका खेलाडीले खेलेको खेलको नतिजा, उनीहरूको सम्पर्कमा रहेका विदेशी नागरिक र उनीहरूको पृष्ठभूमि, खेलाडीको आर्थिक गतिविधि र आम्दानीको स्रोततथा उनीहरूको नाममा विदेशबाट आएको रकमको विवरण अनुसन्धानका मुख्य आधार हुन्। पक्राउअघिको अनुसन्धानमा खेल मिलेमतो गराउने एजेन्टका रूपमा अन्तर्राष्ट्रिय फुटबलमै कुख्यात सिंगापुर र मलेसियाली नागरिकसँग सागर र अञ्जनको नियमित सम्पर्क देखिएको र उनीहरूबीच भएको आर्थिक लेनदेनको विवरणलाई प्रहरीले अनुसन्धानको मुख्य आधार बनाएको छ।


'अनुसन्धानमा अञ्जन र सागरको सम्पर्क खेल मिलोमतोमा कहलिएका विल्सन राज पेरुमल,टिटानीपेरिसामी, तमन प्रमाटा,केशवन पट्टानसँग देखिएको छ,' खनालले नागरिकसँग भने, 'यीमध्ये विल्सन नेपालमै आएर सागरसँग भेटेर गएका थिए।' नेपाली फुटबल टोलीका कप्तान सागरसँग निकट सम्बन्धमा देखिएका सिंगापुरका विल्सन सन् १९९५ देखिनै खेल मिलेमतोमा कहलिएका फिक्सर हुन्।दक्षिण अफ्रिकामा सन् २०१० मा भएको विश्वकपका पाँच खेलमा मिलेमतो गराएको आरोपमा उनी सन् २०११ मा फिनल्यान्डमा पक्राउ परेका थिए। उनी अहिले हंगेरीमा छन्। प्रहरीका अनुसार सन् २००८ मा सागर र विल्सनबीच दरबारमार्गमा भेट भएको थियो।बयानमा सागरले समेत यो कुरा स्वीकार गरेका छन्।


'विल्सनले मलाई फोन गरेर दरबारमार्गमा बोलाएपछि एक होटलमा बसेर कुराकानी गरेका हौं,' सागरको बयान उद्धृत गर्दै अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, 'उनले सिंगापुरको क्लबस्तरीय लिगमा खेल्नेबारे कुरा गर्न आएका थिए, त्यसपछि उनीसँग बेलाबखत सम्पर्क भइरहन्थ्यो।' टिटानी, तमन प्रमाटा,केशवन पट्टानसमेत खेल मिलेमतोमा कहलिएका अन्तर्राष्ट्रिय फिक्सर हुन्।


खेल मिलेमतोमा कहलिएका अन्तर्राष्ट्रिय फिक्सरसँगै पक्राउ खेलाडी र उनीहरू निकटका नाममा सिंगापुर र मलेसियाबाट वेस्टर्न युनियन मनी ट्रान्सफरबाट आएको पैसाको विवरणसमेत प्रहरीले संकलन गरेको छ। अनुसन्धानमा अञ्जनले पाँचपटक लिएको रकमको विवरण प्रहरीसम्म आइसकेको छ भने रितेशले एकपटक रकम लिएको विवरण फेला परेको छ।


सन् २००९ डिसेम्बरमा रितेशका नाममा सिंगापुरबाट ४ हजार २ सय सिंगापुर डलर आएको थियो। अञ्जनका नाममा सन् २००९ बाट आएको रकम विवरण पनि प्रहरीले संकलन गरेको छ।उनका नाममा २००९ डिसेम्बरमा ७ हजार १ सय सिंगापुर डलर, २०१२ सेप्टेम्बरमा २ हजार ४ सय ८० मलेसियाली रिंगेट, २०१३ अगस्टमा ९ हजार ८ सय, सेप्टेम्बरमा १ हजार ६ सय मलेसियाली रिंगेट र फेब्रुअरीमा १ हजार सिंगापुर डलर आएको थियो।


सागर र रितेशलाई वेस्टर्न युनियनमार्फत पैसा पठाउनेहरूले ठूलो मात्रामा पैसा पठाएका अन्य तीन जनाको समेत पहिचान गरे पनि प्रहरीले अनुसन्धान निष्कर्षमा नपुगेको भन्दै विवरण सार्वजनिक गरेको छैन। स्रोतका अनुसार ती तीनै जना खेलाडीका आफन्त हुन्।


'पक्राउ परेकाहरूको निकट रहेका केही व्यक्तिको नाममा ठूलो परिमाणमा विदेशी पैसा आएको देखिएको छ,' एसएसपी खनालले भने, 'सो पैसा म्याचफिक्सकै हो या अन्य विषय, अनुसन्धान निचोडमा पुगिसकेको छैन।'


अञ्जन स्थानीय फिक्सर


करिब २ महिनाको अनुसन्धानपछि अनुसन्धान अधिकारी थ्री–स्टारका पूर्व प्रशिक्षक तथा पूर्व राष्ट्रिय खेलाडी अञ्जन केसी अन्तर्राष्ट्रिय फिक्सर समूहको नेपाली एजेन्ट रहेको निष्कर्षनिकट पुगेका छन्।


सन् २००८ बाट राष्ट्रिय टोली छाडे पनि उनको नाममा पुरानै एजेन्टबाट नियमित पैसा आइरहेको विवरण र पक्राउ परेका खेलाडीको बयानबाट उनी मिलेमतो गर्नुपर्ने खेल, त्यसका आवश्यक नतिजा र रकमको डिल गर्न सक्रिय रहेको प्रहरीको निष्कर्ष छ।


एसएसपी खनाल नेपाली टोलीको अन्तर्राष्ट्रिय खेल हुने देशमा उनी विनाहैसियत पुग्ने गरेका थिए। प्रहरीको सूचीमा म्याच फिक्स भएको फिलिपिन्सको खेल र दिल्लीमा भएको नेहरु कपमा समेत उनी उतै थिए।


'उनी म्याच फिक्सर र नेपाली टोलीबीच समन्वय गर्न त्यहाँ गएको अहिलेसम्मको अनुसन्धानले देखाएको छ,' खनालले भने, 'अहिलेसम्मको अनुसन्धानमा उनी नेपालमा रहेका फिक्सरका एजेन्ट देखिएका छन्।'


सामान्य आर्थिक पृष्ठभूमिका उनको आर्थिक अवस्थाछोटो समयमै नाटकीय सुधार भएको थियो। अनुसन्धानमा उनी क्यासिनो र ढुकुटीको खेलमा समेत संलग्न रहेको देखिएको छ। उनले ढुकुटी खेल्दा ४५ लाख डुबेको प्रहरीसँगको प्रारम्भिक बयानमा स्वीकार गरे पनि क्यासिनोमा खेल्दा पैसा कमाएकाले आर्थिक अवस्था सुधारिएको दाबी गरेका थिए।


भारतको सिक्किममा रहेको क्यासिनोमा समेत उनको लगानी रहेको प्रहरीले आशंंका गरे पनि उनले आफू घुम्न मात्रै जाने गरेको दाबी गरेका छन्। नेपालमा क्यासिनो बन्द भएपछि क्यासिनोमा मिटर ब्याजमा पैसा दिएर असुल्न सक्रिय गुन्डा नाइके दिनेश अधिकारी (चरी), बलराम सापकोटा र रमेश बाहुनसँग उनको निकट सम्बन्ध देखिएको प्रहरी अधिकारी बताउँछन्।


'चरी लगायतका केही आपराधिक पृष्ठभूमिका व्यक्तिसँग उनको निकटता देखिएको छ, त्यो पाटो अनुसन्धानको दायरामै छ,' एसएसपी खनालले भने।


कुन–कुन खेलमा मिलेमतो


प्रहरीले नेपाली खेलाडीले मिलेमतोमा खेलेकाआठवटा अन्तर्राष्ट्रिय खेलको सूची बनाएर अनुसन्धान अगाडि बढाएको छ। महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार सन् २००८ मा मलेसियामा आयोजित मोर्डेकाकपमा अफगानिस्तानसँगको खेलमा मिलेमतो भएको थियो। २–२ बराबरी खेल्ने सर्तमा नेपाली टोलीका २० जना सदस्यले प्रतिव्यक्ति ५ हजार अमेरिकी डलर पाएका थिए।यस्तै, सन् २००९ को साफ च्याम्पियनसिपमा फिक्सरबाट आएको ३ हजार अमेरिकी डलर सबैले दामासाहीमा बाँडेका थिए।


सन् २०११ मा मलेसियासँगको मैत्रीपूर्ण खेलमा २–० ले खेल हार्ने,सन् २०११ मा फिलिपिन्ससँग भएको मैत्रीपूर्ण खेलमा ४–० ले हार्ने सर्तमा नेपाली खेलाडीले मिलेमतो गर्दै सोहीअनुसार नतिजा दिएको एसएसपी खनालको दाबी छ।सन् २०१४ मा कोरियामा भएको अन्डर–२३ एसिया च्याम्पियनसिपमा समेत प्रतिखेलाडी ५ हजार डलरमा म्याचफिक्स भएको प्रहरीको दाबी छ।


सन् २०१२ मा भारतमा भएको नेहरु कपअन्तर्गत क्यामरुनसँग ४–० ले हार्न फिक्सरसँग सहमति भए पनि बीचमा खेलाडी फेरिएर नतिजा फरक पर्दा नेपाली खेलाडीले पैसा पाएनन्। प्रतिखेलाडी ५ हजार अमेरिकी डलरमा सहमति भए पनि नेपाल क्यामरुनसँग ५–०ले हारेको थियो। सागर बीचैमा परिर्वतनहुँदा सहमतिविपरीतको नतिजा आएको एसएसपी खनाल बताउँछन्।


प्रहरी बयानमा सागरले केही खेलमा मिलेमतोका लागि फिक्सरले प्रस्ताव गरेको स्वीकार गरे पनि रकम लिए/नलिएको भने खुलाएका छैनन्।सागरको बयानअनुसार म्याच फिक्सका लागि फिक्सरहरू होटलको कोठामै आएर प्रस्ताव राख्छन्। उनीहरूले प्रायः हार्ने गोल अन्तरको संख्या टिपाएर सोहीअनुसार पैसा प्रस्ताव गर्छन्।


'उनीहरू होटलमै क्याप्टेन खोज्दै आउँछन्, पहिला विभिन्न देशका क्लबमा अनुबन्ध गराउने प्रस्ताव राख्छन्,' सागरको बयान उद्धृत गर्दै स्रोतले भन्यो, 'पछि टिमले खेल्ने खेलबारे छलफल गर्दै आफूले भनेअनुसारको नतिजा निकाले पैसा दिने प्रस्ताव गर्छन्।' उनले प्रारम्भिक बयानमा सिरियालियोन, जोर्डन, क्यामरुन, मलेसियासँगको खेलमा फिक्सर आएर मिलेमतोको प्रस्ताव गरे पनि आफूहरूले स्वीकार नगरेको दाबी गरेका छन्।


एन्फा अधिकारी अनुसन्धान दायरामा


पक्राउहरूको बयानबाट कुनै खेलाडी विशेष मात्रै नभई पूरै टिमनै खेल मिलेमतोमा सहमत हुने खुलेपछि प्रहरी अहिले अन्य खेलाडीको भूमिकाबारे अनुसन्धान भइरहेको छ। चार जनाको संलग्नता खुलिसकेकाले प्रहरी अहिले उनीहरूको खोजीमा छ भने अन्य खेलाडीको संलग्नताबारे अनुसन्धान जारी रहेको खनाल बताउँछन्।


खनालले प्रतियोगितामा सहभागी एन्फाका पदाधिकारी, अफिसियल र प्रशिक्षकको खेल मिलेमतोमा संलग्नतासमेत अनुसन्धानको दायरामा रहेको बताए।'फुटबल खेलमा संलग्न संस्था र व्यक्ति अनुसन्धानको दायराभन्दा बाहिर छैनन्,' उनले भने, 'अनुसन्धानको दायरा जुन–जुन व्यक्तिसम्म पुग्छ ती कोही छुट्दैनन्।'

सहमतिका आधारमा सभामुख चयन गर्ने प्रक्रिया अन्त्य

२८ असोज,काठमाडौँ / व्यवस्थापिका संसद् सचिवालयले सहमतिका आधारमा सभामुख चयन गर्ने प्रक्रिया अन्त्य भएको जनाएको छ । सहमतिको आधारमा सभामुख चयन हुन नसकेपछि सचिवालयले बहुमतीय प्रक्रियाका आधारमा सभामुख चयन प्रक्रिया सुरु भएको जानकारी गराएको छ ।
सचिवालयले नयाँ निर्वाचन कार्यतालिका प्रकाशित गरी सहमतिका आधारमा सभामुख चयन प्रक्रिया अगाडि नबढेकाले भोलि शुक्रबार बिहान ११ः३० बजे सभामुखको निर्वाचन प्रक्रिया सुरु होस् भनी प्रस्ताव दर्ता गर्न आग्रह गरेको छ ।
सचिवालयले आज अपरान्ह १४ः३० सम्म सहमतिको आधारमा सभामुख चयन प्रक्रिया अगाडि बढाउन आग्रह गरेको थियो । आग्रहबमोजिम सहमतिका आधारमा कुनै पनि प्रस्ताव दर्ता नभएकाले शुक्रबार बिहान ११ः३० देखि १४ः०० बजेसम्म उम्मेदवारी दर्ता गराउन सचिवालयले एक सूचनामार्फत आग्रह गरेको छ ।
सूचनाअनुसार शुक्रबार १४ः३० बजे उम्मेदवारको नामावली प्रकाशित हुनेछ भने १५ः०० बजे सभामुखको निर्वाचन हुने व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जारी गर्नुभएको सूचनामा उल्लेख छ । यस्तै, उपसभामुखको चयन प्रक्रिया भने शुक्रबार साँझ ५ बजे व्यवस्थापिका–संसद्को बैठकमा अगाडि बढाइने छ । एकीकृत नेकपा (माओवादी) ले सभामुखमा निवर्तमान उपसभामुख ओनसरी घर्तीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाली काँग्रेसले सभामुखमा उम्मेदवारी दिने बताएपनि हालसम्म कुनै नाम सार्वजनिक गरेको छैन । रासस

आन्दोलन स्थगित गरी वार्तामा आउन आन्दोलनरत पक्षलाई प्रधानमन्त्रीको आह्वान

२८ असोज,काठमाडौंप्रधानमन्त्री केपी ओलीले आन्दोलनरत पक्षलाई वार्ता र सम्वादमा आउन आग्रह गरेका छन्। आज व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनरत पक्षलाई आन्दोलन स्थगित गरी वार्तामा आउन आग्रह गरेका हुन्।

संविधानमा सबैको सहमतिको अधिकतम् प्रयत्न रहँदा–रहँदै पनि, विविधतापूर्ण समाज र विभिन्न आस्था, दर्शन र लक्ष्य बोकेका धेरै दलको प्रतिनिधित्व भएको संविधानसभामा संविधानका प्रत्येक बिषयमा सर्वसम्मति संभव थिएन, ओलीले भने, संविधान स्वयम् गतिशील दस्ताबेज हो र सङ्घीय प्रदेशका सीमाहरू आवश्यकता अनुरूप परिवर्तन हुँदै जाने बिषयहरू हुन् । उचित, जायज र तर्कसङ्गत बिषयहरूलाई संविधान संशोधनका माध्यमबाट संवोधन गर्न सकिन्छ भन्ने कुरा हामीले सार्वजनिक गरिसकेका छौं । उनले अगाडि भने,त्यसैले आन्दोलन स्थगित गरी वार्तामा आउन, संवादको माध्यमबाट सार्थक परिणाममा पुग्न र जनजीवनलाई सहज बनाउन आन्दोलनरत पक्षलाई आह्वान गर्दछु ।
प्रधानमन्त्रीले जनतालाले राखेको आकाक्षा पुरा गर्न आफू समर्पित रहने बताएका छन्।  व्यवस्थापिका संसदलाई प्रधानमन्त्रीको रुपमा पहिलो पटक सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लामो सङ्क्रमणकालको अन्त्य भएर नेपाल राजनीतिक स्थायित्व, दिगो शान्ति र आर्थिक समृद्धिको दिशामा अग्रसर भएको बताए। प्रधानमन्त्रीले लामोसमयदेखि तराइमा जारी अवस्था, बन्द–हडताल र सर्वसाधारण नागरिकहरूले भोग्नुपरेको पीडाप्रति आफू संवेदनशील रहेको बताए। चाडपर्वहरु नजिकिएको बेला सीमा क्षेत्रमा उत्पन्न असहज स्थिति र त्यसले आपूर्ति व्यवस्थामा पारेकोव्यवधानले सम्पूर्ण नेपालीलाई दुःखी बनाएको बताए ।

उनले देशले सामना गर्नुपरेको असहज स्थितिले शिक्षा, स्वास्थ्य, यातायात, कृषि, उद्योग र निर्माण व्यवसाय, पर्यटन आदि क्षेत्र र जनजीवनमा अत्यन्त नकारात्मक असर पारिरहेको छ, उनले भने, असहज स्थितिको अन्त्य गरी व्यापार, पारबहनलाई सहज बनाउन सम्बन्धित सबैसँग आग्रह गर्दछु ।  ओलीले संविधान जारी भएपछि भारतसँगको सीमा क्षेत्रमा उत्पन्न असहज परिस्थिति, अघोषित नाकाबन्दी र इन्धन लगायत अत्यावश्यक बस्तुहरूको आपूर्तिमा देखिएको व्यवधानप्रति सरकार हामी गंभीर भएको भन्दै निर्वाध पारवहन सुविधा भूपरिवेष्ठित राष्ट्रको नैसर्गिक हक र विभिन्न अन्तर्राष्ट्रिय अनुबन्धद्वारा प्रत्याभूत अधिकारमा र द्विपक्षीय व्यापार सम्झौता अनुरुप वस्तुहरूको सहज निकासी पैठारीमा कुनै अवरोध सिर्जना सम्झौता विपरित हुने बताए। प्रधानमन्त्री ओलीले इन्धन लगायतका अत्यावश्यक वस्तुहरुको आपूर्ति व्यवस्थामा देखिएको समस्यालाई अविलम्ब समाधान गर्न सरकारले राजनीतिक र कूटनीतिक पहल सुरु गरिसकेको जनाए। प्रधानमन्त्री ओलीले नयाँ सरकारसँग जनताको उच्च अपेक्षा रहेको तथ्यप्रति आफू जानकार रहेको भन्दै जन अपेक्षा अनुसार नै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाल–चीन रसुवागढी नाका आजदेखि खुला



२८ असोज,रसुवा / भूकम्पपछि बन्द भएको नेपाल–चीन उत्तरी रसुवागढी नाका आजदेखि सञ्चालनमा आएको छ ।
केरुङतर्फ सडक मर्मत सम्पन्न गरी औपचारिक रुपमा चिनियाँ सरकारका तर्फबाट डेपुटी डाइरेक्टर जनरल माक्विन्सेङ्गले आज नाका खोलेको घोषणा गर्नुभएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइरालाले जानकारी दिनुभयो । छिमेकी भारततर्फको दक्षिणी नाकाबाट आउने इन्धनलगायत उपभोग्य वस्तु ल्याउन अघोषित नाकाबन्दी भइरहेको अवस्थामा चीन तर्फ उत्तरी नाका रसुवागढी खुल्दा स्थानीयवासीमाझ उमङ्ग छाएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।
रसुवागढी नाका खोलेको घोषणा गर्नुपूर्व चीन सरकारले बडादसँैका लागि नेपाललाई पठाएको छवटा ट्रकमा राखिएको ५० टन खाद्यान्न सीमा क्षेत्रमा आइसकेको परराष्ट्र मन्त्रालयका उपसचिव मणि भट्टराईले बताउनुभयो । नेपाललाई सहयोग गरिने बडादसैँका लागि खाद्यान्न रु एक करोड ६० लाखबराबरको भएको बताइएको छ ।
यस्तै, नाका खुलेलगत्तै सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मले सीमा क्षेत्रमा आफ्नो पोस्ट खडा गरिसकेकाले सुरक्षा तथा राजस्व सङ्कलनमा कुनै कमी नआउने सशस्त्र प्रहरी नायब उपरीक्षक दर्शन गिरीले जानकारी दिनुभयो ।
औपचारिक नाका घोषणा कार्यक्रममा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति, परराष्ट्र, गृह र अर्थ मन्त्रालयका प्रतिनिधि, भन्सार विभागका प्रतिनिधि, रसुवाका प्रमूख जिल्ला अधिकारी शीवराम गेलाल, नेपाली सेनाका प्रमूख सेनानी विक्रम गुरुङ, नेपाल प्रहरीका नायव प्रहरी उपरीक्षक अवधेश विष्ट तथा अध्यागमनका अधिकारी एवम् चिनियाँतर्फबाट राजदूतावासका प्रतिनिधि, अध्यागमनलगायत सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केदारप्रसाद पनेरुले बताउनुभयो । रासस

कुटनीतिक सम्बन्ध सुधार्न परराष्ट्रमन्त्री भारत भ्रमणमा जाने



२८ असोज,काठमाडौ / नेपाल भारत वीचको सम्बन्धमा केही साता यता देखिएको चिसोपन अन्त्यको कुटनीतिक पहल गर्न उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा भारत भ्रमणमा जाने भएका छन ।
 
उनको औपचारिक भ्रमणको लागि आन्तरिक रुपमा तयारी थालिसकिएको छ । स्रोतका अनुसार थापाले दशै अघि नै भारत भ्रमण गर्ने गरी तयारी भईरहेको छ । हिजो भारतीय राजदुत रञ्जित रेसँग भएको भेटवार्तामा यस विषयमा
कुराकानी भएको र राजदुत पनि सकारात्मक रहेको बताईएको छ । प्रधानमन्त्रीको विशेष दुतको रुपमा भारत जाने परराष्ट्रमन्त्री थापाले त्यहाँ रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री शुष्मा स्वराजसँग भेटवार्ता गर्ने गरी पहल भईरहेको छ । उनले भारत भ्रमणको क्रममा नेपालमा देखिएको अघोषित नकाबन्दीलाई अन्त्य गरेर आपूर्ति सूचारु गर्ने, संविधानमा रहेका अन्र्तबस्तुको विषयमा ब्रिफिङ गर्ने र दुई मुलुक वीचको चिसिएको सम्बन्धलाई न्यानो पार्ने प्रयास गर्नेछन ।

चीनबाट ग्यास ल्याउने प्रस्ताब प्रति निगम मौन

काठमाडौं / नेपाल एलपी ग्यास उद्योग सङ्घले निगमसँग व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले ग्यास आयात गर्न चाहने कम्पनीलाई तत्काल स्वीकृति दिन सरकारलाई निर्देशसमेत गरिसकेको छ। हालसम्म कुनै निर्णय भने हुन सकेको छैन। जसका कारण उपभोक्ता लामो लाइनमा बसेरसमेत ग्यास पाउने अवस्थामा छैनन् । ग्यास बिक्रेता महासङ्घका महासचिव चन्द्र थापाले उपत्यकाको कुल खपत मध्ये ९० प्रतिशतभन्दा बढी ग्यास वीरगन्ज नाकाबाट आउने भएकाले सो नाका अवरुद्ध भएकाले समस्या बढी परेको बताए।

काठमाडौँ उपत्यकामा दैनिक ३० हजार सिलिण्डर आवश्यक पर्दछ। विगत दुई महिनाभन्दा बढीदेखि तराई आन्दोलनका कारण सहज रुपमा काठमाडौँमा ग्यास आयात हुन सकेको छैन। निगमले कुल २९ हजार मेट्रिक टन ग्यास आयात गर्ने कोटा निर्धारण गरेको छ। हाल आयात भएका ग्यास उपत्यका बाहिर नै वितरण गरिएको छ । काठमाडौँमा सहज रुपमा ग्यास उपलब्ध हुनका लागि वीरगन्ज नाका सहज हुनुपर्ने महासचिव थापाको भनाइ छ। जनताको चुल्हो निभेको छ। बिक्रेताका पसल बन्द छन्। उपभोक्ता मारमा छन्, तर आयात नै नभएपछि कसरी वितरण गर्ने, हामी पनि उस्तै समस्यामा छौ, उनले भने।

निगमले भने व्यवसायीलाई तीन-चार दिनमा समस्या समाधान हुने आश्वासन दिँदै आएको छ। तर आश्वासन दिएको पनि लामो समय भइसक्यो, तर समस्या घट्नेभन्दा पनि बढ्दै गएको छ। निगमले सार्वजनिक र निजी सवारीलाई भन्दै कुल सात लाख पचास हजार लिटर इन्धन वितरण गरेपनि धेरै उपभोक्ताले नपाएको गुनासो गरेका छन्। रातभर लाइनमा बस्दा पनि इन्धन नपाएको भन्दै उपभोक्ताले निगमको व्यवस्थापन फितलो भएको बताएका छन्।

निगमका प्रवक्ता दीपक बरालले खाना पकाउने ग्यासको चर्को अभाव रहेको स्वीकारे। निगमको तहबाट गर्न सक्ने अवस्था केही छैन। समस्याको समाधान गर्ने प्रयास जारी छु, उनले भने, काठमाडौँमा एकाध दिनमा ग्यास भित्रने कुनै अवस्था भने छैन। व्यावसायीले चीनबाट ग्यास ल्याउन गरेको प्रस्तावमाथि पनि निगमले हालसम्म कुनै निर्णय गरेको छैन।
 
वैकल्पिक माध्यमबाट ग्यास ल्याउने अनुमति दिन आग्रह गरेको भएपनि आजसम्म निगमले सो प्रस्तावमाथि कुनै निर्णय गरेको छैन । सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले चीनको स्वशाति क्षेत्र तिब्बतको खासादेखि २३ किलोमिटर टाढा रहेको न्यालमबाट ग्यास ल्याउने तयारी गरेका थिए।

विकल्प खोज्ने सरकारको निर्णय

सरकारले भने इन्धन आयातमा वैकल्पिक उपाय अपनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले इन्धन आपूर्तिका लागि वैकल्पिक उपाय अपनाउने निर्णय गरेको सरकारका प्रवक्ता अग्नि खरेलले जानकारी दिए।नेपालीहरुको ठूलो चाड दसैँ तथा तिहार सुरु भएपनि राजधानी काठमाडौँमा खाना पकाउने ग्यासको अभावका कारण उपभोक्ता चर्को सङ्कट ब्यहोर्न बाध्य छन्। चाडवाडमा घर जान चाहने उपभोक्ताले पेट्रोलियम पदार्थको अभावमा घर जान पाएका छैनन् भने ग्यासको अभावमा काठमाडौँमा बस्न सक्ने अवस्था रहेको छैन।
 
ग्यासको खोजीमा भौतारिरहेका उपभोक्ताले डिपो र पसलमा नाम लेखाएको पनि धेरै दिन भयो, तर अन्य पेट्रोलियम पदार्थ सिमित मात्रामा आएपनि ग्यास भने आउन सकेको छैन। भारतले नाकाबन्दी गरेपछि सबैभन्दा बढी मार सहरिया तथा मध्यमवर्गीय उपभोक्तालाई परेको छ। नेपाल आयल निगमकाअनुसार चाडवाडको समयमा ग्यासको माग अत्याधिक हुने गर्दछ। काठमाडौं उपत्यकामा मात्रै करिब ३० लाख ग्यासका उपभोक्ता रहेका छन्।


राष्ट्रिय मुद्दामा काँग्रेससँग मिलेर अघि बढ्नुपर्ने एमालेको ठहर

काठमाडौँ नेकपा एमालेको स्थायी कमिटी बैठकले राष्ट्रिय मुद्दामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग मिलेर अघि बढ्नुपर्ने ठहर गरेको छ। पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकले काँग्रेससँगको सहयात्राका बारेमा आवश्यक छलफल र समन्वयका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मा दिएको छ।


बैठकपछि स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले ुभद्र सहमतिु तोडिएर प्रतिस्पर्धाका आधारमा प्रधानमन्त्रीको चयन भएको अवस्थामा पनि काँग्रेससँग मिलेरै राष्ट्रिय समस्याको समाधान गर्नुपर्नेमा पार्टीले जोड दिएको बताए। संविधान जारी हुनु पूर्व एमालेलाई प्रधानमन्त्री र काँग्रेसलाई राष्ट्रपतिको जिम्मेवारी बाँडफाँड गर्नेबारेमा प्रमुख दलबीच भद्र सहमति भएको बाहिर आएको थियो ।


बैठकले रिक्त सभामुख र उपसभामुखको निर्वाचनका सन्दर्भमा अन्य दलसँगको समन्वय र आवश्यक निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई नै दिएको छ। बैठकमा मुलुकको वर्तमान अवस्थाबारे प्रधानमन्त्री ओलीले समग्र जानकारी गराएका थिए। बैठकले विद्यमान आपूर्ति व्यवस्थापनको समस्या सम्बोधनका लागि उच्च प्राथमिकता दिन सरकारलाई आग्रह गरेको छ। सोही सन्दर्भमा छिमेकी भारतसँग सीमामा जारी अघोषित नाकाबन्दीलगायतका विषयमा वार्ता गर्न उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा यही साता भारतको भ्रमणमा जाने बैठकमा जानकारी गराइएको छ । थापालाई सरकारले भारतसँगको वार्ताका लागि गठित समितिको संयोजक पनि तोकेको छ।


बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएपनि ठोस निर्णय भएन । नेता पाण्डेका अनुसार मन्त्री चयनको मापदण्डबारे छलफल भएको र विधि र प्रक्रियाबाट निर्णय गर्न जोड दिइएको छ । बैठकले प्रधानमन्त्री ओली र नयाँ मन्त्रीलाई कार्यकालको सफलताको कामना गर्दै बधाई पनि दिएको छ । रासस

Wednesday, October 14, 2015

काँग्रेसले राष्ट्रपतिलगायत सबै पदमा प्रतिष्पर्धा गर्ने


काठमाडौँ/   नेपाली काँग्रेस पदाधिकारी बैठकले नयाँ संविधानअनुसार हुने विभिन्न पदमा प्रतिष्पर्धा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निर्वाचनमा सहयोग गर्ने सबैदलसँग परामर्श गरेर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा उम्मेद्वारी दिने निर्णय गरेको उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए। बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री पदमा प्रतिष्पर्धा गरिसकेकाले अब निर्वाचन हुन गइरहेका अन्य पदमा पनि प्रतिष्पर्धा गर्दा स्वभाविक हुने भन्दै सो निर्णय गरेको पौडेलले जानकारी दिए। प्रधानमन्त्रीको निर्वाचनमा सहयोग गरेका दलसँग परामर्श गरेर सबै पदमा उम्मेदवारी दिने निर्णय भयो, पौडेलले भने, त्यसका लागि आजैदेखि वार्ता र सम्बाद सुरू गर्ने निर्णय भयो। सभामुख र उपसभामुखको निर्वाचन यही शुक्रबार गर्ने संसद सचिवालयले जनाएको छ। प्रधानमन्त्री निर्वाचनपछि पहिलोपटक आज बसेको काँग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री पदमा समर्थन गर्ने दल र सांसद सबैलाई धन्यवाद दिदै भविष्यमा पनि सहकार्य हुने विश्वास व्यक्त गरेको पौडेलले जानकारी दिए।

उपप्रधान तथा परराष्ट्रमन्त्री थापा र भारतीय राजदूतबीच भेट

२७ असोज,काठमाडाैं/ उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र नेपालका लागि भारतीय राजदूत रञ्जित रे बीच परराष्ट्र मन्त्रालयमा भेट भएको छ । केपी शर्मा अोली नेतृत्वको नव निर्वाचित सरकारले भारतसँग समन्वय गरेर अहिलेको नाकाबन्दी समस्या समाधान गर्न मन्त्री थापालाइ जिम्मेवारी तोकेको थियो। भेटमा मन्त्री थापाले भारतीय नाकाबन्दीका कारण नेपालमा उत्पन्न समस्या र चाडपर्वको समयमा कठिन हुँदै गएकाे नेपाली जनजीवनबारे अवगत गराएका थिए । भेटका क्रममा राजदूत रेले अब समस्या नहुुने बताएको एक उच्च श्रोतले जानकारी दिएको छ ।

Tuesday, October 13, 2015

राष्ट्रपति एमाले आफैंले राख्‍ने


२७ असोज,काठमाडौं/  नेकपा एमालेले राष्ट्रपति पद आफैंसँग राख्ने भएको छ। सत्ता साझेदार तीन दलबीच मंगलबार एमालेलाई राष्ट्रपति, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई उपराष्ट्रपति, एकीकृत नेकपा माओवादीलाई सभामुख र राप्रपा नेपाललाई उपसभामुख पद बाँड्ने सहमति जुटेको हो। उनीहरुले सोहीअनुसार निर्वाचनमा उम्मेदवारी दिने पनि सहमति भएको छ।

बैठकमा एमाले र एमाओवादीले ७–७ वटा मन्त्रालय बाँडफाँट गर्ने सहमति पनि भएको छ। स्रोतकाअनुसार एमालेको भागमा रक्षा, अर्थ, सहरी विकास र शिक्षा मन्त्रालय परेको छ। पर्यटन, ऊर्जा र स्वास्थ्य मन्त्रालयमध्ये एउटा पनि एमालेले पाउनेछ। एमालेका तर्फबाट सोमप्रसाद पाण्डेले उद्योग र अग्नि खरेलले कानुन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।

एमाओवादीले उपप्रधानमन्त्रीसँगै गृह, वन, सामान्य प्रशासन, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्राप्त गर्नेछ। त्यसैगरी स्वास्थ्य, ऊर्जा, स्थानीय विकास, पर्यटन मन्त्रालयमध्येबाट २ मन्त्रालय पनि एमाओवादीले पाउनेछ। एमालेका सत्यनारायण मण्डल विनाविभागीय मन्त्री बनेका छन्। एमाओवादीका हरिबोल गजुरेलले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।

राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले स्थानीय विकास मन्त्रालय राप्रपा नेपाललाई दिन सहमति भइसकेको जानकारी दिए। भागबन्डा मिलाउन मंगलबार बिहान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसहितका नेताबीच छलफल भएको थियो। अर्को सत्ता साझेदार दल राप्रपा नेपालका अध्यक्ष कमल थापा भने पार्टी महामन्त्री चन्द्रबहादुर गुरुङको अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले बैठकमा अनुपस्थित थिए।

प्रधानमन्त्री ओलीले अमेरिकी राजदूत एलाइना टेप्लिजलाई भेट्न समय दिएकाले तीन दलको बिहानको बैठक बिनानिष्कर्ष टुंगिएको थियो। ुदलहरूबीच अझै केही विषयमा निर्णयमा पुग्न बाँकी छ,ु एमाले उपमहासचिव विष्णु पौडेलले नागरिकसँग भने, ुमन्त्रिपरिषद विस्तारका लागि अझै केही दिन लाग्छ।ु

स्रोतका अनुसार एमालेले राष्ट्रपतिमा उपाध्यक्ष विद्या भण्डारी वा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पठाउने सम्भावना छ। एमाले र एमाओवादीबीच मंगलबार दिउँसो भएको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति एमालेलाई लिन प्रस्ताव गरेका थिए। एमाओवादी अध्यक्ष दाहालले नै एमालेलाई राष्ट्रपति राख्न प्रस्ताव गर्नुभएको थियो, एमाले स्रोतले भन्यो-उहाँले राष्ट्रपतिमा विद्या भण्डारीको नाम पनि प्रस्ताव गर्नुभयो।

साँझ प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा एमाले नेताहरूको बैठक बसेको थियो। प्रधानमन्त्री ओली, वरिष्ठ नेता झलनाथ खनाल, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, उपाध्यक्षहरू वामदेव गौतम, विद्या भण्डारी, भीम रावल, महासचिव ईश्वर पोखरेल बैठकमा थिए। बैठकमा राष्ट्रपति उम्मेदवारका रूपमा वरिष्ठ नेता खनाल र उपाध्यक्ष भण्डारीको नाममा छलफल भएको थियो। बैठकमा उपाध्यक्ष रावलले वरिष्ठ नेता खनाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका थिए।
मधेसबाट राष्ट्रपति बनाउन सके राम्रो हुने विषयमा समेत छलफल भएको थियो,ु बैठकमा संलग्न एक नेताले भने, तर, कुनै ठोस निर्णय नभई बैठक टुंगियो। बैठकमा नेता नेपालले पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई राष्ट्रपतिका लागि प्रस्ताव गरेका थिए। पछिल्लो समय पण्डितले मन्त्रिपरिषदमा राम्रो काम गरेर लोकप्रिय बनेका छन्, एक एमाले नेताले भने, अहिलेको अवस्थामा मधेसीमूलको व्यक्तिलाई राष्ट्रपति बनाउँदा राम्रो सन्देश दिनेछ। नेता नेपालले एमालेको भागमा उपराष्ट्रपति पद परे युवा नेत्री शान्ता चौधरीलाई बनाउनुपर्ने प्रस्ताव गरेका थिए।

एमाओवादीबाट महासचिव कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा जाने करिब निश्चित भएको स्रोतले जनाएको छ। यही विषयमा निर्णय गर्न बुधबार बिहान एमाओवादीले स्थायी समिति बैठक बोलाएको छ। प्रधानमन्त्री ओलीले सोमबार ९ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए। त्यसमा मधेस समता पार्टीका मेघराज नेपाली एक जना विनाविभागीय राज्यमन्त्री रहेका छन्।

राप्रपा नेपालबाट उपप्रधान तथा परराष्ट्रमन्त्रीमा अध्यक्ष कमल थापा र विनाविभागीय मन्त्रीमा रामकुमार सुब्बाले शपथ लिएका छन्। फोरम लोकतान्त्रिकबाट पार्टी अध्यक्ष गच्छदारले उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी लिएका छन्। पत्रकार प्रमोद दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार नियुक्त हुने भएका छन्। रेडियो नेपालमा कार्यरत दाहाललाई अब बस्ने मन्त्रिपरिषदको बैठकले सल्लाहकारमा नियुक्त गर्ने एमालेनिकट स्रोतले जनाएको छ। शंकर पोखरेल सञ्चारमन्त्री हुँदा दाहाल उनका प्रेस सल्लाहकार थिए।

आज राजीनामा दिने तयारीमा सभामुख

२७ असोज,काठमाडौं/ सभामुख सुवास नेम्वाङले आज राजीनामा दिने तयारी गरेका छन्। तीन बजे बस्ने व्यवस्थापिका संसदमा सभामुखको निर्वाचनका लागि कार्यतालिका पारित गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ।'सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेपछि पदमा बसिरहनु उचित हुँदैन भन्ने निष्कर्षमा सभामुखज्यू पुग्नु भएको छ,' सचिवालय स्रोतले भन्यो,'त्यसै कारण आज सभामुखज्यूको राजीनामा आउने संभावना बढेको छ।' संसद सचिवालयका अनुसार सभामुखको निर्वाचनको लागि बिहीबार उम्मेदवारी दर्ता गराउने र शुक्रबार निर्वाचन गर्ने तयारी रहेको छ। दलहरुबीच भएको सहमति अनुसार नयाँ सभामुख एमाओवादीले पाउने तय भएको छ। तर एमाओवादीले कसलाई सभामुख बनाउने भन्ने विषयमा भने निर्णय गरिसकेको छैन। संविधानको धारा २९९ (२) मा संसद बैठक आह्वान भएको २० दिनभित्र नयाँ सभामुख र उपसभामुख चयन भइसक्नुपर्ने प्रावधान छ। सभामुख चयनको प्रक्रिया सुरु भएपछि आफू सो पदमा बस्नु उचित नहुने भन्दै नेम्वाङले राजीनामा दिने तयारी गरेका हुन्।

प्रधानमन्त्री अोलीद्वारा गुरूङको पार्थिव शरीरमा श्रद्धाञ्जली




गुरूङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिदै प्रधानमन्त्री केपी शर्मा अोली। तस्विरः राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठको फेसबुकबाट२६ असोज,काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरूङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्। श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री ओली धुम्बाराहीस्थित राप्रपा नेपालको पार्टी कार्यालय पुगेका थिए।
राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले गुरूङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए। श्रद्धाञ्जलीका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, सभामुख सुवास नेम्वाङ, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइ लगायत नेताहरू र राप्रपा नेपालका नेता कार्यकर्ता पार्टी कार्यालय पुगेका थिए।
राप्रपा नेपालका केन्द्रिय सदस्य राजाराम बर्तौलाका अनुसार आजै गुरूङको पार्थिव शरीर ५ बजे अन्तिम दाहसंस्कारका लागि आर्यघाट लगिने छ।

प्याङ्क्रियाजको क्यान्सरको उपचारको क्रममा अमेरिकामा गुरूङको असोज १६ गते निधन भएको थियो।

भारतीय नाकामा केही सहज, ९० ट्यांकर इन्धन नेपाल आए

२६ असोज, काठमाडौं । वीरगञ्जबाहेक अन्य नाकामा मंगलबार भारतीय पक्षले भन्सार जाँच केही सहज बनाएको छ । जसका कारण अन्य दिन भन्दा धेरै मालबाहक गाडी नेपाल आएका छन् ।
काँकडडभिट्टा, बिराटनगर, भैरहवा, नेपालगञ्ज र कैलाली नाकाबाट दिउँसो ३ बजेसम्म ३ सय भन्दा बढी मालबाहक गाडी नेपाल प्रवेश गरेका छन् । जसमा ९० वटामा ईन्धन ट्यांकर समेत छन् ।
काँकडभिट्टा भन्सारबाट ४ बुलेट ग्यास भित्रिएको मेची भन्सार प्रमुख भीम अधिकारीले जानकारी दिए । भारतमा मंगलबार नै ३२ वटा ट्यांकर भारतीय आयल कर्पोरेशनको सिलगुढी डिपोमा तेल लिन गएकामा २२ वटमा लोड दिएको जानकारी आफुले पाएको उनले बताए ।
बेलुकासम्म २२ वटै ट्यांकर तेल भरेर नेपाल भित्रिने भन्सार प्रमुख अधिकारीको विश्वास छ । दिउँसोसम्म काँकडभिट्टा नाकाबाट १ सय ४ वटा मालबाहक गाडी नेपाल आएका छन् ।
यसैगरी बिराटनगर नाकाबाट पनि १ सय भन्दा बढी गाडी नेपाल भित्रिएका छन् । जसमा ४६ वटा इन्धन बोकेका ट्यांकर छन् । दिउँसोसम्म ३१ वटा डिजेल र पेट्रोल बोकेका ट्यांकर तथा १५ वटा ग्यास बुलेट नेपाल आएको रानी भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिए । नाकामा विस्तारै खुकुलो हुँदै गएको र भारतीय भन्सारबाट जाँचपास हुने क्रम चलिरहेको उनले बताए ।
यसैगरी भैरहवा नाकाबाट पनि दिउँसोसम्म १ सय ५० भन्दा बढी मालबाहक गाडी नेपाल प्रवेश गरेका छन् । सोमबारेदेखि सुचारु भएको भैरहवा नाकाबाट दिउँसोसम्म ४ वटा डिजेल र एउटा ग्यास बुलेट नेपाल भित्रिएका बेलहिया भन्सारका अधिकृत रविन्द्र प्याकुरेलले जानकारी दिए ।
नेपालगञ्ज नाकाबाट पनि दिउँसोसम्म १३ ट्यांकर डिजेल भित्रिएको छ । दिउँसोसम्म ४० वटा मालबाहक गाडी आएको र नाकामा कुनै किसिमको अवरोध नरहेको जमुनाह भन्सार प्रमुख राजेन्द्र हमालले जानकारी दिए ।
यसैगरी कैलालीको गैरीफन्टा नाकाबाट दिउँसोसम्म २२ वटा पेट्रोलियम ट्यांकर नेपाल भित्रिएका छन् । जसमा २० वटमा डिजेल र २ वटामा पेट्रोल रहेको भन्सार प्रमुख हरिप्रसाद पाण्डले जानकारी दिए । भारतीय आयल कर्पोरेशनको बनथरा डिपोमा सोमबार गएका ३० मध्ये २२ ट्यांकरमा तेल भरिएको हो । यसअघि बनथरा डिपोले पनि १० प्रतिशत ट्यांकरमा मात्रै तेल दिँदै आएको थियो ।
यसैबीच वीरगञ्ज नाका सुचारु गर्न भारतीय रक्सौल भन्सारका अधिकारीहरु पनि सकारात्मक देखिएको नेपाली अधिकारीहरुले बताएका छन् । भारतीय भन्सार अधिकारीले नाकाको अवरोध हटे तत्त्कल मालबाहक गाडी पठाउने बताएको वीरगञ्ज भन्सार प्रमुख मित्रलाल रेग्मीले बताए ।
‘कुनै पनि रुपमा नाकामा धर्ना बसेका मधेसी मोर्चाका कार्यकर्ता त्यहाँबाट हटे तत्काल नाका सुचारु हुन्छ ।’ प्रमुख रेग्मीले भने, ‘छलफलमा भारतीय अधिकारीले नाकामा आफ्नो तर्फबाट अवरोध नहुने बताएका छन् ।’ रेग्मीले आन्दोेलनरत पक्षलाई मितेरी पुलको धर्नाबाट हटाउन पहल गर्नुपर्ने बताए ।

आपूर्ति सहज बनाउन कूटनीतिक प्रयास सुरु भइसक्योः उपप्रधानमन्त्री थापा


Kamal-Thapa
२६ असोज, काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतसँग देखिएको पारवहन तथा आवागमनमा देखिएको समस्या समाधान गर्न कूटनीतिक प्रयास सुरु भइसकेको बताएका छन् । केही दिनमै जनताले राहतको अनुभव गर्ने उनले बताए ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा थापाले भने- पारवहन असहजताले नेपाली जनताले दुःख पाइरहेका छन् । यो समस्याको समाधान सरकारको पहिलो प्राथमिकता हो ।’
राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापाले अहिलेको समस्यालाई तीन ढंगबाट समाधान गर्न सरकार लागि परेको बताए ।
उनले भने-पहिलो राजनीतिक समस्याको रुपमा रहेको मधेस आन्दोलनलाई बार्ता र सम्वादको माध्यमबाट समाधान गर्नुपर्छ । यसका लागि पहिलो मन्त्री परिषदको बैठकले आब्हान गरिसकेको छ । हामी घनिभुत ढंगबाट बार्ता सम्वादलाई अघि बढाउँछौं ।’
दोस्रो पारवहन तथा आवागमनमा देखिएको असहजता राजनीतिक समस्या समाधान र भारतसँग कुटनीतिक सम्वादबाट पहल गर्ने र तेस्रो, दैनिक उपभोग्य वस्तु आपूर्ति समस्यामा देखिएको समाधानको लागि मौज्दातमा अल्पकालीन, मध्यकालीन र दिर्घकालीन समस्या समाधान गर्न पहल सुरु भइसकेको उनले बताए ।
परराष्ट्रमन्त्री थापाले नेपालको असंलग्नता, पञ्चशील र संयुक्त राष्ट्र संघको बडापत्रमा आधारित पराष्ट्र नीतिलाई प्रो एक्टिब र प्राग्मेटिक ढंगले अगाडि बढाउने बताए । उनले चीन र भारतसँगको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने दृढता ब्यक्त गरे ।

प्रधानमन्त्री निर्वाचनमा भाग लिएकोमा कुनै पछुतो छैन-मोर्चा


Madhesi Morcha२६ असोज, काठमाडौं । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री निर्वाचनमा भाग लिएकोमा कुनै पछुतो नलागेको बताएको छ ।
मंगलबार बसेको मोर्चाको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले भने-हामीलाई कसैले जवरजस्ती होइन, हामीले आफ्नो अधिकार प्रयोग गरेका हौं । कुनै पछुतो लागेको छैन ।’
आइतबार व्यवस्थापिका संसदमा भएको प्रधानमन्त्री निर्वाचनमा मधेसी मोर्चाले कांग्रेस उम्मेदवार सुशील कोइरालालाई मतदान गरेको थियो । संविधानसभा बहिस्कार गरेको मधेसी मोर्चा संसदमा भने उपस्थित भएर भोट हाल्नुलाई धेरैले संविधान स्वीका गरेको रुपमा लिएका छन् ।तर, सुशील कोइराला सरकारकै पालामा सुरु भएको मधेस आन्दोलनमा ५० भन्दा बढीको मृत्यु भएकाले उनलाई भोट हाल्नु गद्दारी भएको भन्दै मधेसमै मधेसी मोर्चाको चर्को ओलाचना भएको छ । आन्दोलनकारीहरुले मधेसी मोर्चाका नेताहरुको पुत्ला समेत जनाएका छन् । मोर्चामा आवद्ध संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले, एमाओवादी र राप्रपा नेपालको सत्ता साझेदारीलाई उग्रवामपन्थीदेखि राजावादी गठवन्धनको संज्ञा दिए । उनले भने-‘मधेस आन्दोलन विरोधी र जनता अधिकार खोस्ने काम गर्नेहरुको अवसरवादी जत्था हो । त्यसविरुद्ध मधेसी जनताको मतलाई प्रयोग गरेका हौं ।’

नयाँ संविधान अनुसार भएको प्रधानमन्त्री चुनावमा भाग लिएको मधेसी मोर्चाका नेताहरुले आफूहरुले नयाँ संविधान स्वीकार नगरेको दाबी समेत गरेका छन् ।
साथै जारी आन्दोलन नरोक्ने समेत बताएका छन् । फोरम अध्यक्ष यादवले भने-‘हामी यो संविधान स्वीकार गर्दैनौं, यो आन्दोलन जारी रहन्छ । अझ बढी सशक्त भएर अघि बढ्छ, र यो आन्दोलन खेर जाँदैन ।’
संविधानमा कमजोरी रहेको प्रमुख दलहरुले समेत स्वीकार गरेको भन्दै उनले भने-‘आन्दोलनले उठाएको न्यायोचित मागलाई संवैधानिक रुपमा वा संशोधन वा पुनर्लेखन नगरेसम्म यो संघर्ष जारी रहन्छ ।’ अन्तरिम संविधान प्राप्त जनताका अधिकार पनि खोसिएको भन्दै यादवले नयाँ संविधानलाई प्रतिगमनकारी संविधानको संज्ञा दिए ।

आज घटनास्थपना, हिन्दुहरुको महान चाड दशैं सुरु

 २६ असोज,काठमाडौं/  हिन्दू नेपालीहरूको महान् चाड बडादशं आजदेहि शुरु भएको छ । आज घरघरमा घटस्थापना गरेपछि दशैं शुरु भएको मानिन्छ । आज हिन्दू धर्मावलम्बीहरूले माटोको पूर्ण घडामा गाईको गोबर राखी घाम नछिर्ने अँध्यारो कोठामा जौ वा मकै रोपेर जमरा राख्ने चलन छ । आ–आफ्ना पूजाकोठा वा दसैंघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजा गर्ने र राखी पन्चरत्न चढाई शक्तिस्वरुपी दुर्गा भवानीको आराधना गर्ने परम्परा छ । यसरी उमारिने जमरा विजयादशमीका दिन मान्यजनहरूबाट टीका ग्रहण गर्दा टिकासँगै लगाउने गरिन्छ । दसैंको टीका लगाउँदा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरालाई प्रयोग गरिन्छ ।

भगवान् श्री रामचन्द्रले रावणमाथि विजय हासिल गर्ने उद्देश्यले शक्तिप्राप्तिका लागि शक्तिस्वरुपा महामाया भगवतीको आह्वान गर्न घडा स्थापना गरी बालुवाको चौकीमा जौ छरी पूजा आराधना गरेको विश्वासमा जमरा राख्ने गरिएको हो । परम्पराअनुसार घटनास्थापनाको उपलक्ष्यमा आज हनुमानढोका दरबारमा रहेको दसैँ घरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रिपूजाको शुभारम्भ हुन्छ । नवरात्रिको उपलक्ष्यमा बिहान घरघरमा र भगवतीका मन्दिरहरूमा चण्डी र भगवती स्त्रोत्र पाठ गर्ने गरिन्छ ।


















मधेसी मोर्चाप्रति स्थानीय आक्रोशित



२६  असोज, महोत्तरी/    व्यवस्थापिका संसदमा आइतबार प्रधानमन्त्री निर्वाचन प्रक्रियामा सहभागि भएपछि दुई महिनादेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताप्रति सर्वसधारणले असन्तुष्टि व्यक्त गरेका छन्।
आइतबार मधसी मोर्चाले प्रधानमन्त्रीको चुनावमा नेपाली काँग्रेसका उम्मेदवार सुशील कोइरालालाई समर्थन गर्ने निर्णय गरे लगतै जिल्लामा मोर्चालाई समर्थन गरेका सर्वसाधारण आक्रोशित भएका छन्। दुई महिने लामो आन्दोलन गरेका मधेसी मोर्चाको समर्थनमा रहेको सर्वसाधारण अहिले मोर्चाकै रवैयाप्रति आक्रोश प्रकट गर्न थालेका हुन्।

अहिले महोत्तरीमा जताततै मधेसी मोर्चाकै प्रधानमन्त्रीको निर्वाचनमा सहभागि भएकै चियोचर्चा चल्ने गरेको छ। चिया पसल होस वा साना ठुला होटल र सार्वजनिक स्थल सवै ठाउँमा अहिले मधेसी मोर्चाप्रति आक्रोश व्यक्त गर्नेको संख्या उल्लेख्य रुपमा बढेको छ। राजनीतिमा आवद्ध भएका र नभएका सर्वसाधारणको संख्या मोर्चा विरुद्ध अभिव्यक्ति दिने थुप्रै छन।

महोत्तरीमा ६ जनाले आन्दोलनकै क्रममा ज्यान गुमाएका छन्। उनीहरुको शहादतको अवमुल्यन गर्दै मधेसी मोर्चाका नेता तथा सभासदहरु प्रधामन्त्रीको खेलमा सहभागि भएको स्थानीयको भनाइ छ । स्थानीय युवा , वुद्धजिवि वर्गमा अहिले मोर्चा प्रति ज्यादै नै असन्तुष्टि देख्न सकिन्छ।

प्रधानमन्त्री निर्वाचनमा पक्ष र विपक्ष दुवैमा मतदान गर्ने मधेस केन्द्रित दल सत्ता पक्षीय हुन पुगेको स्थानीय युवा शिवचन्द्र चौधरीले टिप्पणी गरे। यसले मधेसको मुद्दा नै आझेलमा पर्ने हो की आशंका पनि सर्वसाधारणको मनमा उब्जन थालेको युवा चौधरीको भनाइ छ

'वर्तमान मधेस आन्दोलन निर्णायक उत्कर्षमा पुगेको समयमा मधेसी मोर्चाका चार वटै घटक दल र फोरम लोकतान्त्रिकका विजय गच्छेदारले दुई महिनादेखि जारी आन्दोलन , सहिदहरु र मधेसी जनतालाई धोका दिएका छन,' स्थानीय युवा गजेन्द्र गुप्ता भने ।

जलेश्वर ५ स्थित एक चिया पसलमा भेटिएका मटिहानी स्थित याज्ञवलक्य संस्कृत क्याम्पसका प्राध्यापक ध्रुव राय भन्छन, 'मधेस आन्दोलन अगाडि बढिरहेको यो कदम अनपेक्षित थिएन ,यस अघि पनि उनीहरुले पहिलो र दोस्रो मधेस आन्दोलनमा देखाएको रवैया यसपटक पनि दोहरिएको मात्र हो। प्राध्यापक रायले भने, 'मधेस आन्दोलनलाई उचाईमा पुरयाउन नयाँ शक्तिको अत्यन्त आवश्यकता खड्किएको छ ।

'प्रधानमन्त्री निर्वाचनमा भाग लिएका मधेस केन्द्रित दल र नेताहरुले अब आन्दोलनमा रहि रहने नैतिक आधार नै गुमाएका छन्,'प्रध्यापक रायले भने, 'मधेस केन्द्रित दल प्रधानमन्त्रीको निर्वाचनमा सहभागि हुनु नै नेपालको संविधान २०७२ लाई अभूतपुर्व सफता प्राप्त गर्नु हो , यी मधेसी नेताका लागि मधेस आन्दोलनमा रहने नैतिक आधार समाप्त भएको छ ।'

संविधान निर्माणको प्रक्रिया बहिष्कार गर्दै हिँडेका मधेसकेन्द्रित दलले असोज ३ गते संविधान जारी भएकै दिन साँझ मधेसका सवै जिल्लामा साझ सात वजेदेखि ८ बजे सम्म ब्ल्याक आउट गरेका थिए। ४ गते मधेसका सवै जिल्लामा ब्यापक जनसहभागितामा जुलुस र नाला लगाएर नेपालको संविधान २०७२ को प्रतिलिपि जलाएका थिए ।

आफैंले जलाएको संविधान संशोधनसमेत हुन नपाई महोत्तरीमा ६ जना सहित देशको विभिन्न भुभागमा ४५ जनाको ज्यान गइसक्दा आन्दोलन निस्कर्षमा नपुग्दै मधेसी नेता र सांसदहरू सत्ताको बाँडफाँडमा सामेल भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको निर्णयप्रति स्थानीय थुप्रै नेता–कार्यकर्ता आक्रोशित छन् ।

चाडपर्वको अवसरमा टेलिकमले छुट दिने


 २५ असोज/   नेपाल टेलिकमले दशैं, तिहार र छठको अवसरमा आफ्नो सेवा प्रयोग गर्ने उपभोक्ताहरुलाई विभिन्न छुट दिने भएको छ । टेलिकमले यसअघि २ सय रुपैयाँमा दिँदै आएको जिएसएम तथा सिडिएमए मोबाइलको सिम तथा रिम कार्ड कात्तिक १ गतेदेखि ९० रुपैयाँमा दिने जनाएको छ । त्यो सिमकार्डमा ५० रुपैयाँ बराबरको कुराकानी गर्न पाइने छ । टेलिकमले यसअघि २ सय रुपैयाँ हालेर सिम किनिसकेका तर एक्टिभेट नगरेकाहरुलाई असोज ३० गते भित्र एक्टिभेट गर्न पनि आग्रह गरेको छ ।
यस्तै टेलिकमले असोज २६ गतेदेखि कात्तिक ९ गतेसम्म र कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म जिएसएम तथा सिडिएमए मोबाइलबाट कुरा गर्दा लाग्ने रकममा १० प्रतिशत छुट दिने पनि जनाएको छ । छुटपछि प्रिपेडबाट प्रतिमिनेट १ रुपैयाँ ३५ पैसा र पोष्टपेडबाट प्रति मिनेट ९० पैसामा कुराकानी गर्न पाइनेछ ।

असोज २६ गतेदेखि कात्तिक ९ गतेसम्म र कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म टेलिकमको नेटवर्कभित्र दैनिक हुने कुल एसएमएस बापत त्यति नै संख्यामा बोनस एसएमएस दिइने टेलिकमको विज्ञप्तिमा छ । यस्तै टेलिकमले असोज २८ गतेदेखि कात्तिक २८ गतेसम्म एक महिनाका लागि जिएसएम तथा सिडिएमए मोबाइलका पोष्टपेड प्रयोगकर्तालाई ५० एमबी डाटा सित्तैमा उपलब्ध गराउने छ । टेलिकमले कम्पनीबाट वितरण गरिएको स्थानीय टेलिफोन सेवा (ल्याण्ड लाइन तथा सिडिएमए फोन) का प्रयोगकर्तालाई मासिक २ सय रुपैयाँमा एकसय ७५ निःशुल्क लोकल कल उपलब्ध गराउँदै आएकोमा कात्तिक महिनामा भने २ सय ७५ कल उपलब्ध गराउने छ ।

उपप्रधानमन्त्रीमा कमल थापा र गच्छदार

केपी ओलीसँग क-कसले खाँदैछन् सपथ ?


२५ असोज, काठमाडौं । सोमबार दिउँसो १ बजे शीतलनिवासमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिबाट सपथ ग्रहण गर्दैछन् । राष्ट्रपतिबाट सपथ लिइसकेपछि प्रधानमन्त्रीले उपप्रधानमन्त्री र मन्त्रीमा क-कसलाई सपथ ग्रहण गराउँदैछन् भन्ने यतिबेला चासोको विषय बनेको छ ।
Bhim-rawal-Kamal-thapa-bijaya-gachadhar-krishna-mahara
सूत्रहरुका अनुसार सरकारमा ओलीलाई सहयोग गरेका कमल थापा र विजय गच्छदार उपप्रधानमन्त्री बन्नेछन् । एमाओवादीले पनि उपप्रधानमन्त्री पाउने छ । राप्रपा नेपालका अध्यक्ष थापा परराष्ट्रसहित उपप्रधानमन्त्री बन्ने चर्चा छ भने गच्छदारले उपप्रधानमन्त्रीसहित भौतिक योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्ने चर्चा छ ।
एमाओवादीमा भने कृष्णबहादुर महरा र टोपबहादुर रायमाझी दुईजना उपप्रधानमन्त्रीका दाबेदार छन् । एमाओवादीले उपप्रधानमन्त्रीसहित गृहमन्त्रालय सम्हाल्ने चर्चा छ ।
एमाओवादीभित्र टोपबहादुर रायमाझी, कृष्ण महरा, हरिबोल गजुरेल, शक्ति बस्नेत र जनार्दन शर्मा सरकारको नेतृत्व सम्हाल्न आ-आफ्नो लबिङ गरिरहेका छन् ।
दोस्रो बरियताको उपप्रधानमन्त्री को बन्ने भन्ने विवाद पनि विगतमा हुने गरेको छ । केपी ओलीले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्री हुने गरी दोस्रो बरियताको प्रधानमन्त्री कसलाई बनाउलान् ? कमल थापा, विजय गच्छदार वा एमाओदीबाट ? यो पनि चासोको विषय छ ।
विगतमा सुशील कोइरालाले दोस्रो बरियताको उपप्रधानमन्त्री आफ्नै दलबाट प्रकासमान सिंहलाई बनाउन खोजेका थिए । तर, एमालेको आपत्तिपछि वामदेव गौतम दोस्रो बरियताको उपप्रधानमन्त्री बनेका थिए ।
यसपालि ओलीले कार्यवाहक प्रधानमन्त्री आफ्नै दलमा राख्ने हो भने भीम रावललाई पनि उपप्रधानमन्त्री बनाउनुपर्ने हुन सक्छ । त्यस्तो हुँदा उपप्रधानमन्त्रीको संख्या चार पुग्न सक्छ ।
मन्त्रीमा कोको ?
Bishnu-Poudel-Agni-Kharel-Top-rayamajhi
एमालेबाट तत्काल मन्त्रीको सपथ लिनेमा उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल र प्रमुख सचेतक अग्नि खरेलको नाम चर्चामा छ ।
परराष्ट्र र गृह अन्य दललाई दिनुपर्ने भएपछि भीम रावलले लिने मन्त्रालय रक्षा वा अर्को कुनै हुन सक्ने अनुमान गरिएको छ ।
यद्यपि विगत केही वर्षयता रक्षा मन्त्रालय प्रधानमन्त्रीले आफैं राख्ने परम्परा रहँदै आएको छ । अग्नि खरेलले कानून मन्त्रालय सम्हाल्ने सम्भावना रहेको बताइन्छ । विष्णु पौडेलको नाम अर्चमन्त्रीका रुपमा चर्चामा आएको छ ।
एमाले स्रोतका अनुसार सोमबार प्रधानमन्त्रीको सपथ ग्रहणका बेला मन्त्रालय बाँडफाँडमा सत्ता साझेदार दलहरुवीच सहमति नभएको अवस्थामा एमालेका रावल, पौडेल र खरेल लगायत केहीलाई विना विभागीय मन्त्रीका रुपमा सपथ ग्रहण गराइने सम्भना रहेको एमाले स्रोतले बताएको छ ।
केपी ओलीलाई समर्थन जनाएका एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिक लगायतका दलहरुले पावर सेयरिङका विषयमा सोमबार आन्तरिक र बाह्य छलफल गर्दैछन् ।
साना दलको अपेक्षा

केपी ओलीलाई प्रधानमन्त्रीमा समर्थन जनाउने साना दलहरुले पनि मन्त्रालयको आश गरेका छन् । तर, माले नेता सीपी मैनाली, राप्रपा नेता दीपक बोहोरालगायत केहीलाई समेटे पनि सबैलाई मन्त्रालय दिँदा ओलीको क्याबिनेट ठूलो हुने सम्भावना छ । बोहोरा मन्त्री बनेमा भ्रष्टाचारको दाग लाग्ने चिन्ता पनि एमाले नेताहरुमा देखिएको छ ।
संसदमा ३३८ मत ल्याएर प्रधानमन्त्री बनेका ओलीका लागि साना दलहरुलाई मन्त्री दिएर फकाइराख्नुपर्ने बाध्यता छैन । किनभने राप्रपा नेपाल र एमाओवादीले समर्थन गर्दासम्म एकदुई सीटे दलहरुले मन्त्री नपाएको रीसमा विरोध जनाए पनि सरकार ढल्ने खतरा छैन ।

आज रातो मछिन्द्रनाथको भोटो देखाइने

२५ असोज, काठमाडौं/   लामो समयको प्रतीक्षापछि सर्वसाधारणले आज वर्षा र सहकालको देवता रातो मछिन्द्रनाथको भोटो हेर्न पाउने भएका छन् । आइतबार भोटो देखाउनको लागि २२ गते रथलाई लगनखेलबाट जावलाखेल लगिएको थियो ।

गत वैशाख ६ गते रथारोहरण गरी ९ गतेदेखि रथ जात्रा सुरु गरेको भए पनि १२ गतेको भूकम्पका कारण रथमा क्षति पुगेकाले रथ जात्रा स्थगित भएको थियो । क्षति भएको रथलाई पुनःनिर्माण गरी गत असोज ४ गते रथारोहण गरी ५ गतेदेखि पुनः दोस्रोपटक रथ जात्रा सुरु भएको हो ।

यसैबीच यसवर्ष १२ वर्षको विशेष मेला परेकाले रथमा फूलपाती चढाउने र दर्शन गर्ने दर्शनार्थीको हजारौँको सङ्ख्यामा बिहानैदेखि भीड लागेको रथका पुजारी विनोद बज्राचार्यले जानकारी दिए ।
रथको दर्शन गर्नाले आँटेको कुरा पूरा हुने धार्मिक मान्यता रहिआएको छ ।यस वर्ष १२ वर्षको मेला परेकाले सर्वसाधारणले जावलाखेल र बुङ्मतिमा गरी दुईपटक देवताको भोटो हेर्न पाउने भएका छन् । जावलाखेलमा भोटो देखाएपछि रथलाई बुङ्मती लगिन्छ र रथ बुङ्मती पुर्‍याएको चौथो दिन पुनः यस वर्षका लागि दोस्रोपटक भोटो देखाएर विधिवत्रुपमा १२ वर्षे रथ जात्राको अन्य हुने गुठी संस्थानले बताएको छ ।

चन्द्रमा दाहिना भएपछि छोरो प्रधानमन्त्री भयो-मोहनप्रसाद


MOhan-Prasad-oli-Father-of-KP-oli२५ असोज, भक्तपुर/  नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीका ८५ वर्षका पिता मोहनप्रसाद ओलीलाई १५ दिनअघि नै छोरा प्रधानमन्त्री हुन्छ भन्ने लागेको थियो । आइतबार दिउँसो मात्रै झापा पृथ्वीनगरबाट भक्तपुरको बालकोटस्थित ओली निवासमा आइपुगेका उनको ध्यान संसद् भवनमा भएको प्रधानमन्त्रीको चुनावमै केन्द्रित थियो ।
ज्योतिष विद्यामा समेत विश्वास राख्ने उनले भने-‘१५ दिनअघि छोरा खड्गको कुण्डली हेर्दा ग्रह पनि राम्रो आयो, चन्द्रमा गएर ठयाक्कै लग्नमा पुग्यो, जे चितायो त्यही पुग्छ भन्ने लाग्यो, मैले भने – अब छोराले चिताएको पुग्छ र देशमा गरिब जनताले न्याय पाउँछन् ।’
नभन्दै संसद् भवनमा भएको निर्वाचनमा ओली प्रधानमन्त्रीमा विजयी भएपछि संसद् भवनमा प्रधानमन्त्रीका उम्मेदवार बनेका ओलीका पिता झापास्थित घरबाट आइतबार बालकोट आइपुगेलगत्तै टिभी हेर्न थाले, संसद्मा चुनाव भइरहँदा पनि उनलाई छोरा प्रधानमन्त्रीमा जित्ने पूर्ण विश्वास थियो ।
‘म वैशाखमा यहाँ आउँदा पनि मैले भनेको थिएँ, अब चिताएको पुग्छ’- मोहनप्रसाद भन्छन्- ‘आज ऊ प्रधानमन्त्री भएको छ, अब देशलाई राम्रो हुन्छ, देशका गरिब जनतालाई राम्रो हुन्छ ।’
गाउँमा सानैदेखि प्रधानमन्त्री ओली ठूलाले सानालाई हप्काए गाली गर्ने, धनीले गरिबलाई निचोरे धनीमाथि नै जाइलाग्ने गरेकाले धनी मान्छेले धेरै नै रिस गरेको उनी बताउँछन् । प्रधानमन्त्रीका पिता मोहनप्रसादले भने-‘उसको सानैदेखि नराम्रो बानी थिएन, ऊ चार वर्षको उमेरमा आमाले हजुरआमाको काखमा छाडेर गएदेखि नै हजुरआमाको प्यारो भएको थियो, कतै गएर आएपछि हजुरआमाको खुट्टामा टाउको राखे पछि ठूलो भएस् भन्दा टाउको नझिक्ने तर ठूलो मन्त्री भएस् भनेपछि मात्रै टाउको झिक्ने बानी थियो ।’
सुरुमा ओलीले राजनीति गरेको उनलाई पटक्कै मन पर्दैनथ्यो । उनी भन्छन्-‘सुरुमा राजनीति नगर् भनियो, ठूला धनी मान्छेलाई हेपेपछि समस्या पर्छ भन्थे, त्यसपछि यिनैले त खाए, धनीले गरिबलाई मार्छन् भन्थ्यो, तर जब देश विदेशमा समेत चिनिने भएर निस्किएपछि अब राजनीतिमै अगाडि बढ्नुपर्छ, अब राजनीति चाहिँ छाड्ने होइन भन्ने मलाई लागेर छोराको राजनीतिमा कुनै दख्खल दिइनँ ।’
प्रधानमन्त्री ओलीको बानी सानैदेखि कसैसँग नझुक्ने, अन्यायको विरुद्ध आवाज उठाइहाल्ने, गरिबमाथि हुने थिचोमिचोका विरुद्धमा कराइहाल्ने गरेकाले धेरै धनी मानिसले उनलाई मन पराउँदैनथे । प्रधानमन्त्री ओलीका पिता मदनप्रसाद भन्छन्-‘ऊ सानैदेखि अजिर, कसैसँग नडराउने, कसैसँग नझुक्ने, अन्यायको विरुद्ध कराइहाल्ने बानी थियो, आजसम्म पनि उस्तै छ बानी ।’
छोरो ओली प्रधानमन्त्री भएपछि अब देशको विकास हुन्छ, गरिब थिचिएको थिच्यै, धनी झन् धनी भएकाभयै छन्, अब धनी र गरिबबीचको खाडल पुरिन्छ भन्ने लागेको बताए । उनलाई पनि गरिब धनी हुन्छ र देशले पनि सङ्कटबाट निकास पाउँछ भन्ने लागेको छ ।        रासस

केपी ओली प्रधानमन्त्रीमा निर्वाचित


KP oli-650२४ असोज, काठमाडौंं । एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसहिको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
व्यवस्थापिका संसदमा आइतबार भएको निर्वाचनले बहुमतका आधारमा ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । उनले ३३८ मत पाएका छन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओलीले सबै राजनीतिक दललाई साथमा लिएर अघि बढ्ने बताए । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सोमबार सपथ लिने भएका छन् ।
ओलीले एमालेका १८३, एमाओवादीका ८३, राप्रपा नेपालका २५, फोरम लोकतान्त्रिकको १४, राप्रपाको १२, मालेको ५ र नेमकिपाको ४ मत पाएका छन् । राष्ट्रिय जनमोचा, नेकपा संयुक्तसहितका दलले पनि ओलीलाई समर्थन गरेका छन् ।
ओलीका निकटतम प्रतिद्वन्द्वी कांग्रेस सभापति सुशील कोइरालाले २४९ मत पाएका छन् । कांग्रेसको पक्षमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र केही साना दलले मात्र मत दिएका छन् ।
मतदानमा ५८७ सभासद सहभागी भएका थिए ।
प्रधानमन्त्रीमा ओली निर्वाचित भएको घोषणापछि उनका प्रतिस्पर्धी कांग्रेस सभापति सुशील कोइराला ओली भएकै स्थानमा आएर बधाई दिए । एमाले सभासदहरूले घेरिएका ओलीलार्इ बधाइ दिन जाने क्रममा कोइरालालार्इ हम्मेहम्मे परेको थियो । बधाई दिएलगत्तै दुई नेताले एकले अर्कोलाई अङ्कमाल गरे ।
एमाओवादी अध्यक्ष प्रचण्डले ओली भएकै स्थानमा आएर अङ्कमाल गर्दै बधाई दिए। ओलीले अन्य नेतासँग हात मिलाएर बधाई साटासाट गरे पनि सभापति कोइराला र अध्यक्ष दाहालसँग भने अङ्कमाल गरेरै बधाई साटासाट गरे ।
आन्दोलनरत मधेस केन्द्रित दल –तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादव, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलगायतका नेतासमेत ओलीलाई बधाई दिए ।
संसद् भवनभित्र ओलीको पक्षमा मतदान गर्न जान लागेका वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापालाई रोक्दै कांग्रेस सभासद् रामहरि खतिवडाले कोइराला पक्षमा मतदान गर्न तान्दै गरेको दृश्य हेर्न लायक थियो ।
त्यस्तै, ओलीको पक्षमा मतदान गर्न जान लागेका मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीलाई तराई मधेस लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले तान्दै कोइरालाको पक्षमा लैजान खोजेका थिए ।
मतदान भएलगत्तै मत परिणाम नआउँदै ओलीलाई बधाई दिनेको लर्को लाग्न सुरु गरिसकेको थियो ।  नवनिर्वाचित प्रधानमन्त्री ओली बसेको कुर्सी नजिकै आएर तस्बिर खिचाउने सभासद्हरुको तँछाडमछाड थियो ।
उनीहरुले सेल्फीसमेत लिइरहेका थिए । निर्वाचित भएर ओली संसद्बाट बाहिरिँदै गर्दा उनको दायाँबायाँ नेपाली झन्डा लिएर दुईजना उभिएएका थिए । संसद् भवन बाहिर एमालेका नेता, कार्यकर्ताको ठूलो उपस्थिति रहेको थियो ।

Thursday, October 8, 2015

इन्धन आयातका लागि ग्लोबल टेण्डर आह्वान, ३ दिनको समय




काठमाडौँ, २१ असोज । बजारमा चरम अभाव भएपछि नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट पेट्रोलियम पदार्थ ल्याउने भएको छ ।
त्यसका लागि निगमले आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । मन्त्रिपरिषद्बाट निर्णय भएअनुसार अहिलेको परिस्थिति सहज नबन्दासम्म हवाई इन्धन, पेट्रोल, डिजेल, मट्टितेल तथा खाना पकाउने एलपी ग्यास विश्वबजारबाट ल्याउन निगमले बोलपत्र आह्वान गरेको हो ।
सो सूचनाअनुसार कुनै पनि मुलुकबाट खरिद गरी जुनसुकै मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्न सकिनेछ । निगमले आपूर्ति व्यवस्थालाई सहज बनाउने हेतुले इच्छुक आपूर्तिकर्ताले तीन दिनभित्र अहिलेलाई १५ दिनका लागि प्रतिदिन डिजल २०० किलोलिटर, पेट्रोल १०० किलोलिटर, हवाई इन्धन र मट्टितेल २००÷२०० किलोलिटर र खाना पकाउने ग्यास १०० मेट्रिक टन आपूर्ति गर्नुपर्नेछ । सो परिमाणको पेट्रोलियम पदार्थ ल्याउन सक्ने जुनसुकै फर्म तथा संस्थाले बोलपत्रमा सहभागी हुन सक्नेछ ।
विशेष परिस्थितिमा निगमलाई सोझै वार्ताबाट, प्रस्ताव लिएर, सहमतिबाट वा बोलपत्र आह्वान गरेर पेट्रोलियम पदार्थ खरिद सक्ने अधिकार छ । सोही अधिकार प्रयोग गरी विश्वव्यापी बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ । बजारमा चरम रुपमा इन्धन सङ्कट भएपछि वैकल्पिक उपाय अपनाएर भए पनि इन्धन ल्याउन विश्वव्यापी बोलपत्र आह्वान गरिएको निगमका प्रवक्ता दीपक बरालले जानकारी दिनुभयो ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति हेर्ने उपसचिव शिवप्रसाद त्रिपाठीले सरकारले वैकल्पिक उपाय अपनाएर इन्धनको आपूर्ति सहज बनाउन चाहेको जानकारी दिनुभयो । निगमले अहिले जगेडामा रहेको पेट्रोलियम पदार्थ वितरण गर्दै आएको छ ।
इन्धनको अभावका कारण देशभर कम मात्रामा सार्वजनिक सवारीसाधन चलेका छन् । उद्योग, कलकारखाना र विद्यालय पनि सञ्चालन हुन सकेका छैनन् । रासस

कोरिया भाषा परीक्षामा ८ हजार ४ सय ९० उत्तीर्ण





काठमाडौं– वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस )कोरिया शाखाले असोज ३ र ४ गते लिएको कोरिया भाषा परीक्षाको नतिजा प्रकाशित गरेको छ। नतिजाअनुसार भाषा परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण भएका छन्। यी मध्ये ७ सय महिला परीक्षार्थी उत्तीर्ण छन्।

शाखाका निर्देशक डिल्लीराम बास्तोलाका अनुसार उत्तीर्ण मध्ये ५ हजार ८ सय १७ जना औद्योगिक क्षेत्रको रोजगारीका लागि र २ हजार ६ सय ७३ जना कृषि तथा पशु पालनतर्फको रोजगारीमा जान पाउने छन्। यस वर्षको परीक्षाका लागि करिब ५१ हजारले आवेदन दिएकोमा ४८ हजारले उत्तीर्ण गरेका थिए।


उत्तीर्णहरुको स्वास्थ्य परीक्षण मंसिरको पहिलो साताबाट शुरुहुने बास्तोलाले जानकारी दिए। भाषा परीक्षा उत्तीर्णहरुको सीप परीक्षण गरिने र स्वास्थ्य तथा सीप परीक्षणमा उत्तीर्ण हुनेले मात्रै रोजगारीका लागि आवेदन दिन पाउने उनले बताए। पोखराबाट परीक्षा दिने सबै उत्तीर्ण परीक्षार्थीहरुको सबै परीक्षण पोखरामै हुने बास्तोलाले बताए।

‘ कि मलाई देउ कि भद्र सहमति कार्यान्वयन गर’-देउवा


 
काठमाडौ, २१ असोज । नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले नयाँ सरकारको नेतृत्वको लागि पार्टीले कि आफूलाई उम्मेदवार बनाउनु पर्ने अन्यथा तीन दलवीच भएको भद्र सहमति कार्यान्वयन गरेर एमाले अध्यक्ष केपी ओलीलाई समर्थन गर्नु पर्ने धारणा राखेका छन ।
जारी केन्द्रीयसमितिको बैठकमा देउवाले पार्टीले आफूलाई प्रधानमन्त्रीको उम्मेदवार बनाए आफूले अहिले बहुमत जुटाउने र पछि एमालेलाई पनि सरकारमा लिएर आउने प्रतिबद्धता ब्यक्त गर्दै आफूलाई नदिने भए ओलीको नेतृत्वलाई काग्रेसले समर्थन गर्नु पर्ने तर्क गरेका थिए ।
उनले पार्टी सभापतिले आफू प्रधानमन्त्री बन्ने बेलामा एमालेलाई नेतृत्व दिने सम्झौता गरेकोले पनि उहाँले सहमति तोडेर आफ्नो निरन्तरताको आकांक्षा र प्रस्ताव गर्नु उपयूक्त नहुने तर्क बैठकमा प्रस्तुत गरेका थिए ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...