काठमाडौँ, २१ असोज । बजारमा चरम अभाव भएपछि नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट पेट्रोलियम पदार्थ ल्याउने भएको छ ।
त्यसका लागि निगमले आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । मन्त्रिपरिषद्बाट निर्णय भएअनुसार अहिलेको परिस्थिति सहज नबन्दासम्म हवाई इन्धन, पेट्रोल, डिजेल, मट्टितेल तथा खाना पकाउने एलपी ग्यास विश्वबजारबाट ल्याउन निगमले बोलपत्र आह्वान गरेको हो ।
सो सूचनाअनुसार कुनै पनि मुलुकबाट खरिद गरी जुनसुकै मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्न सकिनेछ । निगमले आपूर्ति व्यवस्थालाई सहज बनाउने हेतुले इच्छुक आपूर्तिकर्ताले तीन दिनभित्र अहिलेलाई १५ दिनका लागि प्रतिदिन डिजल २०० किलोलिटर, पेट्रोल १०० किलोलिटर, हवाई इन्धन र मट्टितेल २००÷२०० किलोलिटर र खाना पकाउने ग्यास १०० मेट्रिक टन आपूर्ति गर्नुपर्नेछ । सो परिमाणको पेट्रोलियम पदार्थ ल्याउन सक्ने जुनसुकै फर्म तथा संस्थाले बोलपत्रमा सहभागी हुन सक्नेछ ।
विशेष परिस्थितिमा निगमलाई सोझै वार्ताबाट, प्रस्ताव लिएर, सहमतिबाट वा बोलपत्र आह्वान गरेर पेट्रोलियम पदार्थ खरिद सक्ने अधिकार छ । सोही अधिकार प्रयोग गरी विश्वव्यापी बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ । बजारमा चरम रुपमा इन्धन सङ्कट भएपछि वैकल्पिक उपाय अपनाएर भए पनि इन्धन ल्याउन विश्वव्यापी बोलपत्र आह्वान गरिएको निगमका प्रवक्ता दीपक बरालले जानकारी दिनुभयो ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति हेर्ने उपसचिव शिवप्रसाद त्रिपाठीले सरकारले वैकल्पिक उपाय अपनाएर इन्धनको आपूर्ति सहज बनाउन चाहेको जानकारी दिनुभयो । निगमले अहिले जगेडामा रहेको पेट्रोलियम पदार्थ वितरण गर्दै आएको छ ।
इन्धनको अभावका कारण देशभर कम मात्रामा सार्वजनिक सवारीसाधन चलेका छन् । उद्योग, कलकारखाना र विद्यालय पनि सञ्चालन हुन सकेका छैनन् । रासस
No comments:
Post a Comment