२८ असोज,काठमाडौँ / व्यवस्थापिका संसद् सचिवालयले सहमतिका आधारमा सभामुख चयन गर्ने प्रक्रिया अन्त्य भएको जनाएको छ । सहमतिको आधारमा सभामुख चयन हुन नसकेपछि सचिवालयले बहुमतीय प्रक्रियाका आधारमा सभामुख चयन प्रक्रिया सुरु भएको जानकारी गराएको छ ।
सचिवालयले नयाँ निर्वाचन कार्यतालिका प्रकाशित गरी सहमतिका आधारमा
सभामुख चयन प्रक्रिया अगाडि नबढेकाले भोलि शुक्रबार बिहान ११ः३० बजे
सभामुखको निर्वाचन प्रक्रिया सुरु होस् भनी प्रस्ताव दर्ता गर्न आग्रह
गरेको छ ।
सचिवालयले आज अपरान्ह १४ः३० सम्म सहमतिको आधारमा सभामुख चयन प्रक्रिया
अगाडि बढाउन आग्रह गरेको थियो । आग्रहबमोजिम सहमतिका आधारमा कुनै पनि
प्रस्ताव दर्ता नभएकाले शुक्रबार बिहान ११ः३० देखि १४ः०० बजेसम्म
उम्मेदवारी दर्ता गराउन सचिवालयले एक सूचनामार्फत आग्रह गरेको छ ।
सूचनाअनुसार शुक्रबार १४ः३० बजे उम्मेदवारको नामावली प्रकाशित हुनेछ भने
१५ः०० बजे सभामुखको निर्वाचन हुने व्यवस्थापिका–संसद् सचिवालयका महासचिव
मनोहरप्रसाद भट्टराईले जारी गर्नुभएको सूचनामा उल्लेख छ । यस्तै, उपसभामुखको चयन प्रक्रिया भने शुक्रबार साँझ ५ बजे
व्यवस्थापिका–संसद्को बैठकमा अगाडि बढाइने छ । एकीकृत नेकपा (माओवादी) ले
सभामुखमा निवर्तमान उपसभामुख ओनसरी घर्तीलाई उम्मेदवार बनाउने निर्णय गरेको
छ । नेपाली काँग्रेसले सभामुखमा उम्मेदवारी दिने बताएपनि हालसम्म कुनै नाम
सार्वजनिक गरेको छैन । रासस
No comments:
Post a Comment