Thursday, October 15, 2015

चीनबाट ग्यास ल्याउने प्रस्ताब प्रति निगम मौन

काठमाडौं / नेपाल एलपी ग्यास उद्योग सङ्घले निगमसँग व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले ग्यास आयात गर्न चाहने कम्पनीलाई तत्काल स्वीकृति दिन सरकारलाई निर्देशसमेत गरिसकेको छ। हालसम्म कुनै निर्णय भने हुन सकेको छैन। जसका कारण उपभोक्ता लामो लाइनमा बसेरसमेत ग्यास पाउने अवस्थामा छैनन् । ग्यास बिक्रेता महासङ्घका महासचिव चन्द्र थापाले उपत्यकाको कुल खपत मध्ये ९० प्रतिशतभन्दा बढी ग्यास वीरगन्ज नाकाबाट आउने भएकाले सो नाका अवरुद्ध भएकाले समस्या बढी परेको बताए।

काठमाडौँ उपत्यकामा दैनिक ३० हजार सिलिण्डर आवश्यक पर्दछ। विगत दुई महिनाभन्दा बढीदेखि तराई आन्दोलनका कारण सहज रुपमा काठमाडौँमा ग्यास आयात हुन सकेको छैन। निगमले कुल २९ हजार मेट्रिक टन ग्यास आयात गर्ने कोटा निर्धारण गरेको छ। हाल आयात भएका ग्यास उपत्यका बाहिर नै वितरण गरिएको छ । काठमाडौँमा सहज रुपमा ग्यास उपलब्ध हुनका लागि वीरगन्ज नाका सहज हुनुपर्ने महासचिव थापाको भनाइ छ। जनताको चुल्हो निभेको छ। बिक्रेताका पसल बन्द छन्। उपभोक्ता मारमा छन्, तर आयात नै नभएपछि कसरी वितरण गर्ने, हामी पनि उस्तै समस्यामा छौ, उनले भने।

निगमले भने व्यवसायीलाई तीन-चार दिनमा समस्या समाधान हुने आश्वासन दिँदै आएको छ। तर आश्वासन दिएको पनि लामो समय भइसक्यो, तर समस्या घट्नेभन्दा पनि बढ्दै गएको छ। निगमले सार्वजनिक र निजी सवारीलाई भन्दै कुल सात लाख पचास हजार लिटर इन्धन वितरण गरेपनि धेरै उपभोक्ताले नपाएको गुनासो गरेका छन्। रातभर लाइनमा बस्दा पनि इन्धन नपाएको भन्दै उपभोक्ताले निगमको व्यवस्थापन फितलो भएको बताएका छन्।

निगमका प्रवक्ता दीपक बरालले खाना पकाउने ग्यासको चर्को अभाव रहेको स्वीकारे। निगमको तहबाट गर्न सक्ने अवस्था केही छैन। समस्याको समाधान गर्ने प्रयास जारी छु, उनले भने, काठमाडौँमा एकाध दिनमा ग्यास भित्रने कुनै अवस्था भने छैन। व्यावसायीले चीनबाट ग्यास ल्याउन गरेको प्रस्तावमाथि पनि निगमले हालसम्म कुनै निर्णय गरेको छैन।
 
वैकल्पिक माध्यमबाट ग्यास ल्याउने अनुमति दिन आग्रह गरेको भएपनि आजसम्म निगमले सो प्रस्तावमाथि कुनै निर्णय गरेको छैन । सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले चीनको स्वशाति क्षेत्र तिब्बतको खासादेखि २३ किलोमिटर टाढा रहेको न्यालमबाट ग्यास ल्याउने तयारी गरेका थिए।

विकल्प खोज्ने सरकारको निर्णय

सरकारले भने इन्धन आयातमा वैकल्पिक उपाय अपनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले इन्धन आपूर्तिका लागि वैकल्पिक उपाय अपनाउने निर्णय गरेको सरकारका प्रवक्ता अग्नि खरेलले जानकारी दिए।नेपालीहरुको ठूलो चाड दसैँ तथा तिहार सुरु भएपनि राजधानी काठमाडौँमा खाना पकाउने ग्यासको अभावका कारण उपभोक्ता चर्को सङ्कट ब्यहोर्न बाध्य छन्। चाडवाडमा घर जान चाहने उपभोक्ताले पेट्रोलियम पदार्थको अभावमा घर जान पाएका छैनन् भने ग्यासको अभावमा काठमाडौँमा बस्न सक्ने अवस्था रहेको छैन।
 
ग्यासको खोजीमा भौतारिरहेका उपभोक्ताले डिपो र पसलमा नाम लेखाएको पनि धेरै दिन भयो, तर अन्य पेट्रोलियम पदार्थ सिमित मात्रामा आएपनि ग्यास भने आउन सकेको छैन। भारतले नाकाबन्दी गरेपछि सबैभन्दा बढी मार सहरिया तथा मध्यमवर्गीय उपभोक्तालाई परेको छ। नेपाल आयल निगमकाअनुसार चाडवाडको समयमा ग्यासको माग अत्याधिक हुने गर्दछ। काठमाडौं उपत्यकामा मात्रै करिब ३० लाख ग्यासका उपभोक्ता रहेका छन्।


No comments:

Post a Comment

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...