५ पुस,२०७३। नेकपा एमालेको भ्रातृसंगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नकोे आशंकामा रुपन्देही प्रहरीले ३ जना पक्राउ गरेको छ ।तिवारीको हत्यामा प्रयोग भएको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । बा ५१ प ८०७३ नम्बरको मोटरसाइकल देबदहको खैरेनीबाट बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद मोटरसाइकल १ सय ५० सिसीको रातो रंगको छ । घटनापश्चात भित्री बाटोको प्रयोग गर्दै भागेका आक्रमणकारीले मुख्य राजमार्गमा प्रहरी गस्ती देखेपछि मोटरसाइकल स्टार्ट अवस्थामै छाडेर भागेको प्ररम्भिक अनुसन्धानवाट खुलेको प्रहरीले जनाएको छ ।
त्यस्तै तिवारीलाई हत्या गरेको अभियोगमा अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक बेलबहादुर पाण्डेले बताउनु भयो । घटनाको अनुसन्धानका लागि काठमाडौंबाट राष्ट्रिय अनुसन्धान विभागको एक टोली पनि रुपन्देही आइपुगेको छ । टोलीले जिल्लाको विभिन्न भागमा छरिएर घटनाको अनुसन्धान गरिरहेको छ ।
यसैबीच सरकारले तिवारीको हत्याबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ । गृह मन्त्रालयले प्रहरी महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको हो । तिवारी हत्याको विरोध गर्दै युवा संघले मंगलबार रुपन्देहीसहित लुम्बिनी अञ्चलका विभिन्न जिल्ला बन्द गरेका छन् ।
No comments:
Post a Comment