७ पुस, २०७३। सरकारले काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रीपरिषद बैठकले समितिलाई द्रुतमार्ग नेपाल आफैले निर्माण गर्ने सम्बन्धमा आवश्यक अध्ययन गरी एक महिनामा प्रतिवेदन बुझाउने कार्यदेश दिएको छ ।
द्रुतमार्ग निर्माणमा यसअघि नै तयार गरिएको डिपिआर उपयोग गर्न सकिने वा नयाँ बनाउने, निर्माण कार्यमा जनताको लगानी वा अरु उपायको खोजी गर्नेबारे सिफारिस गर्ने अधिकार पनि समिितलाइ दिइएको छ । द्रुतमार्ग निर्माणको ठेक्का लिएको भारतको इन्फ्रास्टक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेज कम्पनीसँगको सम्झौता तोडेर सरकारले आफ्नै लगानीमा बनाउने निर्णय गरेको थियो । यस्तै बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरण पुनरावेदन समितिको अध्यक्षमा प्रमोदकुमार वैद्यलाई नियुक्त गरेको छ ।
बैठकले नेपाल औषधि लिमिटेडको महाप्रवन्धकमा रोवसकुशुम सुवेदीलाई नियुक्त गर्दै मानव कृतिम अंग प्रत्यारोपण सहजीकरणका लागि एक संस्थाको स्थापना गर्ने निर्णय गरेको सरकारका प्रबक्ता संचारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।
यस्तै सरकारले राष्ट्रिय फुटबल टिमलाई प्रोत्साहन स्वरुप ७५ लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्षको नाम परिवर्तन गरी त्यसलाई राष्ट्रिय निकुञ्जमा स्तरोन्नति गर्ने निर्णय पनि सरकारले गरेको छ । बैठकले चार जना सचिवको सरुवा पनि गरेको छ ।
प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरुङलाई सञ्चार मन्त्रालयमा, सञ्चारका दिनेशकुमार थपलियालाई प्रधानमन्त्री कार्यालयमा, भूमि सुधारका मोहन सापकोटालाई सहकारी तथा गरिवी निवारण मन्त्रालयमा र मध्य पश्चिमका क्षेत्रीय प्रशासक कृष्णप्रसाद देवाकोटालाई भूमिसुधार मन्त्रालयमा सरुवा गरिएको हो ।
No comments:
Post a Comment