३० मंसिर , २०७३ । सप्तरीमा ८ वर्षिय बालकको अपहरणपछि हत्या भएको छ । गत मंसिर ११ गते अपहरणमा परेका हरिपुर ३ का ८ बर्षीय दुर्गानन्द साहको हत्या भएको प्रहरीले जनाएको छ ।
हत्या भएको २० दिनपछि प्रहरीले बालकको शब शौचालयको सेफ्टी टयाङकीवाट बरामद गरेको छ भने अपहरण र हत्यामा संलग्न भएको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको छ । हरिपुर ३ का चुडामणी ठाकुर, हरिपुर १ का सामबाबु गुप्ता र देउरी गाबिस २ का कपिलदेब दासलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सप्तरी प्रहरीले आज अपरान्ह पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको छ ।
प्रहरी उपरिक्षक दिवेश लोहनीका अनुसार साहका छिमेकी ठाकुरले गत मंसिर ११ गते साँझ ६ वजे खरायो देखाईदिने भन्दै बालकलाई अपहरण गरि आफनो घर लगेको अनुसन्धानले देखाएको छ । ठाकुरले गुप्ता र दासको सहयोगमा दुर्गानन्दलाई सोही दिन राती मुख थुनेर हत्या गरि छिमेकी पन्नेलाल साहको शौचालयको सेफटी टयाङ्कीमा लुकाएका थिए । अपहरण र हत्या गरेको ६ दिन पछि ठाकुरले वालक दुर्गानन्दकी आमा ममतादेबीलाई मोवाईलमा म्यासेज पठाई पाँच लाख रुपैयाँ फिरौती मागेको पाइएको प्रहरीले जनाएको छ ।
मंसिर ११ गते वालक हराएपछि अनुसन्धानमा जुटेको प्रहरीले कल डिटेल र आधुनिक प्रबिधी प्रयोग गरी आरोपीतलाई पक्राउ गरेको हो । शव पोष्टमार्टमका लागि विपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको डिएसपी दानवहादुर कार्कीले जानकारी दिनुभयो ।
No comments:
Post a Comment