पुस १, २०७३ । प्रदेश सीमाङ्कन हेरफेर गर्नेगरी सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकको विरोधमा ५ नम्बर प्रदेशका विभिन्न जिल्लामा पुनः आन्दोलन चर्किएको छ ।
जसले गर्दा १७ दिनदेखि बन्द रहेको गुल्मीमा आज प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनकारीले सरकारी कार्यालयमा तोडफोड गरेका छन् । झडपमा एकदर्जन बढी घाइते भएका छन् । प्रहरीले भीड नियन्त्रण गर्न झण्डै २ दर्जन राउण्ड अश्रु ग्यास प्रहार गरेको हाम्रा सहकर्मी घनश्याम गौतमले जनाएका छन् । प्रदर्शनकारीले जिल्ला प्रशासन र जिल्ला विकास समितिको कार्यालय तोडफोड गरेका छन् ।
त्यस्तै जिविसको बा १ झ ६६८१ नम्बरको ल्याण्ड क्रुजर गाडी जलाएका छन् । जिल्ला प्रशासन, शिक्षा, वन र हुलाक कार्यालयमा प्रदर्शनकारीले लगाएको ताला प्रहरीले खोल्ने क्रममा झडप भएको हो । नेकपा मालेकी सांसद कमला विश्वकर्मा सहित एक दर्जन प्रदर्शनकारी र ४ जना प्रहरी घाइते भएका छन् । यस्तै बाँके, रुपन्देही र पाल्पामा समेत बन्द आव्हान गरिएको छ । बाँकेमा बन्दको अवज्ञा गरेको भन्दै प्रर्दशनकारीले केही सवारीसाधनमा तोडफोड गरेका छन् ।
पुष्पलाल चोकमा सडक डिभिजन कार्यालयको भे १ प ५६३ नम्वरको मोटरसाइकल र बिपीचोकमा निजी कार तोडफोड गरेको प्रहरीले जनाएको छ । यस्तै, रुपन्देहीमा समेत आमहड्तालले जनजीवन प्रभावित भएको छ । यस्तै, निरन्तर ११ दिन पाल्पा बन्द गरेर केही दिनलाई स्थगित गरेको संयुक्त संघर्ष समितिले पुनस् दुई दिने आमहड्ताल घोषणा गरेपछि जनजीवन कष्टकर बनेको छ । बर्दियामा पनि आज बन्द आव्हान गरिएको थियो ।
No comments:
Post a Comment