काठमाडौं , २२ मंसिर, २०७३ । ब्यवस्थापिका संसद बैठक आज दिउँसो एक बजेका लागि बोलाईएको छ । संविधान संशोधन विधेयक फिर्ता नभएसम्म संसद बैठक चल्न नदिने रणनीति बनाएको प्रमुख प्रतिपक्षी एमालेले आज पनि बैठक अवरुद्ध गर्ने बताएको छ ।
सरकारले गत मंसिर १४ गते दर्ता गरेको संशोधन प्रस्ताव राष्ट्रहित बिपरित भएको भन्दै एमालेले यसअघिका ३ वटा बैठक अवरुद्ध गरेको थियो । एमाले प्रमुख सचेतक भानुभक्त ढकालले माग सम्बोधन नभएसम्म संसद बैठक चल्न नदिने बताउनुभयो ।
यसैबीच कार्यब्यवस्था परामर्श समितिको बैठक अहिले बसिरहेको छ । संशोधन प्रस्ताव दर्ताभएसँगै संसदका कामकारवाही प्रभावित भएको भन्दै निकासका लागि सभामुख ओनसरी घर्तीको पहलमा परामर्श समितिको बैठक बसेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीबिरुद्धको महाअभियोग प्रस्ताव अलपत्र परेपछि सभामुख घर्तीले निकासका लागि बैठक बोलाउनुभएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।
एमालेको अवरोधका कारण संसदले सो प्रस्तावमाथिको छलफल सक्दै थप अध्ययन र अनुसन्धानका लागि महाअभियो सिफारिस समितिमा पठाउन सकेको छैन । यस्तै कार्यब्यवस्था परामर्श समितिले प्रधानमन्त्री तथा मन्त्रीहरुसँग प्रत्यक्ष प्रश्नउत्तरको कार्यबिधिलाई समेत आज पारित गर्ने तयारी गरेको छ । कार्यबिधि परिमार्जन गर्दै सिफारिस समितिले प्रधानमन्त्री र मन्त्रीहरुसँग सांसदहरुले प्रत्यक्ष प्रश्नउत्तर गर्न पाउने ब्यवस्था गरेको थियो । दलहरुको थप सुझाव सहित सो कार्यबिधि पारित गर्ने र आजैको संसद बैठकबाट त्यसलाई अनुमोदन गर्ने तयारी सभामुख घर्तीको छ ।
No comments:
Post a Comment