३० मंसिर , २०७३ । एसीसी अण्डर १९ एसिया कप क्रिकेटमा नेपाल श्रीलंकासंग १ रनले पराजित भएको छ । जितको नजिक पुगेको नेपाल अन्तिम समयमा सम्हालिन नसक्दा पहिलो खेलमै पराजित भएको हो ।
२ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल बाँकी छँदै २ सय २६ रनमा अलआउट हुन पुग्यो । दिपेन्द्र सिंह ऐरीले ९० रन बनाएपछि जितको नजिक पुगेको नेपालले ३० रन जोड्न पछिल्ला ५ विकेट गुमायो । ३२ रनमा ३ विकेट गुमाएर दबाबमा आएको नेपालको इनिङ्स दिपेन्द्रले सम्हाले । ९९ बल खेल्दै उनले ९ चौका र १ छक्का प्रहार गरे ।
नेपालका अविनाश कर्णले ४०, अदिल खानले ३९ र प्रकाश केसीले १४ रन बनाए । ओपनरद्धय सन्दिप सुनार २ तथा आशिफ शेख १ रनमा पवोलियन फर्किएको खेलमा भिम सार्की ८, कमल सिंह ९, सन्दिप लामिछाने १ र पवन सर्राफ शुन्य रनमा आउट भए । श्रीलंकाका कामिन्डु मन्डिसले सर्वाधिक ३ विकेट लिए । आईसीसीको प्रतिबन्धपछि घरेलु क्रिकेट शुन्य रहेको अवस्थामा देशका विभिन्न सहरबाट प्रतिभावान खेलाडी छान्दै नेपालले राष्ट्रिय टोली गठन बनाएको थियो ।
मात्र १५ दिनको बन्द प्रशिक्षणबाट नेपाली टोली प्रतियोगिता खेल्न श्रीलंका गएको थियो । यसअघि कोलम्बोमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको घरेलु टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रन जोड्यो । श्रीलंकाका हसिथा बोयागोदाले १२ चौकाको मदतले सर्वाधिक ८३ रन बनाए ।
नेपालका कमल सिहले ३, पवन सर्राफले २ तथा दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए । हारपछि नेपालको अघिल्लो चरणको सम्भावना कठिन बनेको छ । नेपाल रहेको समुह ए अन्र्तगत आजै भएको अर्को खेलमा डिफेन्डिङ च्याम्पियन इन्डियाले मलेसियालाई २ सय ३५ रनले हराएको छ ।
समुह चरणबाट समान एक जित निकाल्दै शिर्ष स्थानको इन्डिया र दोस्रो स्थानको श्रीलंकाले समान ३ अंक जोडेका छन । नेपालले समुह चरणको दोस्रो खेलमा भोली डिफेन्डिङ च्याम्पियन इन्डियासंग प्रतिस्पर्धा गर्नेछ ।
No comments:
Post a Comment