काठमाडौं, २३ मंसिर , २०७३ । प्रधानमन्त्री पुष्पकमल दाहालले संबिधान संशोधन नभए पुरानै संरचनामा स्थानीय निर्वाचन हुने भन्दै त्यसको तयारीमा जुट्न कार्यकर्तालाइ निर्देशन दिनुभएको छ ।
माओवादी केन्द्रको सात नम्वर प्रदेशका अगुवा कार्यकर्ताको भेलालाई धनगढीमा आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पुरानै संरचनामा भएपनि निर्वाचन हुने बताउनुभएको हो । प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘सवै कुरा छोडेर स्थानीय निर्वाचनको तयारीमा लाग्नुस्, सकभर नयाँ संरचना अनुसार हुन्छ त्यो सम्भव नभए पुरानै संरचना अनुसार पनि निर्वाचन हुन्छ ।’ गणतन्त्र संस्थागत गर्न र संबिधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको भन्दै उहाँले सरकार जुनसुकै हालतमा पनि निर्वाचन गराउन कटीवद्ध रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले संबिधान संशोधन प्रस्ताव फिर्ता नहुने समेत दोहोर्याउनुभएको छ ।
यसैबीच, प्रधानमन्त्रीको भ्रमण विरोध गर्ने आफ्ना कार्यकर्तामाथि दमन गरेको भन्दै एमालेले आज कैलाली बन्दको आव्हान गरेको थियो । हिजो प्रहरीले प्रधानमन्त्रीको कार्यक्रममा अवरोध गर्न खोजेको भन्दै एमालेका ३९ जना कार्यकर्तालाई नियन्त्रणमा लिएर छाडेको थियो । संविधान संशोधन प्रस्तावमार्फत पाँच नम्बर प्रदेश अलग्याउन खोजिएको भन्दै एमाले लगायतका राजनीतिक दलका स्थानीय नेताले जिल्लामा बिरोध प्रदर्शन गर्दै आएका छन् ।
No comments:
Post a Comment