Thursday, December 22, 2016

राष्ट्र बचाउन सबै नेपाली जाग्नै पर्ने भाेः पूर्वराजा ज्ञानेन्द्र

काठमाडौंं– पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकलाई अस्थिरता र अराजकताको आगोले जलाइ रहेको भन्दै राष्ट्रलाई कमजोर पार्ने र  राष्ट्रिय गौरव भेट्ने कार्य असैह्य भएको बताएका छन्।
बुधबार साँझ एक विज्ञप्ति जारी गरी पूर्व राजा शाहले  नेपालीबीच सामाजिक सद्भाव मेट्ने, तराई, पहाड र हिमालमाझको ऐक्य भाव तोड्ने भगीरथ प्रयत्न भइरहेको भन्दै ती कार्य क्रान्तिकारी, परिवर्तनकारी वलिदानी आदि शब्द भावको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्न प्रयोग रिएको उल्लेख गरेका छन्।
 
‘नेपाली मन मस्तिष्कमा देशभक्तिको भावना ढलेको छैन, सबै नेपालीले राष्ट्र बचाउन फेरि एकपटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तिस्व आफ्ना सन्ततीलाई सुम्पन प्रमुख र प्रखर रुपले जाग्नै परेको र लाग्नै परेको छ।’
यसअघि कुनै चाड विशेषका बेलामा मात्र वक्तव्य निकाल्ने पूर्व राजाले विना कुनै अवसरमा विज्ञप्ति निकालेका हुन्।
‘निषेधको राजनीति र प्रतिशोधनको मानसिकताबाट ग्रसित राष्ट्रिय आधारहरु किमार्थ बलिया हुन सक्दैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘इतिहास कलंकित गर्दै निश्चित स्वार्थ पूरा गर्न गरिएका कार्यहरु कदापि प्रशंसित हुन सक्दैनन्। माटो र मुटुसँग जोडिएको देशभक्तिलाई लाञ्छित गरेर आधुनिकताको दुहाइ दिएरमात्र कथित अग्रगमनको यात्राले गति लिन सक्दैन।’
नेपालको स्थायी सत्ता  भनेकै राष्ट्र र राष्ट्रवासी भएको उल्लेख गर्दै विज्ञप्तिमा यसलाई सवल पार्ने भाषा, धर्म, संस्कृति, इतिहास र त्यसले बोकेको आस्था र विश्वासलाई त्यसको बलियो जग भएको उल्लेख छ।
जनताका आस्थाहरु नढलेको उल्लेख गर्दै विज्ञप्तिमा पूर्व राजाले  उल्लेख गरेका छन्, ‘नेपाली मन मस्तिष्कमा देशभक्तिको भावना ढलेको छैन, सबै नेपालीले राष्ट्र बचाउन फेरि एकपटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तिस्व आफ्ना सन्ततीलाई सुम्पन प्रमुख र प्रखर रुपले जाग्नै परेको र लाग्नै परेको छ।

संसद बैठक आठौं पटक स्थगित


७ पुस, २०७३  व्यवस्थापिका संसदको बैठक आज पनि सूचना टाँसेर स्थगित भएको छ । संविधान संशोधनको विषयमा असन्तुष्टि जनाउदै एमाले सहितका प्रतिपक्ष दलले अबरोध जारी राख्ने निर्णय गरेपछि बैठक आगामी आईतबार सम्मका स्थगित गरिएको हो ।
यो सहित ८ वटा बैठक लगातार स्थगित भएका छन् । एमाले लगायतका केहि प्रतिपक्षी दलले सरकारले गत मंसिर १४ गते दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म बैठक चल्न नदिने अडान राखेका छन ।
गत सोमवार निर्वाचनसम्बन्धि बिधेयक र संविधान संशोधन विधेयकलाई बैठकको कार्यसूचिमा राखिएको थियो । यस बीचमा सभामुख ओनसरी घर्तिले सहमतिको प्रयास गरेपनि सफल हुन सकेन ।
लगायतार बैठक स्थगित हुँदा निर्वाचनसंग सम्बन्धित विधेयक अघि बढ्न सकेको छैन भने अख्तियारका लिम्बित प्रमुख लोकमानसिंह कार्कीबिरुद्धको महाअभियोग प्रस्ताव समेत अलपत्र परेको छ ।

काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणका लागि सात सदस्यीय समिति गठन


७ पुस, २०७३  सरकारले काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रीपरिषद बैठकले समितिलाई द्रुतमार्ग नेपाल आफैले निर्माण गर्ने सम्बन्धमा आवश्यक अध्ययन गरी एक महिनामा प्रतिवेदन बुझाउने कार्यदेश दिएको छ ।
द्रुतमार्ग निर्माणमा यसअघि नै तयार गरिएको डिपिआर उपयोग गर्न सकिने वा नयाँ बनाउने, निर्माण कार्यमा जनताको लगानी वा अरु उपायको खोजी गर्नेबारे सिफारिस गर्ने अधिकार पनि समिितलाइ दिइएको छ । द्रुतमार्ग निर्माणको ठेक्का लिएको भारतको इन्फ्रास्टक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेज कम्पनीसँगको सम्झौता तोडेर सरकारले आफ्नै लगानीमा बनाउने निर्णय गरेको थियो । यस्तै बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरण पुनरावेदन समितिको अध्यक्षमा प्रमोदकुमार वैद्यलाई नियुक्त गरेको छ ।
बैठकले नेपाल औषधि लिमिटेडको महाप्रवन्धकमा रोवसकुशुम सुवेदीलाई नियुक्त गर्दै मानव कृतिम अंग प्रत्यारोपण सहजीकरणका लागि एक संस्थाको स्थापना गर्ने निर्णय गरेको सरकारका प्रबक्ता संचारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।
यस्तै सरकारले राष्ट्रिय फुटबल टिमलाई प्रोत्साहन स्वरुप ७५ लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्षको नाम परिवर्तन गरी त्यसलाई राष्ट्रिय निकुञ्जमा स्तरोन्नति गर्ने निर्णय पनि सरकारले गरेको छ । बैठकले चार जना सचिवको सरुवा पनि गरेको छ ।
प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरुङलाई सञ्चार मन्त्रालयमा, सञ्चारका दिनेशकुमार थपलियालाई प्रधानमन्त्री कार्यालयमा, भूमि सुधारका मोहन सापकोटालाई सहकारी तथा गरिवी निवारण मन्त्रालयमा र मध्य पश्चिमका क्षेत्रीय प्रशासक कृष्णप्रसाद देवाकोटालाई भूमिसुधार मन्त्रालयमा सरुवा गरिएको हो ।

निर्वाचन गर्न आयोग सक्षम - यादव

पुस ६, २०७३ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनसँग सम्वन्धित कानुन बने निर्वाचन आयोग जुनसुकै तहको निर्वाचन गर्न सक्षम रहेको बताउनुभएको छ ।

हेटौंडास्थित निर्वाचन कार्यालयको भवन उद्घाटन गर्दै प्रमुख आयुक्त यादवले निर्वाचनको आधार सरकारले बनाउनुपर्ने बताउनुभयो । निर्वाचनसँग सम्वन्धित कानुन बनेर सरकारले मिति घोषणा गरे आयोग निर्वाचन गराउन तयार रहेको यादवको भनाई थियो ।
आयोगले एक वर्षअघि नै निर्वाचन कानून पारित गर्नका लागि सरकारलाई बुझाएको भएपनि अहिलेसम्म उक्त कानून अघि बढ्न नसकेको भन्दै आयोगले चुनावको मिति घोषणा गर्ने लगायतको अधिकार पाउनुपर्ने बताउनुभयो । यसैबीच जिल्ला निर्वाचन कार्यालय मकवानपुरले आजदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको छ । २०५४ सालमा मकवानपुरमा स्थापना भएको जिल्ला निर्वाचन कार्यालयले १९ वर्षपछि आफ्नै भवनबाट सेवा सुरु गरेको हो ।
२०६९ असार २६ गते निर्माण सम्झौता भएको भवनको निर्माण कार्य २०७२ चैत मसान्तमा सकिएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्द पौडेलले बताउनुभयो ।

Tuesday, December 20, 2016

आदिवासी जनजाति महासङ्घमा बराम विजयी

चितवन, ६ पुस,२०७३    नेपाल आदिवासी जनजाति महासङ्घको नवौँ राष्ट्रिय महाधिवेशनले जगत बरामको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । 
नयाँ नेतृत्वका लागि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)लगायत अन्य साना दलकोे प्यानलबाट जगत बरामले नेकपा (एमाले)का तर्फबाट अध्यक्षका उम्मेदवार रहेका सूर्य भुजेललाई आठ मतले पछि पार्दै विजयी भएका हुन्। ५६ मतदाता रहेको महासङ्घमा बरामले ३१ र भुजेलले २३ मत पाएका थिए भने एक मत बदर र एकजना मतदानमा सहभागी नभएको निर्वाचन समितिले जनाएको छ ।


यस्तै, महासचिवमा गठबन्धनकै नित्यनन्द ताजपुरिया र कोषाध्यक्षमा मुकुन्द पहारी विजयी भएका छन्।  महासचिवमा विजयी ताजपुरियाले ३५ र उनका प्रतिद्वन्द्वी टासी ह्याल्मुले १५ मत प्राप्त गरे। यसैगरी, कोषाध्यक्षमा मुकुन्द पहारीले ३६ र उनका प्रतिद्वन्द्वी प्रेमीलाल चौधरीले १५ मत प्राप्त गरेका थिए। गत शनिबार सुरु भएको महाधिवेशन विवादका कारण आज मात्रै सम्पन्न भएको हो ।

एमाले विरुद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र, सङ्घीय समाजवादी फोरम, नयाँ शक्ति र राप्रपाको गठबन्धन बनेको थियो । यसअघि महाधिवेशनले प्रदेश अनुसारको विधान संशोधन गरेको छ ।

तेह्र सदस्यीय सचिवालयलाई बढाएर २१ सदस्यीय बनाएको महासङ्घका अध्यक्ष नगेन्द्र कुमालले बताए । संशोधित विधान अनुसार अध्यक्ष, महासचिव र कोषाध्यक्षसहित आठ उपाध्यक्ष र १० सचिव हुने व्यवस्था गरिएको उनले जानकारी दिए। रासस

जनकपुरमा सडक छेउको नालामा युवकको शव

 ६ पुस,२०७३    जनकपुरको पिडारीचोक स्थित सडक छेउको नालामा एक युवकको शव भेटिएको छ । जनकपुर–ढल्केवर सडकखण्डको पिडारीचोकबाट उत्तरपश्चिम छेउको नालामा युवकको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
युवकको शव प्रहरीले नालाबाट निकालेर पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगेको छ । वडा प्रहरी कार्यालय मुजेलियाका अनुसार  मंगलबार राति ११ बजेको समयमा जनकपुरबाट ढल्केवर तर्फ जान लागेको बिआर ३० पि ६६३२ नम्बरको भारतीय नम्बरप्लेटको स्कारपिओ अत्यधिक गतिका कारण दुर्घटना भएको थियो । तर प्रहरी टोली पुग्दा त्यहाँ कोही पनि थिएनन् । प्रहरीले राति नै दुर्घटना भएको स्कारपिओ नियन्त्रणमा लिएको थियो ।

बुधबार बिहान दुर्घटना स्थलकै नालामा शव भेटेपछि स्कारपिओमै सवार कुनै व्यक्ति भएको वा अन्य व्यक्तिलाई ठक्कर दिएर घाइते भएको अवस्थामा फालेको विषयमा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय मुजेलियाका सई गगन शाहीले बताउनुभयो । 

संसदीय गतिरोध अन्त्यका लागि दलहरुबीच जारी छलफल निश्कर्ष उन्मुख- सभामुख घर्ती

६ पुस,२०७३ ।  सभामुख ओनसरी घर्तीले संसदीय गतिरोध अन्त्यका लागि दलहरुबीच पछिल्लो समय जारी छलफल निश्कर्ष उन्मुख भएको बताउनुभएको छ । विहान एक संचार माध्यमसँगको कुराकानीमा यस्तो बताउनु भएको हो ।
 निर्वाचनसँग सम्बन्धित विधेयक अगाडि बढाउनेबारे दलहरुबीच कुनै विवाद नरहेपनि संशोधन विधेयकमा कायम विवाद अन्त्यका लागि दलहरु समेत गम्भीर बनेको उहाँको भनाई थियो । गतिरोध अन्त्यका लागि आफुले पहल जारी राखेको बताउदै सभामुख घर्तीले भोली संसद बैठक बस्नु अगावै निकास निस्कने बिश्वास ब्यक्त गर्नुभयो । 

आगामी बर्षको माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्दै संविधान कार्यान्वयन गर्ने बिषयमा सरकार तथा दलहरुको ध्यानकर्षण गराएको जानकारी दिदै उहाँले त्यसका लागि उपयुक्त वातावरण बनाउन दलहरु एक ठाउँमा उभिनुको बिकल्प नभएको बताउनुभयो । घर्तीले भन्नुभयो– बिगतमा ठूला उपलब्धि हासिल गर्दा दलहरु एक ठाउँमा उभिएको उदाहरण छ । अब पनि राजनीतिक गतिरोध अन्त्यका लागि एक ठाउँमा आउनुको बिकल्प छैन ।   

संसदीय गतिरोध अन्त्य गर्दै छलफलमा रहेका निर्वाचनसँग सम्बन्धित तीन वटा विधेयक, अख्तियार प्रमुख लोकमानसिंह कार्की बिरुद्धको महाअभियोग प्रस्ताव अघि बढ्ने सभामुख घर्तीको बिश्वास थियो । 

पुरानै संरचनामा स्थानीय निकायको चुनाव हुन नसक्ने दाहालको भनाई

५ पुस,२०७३। प्रधानमन्त्री पुष्पकमल दाहालले पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन नहुने बताउनुभएको छ । सुर्खेतको बिरेन्द्रनगरमा आज संचारकर्मीसंग प्रधानमन्त्री दाहालले पुरानै संरचनामा निर्वाचन गर्नु भनेको संविधान कार्यान्वयनबाट पछाडि हट्नु भएको दावी गर्नु भयो ।
पुर्नसंरचना गरेर स्थानीय तहकै निर्वाचन हुने भन्दै उहाँले आफू पुरानै संरचनालाई आधार मानेर निर्वाचन गर्न सहमत भएको भन्ने कुरा सत्य नभएको उल्लेख गर्नुभयो । माओबादी केन्द्रको प्रदेश स्तरिय प्रशिक्षणका लागी प्रधानमन्त्री दाहाल सुर्खेत पुग्नुभएको हो । प्रशिक्षणमा उहाँले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता उल्ट्याउन कोशिस भइरहेको दावी गर्नु भयो ।  

माओवादी आन्दोलन कमजोर भएकाले परिवर्तनका मुद्दा उल्टाउने शक्तिले षडयन्त्र गरेको उहाँको भनाई थियो । परिवर्तनका मुद्दा जोगााउन छरिएका माओवादीबीच एकता आवश्यक रहेको औंल्याउनुभयो । विगतमा एमालेले अघि सारेको र कांग्रेसले समर्थन गरेको प्रस्तावलाई सरकारले संसदमा दर्ता गरेको दोहोर्‍याउँदै प्रधानमन्त्री दाहालले बिरोधमा एमाले लगायतका दलले बखेडा निकाल्नु आश्र्चयजनक भएको टिप्पणी गर्नुभयो । प्रशिक्षणमा  माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संविधानमा संस्थागत गरिएका परिवर्तनका मुद्दा कार्यान्वयनका लागि एकतावद्ध भएर जनतामा जानुपर्ने बताउनुभयो । 

युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको हत्यामा संलग्नकोे आशंकामा प्रहरीद्धारा तीन पक्राउ, मोटरसाईकल पनि बरामद


५ पुस,२०७३  नेकपा एमालेको भ्रातृसंगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नकोे आशंकामा रुपन्देही प्रहरीले ३ जना पक्राउ गरेको छ ।तिवारीको हत्यामा प्रयोग भएको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । बा ५१ प ८०७३ नम्बरको मोटरसाइकल देबदहको खैरेनीबाट बरामद भएको प्रहरीले जनाएको छ । 
बरामद मोटरसाइकल १ सय ५० सिसीको रातो रंगको छ ।  घटनापश्चात भित्री बाटोको प्रयोग गर्दै भागेका आक्रमणकारीले मुख्य राजमार्गमा प्रहरी गस्ती देखेपछि मोटरसाइकल स्टार्ट अवस्थामै छाडेर भागेको प्ररम्भिक अनुसन्धानवाट खुलेको प्रहरीले जनाएको छ ।
त्यस्तै तिवारीलाई हत्या गरेको अभियोगमा अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक बेलबहादुर पाण्डेले बताउनु भयो । घटनाको अनुसन्धानका लागि काठमाडौंबाट राष्ट्रिय अनुसन्धान विभागको एक टोली पनि रुपन्देही आइपुगेको छ । टोलीले जिल्लाको विभिन्न भागमा छरिएर घटनाको अनुसन्धान गरिरहेको छ ।
यसैबीच सरकारले तिवारीको हत्याबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ । गृह मन्त्रालयले प्रहरी महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको हो । तिवारी हत्याको विरोध गर्दै युवा संघले मंगलबार रुपन्देहीसहित लुम्बिनी अञ्चलका विभिन्न जिल्ला बन्द गरेका छन् ।

पाकिस्तान विरुद्धको पहिलो टेष्टमाअष्ट्रेलिया विजयी

उत्तम रिजाल, ५ पुस,२०७३   पाकिस्तान विरुद्धको पहिलो टेष्टमा घरेलु टोली अष्ट्रेलिया ३९ रनले विजयी भएको छ । व्रिसबर्नमा ४ सय ८० रनको लक्ष्य लिएर जबाफी ब्याटिङ्ग गरेको पाहुना टोली एक सय ४५ ओभरमा ४ सय ५० रनमा समेटिएसँगै घरेलु टोली विजयी भएको हो ।
Australian players celebrate their victory over Pakistan in the first day-night cricket Test match between Australia and Pakistan in Brisbane .
पाकिस्तानका लागी म्यान अफ दी म्याच असाद सफिकले सतक बनाएपनि त्यो जितका लागि पर्याप्त हुन सकेन् । उनले २ सय ७ बलको सामना गर्दै १३ चौका र एक छक्काको सहायताले एक सय ३७ रन बनाए । त्यस्तै ओपनर अजहर अलीले ७१,पुर्व कप्तान युनिस खानले ६५ तथा मोहम्मद अमिरले ४८ रन बनाएका थिए ।

४ पुस,२०७३  सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलमा सेनाको त्रिभूवन आर्मी  र नेपाल पुलिस क्लवले  लगातार दोश्रो जित निकालेका छन् । 
सुनसरीको दुहबीमा भएको खेलमा आर्मीले पूर्वाञ्चललाई ३-० ले हरायो । आर्मीका लागि सुष्मिता तामाङ्गले १५ औं मिनटमा गोल गरिन् गरिन भने  खेलको ५४ औं र ७० औं मिनटमा ईन्दिरा राईले गोल गर्दै आर्मीको जित पक्का गरिन् । आर्मीकी ईन्दिरा राई वुमन अफ द म्याच चुनिइन् । अर्को खेलमा प्रहरीले पश्चिमाञ्चललाई ४- ० ले पाखा लगायो । विजयी टिमका लागि वुमन अफ दि म्याच यशोदा लामाले खेलको १९ औं मिनटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि २९ औं मिनटमा निरु थापाले गोल गर्दै गोल संख्यालाई दोब्बर पारिन् । यस्तै श्रृजना खड्काले खेलको ४६ औं मिनटमा गोल थपिन् । त्यसपछि ५७ औं मिनटमा मञ्जु गुरुङ्गले गोल  गरिन् । जितसँगै दुबै टोलिले उपाधि दाबेदारी प्रस्तुत गरेका छन् ।

मलेशिया विरुद्ध नेपालको कठिन जित


उत्तम रिजाल, ३ पुस,२०७३      श्रीलंकामा जारी अण्डर नाइन्टिन एशिया कप क्रिकेटमा नेपालले कठिन जित हात पारेको छ । आज सम्पन्न समुह चरणको अन्तिम खेलमा नेपालले मलेशियालाई एक विकेटले पराजित गरेको हो ।

कोलम्बोमा टस हारेर ब्याटिङ्ग गरेको मलेशियाले ४४ दशमलव ४ ओभरमा एक सय ५३ रन बनाएको थियो । उसका लागि कप्तान विरन्दिप सिंहले सर्वाधिक ७५,मोहम्मद हासिफले २१ र सैफ उल्लाह मल्लिकले ११ रनको योगदान दिन बाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् । आठ रनमा पहिलो विकेट गुमाएको मलेशियाले दोस्रो विकेट पनि आठ रनमै गुमाएको थियो । ४८ मा तेस्रो,५७ मा चौथो,७३ मा पाँचौ,७९ मा छैटौ,८५ मा सातौ,एक सय २० मा आठौ र एक सय ३७ मा नौ औं विकेट गुमाएको थियो । मलेशियालाई सस्तैमा समेट्ने क्रममा बलिङ्गतर्फ नेपालका आदिल खानले तीन तथा कप्तान संन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए ।
nepal-u19-team2
जबाफमा एक सय ५४ रनको झिनो लक्ष्य लिएर मैदान उत्रिएको नेपालले ओपनर आसिफ सेखलाई एक तथा अर्का आक्रामक ब्याट्समेन आदिल खानलाई विना कुनै रनमा गुमाएको थियो । टिमको स्कोर ६ रन भएको अबस्थामा दुई विकेट गुमाएको नेपालले ३९ रनमा तेस्रो विकेट गुमाएको थियो । त्यसपछि दबाबमा रहेको नेपालले ६२ मा चौथो विकेट गुमायो । ओपनर अभिनास कर्ण २९ रन जोड्दै आउट भए । त्यसपछि आस गरिएका दिपेन्द्रसिंह ऐरी पनि २२ रन जोड्दै आउट हुँदा नेपालले मात्र ८० रन जोडेको थियो । त्यसपछि विकेट किपर प्रकाश केसी दोस्रो बलको सामना गर्ने क्रममा विरन्दिप सिंहको बलमा एलबीडब्लु धरापमा पर्दा नेपालले ८० रनमै छैटौ विकेट गुमाएको थियो । त्यसपछि पराजय उन्मुख रहेको नेपालका लागी रोहित कुमार पौडेलले केहि सम्माले पनि उनीपनि १२ रन जोड्दै मोहम्मद अमिरको बलमा बोल्ड आउट भए ।
nepal-2016
त्यपछि झन दबाबमा रहेको नेपालले एक सय ८ रनमा आठौ विकेट गुमाएको थियो । आठौ विकेट झरेसँगै समुह चरणको अन्तिम खेलमा मात्र भएपनि जित निकाल्ने सोचमा रहेको नेपाल पराजय नजिक पुगेको थियो । त्यसपछि अनिल शाहाले सम्मालिदै ब्याटिङ्गगर्दा टिमलाई जित नजिक पुर्याए । उनले ६६ बलको सामना गर्दै ३२ रनको योगदान दिए । उनी नौ औं विकेट स्वरुप आउट हुँदा नेपालले एक सय ४५ रन जोडेको थियो । शाहालाई पबन सराफले साथ दिएका थिए । सराफ ६७ बलको सामना गर्दै २ चौका र एक छक्काको मद्दतमा २९ रनमा अविजित रहे । टिमलाई जित दिलाउने क्रममा अन्तिम विकेटका रुपमा क्रिजमा आएका कप्तान संन्दिप लामिछानेले तीन बलमा तीन रनको योगदान दिए । यसअघि समुह चरणका दुई खेल गुमाएसँगै प्रतियोगिताबाट बाहिरीसकेको नेपालले जितको स्वाद पाएपनि आस गरिए अनुसारको भने खेल खेल्न सकेन् । नेपाल पहिलो खेलमा आयोजक श्रीलंकासँग एक रनले र दोस्रो खेलमा इण्डीयासँग ६ विकेटले पराजित भएको थियो ।

Friday, December 16, 2016

५ नम्बर प्रदेशका विभिन्न जिल्लामा पुनः आन्दोलन चर्कियो, प्रहरी र प्रदर्शनकारीबीच झडप

पुस १, २०७३  प्रदेश सीमाङ्कन हेरफेर गर्नेगरी सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकको विरोधमा ५ नम्बर प्रदेशका विभिन्न जिल्लामा पुनः आन्दोलन चर्किएको छ ।
जसले गर्दा १७ दिनदेखि बन्द रहेको गुल्मीमा आज प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनकारीले सरकारी कार्यालयमा तोडफोड गरेका छन् । झडपमा एकदर्जन बढी घाइते भएका छन् । प्रहरीले भीड नियन्त्रण गर्न झण्डै २ दर्जन राउण्ड अश्रु ग्यास प्रहार गरेको हाम्रा सहकर्मी घनश्याम गौतमले जनाएका छन् । प्रदर्शनकारीले जिल्ला प्रशासन र जिल्ला विकास समितिको कार्यालय तोडफोड गरेका छन् । 

त्यस्तै जिविसको बा १ झ ६६८१ नम्बरको ल्याण्ड क्रुजर गाडी जलाएका छन् । जिल्ला प्रशासन, शिक्षा, वन र हुलाक कार्यालयमा प्रदर्शनकारीले लगाएको ताला प्रहरीले खोल्ने क्रममा झडप भएको हो । नेकपा मालेकी सांसद कमला विश्वकर्मा सहित एक दर्जन प्रदर्शनकारी र ४ जना प्रहरी घाइते भएका छन् । यस्तै बाँके, रुपन्देही र पाल्पामा समेत बन्द आव्हान गरिएको छ । बाँकेमा बन्दको अवज्ञा गरेको भन्दै प्रर्दशनकारीले केही सवारीसाधनमा तोडफोड  गरेका छन् । 

पुष्पलाल चोकमा सडक डिभिजन कार्यालयको भे १ प ५६३ नम्वरको मोटरसाइकल र बिपीचोकमा निजी कार तोडफोड गरेको प्रहरीले जनाएको छ । यस्तै, रुपन्देहीमा समेत आमहड्तालले जनजीवन प्रभावित भएको छ । यस्तै, निरन्तर ११ दिन पाल्पा बन्द गरेर केही दिनलाई स्थगित गरेको संयुक्त संघर्ष समितिले पुनस् दुई दिने आमहड्ताल घोषणा गरेपछि जनजीवन कष्टकर बनेको छ । बर्दियामा पनि आज बन्द आव्हान गरिएको थियो ।

संशोधन प्रस्तावमा केही दलले बिमति राख्नुको कुनै तुक छैन्–प्रम दाहाल

पुस १, २०७३   प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावमा केही दलले बिमति राख्नुको कुनै तुक नभएको बताएका छन् ।
सम्वाद र सहमतिबाट मात्र निकास सम्भव रहेको उल्लेख गर्दै उनले कसैको मागले मात्र संशोधन प्रस्ताव फिर्ता नहुने बताए ।  तर, उनले सहमतिमा संसदीय प्रक्रियाबाट यसलाई परिमार्जन गर्न भने सकिने बताए । पोखरामा आज सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले बिगतमा दलहरुले सहमति जनाएकै बिषयलाई समेटेर सरकारले विधेयक ल्याएको उल्लेख गर्नुभयो । उनले भने, विगतमा आफैले सहमति जनाएका बिषयमा अहिले विरोध गर्नुको कुनै अर्थ नभएको बताए ।  


सरकारले दर्ता गराएको प्रस्तावले राष्ट्रिय हित र एकतामा कुनै आँच नआउने दावी गर्दै प्रधानमन्त्री दाहालले सबैको सहमतिमा राष्ट्रिय संकटको समाधान खोज्न सरकार प्रयासरत रहेको उल्लेख गरे । उनले भने, ‘सरकार सहमतिमै राष्ट्रिय संकटको समाधान चाहन्छ । म हिमाल, पहाड र तराईलाई मिलाएर राष्ट्रिय एकता हासिल गर्ने र संविधान कार्यान्वयन गर्ने प्रयत्नमा छु । यसलाई गलत अर्थमा व्याख्या गर्नु कसैको हितमा छैन ।


प्रधानमन्त्री दाहालले सरकार स्थानीय तहको निर्वाचनकै पक्षमा रहेको बताएका छन् । पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्नेबारे प्रमुख दलहरु निश्कर्षमा पुगी नसकेको जानकारी दिदै उनले पुरानो वा नयाँ संरचनामा स्थानीय निकायको निर्वाचन गर्ने भन्नेबारे केही दिनभित्रै निश्कर्षमा पुग्ने उल्लेख गरे ।  सरकार बैशाखसम्म स्थानीय तहको निर्वाचन गर्ने तयारीमा रहेको उनले बताए । 

१० प्रतिशत निशुल्क स्वास्थ्य सेवा प्रक्रिया आजबाट शुरु

पुस १, २०७३ ।    निजी स्वास्थ्य संस्थाहरुले बिपन्न, असहाय र वेवारिसे नागरिकलाई कुल शैयाको १० प्रतिशत निशुल्क स्वाथ्य सेवा दिने प्रक्रिया आजबाट शुरु गरेका छन् । सरकारले स्वास्थ्य निर्देशिकामा रहेको बिपन्न, असाहय र असक्त बर्गलाई निशुल्क सेवा दिने सम्बन्धी व्यवस्थालाई आजबाट अनिवार्य रुपमा कार्यान्वयन गराउन निर्देशन दिइसकेको छ ।
निशुल्क स्वास्थ्य सेवा लिनका लागि गाविस वा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, स्वास्थ्य मन्त्रालय र काठमाडांैको हकमा बीर अस्पतालको सिफारिस अनिवार्य चहिनेछ । त्यसरी सिफारिस लिएर आएकाहरुलाई निजी अस्पतालहरुले कुल शैयाको १० प्रतिशत निशुल्क उपलव्ध गराउनेछन् । निशुल्क उपचार सेवा अन्र्तगत बिरामीले चिकित्सकको परामर्श, ल्याव परीक्षण नर्सिङ, शैया अस्पतालमा उपलव्ध डाइग्नोष्टिक र अक्सिजनका लागी पैशा तिर्नुपर्ने छैन । 

स्वास्थ्यमन्त्री गगन थापाले १० प्रतिशत निशुल्कको व्यवस्था कार्यान्वयनमा निजी अस्पतालहरुलाई परिपत्र भइसकेकाले आजदेखी बिपन्न, असक्त र असहाय बिरामीले केही राहत पाउने बताउनुभयो । यद्यपी यो व्यवस्था कार्यान्वयनमा केही जटिलता आउन सक्ने निजी अस्पतालका संचालकहरुले बताएका छन् । 

निजी अस्पतालहरुको छाता संगठन अफिनका बरिष्ठ उपाध्यक्ष कुमार थापाले सरकारले तोकेका शिर्षकमा निशुल्क गर्दा बिरामी थप गम्भिर भई आइसियूमा जाने अवस्था आए के गर्ने भन्ने स्पष्ट भइनसकेको बताउनुभयो । स्वास्थ्य मन्त्री थापाले तत्काल सरकारले निशुल्क गर्न भनेको शिर्षकमा सेवा दिन आग्रह गर्दै मन्त्रालयले केही दिनमा थप स्पष्ट नीति तय गर्ने बताउनुभयो । 

एलेप्पोबाट बालबालिकासहित ३ हजार बढी अन्यत्र स्थानान्तरण

पुस १, २०७३  सिरियाको द्वन्द्वग्रस्त क्षेत्र एलेप्पोबाट बालबालिकासहित ३ हजार बढी घाइते  तथा गैरसैनिकलाई स्थानान्तरण गरिएको छ ।  
गत बुधबार बिद्रोहीले अघि सारेको नयाँ सम्झौता लागू भएसंगै त्यहाँबाट ४० बढी घाइते र बालबालिकासहित ३ हजार बढीलाई अन्यत्र स्थानान्तरण गरिएको अन्तर्राष्ट्रिय रेड क्रसले जनाएको हो  ।  हजारौं सिरियाली विद्रोही तथा तिनका परिवारलाई पनि इड्लिब र एलेप्पो प्रान्तकै अन्य विद्रोही नियन्त्रित क्षेत्रमा स्थानान्तरण गरिदैछ । इन्टरनेशनल कमिटि अफ रेड क्रसले बिद्रोही नियन्त्रित क्षेत्रबाट मानवीय स्थानान्तरण गर्न अझै केही दिन लाग्ने जनाएको छ । 

चार बर्षे  गृहयुद्धपछि सरकारी सेनाले एलेप्पोमा विद्रोहीले नियन्त्रणमा लिएका अधिकांश भाग पुनस् कब्जा गरेपछि कमजोर बनेका बिद्रोहीले गत बुधबार नयाँ सम्झौता गरी मानवीय सहायताका लागि तयार भएका थिए ।   सम्झौताका लागि मध्यस्थता गरेको रुसले, स्थानान्तरण प्रकृया  छिटो र प्रभावकारी बनाई घाइते तथा अन्य सबैको सुरक्षाको प्रत्याभुती गराउने र कुनै समस्यामा पर्न नदिइने संयुक्त राष्ट्र संघलाई बताएको छ ।   राष्ट्रपति बसर अल असदले भने यसलाई महत्वपूर्ण जीतका रुपमा हेरिएको बताएका छन् ।

इण्डीयासँगको पराजयसँगै नेपाल बाहिरीयो


उत्तम रिजाल, १ पुस, २०७३    श्रीलंकामा जारी अण्डर नाइन्टीन एशिया कप क्रिकेटमा नेपाल इण्डीयासँग पराजित भएको छ । इण्डीयासँगको पराजयसँगै नेपाल प्रतियोगिताबाट पनि बाहिरीएको छ ।
समुह चरणको पहिलो खेलमा आयोजक श्रीलंकासँग एक रनले पराजित भएपछि बाँकी दुबै खेल जित्नु पर्ने दबाबमा रहेको नेपाल आज इण्डीयासँग ६ विकेटले पराजित भएको हो । कोलम्बोमा टस जितेर ब्याटिङ्ग गरेको नेपालले प्रस्तुत गरेको एक सय ७३ रनको लक्ष्य इण्डीयाले खेल सकिन ९९ बल अगाबै पुरा गरेको थियो । ओपनर  पृथ्वी सावलाई ५ रनमै नेपालका कप्तान तथा स्पिनर संदिप लामिछानेले पेवेलियनको बाटो देखाउँदै विकेट लिएर जित निकाल्न सक्ने संकेत देखाएपछि त्यसपछि सहत विकेट लिन नसक्दा पराजय भोगेको थियो ।
दोस्रो विकेटका लागी नेपालले १९ औं ओभर सम्म पर्खिनु परेको थियो । अर्का ओपनर हिमांसु राना दोस्रो विकेट स्वरुप १९ औं ओभरको अन्तिम बलमा विकेट किपर प्रकाश केसीद्धारा समातिएका थिए । उनी पवन सराफको बलमा केसीद्धारा समातिदा ६१ बलमा ५ चौका सहित ५१ रनमा थिए । टिमका लागि अर्का आक्रामक ब्याट्समेन सुबमन गिलले ५७ रनको योगदान दिएका थिए । बलिङ्गतर्फ पवन सराफले तीन तथा सन्दिप लामिछानेले एक विकेट लिए ।
यसअघि नेपालले रोहित कुमार पौडेलको अविजित ६८,दिपेन्द्रसिंह ऐरीको ३४,आसिफ सेखको १८,प्रकाश केसीको १३ तथा कप्तान सन्दिप लामिछानेको ७ रनको मद्दतमा निर्धारीत ५० ओभरमा ९ विकेट गुमाइ एक सय ७२ रन जोडेको थियो । नेपालले अब समुह चरणको अन्तिम खेलमा मलेशियाको सामना गर्नेछ । 

Thursday, December 15, 2016

‘कक्षा ११ को परीक्षाफल प्रकाशित, ५१.७ प्रतिशत विद्यार्थी उत्तिर्ण

३० मंसिर, २०७३,काठमाडौं   राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को यसवर्षको परीक्षाफल प्रकाशित गरेको छ ।
पौष मसान्तमा भएको परीक्षामा ५१ दशमलव ७ प्रतिशत अर्थात् १ लाख ३७ हजार ६ सय ५ विद्यार्थी उत्तिर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो । जम्मा २ लाख ६६ हजार १ सय ३ विद्यार्थी सहभागी भएको परीक्षामा १ लाख २८ हजार ४ सय ९८ विद्यार्थी अनुत्तिर्ण भएका छन् । एउटा विषयमा मात्र अनुर्तिण भएका विद्यार्थीले माघ ८ गते मौका परिक्षा दिन पाउने  छन् । 

८ वर्षिय बालकको अपहरण पछि हत्या, आरोपीत ३ पक्राउ

 ३० मंसिर , २०७३  सप्तरीमा ८ वर्षिय बालकको अपहरणपछि हत्या भएको छ । गत मंसिर ११ गते अपहरणमा परेका हरिपुर ३ का ८ बर्षीय दुर्गानन्द साहको हत्या भएको प्रहरीले जनाएको छ ।
हत्या भएको २० दिनपछि प्रहरीले बालकको शब शौचालयको सेफ्टी टयाङकीवाट बरामद गरेको छ भने अपहरण र हत्यामा संलग्न भएको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको छ । हरिपुर ३ का चुडामणी ठाकुर, हरिपुर १ का सामबाबु गुप्ता र देउरी गाबिस २ का कपिलदेब दासलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सप्तरी प्रहरीले आज अपरान्ह पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको छ ।

प्रहरी उपरिक्षक दिवेश लोहनीका अनुसार साहका छिमेकी ठाकुरले गत मंसिर ११ गते साँझ ६ वजे खरायो देखाईदिने भन्दै बालकलाई अपहरण गरि आफनो घर लगेको अनुसन्धानले देखाएको छ । ठाकुरले गुप्ता र दासको सहयोगमा दुर्गानन्दलाई सोही दिन राती मुख थुनेर हत्या गरि छिमेकी पन्नेलाल साहको शौचालयको सेफटी टयाङ्कीमा लुकाएका थिए । अपहरण र हत्या गरेको ६ दिन पछि ठाकुरले वालक दुर्गानन्दकी आमा ममतादेबीलाई मोवाईलमा म्यासेज पठाई पाँच लाख रुपैयाँ फिरौती मागेको पाइएको प्रहरीले जनाएको छ । 

मंसिर ११ गते वालक हराएपछि अनुसन्धानमा जुटेको प्रहरीले कल डिटेल र आधुनिक प्रबिधी प्रयोग गरी आरोपीतलाई पक्राउ गरेको हो । शव पोष्टमार्टमका लागि विपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको डिएसपी दानवहादुर कार्कीले जानकारी दिनुभयो ।

एसीसी अण्डर १९ क्रिकेटमा नेपाल श्रीलंकासंग १ रनले पराजित

३० मंसिर , २०७३ ।    एसीसी अण्डर १९ एसिया कप क्रिकेटमा नेपाल श्रीलंकासंग १ रनले पराजित भएको छ । जितको नजिक पुगेको नेपाल अन्तिम समयमा सम्हालिन नसक्दा पहिलो खेलमै पराजित भएको हो ।
२ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल बाँकी छँदै २ सय २६ रनमा अलआउट हुन पुग्यो । दिपेन्द्र सिंह ऐरीले ९० रन बनाएपछि जितको नजिक पुगेको नेपालले ३० रन जोड्न पछिल्ला ५ विकेट गुमायो । ३२ रनमा ३ विकेट गुमाएर दबाबमा आएको नेपालको इनिङ्स दिपेन्द्रले सम्हाले । ९९ बल खेल्दै उनले ९ चौका र १ छक्का प्रहार गरे । 

नेपालका अविनाश कर्णले ४०, अदिल खानले ३९ र प्रकाश केसीले १४ रन बनाए ।  ओपनरद्धय सन्दिप सुनार २ तथा आशिफ शेख १ रनमा पवोलियन फर्किएको खेलमा भिम सार्की ८, कमल सिंह ९, सन्दिप लामिछाने १ र पवन सर्राफ शुन्य रनमा आउट भए । श्रीलंकाका कामिन्डु मन्डिसले सर्वाधिक ३ विकेट लिए । आईसीसीको प्रतिबन्धपछि घरेलु क्रिकेट शुन्य रहेको अवस्थामा देशका विभिन्न सहरबाट प्रतिभावान खेलाडी छान्दै नेपालले राष्ट्रिय टोली गठन बनाएको थियो ।

मात्र १५ दिनको बन्द प्रशिक्षणबाट नेपाली टोली प्रतियोगिता खेल्न श्रीलंका गएको थियो ।  यसअघि कोलम्बोमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको घरेलु टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रन जोड्यो । श्रीलंकाका हसिथा बोयागोदाले १२ चौकाको मदतले सर्वाधिक ८३ रन बनाए । 

नेपालका कमल सिहले ३, पवन सर्राफले २ तथा दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।  हारपछि नेपालको अघिल्लो चरणको सम्भावना कठिन बनेको छ । नेपाल रहेको समुह ए अन्र्तगत आजै भएको अर्को खेलमा डिफेन्डिङ च्याम्पियन इन्डियाले मलेसियालाई २ सय ३५ रनले हराएको छ ।

समुह चरणबाट समान एक जित निकाल्दै शिर्ष स्थानको इन्डिया र दोस्रो स्थानको श्रीलंकाले समान ३ अंक जोडेका छन । नेपालले समुह चरणको दोस्रो खेलमा भोली डिफेन्डिङ च्याम्पियन इन्डियासंग प्रतिस्पर्धा गर्नेछ । 

‘रुसका राष्ट्रपति पुटिन लगातार चौथो वर्ष विश्वकै शक्तिशाली व्यक्ति


३० मंसिर , २०७३     रुसका राष्ट्रपति भ्लादिमिर पुटिन लगातार चौथो वर्ष विश्वको शक्तिशाली व्यक्तिको सूचीमा शीर्ष स्थानमा पर्नुभएको छ ।
अमेरिकी म्यागजिन फोर्बस्ले सार्वजनिक गरेको सन् २०१६ का शक्तिशाली व्यक्तिको सूचीमा अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै रुसी राष्ट्रपति पुटिन शक्तिशाली ब्यक्तिको सूचीमा शीर्ष स्थान रहनु भएको हो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोब्र्सले नवौं स्थानमा राखेको छ । सो सूचीमा विश्वका शक्तिशाली ७४ व्यक्ति अटाएका छन् । सार्वजनिक सूचीअनुसार तेस्रो स्थानमा जर्मन चान्सलर एन्गेला मर्केल, चौथो स्थानमा चीनका राष्ट्रपति सि जिनपिङ, पाँचौं स्थानमा पोप फ्रान्सिस, अमेरिकाकी जानेट यलिन छैटौं, विल गेट्स सातौं, लरी पेज आठौं तथा फेसबुकका संस्थापक मार्क जुकरबर्ग दशौं स्थानमा  परेका छन् ।

‘नारायणगढ-मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने

३० मंसिर , २०७३   निर्माणधिन नारायणगढ–मुग्लिन सडकखण्ड आउँदो पुष ७ गतेबाट दैनिक ४ घण्टा बन्द हुने भएको छ ।
निर्माणमा कठिनाई भएको भन्दै निश्चित समय बन्द गर्न लागेको नारायणगढ-मुग्लिन सडक आयोजनाले जनाएको छ । अर्को सुचना जारी नभए सम्म विहान ११ देखि अपरान्ह ३ बजे सम्म सडक बन्द हुने आयोजनाले जारी गरेको सूचनामा उल्लेख छ । 

सडक बन्द हुने भएपछि आयोजनाले सवारी चालकलाई बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।   आयोजनाका इन्जिनियर शिव खनालका अनुसार अहिले सम्म ३२ प्रतिशत मात्र निर्माणको काम भएको छ । सन् २०१७ अगस्टमा सक्नु पर्ने लक्ष्य भएपनि आधा काम पनि हुन सकेको छैन । 

‘बरु प्रस्ताव फेल होस, फिर्ता हुँदैन - देउवा



३० मंसिर , २०७३ ।  नेपाली  कंग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव अस्विकृत हुने अवस्था आएपनि फिर्ता नहुने दोहोर्‍याउनुभएको छ ।
प्रमुख तीन दलबीच प्रस्तावलाई निष्क्रिय बनाएर स्थानीय निकाय निर्वाचनमा जाने सैद्धान्तिक सहमति भएको समाचार बाहिर आइरहेका बेला सभापति देउवाको सो भनाई आएको हो । चितवन कांग्रेसको २ महिने जागरण अभियानको आज भरतपुरमा उदघाटन गर्दै उहांले भन्नु भयो, ‘बरु प्रस्ताव फेल होस, फिर्ता हुंदैन ।  पुर्वप्रधानमन्त्री देउवाले संसद अवरुद्ध गरेर विपक्षी एमालेले संसदीय अभ्यासलाई असहयोग गरेको आरोप लगाउनु भयो । उहांले भन्नुभयो, ‘एमालेले कति दिनसम्म संसद चल्न दिदैन हेरौं ।

संसोधन प्रस्ताव पास गर्न एमालेले सघाउनु पर्छ, असहयोग गरे उसैलाई घाटा पुग्छ ।’  संसोधन प्रस्तावमा अवरोध पुर्‍याएर एमालेले मधेशी–पहाडी झगडा गराउन खोजेको आरोप देउवाको छ । नागरिक बीच दुरी बढाउनु राष्ट्र बिरोधी कदम भएको भन्दै उहाँले आगामी स्थानीय, प्रान्त र संघीय निर्वाचनमा कांग्रेस एक नम्बरको नभई बहुमतको पार्टी हुनु पर्नेमा जोड दिनु भयो ।

पुर्वाञ्चलबाट बुद्धिचालका खेलाडी छनौट,झापा टिम च्याम्पियन


उत्तम रिजाल, 
२९ मंसिर, फिदिम / सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पुर्वाञ्चलबाट बुद्धिचालका खेलाडी छनोट भएका छन् ।
पाँचथरको फिदिममा सम्पन्न छनोट प्रतियोगिताबाट पुरुषतर्फ सात र महिलातर्फ पाँच गरी बाह्र खेलाडी छनोट भएका छन् । छनोट प्रतियोगितामा झापाले दब्दबा कायम गरेको छ ।
झापाका सहभागी पाँचै खेलाडी छनोट भएका छन् । झापाले सबै खेलाडी छनोट भएसँगै टिम च्पयाम्पियनको पनि उपाधी जितेको छ ।  
प्रतियोगितामा पुरुष र महिला दुबै इभेन्टमा झापाका खेलाडी प्रथम भए । पुरुषतर्फ झापाका प्रकाश नेपाल अपराजित रहदै सात राउण्डको खेलमा ६ अंकका साथ प्रथम भए ।

उनले सातौ तथा अन्तिम राउण्डमा पाँचथरका हेम बहादुर जबेगुलाई चित ख्वाएका थिए । उनीसँगै सुनसरीका प्रज्वल घिमिरे, धनकुटाका सुमन श्रेष्ठ, भोजपुरका सुमन राई, सप्तरीका सिंहेश्वर दास,झापाका राजन सुबेदी र उदयपुरका पर्शुराम राई क्रमश दोस्रो देखी सातौ हुदै धनकुटामा हुने राष्ट्रिय प्रतियोगिताको लागी छनोट भएका छन् ।  
उता महिलातर्फ झापाकी कृपा अधिकारीले प्रथम स्थान हासिल गर्दा झापाकै पुनम प्रसाई दोस्रो भइन् । त्यस्तै ताप्लेजुङ्गकी शुशिला गुरुङ्ग तेस्रो हुदा झापाकै खुस्बु थापा चौथो र मोरङ्गकी आस्मा थापा पाँचौ हुदै राष्ट्रिय प्रतियोगिताका लागी छनोट भएका छन् । प्रतियोगिता आगामी पुस आठ गतेबाट शुरुहुदैछ ।  


Saturday, December 10, 2016

राष्ट्रिय प्रतियोगिताका लागि बुद्धिचालका खेलाडी छनौट शुरु



उत्तम रिजाल, 
२६ मंसिर, फिदिम/  सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बुद्धिचालका खेलाडी छनोट शुरु भएको छ । पाँचथरको फिदिममा शुरु भएको छनोट प्रतियोगितामा पहिलो राउण्डमा २० खेलाडी विजयी भएका छन् ।
जसमा महिला तर्पm सात खेलाडी विजयी भएका छन् । महिलातर्फ झापा र मोरङ्गका खेलाडीले सत प्रतिशत नतिजा निकालेका छन् । महिलातर्फकी टप रेटेड मोरङ्गकी खुसी मुखिया सँगै आस्मा थापा र ममता सहनीले जित हात पारे । झापाकी पुनम प्रसाई,खुस्बु थापा र कृपा अधिकारी विजयी हुदा ताप्लेजुङ्गकी शुशिला गुरुङ्गले पनि जित दर्ता गरिन् । 

उता पुरुष तर्फ भने पहिलो बोर्डमा अप्रत्यासित नतिजा निकाली उदयपुरका अन रेटेड महेशकुमार बस्नेतले शनशनी मच्चाए । उनले पुरुषतर्फका टप रेटेड  १९४७ रेटेड सप्तरीका सिंहेश्वर दासलाई चित ख्वाएका हुन् । अन्यखेलमा झापाका प्रकाश नेपाल र राजन सुवेदी, मोरङ्गका राजकुमार वान्तवा, इलामका सुरेन्द्र कुमार राई र याम प्रसाद लिम्बु,पाँचथरका रमेश केरुङ्ग र एलिन राई , धनकुटाका सुमन श्रेष्ठ,शुनसरीका राजनकुमार पोख्रेल र प्रज्वल घिमिरे र उदयपुरका पर्शुराम राई विजयी भएका छन् । आज थप दुई राउण्ड खेल हुने चिफ आरविटर विजय कुमार थापाले जानकारी दिनु भयो । छनोटमा पुर्वाञ्चलका १६ जिल्लाका ४४ खेलाडीको सहभागिता रहेको छ ।

Thursday, December 8, 2016

पुरानै संरचनामा भएपनि निर्वाचन हुन्छ - दाहाल

काठमाडौं, २३ मंसिर , २०७३    प्रधानमन्त्री पुष्पकमल दाहालले संबिधान संशोधन नभए पुरानै संरचनामा स्थानीय निर्वाचन हुने भन्दै त्यसको तयारीमा जुट्न कार्यकर्तालाइ निर्देशन दिनुभएको छ ।
माओवादी केन्द्रको सात नम्वर प्रदेशका अगुवा कार्यकर्ताको भेलालाई धनगढीमा आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पुरानै संरचनामा भएपनि निर्वाचन हुने बताउनुभएको हो । प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘सवै कुरा छोडेर स्थानीय निर्वाचनको तयारीमा लाग्नुस्, सकभर नयाँ संरचना अनुसार हुन्छ त्यो सम्भव नभए पुरानै संरचना अनुसार पनि निर्वाचन हुन्छ ।’ गणतन्त्र संस्थागत गर्न र संबिधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको भन्दै उहाँले सरकार जुनसुकै हालतमा पनि निर्वाचन गराउन कटीवद्ध रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले संबिधान संशोधन प्रस्ताव फिर्ता नहुने समेत दोहोर्‍याउनुभएको छ । 

यसैबीच, प्रधानमन्त्रीको भ्रमण विरोध गर्ने आफ्ना कार्यकर्तामाथि दमन गरेको भन्दै एमालेले आज कैलाली बन्दको आव्हान गरेको थियो । हिजो प्रहरीले प्रधानमन्त्रीको कार्यक्रममा अवरोध गर्न खोजेको भन्दै एमालेका ३९ जना कार्यकर्तालाई नियन्त्रणमा लिएर छाडेको थियो । संविधान संशोधन प्रस्तावमार्फत पाँच नम्बर प्रदेश अलग्याउन खोजिएको भन्दै एमाले लगायतका राजनीतिक दलका स्थानीय नेताले जिल्लामा बिरोध प्रदर्शन गर्दै आएका छन् ।

शान्ति स्थापनाका लागि सहयोग गर्न एमालेलाई देउवाको आग्रह

काठमाडौं, मंसिर २३, २०७३   कंग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचन भएमात्रै संविधान कार्यान्वयन हुने बताउनु भएको छ । 
कंग्रेस नेता गुरुराज घिमिरेद्धारा लिखित प्रतिज्ञाको पहाड कविता संग्रह ललितपुरको पुल्चोकस्थित साझा प्रकाशनमा आज लोकार्पण गर्दै सभापति देउवाले स्थानीय निकायको निर्वाचन गराउन आफुहरु लागि परेको बताउनुभयो । पूर्व प्रधानमन्त्री देउवाले स्थायी शान्तिका लागि सहयोग गर्न प्रतिपक्षी एमालेलाई आग्रह गर्नुभयो । हिमाल, पहाड र तराईका जनता बिच सुमधुर सम्बन्ध बनाउन सबै राजनीतिक दल एकजुट हुनेपर्ने उहाँको भनाइ थियो । 

फरक प्रसङ्गमा देउवाले साझा प्रकाशनलाई लिलामीबाट बचाउन आफुले सक्दो प्रयास गर्ने आश्वासन दिनुभयो । कार्यक्रममा साझा प्रकाशनका अध्यक्ष एवम् महाप्रबन्धक डोलेन्द्र प्रसाद शर्माले संस्थालाइ धरासायी हुनबाट बचाउन राजनीतिक दललाइ आग्रह गर्नु भयो । शर्माले बैंकबाट दिनहुँजसो लिलामीको सूचना निकाल्ने भन्दै आफुलाइ फोन आउने गरेको गुनासो गर्दै २० करोड रुपैयाँ दिने  प्रधानमन्त्रीको आश्वासन छिटो कार्यान्वयन गर्न आग्रह समेत गर्नुभएको थियो । 

नयाँ शक्तिका संयोजक भट्टराईमाथि जुत्ता प्रहार

पोखरा, २३ मंसिर , २०७३   नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईमाथि पोखरामा दुब्र्यवहार भएको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीले पृथ्वीनारायण क्याम्पसमा स्नातकोत्तर दोस्रो बर्षमा अध्ययनरत संजिव भट्टराईलाई नियन्त्रणमा लिएको छ ।
पार्टी निकट विद्यार्थी संगठनले क्याम्पसहाता भित्र आज बिहान आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि बनेका पूर्वप्रधानमन्त्री भट्टराईलाई लक्षित गरी संजिवले जुत्ता प्रहार गरेको प्रहरीले जनाएको छ । कालो झण्डा देखाउदै बाबुरामबिरुद्ध नारावाजी गरेका उनलाई इलाका प्रहरी कार्यालय बगरले तत्काल नियन्त्रणमा लिई हिरासतमा राखेको प्रहरी निरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो ।  घटनापछि केहीबेर बिथोलिएको स्वागत कार्यक्रम पुन सञ्चालन भएको थियो । 

संसद बैठक तत्काल सञ्चलन नहुने संकेत

२३ मंसिर , २०७३ एक सातायता अवरुद्ध रहेको संसद बैठक तत्कालन नखुल्ने संकेत देखिएको छ । सरकारले प्रदेशको सीमांकन हेरफेर सहित संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी एमाले सहित चार दलले संसद बैठक अवरुद गर्दै आएका छन ।

संशोधन प्रस्ताव फिर्ता हुनु पर्ने प्रतिपक्षी एमालेको अडान र सदनमा छलफल गर्न पाउनुपर्ने सत्तासाझेदार दलको मागका बीच गतिरोध लम्बिदै गएको छ । अहिलेसम्म चारपटकसम्म संसद बैठक अवरुद्ध भइसकेको छ । सहमतिको प्रयासमा सभामुख ओनसरी घर्तिले आज दिनभर प्रयास गरेपनि उपलव्धि हुने संकेत भने देखिएको छैन । 

अवरुद्ध संसद बैठक संचालन गर्ने प्रयासका क्रममा सभामुख ओनसरी घर्तिले कंग्रेस  सभापति शेरबहादुर देउवा सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर दुई नेतालाइ उहाँले सहमती कायम गरी संसद बैठक खोल्न आग्रह गर्नुभएको थियो । भेटमा कंग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली आ–आफ्नै अडान दोहोऱ्याएपछि निरास हुँदै वाहिर निस्किएकी सभामुख घर्तिले भन्नुभयो ।   

मधेशी मार्चाको माग सम्बोधन गर्न भन्दै सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावले सरकार र प्रतिपक्षीबीच चिसिएको सम्बन्धको असर संसदमा परेको छ । संशोधन प्रस्ताव राष्ट्रघाती र छलफल योग्य नभएको भन्दै एमालेले फिर्ता नभएसम्म अवरोध कायमै राख्ने बताएको छ । सभामुखसँगको छलफलपछि बाहिरिदै एमाले अध्यक्ष शेर्पा ओलीले सोही अडान दोहर्‍याउनुभयो । एमालेकै अग्रसरतामा आएको अख्तियार प्रमुख बिरुद्धको महाअभियोगका प्रस्ताव संसद बैठक अवरुद्ध भएपछि अघि बढन सकेको छैन । यस्तै निर्वाचनसंग सम्बन्धित कैँयांै कानुन बनाउनुपर्ने बिषय पनि ओझेलमा परेका छन । सत्ता साझेदार दल कंग्रेसले  संसदमा पास फेल जे भएपनि संशोधन प्रस्तावमा छलफल गर्न पाउनुपर्ने धारणा राखेको छ । सभापति देउवा भने अब संसद गतिरोध धेरै दिन नलम्बिने विश्वासमा हुनुहुन्छ ।

संशोधन प्रस्तावको बिरुद्धमा प्रतिपक्षी दल सदन र सडक आन्दोलमा लागेका छन भने सत्तासाझेदार दल संविधान कार्यान्वयनको एकमात्र विकल्पका रुपमा यसलाइ पेश गरिरहेका छन । संशोधन प्रस्तावपछि ध्रुबिकृत बनेका मुख्य दलहरुले सहमतीका लागि सार्थक संवाद सुरु नगर्दा राजनीतिक गतिरोध लम्बिनुका साथै तोकिएको समयमा तीनवटै तहको निर्वाचन नहुने आशंका पनि बढेको छ ।

सिरियामा बिद्रोही कमजोर बन्दै र मानविय सहायताको लागि ५ दिने युद्धबिराम

२३ मंसिर, २०७३ ।   सिरियाको एलेप्पोमा मानवीय सहायतका लागि भन्दै बिद्रोहीले पाँचदिने युद्धविराम माग गरेका छन् । चार वर्षदेखि विद्रोही नियन्त्रणमा रहेको  पूर्वी अलेप्पोको ७५ प्रतिशत क्षेत्र सरकारी सेनाले आफ्नो नियन्त्रणमा लिएपछि बिद्रोहीहरु पछि हटेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 
त्यहाँस्थित बिद्रोहीेले एलेप्पोमा फसेका लाखौं सर्वसाधारणलाई सुरक्षित ठाउँमा जान दिन सिरियाली सरकारसंग सो आग्रह गरेका हुन् । विद्रोहीले एलेप्पोमा ठूलो संख्यामा सर्वसाधारणहरु खतरामा रहेकोले उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा समस्या समाधानका लागि  समर्थन गर्न पनि तयार रहेको बताएका छन् । उनीहरुले राष्ट्रसंघको निगरानीमा पाँचदिने मानवीय युद्धविराम गरी घाइतेलाई आपतकालीन उपचार गरिनुपर्ने, सर्वसाधारणलाई उद्दार गर्नुपर्ने माग गरेका छन् । 

यद्यपी सिरियाका  राष्ट्रपति बसर अल असदले एलेप्पोमा युद्धविरामको प्रस्ताव अस्वीकार गर्नुभएको छ । असदले एलेप्पोमाथिको जीत सिरियामा जारी ५ बर्षे गृहयुद्ध अन्त्यको लागि ठूलो कदम हुनसक्ने प्रतिक्रिया दिनुभएको छ । एलेप्पोमा सरकारी नियन्त्रण बलियो बन्दै गर्दा बिद्रोही भने केही कमजोर बनेको बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स जनाएको छ । 

क्रिकेटर सन्दिप एपीएफमा

काठमाडौं, २३ मंसिर , २०७३ /  राष्ट्रिय क्रिकेट टिमका युवा क्रिकेटर सन्दिप लामिछाने विभागीय टिम एपीएफमा आबद्ध भएका छन् । अन्डर १९ राष्ट्रिय टिमका कप्तान समेत रहेका सन्दिपले एक बर्षका लागि एपीएफसँग सम्झौता गरेका छन ।
अनुबन्धनबारे औपचारिक जानकारी गराएपनि पारिश्रमिकको विषय गोप्य राखिएको सन्दिपले बताए ।   सातौं राष्ट्रिय खेलकुदको तयारीमा रहेको एपीएफ क्लबले स्पिनर शन्दिपलाई टोलीमा अनुबन्ध गरेको हो । राष्ट्रिय क्रिकेट टिमका स्टार खेलाडीले भरिएको एपीएफमा आबद्ध हुन पाउनु आफ्नो लागि खुसीको कुरा रहेको बताउँदै उनले सिनियर खेलाडीसँगको सल्लाहमा क्लबमा आबद्ध भएको बताए । 

मंसिर २७ गते देखी श्रीलंकामा शुरु हुने अन्डर १९ एसिया कपको तयारीमा रहेका सन्दिपले उमेर समुहको प्रतियोगितामा प्रभावशाली प्रर्दशन गर्दै राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...