९ कार्तिक, २०७३ । स्वास्थ्य मन्त्रालयले मुलुकका बिभिन्न १३ जिल्लामा डेंगु प्रभावितको संख्या बढ्दै गएकाले सतर्क हुन आग्रह गरेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। भीम आचार्यले डेंगु प्रभावितको संख्या पछिल्लो समय ह्वात्तै बढेको उल्लेख गर्दै सतर्क तर त्रसित नहुन आग्रह गर्नुभएको हो । अस्ति आइतवार झापामा ३४ जना डेंगुका बिरामी देखिएकोमा हिजो एकै दिन सो संख्या एक सय पुगेको थियो ।
ज्वरो आउने र शरीर शिथिल भएमा तत्काल अस्पताल जान आाग्रह गर्दै रोग नियन्त्रण महाशाखाले डेंगु लामखुट्टेको टोकाइबाट सर्ने भएकाले घर वरिपरि लामखुट्टे नआउने वातावरण बनाउन आग्रह गरेको छ । झापा, चितवनलगायत केही जिल्लामा डेंगुको संक्रमण पुष्टि हुनासाथ डेंगुविरुद्धको विशेष अभियान चलाइएको छ ।
महाशाखाका अनुसार चितवनमा ३ सय ६७, झापामा एक सय, पर्सामा तीन, काठमाडौं, रुपन्देही र कैलालीमा दुईरदुई जनामा संक्रमण देखिएको छ । यस्तै ललितपुर, धादिङ, काभ्रे, कास्की, स्याङ्जा, बागलुङ, बारा र सप्तरीमा पनि बिरामी भेटिएको महाशाखाले जनाएको छ ।
डेंगु नियन्त्रण र प्रभावितलाई उपचारका लागि सबै ठाउँमा आवश्यक कीट, औषधिलगायत उपचार सामग्रीसहित चिकित्सकको टोली खटाइएको डा आचार्यले जानकारी दिनुभयो ।
No comments:
Post a Comment