८ कार्तिक, २०७३ । व्यवस्थापिका संसदको विकास समितिले बहुप्रतिक्षित मेलम्ची आयोजनाको काम अर्को वर्षको असोजसम्म सकेर पानी वितरण गर्न सम्वन्धित निकायलाई निर्देशन दिएको छ ।
सिंहदरबारस्थित समितिको कार्यालयमा आज बसेको बैठकले यसअघि पनि आयोजना सम्पन्न गर्ने मिति दुई पटक तय भईसकेको भन्दै अब समय थप गर्नेभन्दा पनि चाँडो काम सक्न खानेपानी तथा सरसफाई मन्त्रालय र मेलम्ची खानेपानी आयोजनालाई निर्देशन दिएको हो ।
सुरुङ निर्माणको क्रममा देखिएको कमजोर चट्टान बग्ने समस्यालाई गम्भिरतापूर्वक समाधान गर्न पनि समितिले निर्देशन दिएको छ । बैठकले स्थानीय प्रभावितको भौतिक तथा आर्थिक लाभ सम्बन्धी निर्देशिका तयार गर्न र आयोजना स्थलसम्म पुग्ने सडकको तत्काल स्तरोन्नति गर्न पनि निर्देशन दिएको समिति सभापति रविन्द्र अधिकारीले जानकारी दिनुभयो ।
आयोजनाले पाइप विच्छ्याउने कार्यले सडक सञ्चालनमा कठिनाई देखिएको भन्दै समितिले रातीको समयमा समेत काम गरी पानी वितरणको पूर्वाधारलाई छिटो सम्पन्न गर्न पनि निर्देशन दिएको छ । बैठकमा मेलम्ची खानेपानी आयोजनाका प्रमुख घनश्याम भट्टराईले आयोजनाको ६२ प्रतिशत काम सकिएको जानकारी दिनुभयो ।
No comments:
Post a Comment