१ कार्तिक , २०७३ भारतको गोवामा सम्पन्न ब्रिक्स सम्मेलनमा सहभागी भई प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कनु भएको छ ।
प्रधानमन्त्री दाहाल नेपाल एयरलाईन्सबाट अपरान्ह साढे ३ बजे काठमाडौं आईपुग्नु भएको हो । स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण फलदायी भएको बताउनुभयो । उहाँले चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतीय समकक्षी नरेन्द्र मोदीसँग एकसाथ भएको भेट संयोग मात्र भएको भन्दै त्यसबाट आफु निकै खुसी भएको प्रतिक्रिया दिनुभयो ।
यो भेटले नेपाल र नेपालीको शिर उच्च भएपनि विभिन्न टिका टिप्पणीले आफुलाई दुखित बनाएको उहाँको भनाइ थियो । आफू र चिनियाँ राष्ट्रपति सी बीच नेपाल भ्रमण, विगतमा भएको सहमति कार्यान्वयन लगायतका विषयमा कुराकानी भएको दाहालले जानकारी दिनुभयो । त्रिपक्षीय वार्ताका क्रममा आफुले त्रिदेशीय साझेदारी र त्यसबाट नेपालले लाभ लिन चाहेको कुरा उल्लेख गरेको प्रधानमन्त्री दाहालको भनाई थियो ।
संविधान कार्यान्वयन र शान्ति प्रक्रियाबारे कुरा राख्दा भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीले पूर्ण समर्थन हुने बताएको उहाँले दाबी गर्नुभयो । ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल नेतृत्वको १८ सदस्यीय प्रतिनीधिमण्डल शनिबार भारत गएको थियो ।
No comments:
Post a Comment