१३ मंसिर, २०७३, काठमाडौं । माग सम्बोधनका लागि सरकार गम्भिर नदेखिएको भन्दै संघीय गठबन्धनले आन्दोलनमा जाने निश्कर्ष निकालेको छ ।
काठमाण्डौमा आज बसेको गठबन्धन आबद्ध दलको बैठकले सरकार गठनका बेला भएको ३ बुँदे सहमति पालना नभएकाले आन्दोलनमा उत्रनुको विकल्प नभएको निश्कर्ष निकालेको हो । संविधान संशोधनको नाममा सरकारले अनावश्यक चर्चा र अफवाह फैलाएर आफुलाई अल्मलाउन खोजेको निष्कर्श निकालेको बैठकले सडक आन्दोलनबाटै आफ्ना माग पुरा गराउने बताएको छ ।
बैठकको शुरुमै गठबन्धनका संयोजक उपेन्द्र यादवले तीन बुँदे सहमति कार्यान्वयनका लागि दिएको १५ दिनको अल्टिमेटम सकिंदा समेत सरकार गम्भिर नदेखिएको भन्दै मोर्चा आबद्ध दलको धारणा माग्नुभएको थियो । गठबन्धनमा आबद्ध दलका नेताले सरकार समस्या समाधान गर्न गम्भिर नभएकाले परिस्थितीको ठोस बिश्लेषण गरेर आन्दोलनमा उत्रनुको बिकल्प नभएको बताएका थिए । सरकारले संविधान संशोधन प्रस्ताव ल्याउनु अघि आफुसँग कुनै वार्ता नगरेकाले प्रस्तावको स्वामित्व ग्रहण गर्न नसकिनेमा उनीहरुको जोड थियो ।
तमलोपा अध्यक्ष महन्थ ठाकुर र सद्भावनाका अध्यक्ष राजेन्द्र महतो अनुपस्थित भएपछि गठबन्धनको आजको बैठकले आन्दोलनका ठोस कार्यक्रम भने सार्वजनिक गर्न सकेन । शीर्ष नेताको उपस्थितिमा केही दिन भित्र गठबन्धनको बैठक बसेर आन्दोलनका कार्यक्रम तय गरिने फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताउनुभयो ।
No comments:
Post a Comment