Thursday, August 27, 2015

संविधान मस्यौदा सुधार्न सामूहिक प्रस्ताव



  ११ भदौ, काठमाडौं/   नयाँ संविधानको अन्तिम मस्यौदा संशोधनका लागि प्रमुख दलले सामूहिक प्रस्ताव लैजाने तयारी गरेका छन्। संघीयतामा प्रदेश संख्या र सीमा, धर्म, थ्रेसोल्डलगायत विवादित
विषयमा आवश्यक संशोधनका लागि सामूहिक प्रस्ताव लैजाने तयारी भएको हो।
कस्तो संशोधन भन्नेमा भने अहिलेसम्म सहमति जुटिसकेको छैन।

प्रदेशको सीमा र संख्या, धर्म, थ्रेसोल्डलगायत विषयमा दलहरुबीच मतभिन्नता कायमै छ।

प्रदेशको सीमा र संख्यामा असहमत हुँदै आन्दोलनमा रहेका शक्तिहरुसँग सहमति भए त्यही आधारमा सामूहिक प्रस्ताव लैजाने तयारी भएको नेताहरुको भनाइ छ।

यस विषयमा छलफल गर्न प्रमुख चार दलका शीर्ष नेता बैठक बिहीबार पनि पटकपटक बसेको थियो।

संविधानसभा भवन, नयाँबानेश्वरमा भएको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत पक्षसँग वार्ताका लागि पत्र पठाइएको भन्दै त्यसको बेहोरा पढेर सुनाएका थिए।

मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेसी, आदिवासी, थारुका जायज माग सुनिदिन आग्रह गरेका थिए। उनले जायज माग पहिचान गरी सामूहिक प्रस्ताव पारित गर्नुपर्ने पनि औंल्याए।

संविधानसभा बिहीबार बैठकमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि संविधानको विधेयकमा सामूहिक संशोधन प्रस्ताव लगेर सबैको भावना सम्बोधन गर्नुपर्ने बताए।

'मधेस, आदिवासी, थारु, कर्णालीका जनताले अघि सारेका माग संविधान संशोधन गरेर पनि पूरा गर्न सकिन्छ,' पौडेलले भने, 'संविधानको विधेयक संशोधनको प्रस्ताव हामीले सामूहिक रुपमा लैजान सक्छौं।'

उनले सीमांकन अन्तिम नभएकाले व्यावहारिक आधारमा पनि सम्बोधन गर्ने समय बाँकी रहेको बताए। 'अहिले सबैभन्दा बढी चित्त नबुझेको सीमांकनमा हो,' पौडेलले भने, 'यो सीमांकन अन्तिम होइन, व्यावहारिकता हेरेर धेरै फेरबदल गर्न सकिन्छ।'

उनले सीमांकनमा नेपालको सन्दर्भमा अव्यावहारिक विषय घुसाएपछि समस्या आएको पनि बताए।

'सीमांकनका मामलामा केही धारणा र मान्यता अघि सारियो,' उनले भने, 'नेपालका सन्दर्भमा अव्यावहारिक कुरा घुसाउन खोजियो। त्यसको तालमेल नमिल्दा समस्या भयो।'

उनले सदनमा लामो छलफल गरेर समिति, उपसमिति हुँदै संविधानसभामा विषयहरु आएको उल्लेख गर्दै 'कुनै कालो कोठी भएका व्यक्तिको दिमागबाट आएका विषयहरु' नभएको स्पष्ट पारे।

लोकतन्त्रका मूल्य र मान्यता संविधानको विधेयकमा समावेश भएको उल्लेख गर्दै उनले त्यसमा आफूहरुले कुनै सम्झौता नगरेको पनि प्रस्ट पारे।

पौडेलले संविधानको विधेयकमा रहेका कमीकमजोरी सच्याएर अघि बढ्न तयार रहेकाले अहिले नै बढी छटपटिनु नपर्ने पनि औंल्याए।

'सीमाको अन्तिम टुंगो लगाउन संघीय आयोग बन्दैछ,' उनले भने, 'अहिल्यै छटपटाउनुपर्दैन। दुनियाँका संविधान संशोधन भएका छन्। हामी पनि संशोधन गर्दै सुधार्दै अघि बढ्न सक्छौं।'

संविधान विधेयकमाथि आफ्नो धारणा राख्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि संविधान निर्माण प्रक्रिया रोक्न नहुने धारणा राखे।

'अब संविधान रोक्नुहुँदैन,' नेपालले भने, 'लामो समय पर्खिनु पनि हुँदैन। जहिले पनि जहाँ पनि सबैलाई चित्त बुझाउन सकिँदो रहेनछ। देशको अखण्डतालाई बलियो बनाउने खालको संविधान आवश्यक छ।'

उनले 'ट्र्याक टु' मार्फत वार्ता गरेर असहमत दललाई पनि सहमतिमा ल्याउनुपर्ने धारणा राखे।

'प्रधानमन्त्रीलाई धन्यवाद दिन चाहन्छु,' नेपालले भने, 'उहाँले औपचारिक वार्ता आह्वान गर्नुभएको छ। अब ट्र्याक टुमार्फत पनि वार्ता गर्नुपर्छ। तपाईंहरुका माग टेबुलमा प्रस्तुत गर्नुस्, जायज जति पूरा हुनेछन्।'

मस्यौदा धेरै ठूलो भएको र त्यसमा धेरै कुरा दोहोरिएको उनले औंल्याए। 'मस्यौदा ठूलो छ,' नेपालले भने, 'धेरै कुरा दोहोरिएका छन्, यसमा रहेका धेरै शब्द हटाएर स्लिम बनाउन सकिन्छ।'

उनले एउटै कुरालाई धारा र दफामा राखिएको बताए।

'संविधानको एक ठाउँमा उल्लेख भएपछि त्यसले सबै विषयवस्तु बोक्छ। हामीले नै विष रोपेका छौं, त्यसले अहिले पोलिराखेको छ।'

एमाओवादी नेता एवं संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले अब संविधानसभाले संविधान नबनाई असफल हुने छुट नपाउने बताए।

'सबैभन्दा राम्रो जनावर बनाउन खोज्दा भगवानले पनि ऊँट बनाएका थिए,' भट्टराईले भने, 'अहिले संविधानको मस्यौदा त्यस्तो हुनु स्वाभाविक हो। यो इतिहासको आवश्यकता पूर्ति गर्ने दस्तावेज हो।'

उनले राप्रपा नेपालतर्फ इंगित गर्दै राजतन्त्रवादीलाई अहिले पूरै निषेध गरेको अवस्था नरहेको बताए।

'त्यो (राजतन्त्र) नियम र कानुनले होइन, क्रान्तिले अन्त्य गरेको हो। विधि र कानुन पुर्यााएर राजतन्त्रको अन्त्य विश्वमा कहीँ भएको छैन। यसलाई भुल्नुभएन,' भट्टराईले भने।

पुँजीवादी युग संस्थागत गर्दै समाजवादतर्फ जाने कुरामा दुई पक्षबीच विवाद हुनु स्वाभाविक रहेको उनले जिकिर गरे।'

'राजतन्त्रवादीले अहिले दुःखमनाउ गर्ने कुनै कारण छैन। उहाँहरुले टेक्ने ठाउँ भन्नुभएको छ, त्यो दिइएको छ,' उनले भने।

भट्टराईले पहिचान र सामर्थ्यबिनाका प्रदेश बन्न नसक्ने पनि स्पष्ट पारे।

'केन्द्र, प्रदेश र स्थानीय स्वीकार गरेपछि अहिलेको प्रशासनिक क्षेत्र रहँदैन,' भट्टराईले भने, 'जिल्ला, क्षेत्र, अञ्चल अब रहँदैन। अहिले पनि हामी त्यही कुरा गर्दैछौं, यो शोभनीय छैन।'

भट्टराईले देशको कुनै धर्म नहुने भएकाले धर्मनिरपेक्षताबाट पछि फर्किन नमिल्ने पनि औंल्याए।

बहुवर्गीय समाजमा सबैको सम्बोधन हुनुपर्ने धारणा उनको छ। 'कालखण्डमा हामी सबै आन्दोलनकारी हौं,' भट्टराईले भने, 'जनताले जहाज अपरणसम्मका काम गरेकै हुन्, आन्दोलनकारीलाई दुत्कार्ने होइन, वार्तामा बोलाउने हो। शान्ति भनेको बलबाट होइन, वार्ताबाट कायम गर्न सकिन्छ।'

राप्रपा नेपालका सुशील कुमार श्रेष्ठले भट्टराईतर्फ संकेत गर्दै 'क्रान्तिको धङधङी' छाड्न सुझाए।

उनले आफूहरुका पनि जनताको मतबाट संविधानसभामा आएको बताउँदै कसैको विचारलाई निषेध गर्ने काम नगर्न चेतावनीसमेत दिए।

एमाले नेता भरतमोहन अधिकारीले संविधान विधेयकमा ठाउँठाउा देखिएका समस्या सम्बोधन गर्नुपर्ने सुझाए। उनले नेपालजस्तो मुलुकमा हुने चुनावमा राज्यकोषबाट खर्च गर्ने व्यवस्था कायम गर्नुपर्ने पनि बताए।

एमाले नेता रवीन्द्र अधिकारीले जनतालाई अधिकार दिँदा जहिले पनि महँगो पर्ने भए पनि यसलाई महँगो मान्न नहुने धारणा राखे।

'जनताको सहभागितामा संविधान बनेको हो भन्ने सबैले बुझ्नुपर्छ,' अधिकारीले भने, 'सबैभन्दा बढी उत्पीडनमा परेको समुदायको माग सम्बोधन नभए यहाँबाट बाहिर जाँदा पनि हामीले हँसिलो मुख बनाउन पाउनेछैनौं।'

सभासद सीतादेवी यादवले मधेसी जनताको मागमा खेलबाड नगर्न चेतावनी दिइन्। सभासद गंगा चौधरी सत्गौवाले पनि थारुका जायज मागलाई बेवास्ता नगर्न चेतावनी दिइन्।

उनले थरुहट प्रदेश नाम नराखेपछि थारु बसोबासको क्षेत्रलाई नटुक््रयाउन आग्रह गरिन्। बिहीबार बेलुकासम्म २ सय २ जनाले आ–आफ्ना धारणा राखेका छन्। बाँकी सभासदले शुक्रबार र शनिबारसम्म आफ्नो धारणा राखिसक्ने संविधानसभा सचिवालयले जनाएको छ।
- See more at: http://www.nagariknews.com/main-story/story/44253.html#sthash.kygFmriE.dpuf

उपाधीका लागी नेपाल र भारत भिड्ने


१० भदौ,काठमाडौं/  प्रथम साफ अन्डर नाइन्टिन च्याम्पियनसीप

फुट्बल प्रतियोगिताको उपाधीका लागी नेपाल र भारत भिड्ने निश्चित भएको छ । बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलार्इ हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो भने भारतले बंगलादेशलाई सडन डेथमा पाखा लगायो। नेपालले भने अफगानिस्तान विरूद्ध ३–२ को गोल अन्तरले सेमिफाइनलमा जित दर्ता गरेको हो।

खेलको ३४  मिनेटमा स्ट्राइकर अन्जन विष्टले  गोल गर्दै नेपालका लागि खाता खोलेका थिए। त्यसपछि अझ आक्रामक बनेको नेपालले अन्जनकै  ३७ औं मिनेटमा पेनाल्टीमार्फत गोल अन्तर दोब्बर बनाएको थियो । उता अफगानिस्तानका लागी नेपाली
अनन्त तामाङले  आत्मघाती गोल गरेका थिए भने तेस्रो गोल  ५३ औं मिनेटमा सुनिल बलले गरे । अफगानिस्तानकातर्फबाट ७२ औं मिनेटमा मेहदी रेजाइले गोल गरेका थिए । भारतले भने बंगलादेशलाई सडन डेथमा ४–३ ले पराजित गरेको हो । निर्धारीत ९० मिनेट सम्म दुबैले गोलरहित बराबरी खेलेपछि खेल सडन डेथ सम्म पुगेको थियो । 

टीकापुरमा कर्फ्यू अवज्ञा गर्नेमाथि गोली प्रहार


१० भदौ /  कैलालीको टीकापुर दुर्गौलीमा सुरक्षाकर्मीको गोली लागेर बिहीबार एक व्यक्ति घाइते भएका छन्। सुरक्षाकर्मीको गोली लागेर सुगरखाल गाविस १, फल्लेबिसौनीका २० वर्षीय जगतराज देवकोटा घाइते भएका छन्। गस्तीमा खटिएको सुरक्षाकर्मीले कर्फ्यूको समयमा मोटरसाइकल चलाएका देवकोटालाई रोक्न नमानेपछि गोली चलाएको बताइएको छ। उनको पेट र घुँडामा गोली लागेको छ। टीकापुर अस्पतालमा उपचार हुन नसकेपछि देवकोटालाई नेपालगञ्ज मेडिकल कलेज रिफर गरेको डा. लालसिंह टमट्टाले जानकारी दिएका छन्। उनको अवस्थामा चिन्ताजनक नरहेको डा.टमट्टाले बताएका छन्  

मधेसको आन्दोलन मधेसी दलले नगरेको गुप्ताको भनाइ





१० भदौं,काठमाडौं/  तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ताले मधेसमा जारी आन्दोलन असन्तुष्ट तराई–मधेस केन्द्रीत दलको नेतृत्व नभएको बताएका छन्। तराई-मधेसमा स्वतः स्फुर्त आन्दोलन सुरु भएपछि मात्र त्यसको नेतृत्व गर्न संविधानसभामा प्रतिनिधित्व गर्न तराई(मधेस केन्द्रीत दल पुगेको गुप्ताको दाबी छ। मधेस र मधेसी जनताको मुद्दाको सही प्रतिनिधित्व ती दलबाट हुन नसक्ने पनि गुप्ताको जिकिर प्रस्तुत भएको छ।
मधेसमा जारी आन्दोलन उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महत्तोले गरेका होइन, आन्दोलन स्वतः स्फुर्त भइरहेको छ,गुप्ताले नागरिकन्युजसँगको कुराकानीमा भने, मधेसमा आन्दोलन सुरु भएपछि मात्र त्यसलाई क्याच गर्न मधेसमा झरेका हुन् तर हिजो सत्तामा पुगेर पनि मधेसी जनतालाई केही नगरेको यो नेतृत्वलाई जनताले पत्याएका भने छैनन, जसका कारण पनि यिनीहरुको नेतृत्वमा आन्दोलनले उचाई लिन सकिरहेको छैन्। तराई - मधेसको मुद्दामा नेतृत्व गर्ने अर्को शक्ति हाल नभएकाले मात्रै केन्द्रमा ती दल देखिएका हुन्।

तराई-मधेस दलको आन्दोलनको कुनै उद्देश्य नभएको र मागबारे प्रस्टता नभएको पनि गुप्ताको आरोप छ। जनकपुर र बिराटनगर लगायत धेरै ठाउँमा उनीहरुलाई घेरेर सोधिएको छ( तपाईहरुले मधेसमा १, २ अथवा ३ कत्ति प्रदेश बनाउन चाहेको हो, नागरिकतामा ठोस धारणा के होरु जस्ता प्रश्न राखेर बारम्बार मधेसी जनताले सोधेका छन, तर यो कुरा मिडियाले लेख्दैनन, गुप्ताले अगाडि भने, तर, गोलमोटल जवाफ दिएर मधेसी जनतालाई अझै पनि झुक्याउने काम गरिरहेका छन्, जनताका सबालको जवाफ दिन नसकेर हायल कायल भइरहेका छन्।

संविधानसभाको जारी प्रक्रियालाई नै बहिस्कार गर्दै आएका संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टी र तराई मधेस सदभावना पार्टी बिच नै एकता हुन नसकेको उनको भनाइ छ।

राजेन्द्र महत्तो राजीनामा दिएर हिँड्छन, उपेन्द्र, महन्थ र महेन्द्र यादव राजीनामा दिनै मान्दैनन, त्यस्तै राजेन्द्र उग्र कुरा गरेर हिँडिरहेका छन् तर महन्थजी भने नरम हुदैँ वार्ताका लागि तयारी देखिएका छन्,गुप्ताले भने, राजीनामा दिएर बाहिरिनेमा यिनीहरुबीच कुरा मिल्छ, न सरकारसँग वार्तालाई हेर्ने दृष्टिकोण नै मिल्छ तैपनि भन्छन, हामी एक छौं। उक्त दुई उदाहरणले नै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवबद्ध दलबीचमै एकता हुन नसेको पुष्टि गरेको उनले जनाएका छन्।

मुख्यतः गत जेठ २५ प्रमुख दल बिच भएको १६ बुदेँ सहमति प्रति असन्तुष्टी जनाउँदै यी दल आन्दोलनमा छन् । आन्दोलन असन्तुष्ट ४ दलको नियन्त्रण भन्दा बाहिर रहेकाले तत्कालै साम्य हुने स्थीति नभएको उनको बिश्लेषण छ ।

मधेसी जनतालाई अधिकार प्राप्त गर्नका लागि अतिवादी शक्ति र हिजो सत्तामा रहेर पनि मधेसका लागि केही गर्न नसकेको आरोप खेपिरहेका दल बाधक बन्दै गएको गुप्ताको पछिल्लो बिश्लेषण छ । एउटा अतिवादी र अर्को अवसरवादी शक्तिका कारण मधेसी जनता थप अन्यायमा परिरहेका छन्, यी दुवै शक्तिका पछाडी मधेस जनता लाग्ने छैनन्, लागेका पनि छैनन् गुप्ताले भने, तर, आफनो अधिकारका लागि मधेसी जनता पछाडी हटनेवाला पनि छैनन ।

स्वतः स्र्फुत रुपमा उठेको आन्दोलनले नयाँ नेतृत्वको खोजी गरिरहेको गुप्ताले जनाएका छन् । अतिवादी र अवसरवादी शक्तिको खिलाफमा एउटा अर्को शक्तिको खोजी मधेसी जनताले गरिरहेका छन, त्यसको जसले नेतृत्व गर्न सक्छ, मधेस अब उसैले हाँक्छु गुप्ताको निष्कर्ष छ ।

Wednesday, August 26, 2015

निषेधाज्ञा तोड्न खोज्दा परासीमा प्रहरीले गोली हान्यो, दुई घाइते


 भदौ ९ , नवलपरासी /   आन्दोलनकारीले निषेधाज्ञा तोड्न खोजेपछि नवलपरासीको परासीमा गोली चलेको छ । प्रर्दशनकारीले भूमही-भैरहवा वाइपास रोडको बाल गोविन्द पेट्रोल पम्पबाट निषेधाज्ञा तोड्न खोज्दा प्रहरीसँग झडप भएको हो । झडपको क्रममा प्रहरीले गोली चलाएको हो । गोली लागेर दुई जना घाइते भएका छन् । प्रहरीले चलाएको गोली लागेर नवलपरासीको सनई -९ का ५० वर्षका बिहड धोबी र रामग्राम-५ का ४५ वर्षकी मुना जयसवाल घाइते भएका छन् । भैरहवामा उपचारतर दुवैको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । प्रहरीले निषेधाज्ञा नतोड्न आग्रह गर्दा नमानेकाले झडप भएको र अश्रुग्यास, हवाइफायर गर्दा पनि नभएपनि गोली चलाउनु परेको सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुंगानाले बताए ।

कैलालीमा धोकापूर्ण ढंगले प्रहरीको हत्या भयो - ओली


९ भदौ, काठमाडौं/  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा भड्काउने र संविधान निर्माण प्रक्रिया असफल बनाउने षड्यन्त्र भएको बताएका छन् ।

संविधानसभामा संविधानको विधेयकमाथि सुरु भएको छलफलमा भाग लिँदै एमाले अध्यक्ष ओलीले कैलाली लगायतका स्थानमा भएको घटना त्यसको उदाहरण भएको बताए । उनले भने-‘हिंसा भड्काउन खोजिएको छ । यो दुःखद हो । संविधान निर्माण प्रक्रिया विथाल्ने, समाजिक सद्भाव खलबल्याउने र विध्वंस मच्चाउने प्रयास भएका छन् ।’
एमाले अध्यक्ष ओलीले कैलालीमा धोकापूर्ण ढंगले प्रहरीमाथि हमला भएर हत्या भएको बताए । उनले जातीय वा साम्प्रदायिकता भड्काउन खोज्नेहरुबाट सजग रहनु पर्ने बताए । ‘घरमा सुतिरहेको बच्चालाई गोली हानेर मारिएको छ’ एमाले अध्यक्ष ओलीले भने-‘यसले देखाउँछ परिस्थिति विथोल्न खोज्नेहरुले मानवियता बाँकी नभएको अवस्थामा पुर्याएको छ । यस्तो अमानवीय कुरासँग हामी होसियार हुनुपर्छ ।’
कुनै असहमति छन् भने सम्वाद गर्न सकिने भन्दै उनले हतियारको भाषा बोल्ने गैरजिम्मेवार तरिकाप्रति आफूहरु सहमत हुन नसक्ने बताएका छन् । उनले भने,-‘कहिँ कतै कमजोरी छन् भने संशोधन राख्न सक्छौं । तर, हिंसा भड्काएर आगजनी गरेर कुनै कुरा पुरा हुँदैन ।’
एमाले अध्यक्ष ओलीले संविधान सम्झौतासहितको सहमतिको दस्तावेज भएको भन्दै सबैका कुरा सामेल गर्न नसकिने बताए ।
- See more at: http://www.onlinekhabar.com/2015/08/317107/#sthash.7fdms9g6.dpuf

सेना परिचालन फिर्ता लिन वैद्यको माग


, ९ भदौ,काठमाडौँ/  नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले कैलालीलगायतका जिल्लामा गरिएको सेना परिचालन फिर्ता लिन माग गर्नुभएको छ ।
पार्टी कार्यालय बुद्धनगरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले कैलालीको टीकापुरमा सोमबार भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै गृहप्रशासनको लापर्बाहीका कारणले सो घटना भएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, “चालीस हजारको जुलुसलाई रोक्न ४० जनामात्रै प्रहरी किन परिचालन गरेको ?, राज्यको लापर्बाहीले कैलाली घटना घटेको हो ।”
अध्यक्ष वैद्यले कैलालीमा प्रशासनको मिलेमतोमा उत्पीडित थारु समुदायलाई दमन गर्न थालिएको भन्दै त्यसलाई रोक्न पनि माग गर्नुभयो ।
संविधानसभाको अहिलेको प्रक्रिया रोकी सर्वपक्षीय राजनीतिक सभामार्फत निकास निकाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सेना परिचालन र निषेधाज्ञा लगाएर ल्याइएको संविधान दिगो नहुने बताउँदै उहाँले आन्दोलनरत सबै पक्षसँग संवादमार्फत समाधान खोज्न आग्रह गर्नुभयो ।
उहाँले सरकारले आफूहरुलाई वार्तामा नबोलाएको स्पष्ट पार्दै वार्ताका लागि आफ्नो दल तयार रहेको जानकारी दिनुभयो । साम्प्रदायिक गतिविधिको अन्त्य तथा सामाजिक सद्भाव कायम गर्न पनि अध्यक्ष वैद्यले अपिल गर्नुभएको छ । रासस

टीकापुर घटनामा संलग्न रहेको आरोपमा फोरम लोकतान्त्रिकका नेता पक्राउ


९ साउन, काठमाडौं/  कैलालीको टीकापुरमा एसएसपीसहितका सात
सुरक्षाकर्मीको हत्यामां संलग्न भएको आरोपमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्षसहित १० जना पक्राउ परेका छन् ।
प्रहरीले फोरम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्ष ४४ वर्षका रामप्रसाद चौधरीलाई पक्राउ गरेको हो ।
यस्तै जोशिपुर–४ बस्ने ३५ बर्षीय सुन्दरलाल चौधरी, ५५ बर्षीय खड्क बहादुर चौधरी, दरख–६ नारायणपुर बस्ने १७ बर्षीय राम जनम चौधरी, मनुवा–१ बस्ने २० बर्षीय राम कुमार खठरीया, २७ बर्षीय सन्दरलाल कठरिया, २० बर्षीय दिल बहादुर चौधरी, २४ बर्षीय राजकुमार कठरिया मनुवा–४ बस्ने २२ बर्षीय हरि नारायण चौधरी र भजनि–५ बस्ने ४१ बर्षीय प्रेमबहादुर चौधरी पनि पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ ।
थारु समुदायको आन्दोलनका क्रममा सोमबार भएको हिंसात्मक झडपमा एपएसपी लक्ष्मण न्यैपानेसहित सात सुरक्षाकर्मी र दुई वर्षे बालकको मृत्यु भएको थियो ।

टीकापुर घटनामा संलग्न रहेको आरोपमा फोरम लोकतान्त्रिकका नेता पक्राउ

२०७२ भदौ ९ गते १४:१७ मा प्रकाशित
 171  3
 0
Tikapir-jhadap
९ साउन, काठमाडौं । कैलालीको टीकापुरमा एसएसपीसहितका सात सुरक्षाकर्मीको हत्यामां संलग्न भएको आरोपमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्षसहित १० जना पक्राउ परेका छन् ।
प्रहरीले फोरम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्ष ४४ वर्षका रामप्रसाद चौधरीलाई पक्राउ गरेको हो ।
यस्तै जोशिपुर–४ बस्ने ३५ बर्षीय सुन्दरलाल चौधरी, ५५ बर्षीय खड्क बहादुर चौधरी, दरख–६ नारायणपुर बस्ने १७ बर्षीय राम जनम चौधरी, मनुवा–१ बस्ने २० बर्षीय राम कुमार खठरीया, २७ बर्षीय सन्दरलाल कठरिया, २० बर्षीय दिल बहादुर चौधरी, २४ बर्षीय राजकुमार कठरिया मनुवा–४ बस्ने २२ बर्षीय हरि नारायण चौधरी र भजनि–५ बस्ने ४१ बर्षीय प्रेमबहादुर चौधरी पनि पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ ।
थारु समुदायको आन्दोलनका क्रममा सोमबार भएको हिंसात्मक झडपमा एपएसपी लक्ष्मण न्यैपानेसहित सात सुरक्षाकर्मी र दुई वर्षे बालकको मृत्यु भएको थियो ।
- See more at: http://www.onlinekhabar.com/2015/08/317258/#sthash.Xr5fe1bu.dpuf

विधेयकको अन्तिम मस्यौदामाथिको छलफल सुरु–फोरमद्वारा बहिष्कार


 भदौ ९, काठमाडौँ /  नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि संविधानसभामा आजदेखि बहस र छलफल सुरु भएको छ । प्रस्ताविन नयाँ संविधान लेखनको सन्दर्भमा यो छलफललाई संविधानसभाको अत्यन्त महत्वपूर्ण कार्य सूचीका रुपमा लिन सकिन्छ । यो नेपालको संविधान २०७२ को अन्तिम मस्यौदा हो ।
संविधान लेखन प्रक्रियाले लामो समयसम्म गति लिन नसकी रहेको अवस्थामा प्रमुख चार दलबीच भएको १६ बुँदे सहमति संविधान लेखनलाई अघि बढाउन आधार तयार गरेको थियो ।
सोही सहमतिका आधारमा दलहरुले संविधानको मस्यौदा तयार गरेर जनताको राय सुझाव लिई मस्यौदामा सुधार र परिमार्जनको कामसमेत गरेका थिए ।
प्रमुख राजनीतिक दलका शीर्षनेताहरु सम्मिलित विशेष समिति र राजनीतिक संवाद समितिले तयार पारेको मस्यौदालाई संविधानसभाले स्वीकृति प्रदान गरेपछि संविधान मस्यौदा समितिले संविधानको अन्तिम मस्यौदा तयार गरेको हो ।
मस्यौदा समितिले तयार पारेको मस्यौदालाई संविधानसभाको पूर्ण बैठकमा छलफलका लागि यही भदौ ६ गते संविधानसभामा टेबल गरी सभासद्को अध्ययनका लागि तीन दिनको समय प्रदान गरिएको थियो । उक्त मस्यौदामा ३०२ धारा, ३७ भाग र ९ अनुसूची रहेका छन् ।
मस्यौदामाथिकोे छलफल बिहान ८ देखि बेलुका ७ बजेसम्म दैनिक ११ घन्टा चल्ने जानकारी संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दिनुभयो । यो क्रम कम्तीमा तीन दिनसम्म चल्नेछ । छलफलमा बोल्ने सभासद्लाई पाँच मिनेटको समय निर्धारण गरिएको छ । संविधानसभामा हाल ५९८ सभासद्ले प्रतिनिधित्व गर्दै आउनुभएको छ ।
यसअघि संविधानसभाको आजको बैठकको प्रारम्भमै समय मागेर सङ्घीय समाजवादी फोरम नेपालका नेता एवम् सभासद् अशोक राईले एकतात्मक राज्य प्रणालीलाई सङ्घीयताको ट्याग झुन्ड्याउने काम भएकाले यो संविधान लेखन प्रक्रियाप्रति आफ्नो पार्टीले लामो समयदेखि असहमति राख्दै आएको बताउनुभयो ।
उहाँले कैलालीमा थरुहटको माग राख्दै आएको र सोमबार घटेको घटनाले गम्भीर तुल्याएको उल्लेख गर्नुुभयो ।
उहाँले भन्नुभयो–“संविधान राम्रो र हाम्रो बनाउनुपर्छ । मस्यौदामा समेटिएको राष्ट्रिय गान, भाषा, न्याय प्रणाली, सङ्घीयता र स्थानीय निकायको पक्षलाई हेर्दा सङ्घीयताको आत्मा फेला पार्न सकिने अवस्था छैन । जहाँ पायो त्यहीँ दङ्गा क्षेत्र घोषणा गर्ने, गोली ठोक्ने काम भएको छ ।”
बैठकमा आफ्नो भनाइ राखेपछि उहाँ पार्टीका तर्फबाट बैठक बहिष्कार गरिएको घोषणा गरेर बाहिरिनुभएको थियो । यसअघि बैठकमा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले परिमार्जित विधेयक, २०७२ माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्दै भन्नुभयो–“संविधानसभा छोडेर कोही पनि बाहिर नजान, यहीँ बसेर संविधान लेख्न योगदान दिन आग्रह गर्दछु ।”
जनताकै बीचमा अशान्ति र कोलाहल भयो भने जनतामा निहित सार्वभौम सत्ता प्रस्फुटन हुन सक्दैन भन्दै उहाँले देश र जनताले पाउने संविधान भएकाले संविधान निर्माण गर्छाैं भनेर आएको प्रतिबद्धतालाई सभासद्ले पूरा गर्नुपर्छ भन्नुभयो । रासस

चित्रबहादुरले भने संघीयताले देखायो रमिता




भदौ ९ /  संविधानको अन्तिम विधेयमाथिको सैद्धान्तिमक छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाका अध्यक्ष  चित्रबहादुर केसीले संघीयताले रमिता देखाएको बताएका छन् । केसीले संघीयताप्रति व्यंग गर्दै गीत नै गाएका छन्। आज विहान ८ बजेदेखि सुरु भएको छलफलमा भाग लिँदै अध्यक्ष केसीले सघीयता मुलुकका लागि गलपासो भएको टिप्पणी समेत गरे । अहिले मुलुकका लागि संघीयता गलपासो भएको छ, केसीले भने,हुन त यो संघीयता तपाइहरुले आफ्नो रहरले बोक्नु भएको होइन्। तपाइहरुलाई तराइका जनताको मुक्तिको नाममा संघीयताको गलपासो भिराइयो । उनले ०६२/६३ को आन्दोलनमा जनताले संघीयताको कुरै नगरेको प्रसंग उल्लेख गर्दै अरुले भिराएको भारी अहिले गलपासो भएको टिप्पणी गरे । चौतारीमा बर होइन स्वामी छ, संघीयताले देखायो रमिता,केसीले भने,काँचो सुन्तला नखाँदै  यो चाला, खाँदा कुन चाला ।  संघीयताको भारी अरुले नै बोकाएको भन्दै त्यसमा नेताहरु फसेको बताए । तपाइहरुले त्यो भारी नबेको चुनाव हार्ने डर थियो, उनले भने,भारी त बोक्नु भयो तर आज त्यो गलपासो भएको छ ।

५० लाख दिने घोषणा गर्नेले आन्दोलनको जिम्मेवारी लिनुपर्ने विजुक्छेको भनाई



भदौ ९  , नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आन्दोलनमा आउनेलाई पचास लाख दिने घोषणा गर्ने दलले आन्दोलनका क्रममा भएको घटनाको जिम्मेवारी लिनुपर्ने बताएका छन्।
'जनतालाई उकास्न ५० लाख दिने घोषणा गर्ने दलले आन्दोलन क्रममा भएको घटनाको जिम्मेवारी दिनुपर्दैन,' बुधबारबाट सुरु भएको संविधानको परिमार्जित मस्यौदामाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै अध्यक्ष बिजुक्छेले भने,'आन्दोलनका क्रममा टिकापुरमा भएको घटनाको ५० लाख दिने भनेर जनता उकास्ने दलले जिम्मेवारी लिनुपर्छ ।'
उनले आन्दोलनमा निशस्त्र प्रहरी पठाउनु र आन्दोलनकारीबीचमा सशस्त्र व्यक्ति रहेको थाहा नपाउने प्रशासनको कमजोरी भएको बताए। सरकारले पुरा गर्न सक्ने माग पहिला नै पुरा गर्नुपर्ने भन्दै आन्दोलनपछि मात्र माग पुरा गर्ने परिपाठी गलत भएको उनको भनाइ थियो ।

संविधानको परिमार्जित बिधेयकमाथि छलफल सुरु

भदौ ९,  संविधानसभामा बुधबारबाट संविधानको परिमार्जित बिधेयकमाथि छलफल
सुरु भएको छ।संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधानको परिमार्जित विधेयक छलफलका लागि संविधानसभामा पेश गरेपछि विधेयक माथिको छलफल सुरु भएको हो। छलफलको प्रस्ताव पेश गर्दै सिटौलाले असन्तुष्ट पक्षलाई संविधानसभामै आफ्ना भनाइ राखेर संविधान निर्माण प्रक्रियामा सहभागी हुन आग्रह गरे । 'आफ्ना विचार संविधानसभामै राखेर जान सकिन्छ । बाहिर गएर समस्याको समाधान हुँदैन,' उनले भने । सिटौलाले सार्वभौम, राजकीयसत्ता जनतामा निहीत भएको अवस्थामा ठाउँ ठाउँमा सुरु भएको हिंसाले नागरिकलाई नै कमजोर पार्ने उल्लेख गरे ।

छलफलमा भाग लिँदै प्रधानमन्त्री सुशील कोइरालाले संविधान सम्झौताको दस्तावेज भएकाले सबैको भाग जस्तो त्यस्तै समेटिन नसक्ने बताए । संविधान परिवर्नशील दस्तोवज हुने उल्लेख गर्दै प्रधानमन्त्रीले बेला बेलामा परिमार्जन गरेर जान सकिने बताए । 'जसरी पनि संविधान जारी गर्नुपर्छ,' प्रधानमन्त्रीले भने,' केही दुखद् घटना घटेका छन् । हामी सबै मिलेर संविधान दिनु आवश्यक छ।' प्रधानमन्त्री कोइरालाले मुलुकमा अशान्ति मच्चिएको भन्दै त्यसलाई रोक्न सबैसँग अपिल गरेका छन् । 'मुलुकमा अशान्ति मच्चिएको छ,' उनले भने,' जति हिंसा भड्किन्छ, देशलाई घाटा हुन्छ । अहिले पनि म वार्ता र छलफल गर्न तयार छु ।'

छलफलमा भाग लिँदै नेकपा एमालेका अध्यक्ष केपी ओलीले नागरिकको आफैंले संविधान बनाउने काम अन्तिम चरणको पुगेको भन्दै अवसरको सदुपयो गर्नुपर्ने बताए। अहिले नेपालीहरुले असाधरण र उच्चस्तरी अभ्यास गरेको भन्दै ओलीले मुलुकमा संविधानसभाबाट संविधान बनाउने काम कठिन भए पनि दोस्रो संविधानसभाबाट संविधान बनाउने चरणमा पुगेको बताए । उनले अहिले पनि केही शक्तिहरु संविधान बन्न नदिने चलखेल लागेको भन्दै ओलीले त्यसलाई परास्त गर्दै अगाडि बढ्ने बताए।

Sunday, August 23, 2015

थरुहट तराई पार्टीले संविधानसभा बहिष्कार गर्ने




भदौ ६,काठमाडौं/   थरुहट तराई पार्टी नेपालले संविधानसभा बहिष्कार गर्ने भएको छ। थारुहरुको मागलाई सम्बोधन नगरेको भन्दै संविधान बहिष्कार गर्ने निर्णयमा पुगेको पार्टीका सभासद् गोपाल दहितले जानकारी दिए। उनका अनुसार ६ बजे बस्ने संविधानसभा बैठकमा आफ्नो भनाइ राख्दै बहिष्कार गर्नेछन्। थरुहट तराईका पार्टीका तर्फबाट दुई जना सभासद् संविधानसभामा प्रतिनिधित्व गर्छन्। अर्का सभासद् गंगा थारु विधायन समितिका सभापतिसमेत हुन्।

शीर्ष चार दलले ६ प्रदेशको सीमांकन ल्याउनेवितिकै थरुहट तराई पार्टी नेपाल आन्दोलनमा होमिएको थियो। कैलाली(कञ्चपुरलाई अखण्डमा मिसाएको, थरुहट तराईका जिल्ला पहाडमा मिसाएको, थारु आयोगलगायतका माग गर्दै पार्टीले आन्दोलन गर्दै आएको छ। पार्टीले थारु कल्याणकारिणी सभा, थारु सभासद् र थरुहट संघर्ष समितिलगायतका समूहसँग मिलेर आन्दोलनमा होमिएको छ।

उग्र बन्दै रुकुम आन्दोलन





भदौ ६,   सिंगो जिल्लालाई ५ नम्बर प्रदेशमै राखिनु पर्ने भन्दै रुकुममा थालिएको
आन्दोलन उग्र बन्दै गएको छ । जिल्लाको आधा भाग ६ प्रदेशमा रहनेगरी टुक्र्याइएको भन्दै आक्रोशित रुकुमेलीले आइतवार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन्।

जिल्ला नटुक्र्याउन भन्दै प्रधानमन्त्रीलाई अल्टिमेटम सहितको ज्ञापन पत्र पेश गर्न जिल्ला प्रशासन कार्यालय पुगेका आन्दोलनकारीले कार्यालयमै ढुंगा हानेका थिए । आन्दोलनकारीको प्रहारबाट कार्यालयको साइनबोर्डमा क्षति पुगेको छ । नारा लगाउँदै होहल्लासहित आएका थिए, जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी गोविन्द थपलियाले भने, हुलले एकाएक कार्यालयमा ढुंगा हान्न थालेका थिए । थपलीयाले रुकुमको आन्दोलन उग्र बन्दै गएको समेत बताए ।

प्रशासनबाट फर्के लगत्तै जिल्ला प्रहरी कार्यालयमा पनि केही ढुङगा प्रहार भएको थियो । कार्यालय बन्द नगरेको भन्दै नेपाल टेलिकममासमेत ढुङगा प्रहार गरी तोडफोडको प्रयास भएको आन्दोलनकारीले बताएका छन् । ढुङगा प्रहारबाट कार्यालयका सामान्य सिसा फुटेको कार्यालय प्रमुख कृष्ण प्रसाद गौतमले जानकारी दिएका छन् । आन्दोलनकारी उग्र बन्दै गएपछि प्रहरीले भीड तितरवितर पारेको थियो । ुउनिहरु उग्र बन्दै जान थालेपछि प्रहरी बल प्रयोग गरिएको थियो, डिएसपी थपलीयाले भने, प्रहरीले लखेटेपछि उनीहरु भागेका थिए ।

परिमार्जित ७ प्रदेशको सीमांकनमासमेत रुकुमको आधा भाग फिर्ता नभएपछि रुकुमेलीहरुमा आक्रोश चुलिदै गएको छ । उनीहरुले यसअघिको ६ प्रदेशको खाका असन्तुष्टि जनाउँदै दबावमुलक आन्दोलन थालेका थिए। यसैबीच आइतबारबाट आन्दोलनकारीले सदरमुकाममा नाकाबन्दी गरेका छन् । सदरमुकाम खलंगामा पुग्ने तरकारी,दुधलगायतका खाद्य सामाग्रीमा रोक लगाइएको छ । जिल्ला पुर्ण रुपमा बन्द रहेको छ । सरकारीकामकाज समेत पुर्ण रुपमा ठप्प छन् । शनिबार राति पनि रुकुममा राँके जुलुश निकालेर सीमांकनको विरोध गरिएको संघर्ष समितिका संयोजक टेकबहादुर पुनले जानकारी दिए ।

प्रशासनद्वारा निषेधाज्ञा जारी
रुकुममा चलिरहेको सीमांकन विरोधी आन्दोलन आइतबार उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले रुकुममा निशेधाज्ञा जारी गरेको छ । रुकुमका प्रमुख सरकारी निकायमै ढुंगा मुढा भएपछि प्रशासनले कार्यालय क्षेत्र परिसरमा निशेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय,जिल्ला विकास समिति,जिल्ला प्रहरी कार्यालय लगायत महत्वपूर्ण सरकारी निकाय रहेका क्षेत्रमा नाराजुलुस गर्न नपाइने गरी आइतबार स्थानीय प्रशासनले प्रतिवन्ध लगायको डिएसपी थपलीयाले जानकारी दिए । यी सरकारी निकाय नजिक छन् । आन्दोलनकारी उग्र बन्न थालेपछि निशेधाज्ञा जारी गरिएको हो,उनले भने । निशेधाज्ञा अनिश्चितकालीन रहेको पनि उनले बताए ।

बन्दको प्रतिकारमा नेपालगन्जका ब्यवसायी



भदौ ६,नेपालगन्ज/  गत साउन २६ देखिको बन्दले ब्यापार व्यवसाय धरासायी
भएको र बन्दकर्ता तोडफोडमा उत्रिएको भन्दै नेपालगन्जका ब्यापारी बन्द विरुद्ध प्रतिकारमा उत्रिएका छन्। आइतबार ब्यापारीहरुले बन्दकर्ताहरुको विरोधमा प्रतिकार जुलुस निकाले ।

बन्दकर्ताले भाडाका युवा र बच्चाहरु समेत प्रयोग गरि तोडफोडमा लागेको भन्दै ब्यापारी सडकमा निस्किएका हुन्। नेपालगन्ज धम्बोजीमा तयारी पोशाकको ब्यापार गर्दै आएकी ज्ञानुसिँह ठकुरीले बन्दकर्ता अराजक बन्दै गुडेको गाडी तोडफोड गर्ने, व्यापारीमा माथि आक्रमण गर्ने काम गरिरहेको भन्दै बन्दको विरोधमा उत्रिएको बताईन्। मासिक भाडा ५० हजार तिर्नु पर्छु, उनले भनिन्, बन्द भएको १५ दिन भयो ,अव कति सहेर बस्ने, त्यसकारण प्रतिकारमा उत्रियौ। सर्वसाधरणले समेत बन्दको विरोधमा व्यापारीलाई सहयोग गरे। व्यापारी डिल्लीप्रसाद जैसीले संकटालमा पनि यसरी व्यापारी र सर्वसाधारण नागरिकमाथि आक्रमण नभएको बताउँदै अहिलेको बन्द उग्र भएकोले विरोध निकालिएको बताए। यस्तै टेम्पो ब्यवसायी सुदिप क्षेत्रीले १५ दिनदेखि व्यवसायी धराप भएको बताउँदै बन्दको प्रतिकारमा उत्रिनु बाध्यता भएको बताए। घरमा खान लगाउन समस्या भैइसकेको छ, कतिदिनसम्म सहेर बस्ने, उनले भने। व्यापारीले मोटरसाईकल तोडफोड गरिएको र सटक बन्द गराएको भन्दै संयुक्त मधेशी मोर्चाका बन्दकर्तालाई दिउँसो दुई बजे धम्बोजीबाट लखेटेका थिए। बन्दका समर्थकमा रहेका संयुक्त मधेशी मोर्चाको नेताहरु विजय गुप्ता र पशुपति दयाल मिश्रलाई व्यापारीले घेराउ गरेका थिए। उनीहरुलाई प्रहरी र अधिकारकर्मीले होटेलमा लुकाएका थिए ।

सद्‌भावनाका ४ सभासदले दिए राजिनामा




भदौ ६,काठमाडौं/   सद्‌भावना पार्टीका ४ सभासदले राजिनामा दिएका छन्। सभामुख सुवाषचन्द्र नेम्वाङ समक्ष आइतबार उनीहरुले राजिनामा दिएका हुन्। राजिनामा दिनेहरुमा लक्ष्मणलाल कर्ण, विमलकुमार केडिया, शैलकुमारी देवी र सञ्जयकुमार साह छन् । जनकपुर बमकाण्डका मुख्य अभियुक्तको रुपमा पक्राउ परी कारागारमा रहेका साह संसदमा निलम्बित छन्। राजिनामा बुझाउन उनी बाहेक तीन सांसद उपस्थित थिए।

संसदमा सद्‌भावना पार्टीका ६ सदस्य छन्। माधवी रानी र नर्सिङ चौधरी जिल्लामा भएका कारण अनुपस्थित भएको सांसद लक्ष्मणलाल कर्णले बताए। सभामुखले बसिराखे राम्रो हुन्छ नछोड्नोस् भन्नुभयो हामीले राजिनामा बुझायौुं, कर्णले भने। संघीयताको सिमाङ्कन र ६ प्रदेशप्रति असहमति जनाउँदै सद्‌भावनाले व्यवस्थापिका संसद तथा संविधान सभा त्याग्ने घोषणा गरेको हो।

विज्ञप्तिको पूर्ण पाठ


sadvabana

कर्णाली आन्दोलनका घाइतेको उपचारको क्रममा मृत्यु


 भदौ ६,  कर्णाली आन्दोलनका क्रममा प्रहरीको गोली लागि घाइते हरिबहादुर कुँवरको उपचारका क्रममा मृत्यु भएको छ । शिक्षण अस्पताल काठमाडौमा ५ दिनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आइतबार विहान ४ वजे चिकित्सकले घाइते कुवरको मत्यु भएको घोषणा गरेका थिए। साउन ३१ गते विशेष अधिकार सहितको कर्णाली प्रदेश र संघीय संरचनामा कर्णालीलाई सुदुरपश्चिममा जोडिएको विरोधमा थालिएको आन्दालनका बेला प्रहरीले गोली प्रहार गरेर कुँवर सहित १३ जना घाइते भएका थिए । जस मध्ये ३ जनाको काठमाडाै‌ र दुई जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो । ताम्ती गाविस– १ का कुवर कमर्स विषय लिएर कनिका निशा उच्च माविमा अध्यायन गर्दै थिए । उनले कर्णाली आन्दोलनमा सहभागी हुनु अघि कर्णाली हक अधिकारको बारेमा वलिदान आवश्यक रहेको बताएका थिए  ।  यसैवीच कर्णाली आन्दोलन परिचालन समिति जुम्लाले कर्णाली उपचारको क्रममा निधन भएका कुँवरको सम्मानमा कुडारी ताम्ती र जाजरकोट सडकलाई हरिबहादुर मार्ग बनाउने निर्णय गरेको छ ।

बर्दियामा तनाव, तीन प्रहरीसहित १५ आन्दोलनकारी घाइते

भदौ ६, बर्दियामा थरुहट राज्य माग गर्दे प्रर्दशनमा उत्रेका प्रर्दशनकारी र प्रहरीबीच  भएको झडपमा तीन प्रहरीसहित १५ आन्दोलनकारी घाइते भएका छन्। गुलरिया नगरपालिका परिक्रममा गरेर जिल्ला प्रशासन नजिकै कोणसभामा गर्दा प्रहरी र प्रर्दशनकारीको झडप भएको थियो। कन्चनपुरदेखि चितवनसम्म थरुहट प्रदेश लेखेको व्यानर जिल्ला प्रशासन कार्यालयमा टाँसेर प्रर्दशनकारीले कोणसभा गरिरहेको अवस्थामा झडप भएको हो।
bardia
प्रदर्शनकारी र प्रहरीबीच झडप हुदाको दृष्य ।
कोणसभा गर्दागर्दै प्रहरीलाई ढुगां प्रहार गरेर घाइते बनाएपछि प्रहरीले एक दर्जन बढी अश्रु ग्यास प्रहार प्रहार गरेको थियो । स्थिति नियन्त्रण्मा लिन प्रहरीले लाठीचार्ज गरेपछि दुई पक्षबीच झडप भएका हो। प्रहरीले संयमता अपनाउँदा अपनाउँदै आन्दोलनकारीले ढुगांमुढा प्रहार गरेपछि अश्रुग्यास र लाठीचार्ज गर्न बाध्य भएको एसपी गोविन्दराम परियारले बताए । भीडलाई तितर बितर गर्नका लाठी चार्ज गर्नु परेको एसपी परियारको भनाइ छ । प्रहरीले आन्दोलनकारी तितरबितर पारेपछि शान्ति पूर्णरुपमा अहिले आन्दोलनकारी कोणसभा गरिरहेका छन् । कोणसभामा तनावमा भएपछि आधाभन्दा बढी आन्दोलनकारी घर फर्किसकेका छन्। झडपमा घाइत भएका प्रहरी र प्रर्दशनकारीको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी जानकारी दिएको छ । 

Monday, August 10, 2015

सुर्खेतमा गोली चल्यो एकको मृत्यु, ६ घाइते



२५ साउन/   अखण्ड मध्यपश्चिमको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाएको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । गोली लागि घाइते भएकाको उपचारका लागि ४ जनालाई नेपालगञ्ज रिफर गरिएको छ । अखण्ड मध्यपश्चिम र संघीय राजधानी सुर्खेतमा हुनुपर्ने माग राखी आइतबारदेखि सुरु गरिएको आन्दोलनले उग्र रुप लिँदा ३ प्रमुख दलका पार्टी कार्यालय र जिल्ला प्रशाशन लगायत केही सरकारी कार्यालयमा पनि तोडफोड गरेका छन् ।
सभासद्समेत रहेका खड्काको घरमा आगजानी गर्न पुगेका आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हँुदा गोली काण्ड पनि भएको छ । झडपमा परि गोली लाग्दा ६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउमा उपचार भइ रहेकोछ । मध्यपश्चिम प्रहरी प्रमुख डिआइजी केशव अधिकारीका अनुसार ढाडमा छर्रा लागेका तीनजालाई उपचारका लागि काठमाडौं पठाइएको छ । आन्दोलनले उग्र रुप लिएपछि सुर्खेतमा मध्यान्न १ बजेदेखि राती ९ वजे सम्मका लागि कर्फ्यु लगाइएको जिल्ला प्रशाशन कार्यालय सुर्खेतले जानकारी दिएका छ । सहमहामन्त्री खड्काको घरलाई नेपाल प्रहरी र शसस्त्र प्रहरीले सुरक्षा दिइएको जिल्ला
प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । सहमहामन्त्री खड्काको सुरक्षा दिन बसेका प्रहरीले ४–५ राउन्ड  फाइरीङ गरेको सहमहामन्त्रीका भाइ विष्णुबहादुर खड्काले जानकारी दिए । आन्दोलनकारीले सुर्खेतस्थित नेपाली कांग्रेस, एमाले, एमाओवादीलगायतका पार्टी कार्यालय तोडफोड गरी पार्टीका कागजपत्र आगो लगाइदिएका छन् ।
मध्यपश्चिम विकास क्षेत्रलाई विभाजित गरि सुर्खेत दैलेख र जाजरकोटलाई छैठौ प्रदेशमा र बाँके बर्दियासहित राप्ती अञ्चललाई पाँचौ प्रदेशमा गाभिएको विरोधमा बन्द आव्हान गरिएको थियो । मध्यपश्चिमलाई सातौं प्रदेशसहित प्रान्तीय राज्यको राजधानी सुर्खेतलाई बनाइनुपर्ने माग समेत गरेका छन् ।

प्युठानमा बस दुर्घटना अाठ जनाको मृत्यु




 २५ साउन/  प्यूठानमा  बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । ५ जनाको दुर्घटनास्थलमै ज्यान गएको हो भने ३ जनाको उपचारका क्रममा ज्यान गएको छ । दुर्घटनामा परी दुई दर्जन बढी घाइते भएका छन्।
प्युठानका बस दुर्घटना अाठ जनाको मृत्यु (अपडेट)घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । घाइते हुने र मृत्यु हुनेको संख्या यकिन हुन सकेको छैन । दुर्घटना सवारी चालक गाडीमै च्यापिएका छन । उनलाई निकाल्ने प्रयास भइरहेको छ । उनी मृत अवस्थामा च्यापिएका छन् । त्यस्तै दुघंटनामा प्यूठान नगरपालिका १५ कि माया केसीको सनाखत भएको छ ।
अन्यको सनाखत हुन सकेको छैन । दुर्घटना स्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, रेडक्रस, स्थानीयलगायको सक्रियतामा उद्दार कार्य जारी छ । प्यूठान सदरमुकाम खलंगाबाट सौतामारे बाङ्गेफेदी जाँदै गरेको ना ३ ख ८३८३ नं को गाडी खलंगा सैनिक ब्यारेक नजिकै दुर्घटना ग्रस्त भएको हो ।
दिउँसो करिब ३ बजेको समयमा भएको दुर्घटनको कारण खुल्न सकेको छैन । स्थानीय प्रत्यक्षदर्शीका अनुसार बिपतरीत दिशाबाट आइरहेको मोटरसाइकललाई साइड दिने क्रममा गाडी सडकबाट खसेको हो । सडकबाट गाडी करिब १ सय मिटर तल खोल्सामा खसेको छ ।

Sunday, August 9, 2015

विश्व ११ सँग नेपाली टोली ३७ रनले पराजित




ब्याट फर नेपाल क्रिकेट म्याचमा नेपाल विश्व ११ सँग ३७ रनले पराजित भएको छ।
नेपालका भूकम्पपीडितलाई सहयोग गर्ने उद्देश्यले मलेसियाको किनरारा ओभलमा सम्पन्न खेलमा नेपाल पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ्ग गरेको विश्व–११ ले प्रस्तुत गरेको १ सय ३६ रनको लक्ष्य पछ्याएको नेपाली टोली १९ दशमलव २ ओभरमा ९८ रनमा समेटिएपछि नेपाली टोलिले ३७ रनको पराजय भागेको हो । नेपालका लागि अन्डर नाइन्टिन राष्ट्रिय टोलिका कप्तान राजु रिजाल र अनिल मण्डलले  सर्वाधिक समान १७ रन बनाउन बाहेक अन्यले खासै प्रदर्शन गर्न सकेनन् । नेपालका नरेश बुढाऐर र सिदान्त लोहनीले समान १३ तथा शरद भेषवाकर र मेहबुब आलमले समान ११ रन बनाउन बाहेक अरुले दोहोरो अंकको रन जोडन सकेनन् । बलिङ्गतर्फ विश्व ११ का सुरेश नभारत्ननले तीन विकेट लिए । यस्तै अब्दुर रज्जाक र सनत जसूर्याले समान दुई दुई विकेट लिए ।
यसअघि मलेसियाको राजधानी क्वालालम्पुरको किनरारा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विश्व ११ ले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर  १ सय ३५ रन  जोडेको थियो  । विश्व ११ का लागि स्टाइनिसले ८ चौका र एक छक्काको मद्दतमा सर्बाधिक ४८ रन बनाए ।  वेणुगोपाल रावले २३, अहमद फैजले १८ तथा अब्दुर रज्जाकले १६ रन जोडे । बलिङ्गतर्फ नेपालका राजेश पुलामी मगर, शरद भेषवाकर,अभिनाष कर्ण र सिद्धान्त लोहनीले दुई दुई विकेट लिए ।  विभिन्न देशका खेलाडी सम्मिलित विश्व–११ टोलीको कप्तानी श्रीलङ्काली पूर्व कप्तान सनथ जयसूर्याले गरेका थिए भने नेपाली टोलीको नेत्तृत्व नियमित कप्तान पारस खड्काले गरेका थिए।नेपालले केहिदिन अघि सम्पनन टी - ट् वान्टि विश्वकप क्रिकेटको छनोट खेलमा पनि कम्जोर प्रदर्शन गरेको थियो।

Saturday, August 8, 2015

हिन्दु राष्ट्र घोषणाको मागसहित गरिएको बन्दका कारण बाँकेको जनजीवन प्रभावित

२४ साउन,बाँके/   हिन्दु राष्ट्र घोषणाको मागसहित

 गरिएको बन्दका कारण बाँकेको जनजीवन प्रभावित भएको छ । हिन्दुराष्ट्र संरक्षण अभियान नेपालको आह्वानमा गरिएको बन्दका कारण यातायात, कलकारखाना तथा शैक्षिक संस्था ठप्प छन् । बन्द प्रति राप्रपा नेपाल, शिव सेवा नेपाल लगायतका दुई दर्जन पार्टीले  ऐक्यवद्धता जनाएका छन् । यता सुनसरीको इटहरीमा जारी हिन्दु राष्ट्र माग सहित गरिएको आन्दोल आजपनि जारी छ । हिजो प्रहरीले हस्तक्षेप गरेको भन्दै आन्दोलनकारीहरु थप आक्रोशित भएका छन् । 



ब्याट फर नेपाल अन्तरगतको खेल आज

 २४ साउन/  नेपालका भूकम्पपीडितको सहयोगार्थ आज मलेसियामा  च्यारिटी क्रिकेट खेल ‘ब्याट फर नेपाल’ हुँदैछ । मलेसिया क्रिकेट संघले घरेलु मैदानमा नेपालका लागि च्यारिटी खेलको आयोजना गरेको हो । नेपालमा गत वैशाख १२ मा गएको शक्तिशाली भूकम्पमा करिब नौ हजार मानिसको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा हुने खेलमा नेपाल क्रिकेट संघ क्यान–११ र विश्व–११ बीच प्रतिस्पर्धा हुनेछ । 

नेपाली टोलीमा अधिकांश खेलाडी राष्ट्रिय टोलीका छन् । यसैगरी विश्व–११ का तर्फबाट नाम चलेका टेस्ट खेलाडीसहित उत्रनेछन् । नेपाली टोलीको कप्तानी पारस खड्का र विश्व–११ को कप्तानी श्रीलंकाका अलराउण्डर तथा प्रभावशाली खेलाडी सनथ जयसूर्याले गर्नेछन् । 

नेपाली टोलीमा शरद भेषावकर, महबुब आलम, राजेश पुलामी, सोमपाल कामी, अनिल मण्डल, सिद्धान्त लोहनी, राजु रिजाल, शक्ति गौचन, भुवन कार्की, अविनाश कर्ण, करन केसी छन् । महबुब, अविनाश र भुवन भर्खरै सम्पन्न टीट्वेन्टी विश्वकप छनोटमा नेपाली टोलीमा थिएनन् । यू–१९ राष्ट्रिय टोलीका कप्तानसमेत रहेका राजुले टोलीको विकेटकिपिङ गर्नेछन् । नेपाली क्रिकेट टोली एक महिनाभन्दा लामो समय युरोपमा सोमबारमात्र स्वदेश फर्किएको हो । युरोपमा नेपालले एक टीट्वेन्टी शृंखला, टीट्वेन्टी विश्वकप छनोटसँगै आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको पहिलो चरणको खेल खेलेर फर्किएको थियो । यी सबै प्रतियोगितामा नेपाली टोलीको प्रदर्शन कमजोर रहेको थियो ।
बंगलादेशका लागि खेलिसकेका सोहाग गाजी र अब्दुर रस्साक पनि टोलीमा छन् । अस्ट्रेलियाका स्टिभ ओकिफे र मार्कस स्टोइनिसले पनि विश्व–११ बाट खेल्नेछन् । ओकिफेले अस्ट्रेलियाका लागि टीट्वेन्टी क्रिकेटमा प्रतिनिधित्व गरेका छन् भने स्टोइनिस प्रथम श्रेणीको क्रिकेट खेल्ने खेलाडी हुन् । भारतका लागि एकदिवसीय क्रिकेटमा प्रतिनिधित्व गरेका बेनुगोपाल रावले पनि क्यान–११ विरुद्ध खेल्नेछन् । सिंगापुरका चेतन सूर्यवंशी तथा मलेसियाका सुरेश नवरतनाम र अहमद फैज पनि विश्व–११ टोलीमा छन् ।  विश्व–११ का तर्फबाट पाकिस्तानका पूर्वविकेटकिपर रसिद लतिफ पनि खेल्दैछन् ।   विश्व–११ का कप्तान जयसूर्याले एउटा खेलबाट ठूलो लक्ष्य लिएको प्रतिक्रिया दिएका छन् । नेपालका भूकम्पपीडितको सहयोगार्थ हङकङमा पनि च्यारिटी खेल आयोजना हुँदैछ । 

सीमांकनसहित ६ प्रदेशमा सहमति, झापा,मोरङ्ग र सुनसरी सहित चौध जिल्ला पहिलो प्रदेशमा


२४ साउन/  लामो बहस र विवादपछि अन्तत ६ प्रदेशको सीमांकनमा दलहरू सहमत भएका छन् । संवाद समिति अन्तर्गत शीर्ष नेता रहेको विशेष समितिले ६ प्रदेशको सीमांकनमा शनिबार मध्यराति सहमति गरेको हो । 
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले फरक मतसहित सहमतिमा हस्ताक्षर गरेका छन् । नेताहरूबीच सहमति भएपछि शनिबार मध्यराति नै संवाद समितिको बैठक बसी सभापति बाबुराम भट्टराईले प्रतिवेदन पेस गरेका थिए । सभासद्लाई अध्ययनका लागि समय दिँदै विशेष समितिको प्रतिवेदनमाथि छलफलका लागि आज संवाद समिति बैठक बोलाइएको छ । 
                                                                                                                                        फोटो : रजेन्द्र केसी
सुदूरपश्चिमको कैलालीलाई अखण्ड सुदूरपश्चिममा राखिएपछि फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले त्यसको विरोध जनाएका थिए । कैलालीलाई तराईमा बन्ने प्रदेशमा राख्नुपर्ने वा कैलाली विभाजन गरी आधा पहाडी प्रदेशमा र आधा तराईमा बन्ने प्रदेशमा राख्नुपर्ने अड्डी गच्छदारले लिएपछि उनलाई मनाउन नेताहरूलाई पाँच घन्टा लागेको थियो ।  लामो छलफलपछि आफ्नो फरक मतसहित संविधान निर्माणको काममा अवरोध नगर्ने भन्दै गच्छदारले प्रतिवेदनमा हस्ताक्षर गरेका थिए । कैलालीलाई अखण्ड सुदूरपश्चिममा राख्ने निर्णयमा हस्ताक्षर नगर्न गच्छदारलाई उनकै पार्टीका सभासद् रामजनम चौधरी, जनक चौधरीलगायतले दबाब दिएका थिए ।
दलहरूबीच भएको सहमति अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्र्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ र सुनसरी जिल्ला रहेको पहिलो प्रदेश बन्ने भएको छ । यस्तै तराईमधेसका आठ जिल्लाहरू सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्ला समेटिएको दोस्रो प्रदेश बन्ने भएको छ । 
प्रदेश नम्बर तीनमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौं जिल्ला समेटिनेछन् । प्रदेश नम्बर चार गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ (पूर्वीभाग) र नवलपरासी (बर्दघाट सुस्तापूर्व) को क्षेत्र समेटेर बन्ने भएको छ । 
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, बागलुङ (पश्चिम भाग), रुकुम (पूर्वी भाग), रोल्पा, प्युठान, दाङ, बाँके र बर्दिया समेटिएको प्रदेश नम्बर ५ बन्नेछ । प्रदेश नम्बर ६ मा रुकुम (पश्चिम भाग), सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलाली जिल्ला रहने सहमति भएको छ ।
तराईमधेसका ८ जिल्लाको प्रदेशबाहेक अन्य सबै उत्तर र दक्षिण दुवै छिमेकी मुलुकसँग जोडिनेछन् । सीमांकनका क्रममा बागलुङ, नवलपरासी र रुकुम जिल्लामात्र विभाजन गरिएको छ । हाल नमिलेका विषय र प्राविधिक रूपमा सुझाव दिन संघीय आयोग गठन गर्ने सहमति पनि भएको छ ।
त्यस्तै कुनै व्यक्तिको जन्म हुँदा उसको बाबु वा आमा नेपाली नागरिक रहेछन् भने वंशजको नागरिकता पाउने व्यवस्था गर्नसमेत नेताहरूबीच सहमति भएको छ । यसअघि आमा र बाबु नेपाली नागरिक भएमात्र सन्तानले वंशजको नागरिकता पाउने व्यवस्था गरिएकोमा त्यसको महिला अधिकारवादीहरूले तीव्र विरोध जनाएका थिए । ‘धर्मबाट अलग हुने’ भन्ने वाक्यांशले धर्म परिवर्तनलाई संकेत गर्न खोजेको भनी असन्तुष्टि जनाएपछि त्यसलाई मौलिक हकबाट हटाइएको छ । 
यस्तै राष्ट्रपति र उपराष्ट्रपति फरकफरक लिंग वा समुदायको हुने व्यवस्थामा दलहरूबीच सहमति भएको छ । अब बन्ने ५१ सदस्यीय राष्ट्रियसभामा दलित प्रतिनिधित्व सुनिश्चित गरिएको छ । प्रत्येक प्रदेशबाट कम्तीमा तीनजना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठ जना गरी निर्वाचित ४८ जना र राष्ट्रपतिबाट मनोनीत कम्तीमा एकजना महिलासहित तीनजना रहने व्यवस्था गरिएको छ । 
वडाध्यक्षको निर्वाचन प्रत्यक्ष हुने र राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानसेनापति रहने व्यवस्थामा पनि दलहरूले सहमति जनाएका छन । यस्तै प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रता राख्ने, ‘लोकतान्त्रिक मूल्य र मान्यतालाई अवलम्बन गरी समाजवादको आधार निर्माण गर्न प्रतिबद्ध रहँदै’ भन्ने वाक्यको सट्टा लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने भन्ने वाक्यांश राख्न दलहरूबीच सहमति भएको छ ।

धर्म निरपेक्षता र थ्रेसहोल्डका विषयमा सहमति जुट्न नसकेपछि ती विषयमा पछि निर्णय गर्ने सहमति भएको संवाद समिति सभापति भट्टराईले बताए । ‘जनताबाट आएका सुझावका आधारमा हामीले एक सय ५० जति विषयमा छलफल गर्‍यौं,’ भट्टराईले भने, ‘विभिन्न दलका फरक मत भए पनि संविधानको प्रक्रिया अघि बढाऔं भन्ने सहमति हुनु सुखद पक्ष हो ।’

एसेज श्रृंखला अन्तरगतको चौथो टेस्टमा इङ्गल्याण्डको शानदार जित



एसेज श्रृंखला अन्तरगतको चौथो टेस्टमा एक इनिङ्ग र ७८ रनको शानदार

अन्तरको जित हातपार्दै इङ्गल्याण्डले अष्ट्रेलिया विरुद्धको पाँच टेस्ट म्याचको श्रृंखला ३–१ ले जितेको छ । पहिलो इनिङ्गमा १८ दशमलव ३ ओभरमा मात्र ६० रनमा समेटिएर फलोअनमा परेको अष्ट्रेलिया दोस्रो इनिङ्गमा ७२ दशमलव ४ ओभरमा २ सय ५३ रनमै समेटिएपछि इङ्गल्याण्डले शानदार जित हातपारेको हो । पहिलो इनिङ्गमा मित्सेल जोनसनले सर्बाधिक १३ र कप्तान माइकल क्लार्कले १० रन जोडेका थिए भने अन्य ब्याट्समेनले दोहारो अंकको रन जोड्न सकेनन् । सोक्रममा अतिरिक्त रन स्वरुप अष्ट्रेलियाले १४ रन पाएको थियो । त्यसपछि फलोअनमा रहेर दोस्रो इनिङ्ग शुरुगरेको टोलिका लागी ओपनर डेविड वारनरले ६४,क्रिस रोजर्सले ५२ र एडम भोगेसले ५१ रन जोडेपनि अन्य ब्याट्समेनले आसातित प्रदर्शन गर्न नसक्ता टोलिले लज्जासपद हार बेहोर्यो । 



इङ्गल्याण्डले भने पहिलो इनिङ्गमा जोइ रुटको सर्बाधिक एक सय ३० र जोनी बैर्सटोको ७४ रनको मद्दतमा ८५ दशमलव २ ओभरमा ९ विकेट गुमाएर ३ सय ९१ रन बनाएपछि इनिङ्ग समाप्तिको घोष्णा गरेको थियो । खेलको म्यान अफ दी म्याच इङ्गल्याण्डका तिब्रगतिका बलर स्टुआर्ट ब्रोएड भए ।   

साउन मसान्तभित्र नयाँ संविधान जारी हुने नेम्बाङको दावी


२३ साउन, काठमाडौ/   संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले यही साउन मसान्तभित्र
नयाँ संविधान जारी हुने बताएका छन् । प्रदेशको सिमाकंन लगायतका कतिपय विषयमा अझै सहमति नभएका बेला नेम्वाङले त्यस्तो दावी गरेका छन् ।
'संविधानको मस्यौदालाई लिएर सर्वोच्च अदालतदेखि अल्पसंख्यक राउटे समुदायसम्म पुगेका छौं,' अग्रगामी संविधान जारी हुने उल्लेख गर्दै सभाध्यक्ष नेम्बाङले भने, 'अबिले आएको प्रारम्भिक मस्यौमात्र हो । यसमा जनताको रायसहित परिमार्ज भएर यही साउन मसान्तभित्र संविधान जारी गर्न निरन्तर लागीरहेका छौं ।'
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आयोजना गरेको 'आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७२' (आइभिए अवार्ड) प्रदान गर्दै सभामुख नेम्बाङले उक्त विचार व्यक्त गरेका हुन् । 'उतिखेर केही व्यक्तिले हाताहाती चाहिन्छ भनेपछि दलहरु एकजुट हुनसकेनन् तर अहिले प्रमुख दलहरु एकमत छन्,' गएको संविधानसभाको अन्तिम क्षणमा जस्तो दलहरु तितरवितर नरहेको उल्लेख गर्दै उनले भने, 'अहिलेसम्मको उपलब्धीलाई बेवास्ता गर्दै पल्लो हाँगाको चरा समात्छु भन्दा हातमा भएको चरासमेत गुम्नसक्छ । त्यसैले दलका नेताज्यूहरुलाई अवसर गुम्न नदिन पटकपटक ध्यानाकर्षण गराएको छु ।' नेम्बाङले संविधानमा 'पूर्ण प्रेस स्वतन्त्रता' उल्लेख हुने बताएका छन् ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...