कञ्चनपुर / भारतीय एसएसबीले गोली हानी एक साताअघि हत्या गरेको कञ्चनपुर पुनर्वास नगरपालिका आनन्दबजारका गोविन्द गौतमको परिवारलाई नेकपा एमालेले ५ लाख सहयोग उपलब्ध गराएको छ ।
एमालेको मेची–महाकाली अभियानका क्रममा आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले शहीद गोविन्द गौतमको परिवारलाई ५ लाखको चेक एमालेका तर्फबाट उपलब्ध गराए । अध्यक्ष केपी ओलीले सो चेक एमाले कञ्चनपुरका अध्यक्ष तारा लामालाई प्रदान गरेका छन् । उनले एसएसबीको यस हर्कतप्रति निन्दा गर्दै यस घटनाबारे भारतले नेपाल र नेपाली जनतासमक्ष माफी माग्नुपर्ने माग गरे । यसबारे आफूले प्रधानमन्त्री प्रचण्डसँग पनि कुरा गरिसकेको एमाले अध्यक्ष ओलीले बताए ।सरकारले शहीद गौतमका छोराछोरीलाई उच्चशिक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेकोबारे ओलीले शहीदका छोराछोरीलाई कसैले नहेरे एमालेले हेर्ने दावी गरे । सीमा विवाद उत्कर्षमा पुग्दा गत बिहीबार भएको झडपमा भारतीय एसएसबीले गोली प्रहार गर्दा गोविन्द गौतमको मृत्यु भएको थियो । उनलाई सरकारले शहीद घोषणा गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरेको थियो ।
चैत ३ ,२०७३
No comments:
Post a Comment