Monday, March 13, 2017

दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी


उत्तम रिजाल,   आइसिसि वल्ड क्रिकेट लिग च्याम्पियनसिपको केन्या विरुद्धको दोस्रो खेलमा नेपाल विजयी भएको छ । नेपाल आज ७ विकेटले विजयी भएको हो । पहिलो खेलमा पराजय भोगेर दवावमा रहेको नेपालले आजको जितसँगै केहि आशा भने जगाएको छ । 

किर्तिपुर स्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ्ग गरेको पाहुना टोली केन्याले प्रस्तुत गरेको एक सय ५६ रनको लक्ष्य नेपालले खेल सकिन एक सय १८ बल अगावै पुरा गरेको थियो । नेपालका लागि कप्तान तथा ओपनर ज्ञानेन्द्र मल्लले सर्बाधिक अविजित ६४ तथा दिपेन्द्रसिंह ऐरीले ६२ रनको योगदान दिए । ९३ बलको सामना गरेका मल्लले ८ चौका र एक छक्का प्रहार गरे । उता सिनियर टोलीबाट दोस्रो अन्तराष्ट्रिय प्रतियोगिता खेलेका ऐरीले ६६ बलमा ८ चौका र एक छक्का प्रहार गरेका थिए । उनको अन्तराष्ट्रिय प्रतियोगिताको दोस्रो सर्वाधिक रन हो ।

 यस अघि गत बर्ष मात्र अन्डर नाइन्टिन एशिया कपको समुह चरणको खेलमा श्रीलंका विरुद्ध ९० रन बनाएका थिए । सो खेलमा उनी एलबीडब्लु धरापमा परेसँगै नेपाल एक रनले पराजित भएको थियो । त्यस्तै आज शरद भेष्वाकरले आफ्नो आक्रामक खेल देखाए । ११ बल मात्र खेलेका उनी ४ चौका र एक छक्का प्रहार गर्दै २४ रनमा अविजित रहे । उनले ३१ औं ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दा नेपालले एक सय ६० रन जोड्यो । अर्का ओपनर सुनिल धमला एक तथा सागर पुन ५ रनमा पेवेलियन फर्किए ।

 केन्याले एक वाइ,दुई लेगवाई र एक वाइड गरी चार रन अतिरिक्त दिएको थियो । यसअघि पहिले ब्याटिङ्ग गरेको केन्या ४६ दशमलव एक ओभरमा एक सय ५५ मा समेटिएको थियो । उसका लागि कोलिन्स ओमोन्दी ओवुयाले सर्बाधिक ४८ तथा ओपनर इर्फान करिमले ३८ र कप्तान राकेप पटेलले २१ रन जोड्न बाहेक अन्यले खासै प्रदर्शन गर्न सकेनन् । केन्यालाई सस्तैमा समेट्ने क्रममा अलराउण्डर शरद भेष्वाकरले ४, मेहबुब आलम र बसन्त रेग्मीले दुई/दुई तथा संदिप लामिछाने र सागर पुनले एक/एक विकेट लिएका थिए । जितसँगै नेपालको अघिल्लो चरण पुग्ने सम्भावना कायमै रहेको छ ।

३० फागुन,२०७३

No comments:

Post a Comment

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...