तराइ मधेस स्टडी ग्रुपले अायाेजना गरेकाे अन्तरक्रियामा माेर्चा नेताहरु।
मधेसमा जारी आन्दोलन र सरकारसँगको वार्ता त्यसै छाडेर समाधान पहिल्याउने प्रयासमा चार दिन अघि नयाँ दिल्ली पुगेका मधेसी मोर्चाका नेताहरु आज राति काठमाडौं फर्किंदैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीसँगको भेट निश्चित हुन नसकेपछि मोर्चा नेताहरु बुधबार राति नेपाल फर्किन लागेका हुन्। राति ९ बजे जेट एयरवेजबाट मोर्चा नेता स्वदेश फर्किने कार्यक्रम तय भएको छ।
नेपाल फर्किनु अघि मोर्चाका शीर्ष नेताहरु उपेन्द्र यादब, महन्थ ठाकुर, राजेन्द्र महतो तथा महेन्द्र राय यादबले बुधबार दिउसो भाजपा नेता राम माधवसँग बैठक गर्दैछन्। मोर्चा नेताहरुले उनीसँगै दिउसोको भोजन समेत गर्ने कार्यक्रम तय भएको छ। मोर्चा नेताहरुले आजै बिहान राष्ट्रवादी कांग्रेस पार्टीका नेता एवं राज्यसभा सांसद तारिक अनवरसँग भेटघाट गरेका छन्।
आजै दिउसो ३ बजे मोर्चा नेताहरु हिन्दू स्वयंसेवक संघ (आरएसएस) को सहयोगी संस्था अन्तर्राष्ट्रिय सहयोग परिषदद्वारा आयोजित अन्तरक्रियामा सहभागी हुनेछन्। सो अन्तरक्रियामा मोर्चाका सबै नेताहरु सहभागी हुँदैछन्। आरएसएस हिन्दूत्वको ब्यानरमा हिन्दू राष्ट्रवादी मुद्दालाई अघि बढाउने संगठन हो। सन् १९२५ मा स्थापना भएको यो संस्थामा सत्तारुढ भारतीय जनता पार्टीका बरिष्ठ नेताहरु प्रत्यक्ष संलग्न छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आरएसएसबाट प्रधानमन्त्री बन्ने दोस्रो व्यक्ति हुन्।
चाँडो सहमति पहिल्याउन सल्लाह
यसअघि हिजो मंगलबार मोर्चा नेताहरुले भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोबलसँग भेटवार्ता गरेका थिए। भेटका अवसरमा डोभलले मधेस आन्दोलनले दुई देशीय सुरक्षा र आपूर्तिमा प्रश्न उठाएको भन्दै सरकारसँग सम्वाद अघि बढाउन आग्रह गरेका थिए। झन्डै एक घन्टा लामो भेटवार्तामा मोर्चा नेताहरुले आन्दोलन किन गर्नु परेको भनेर डोभललाई बुझाउने प्रयास गरेका थिए। राज्यले मधेसीमाथि विभेद गरेको भन्दै हक र अधिकारको पक्षमा आन्दोलन भइरहेको नेताहरुले प्रस्ट्याएका थिए।सल्लाहकार डोबल अघि मोर्चा नेताहरुले हिजै भारतीय विदेश सचिव एस जयशंकरसँग साउथ ब्लकमा भेटवार्ता गरेका थिए। नेपालमाथि गरिएको नाकाबन्दीलाई लिएर मोदी सरकारको चर्को आलोचना भएपछि भारतीय विदेश मन्त्रालयले मोर्चाका शीर्ष नेताहरुलाई नयाँ दिल्ली बोलाएको थियो। नयाँ दिल्लीमा रहँदा मोर्चा नेताहरुले नाकाबन्दी भारतले नगरेको बरु अधिकारको लडाइँ गरिरहेको भनेर भारतीय विपक्षी दलका नेताहरुलाई आश्वस्त पार्न खोजेका थिए।
मोर्चा नेताहरु नयाँ दिल्लीमै रहँदा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सोमबार माथिल्लो सदन राज्यसभामा बोल्ने क्रममा नाकाबन्दी भारतले गरेको बताएकी थिइन्।
No comments:
Post a Comment