Tuesday, November 29, 2016

संविधान संशोधनको प्रस्ताव भोली संसदमा दर्ता हुन्छ - दाहाल

१४ मंसिर ,२०७३,काठमाडौं    प्रधानमन्त्री पुष्पकमल दाहालले संबिधान संशोधन प्रस्ताव भोली संसदमा दर्ता हुने बताउनुभएको छ ।
प्रधानमन्त्री दाहालले आज बेलुकासम्म प्रस्तावको मस्यौदाले अन्तिम रुप पाउने र भोलीसम्म संसदमा दर्ता गर्ने जानकारी गराउनुभएको हो । माओवादी केन्द्रको आज बसेको पोलिट्ब्युरो बैठकमा अहिलेसम्म भएका छलफलबारे जानकारी गराउदै दाहालले कानुन मन्त्रालयले मस्यौदालाइ अन्तिम रुप दिएपछि आजै बेलुका मन्त्रीपरिषद बैठकले पारित गर्ने समेत बताउनुभएको नेता अग्नी सापकोटाले जानकारी दिनुभयो । 

दाहालले प्रस्ताव दर्ता गरेपछि पनि मुख्य दलबीच सहमतिको प्रयास भने जारी राख्ने  बताउनुभएको थियो । बैठकमा नेता टोपबहादुर रायमाझीले ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला छुट्टयाउने गरी संशोधन प्रस्ताव ल्याउन नहुने धारणा राख्नुभएको थियो । रायमाझीले प्रमुख प्रतिपक्षी र मधेसी मोर्चालाइ विश्वासमा लिएरमात्र संशोधन प्रस्ताव दर्ता गर्न सुझाव समेत दिनुभयो ।

 कोटेश्वर स्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको बैठकमा अन्य बिषयमा भने आज छलफल नभएको नेता सापकोटाले बताउनुभयो । 

डाक्टर केसीको अवस्था गम्भीर बन्दै

१४ मंसिर , २०७३ ।  चिकित्सा शिक्षा र सेवामा सुधारको माग सहित शुरु भएको डाक्टर गोविन्द केसीको अनसन आज १७ औं दिन पनि जारी छ ।
स्वास्थ्य क्षेत्र सम्बन्धि विभिन्न माग राखेर पटकपटक अनसन बस्नु भएका डाक्टर केसीको दिशौ पटकको यो अनसन अहिलेसम्मकै सबैभन्दा लामो हो । यसअघि ८ औं अनसन १६ दिनमा तोडिएको थियो । पछिल्लो समय डाक्टर केसीको अवस्था गम्भीर बनेको चिकित्सकले बताएका छन् । कमजोरी, रिगंटा लाग्ने, मुटुको चाल अनियमित हुने तथा रक्तचाप पनि तलमाथि हुने समस्या देखिएको छ । 

माग सम्बोधनका लागि भन्दै डाक्टर केसीका प्रतिनिधि र सरकारी पक्षबीच हिजो दोस्रो दिनको वार्ता निश्कर्षमा नै नपुगी सकिएको थियो । पुनस् बस्ने भन्दै सकिएको वार्ताका लागि आजको समय तोकिएको छैन् । राजनीतिक स्तरबाट हुनुपर्ने निर्णय सचिव स्तरको सरकारी टोलीले गर्न नसक्ने भएकाले वार्ताबाट कुनै प्रगति हुन नसकेको केसी पक्षको भनाई छ । 

केसीको मुख्य माग त्रिविका उपकुलपति तीर्थ खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थान आईओमका डीन डाक्टर केशब प्रसाद सिंहको बर्खास्तीको विषयमा दुई पक्षबीच सहमति हुन सकेको छैन । 

ब्राजिलका फुटबल खेलाडी सहित ८१ जना सवार विमान दुर्घटना

१४ मंसिर , २०७३,एजेन्सी    बोलिभियाबाट ब्राजिलको एक फुटबल क्लबका खेलाडीसहित ८१ जना सवार बिमान कोलम्बियामा दुर्घटनामा परेको छ ।  
ब्राजिलियन क्लब चापेकाईन्सीको टोली लिएर उडेको चार्टड हवाई जहाज दुर्घटनामा परेको विमानस्थलका अधिकारीले जनाएका छन् । विमानमा रहेका केही यात्रु भने जिवितै रहेको बताइएको छ ।   चालक दलका नौ सदस्यसहित ८१ जना बोकेको बिमान पहाडी क्षेत्रमा दुर्घटनामा परेको विविसीले जनाएको छ । 
कोपा सुडामेरिकानाको फाइनल प्रतियोगिताका लागि फुटबल टोली कोलम्बियाको मेडेलिन जाने क्रममा थियो । दक्षिण अमेरिकी क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता मानिने खेलको फाईनलमा ब्राजिलियन टोलीले भोली कोलम्बियाको एथ्लेटिको नाशियोनलसंग प्रतिस्पर्धा गर्ने तालिका थियो । विमानले अन्तिम पटक नियन्त्रण कक्षलाई विद्युतीय खराबी आएको जानकारी गराएको विमानस्थलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

आन्दोलनमा जाने संघीय गठबन्धनको निश्कर्ष

१३ मंसिर, २०७३, काठमाडौं    माग सम्बोधनका लागि सरकार गम्भिर नदेखिएको भन्दै संघीय गठबन्धनले आन्दोलनमा जाने निश्कर्ष निकालेको छ ।
काठमाण्डौमा आज बसेको गठबन्धन आबद्ध दलको बैठकले सरकार गठनका बेला भएको ३ बुँदे सहमति पालना नभएकाले आन्दोलनमा उत्रनुको विकल्प नभएको निश्कर्ष निकालेको हो । संविधान संशोधनको नाममा सरकारले अनावश्यक चर्चा र अफवाह फैलाएर आफुलाई अल्मलाउन खोजेको निष्कर्श निकालेको बैठकले सडक आन्दोलनबाटै आफ्ना माग पुरा गराउने बताएको छ । 

बैठकको शुरुमै गठबन्धनका संयोजक उपेन्द्र यादवले तीन बुँदे सहमति कार्यान्वयनका लागि दिएको १५ दिनको अल्टिमेटम सकिंदा समेत सरकार गम्भिर नदेखिएको भन्दै मोर्चा आबद्ध दलको धारणा माग्नुभएको थियो । गठबन्धनमा आबद्ध दलका नेताले सरकार समस्या समाधान गर्न गम्भिर नभएकाले परिस्थितीको ठोस बिश्लेषण गरेर आन्दोलनमा उत्रनुको बिकल्प नभएको बताएका थिए । सरकारले संविधान संशोधन प्रस्ताव ल्याउनु अघि आफुसँग कुनै वार्ता नगरेकाले  प्रस्तावको स्वामित्व ग्रहण गर्न नसकिनेमा उनीहरुको जोड थियो । 

तमलोपा अध्यक्ष महन्थ ठाकुर र सद्भावनाका अध्यक्ष राजेन्द्र महतो अनुपस्थित भएपछि गठबन्धनको आजको बैठकले आन्दोलनका ठोस कार्यक्रम भने सार्वजनिक गर्न सकेन । शीर्ष नेताको उपस्थितिमा केही दिन भित्र गठबन्धनको बैठक बसेर आन्दोलनका कार्यक्रम तय गरिने फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताउनुभयो ।

सुडानको डार्फरवाट हतियारधारी समूहद्वारा दुई नेपाली सहित ३ जना अपहरित

१३ मंसिर, २०७३   सुडानको हिंसाग्रस्त क्षेत्र पश्चिम डार्फरबाट हतियारधारी समूहले संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी नियोग यूएनएचसीआरमा कार्यरत दुई नेपालीसहित एक सुडानी नागरिकलाई अपहरण गरेको छ ।  
तीनैजनालाई पश्चिम डार्फरबाट अपहरण गरिएको एक स्थानीय सरकारका अधिकारीलाई उद्धृत गर्दै एएफपीले बताएको छ । पश्चिम डार्फरको राज्य सरकारका प्रवक्ता अब्देल्ह मुस्तफाले एएफपीलाई भन्नुभएको छ – हतियारधारी समूहले हिजो तीनजना यूएनएचसीआरमा कार्यरतहरुलाई जिनिनाबाट अपहरण गरेका छन् , अपहरण हुनेमा २ जना नेपाली र एक सुडानी छन् । 

प्रहरीहरुले अपहरणकारीको खोजी गरिरहेको छ । यूएनएचसीआरका अधिकारीहरुले भने अपहरणका बारे कुनै प्रतिक्रिया नदिएको पनि एएफपीले जनाएको छ । डार्फरमा सन् २००३ देखि भड्किएको गृहयुद्धमा ३ लाखजनाले ज्यान गुमाइसकेका छन् भने २५ लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

हिंसा फैलाउन मद्धत गरेको आरोपमा युगाण्डाका राजा पक्राउ

१३ मंसिर, २०७३   युगाण्डाको रवेनजुरुरु क्षेत्रका राजालाई हिंसा फैलाउन मद्धत गरेको आरोपमा पक्राउ गरिएको छ ।
प्रहरी र राजाको समर्थक बिच भएको भिडन्तमा  ५५ जनाको मृत्यु भएको थियो । चाल्र्स वेस्ले मुम्बेरे माथि हिंसा फैलाएको आरोप लगाईएको छ । उनको गृहनगर कासेसेमा मिलिसिया लडाकुले प्रहरी चौकीमा आक्रमण गरेका थिए । सरकारी सुरक्षाबलले राजा मुम्बेरेको दरबारमा छापा मारेर हिरासतमा लिएको थियो । उनी माथि हिसांमा संलग्न लडाकुलाई संरक्षण लिएको आरोप लगाईएको छ ।

तर राजा मुम्बेरेले आफु माथि लगाईएका आरोपको भने खण्डन गर्दै आएका छन् । हिंसाका क्रममा १४ प्रहरी र ४१ लडाकुको मृत्यु भएको बीबीसीले जनाएृको छ । राजा मुम्बेरेको सहयोगी समुहले डेमोक्रेटिक रिपब्लिक अफ कंगोको सीममा नयाँ राष्ट्र बनाउने योजना बनाएको युगाण्डा सरकारले आरोप लगाएको छ । 

बिद्रोही नियन्त्रित एलेप्पोको मासाकेन जिल्ला पुन सरकारी सेनाको कव्जामा

१२ मंसिर , २०७३     सिरियाली सेनाले विद्रोही नियन्त्रित जिल्ला मासाकेन हानानो माथी पुन नियन्त्रण कायम गरेको छ ।
ठुलो संख्यामा बिद्रोही रहेको भनिएको एलेप्पोको मासाकेन हानानोलाई   सरकारी सेनाले पुनस् कब्जामा लिएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् । बिद्रोहीबिरुद्ध गत महिनादेखि जारी कारवाहीका क्रममा आईएसको पकड कमजोर बन्दै गएको दाबी गरिएको छ । २ लाख ७४ हजार भन्दाबढी सर्वसाधरण अझै पनि विद्रोही नियन्त्रीत क्षेत्रमा फसेको हुनसक्ने अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् । 

सेनाको पछिल्लो कारवाहीमा २ सय १२ जनाको मृत्यु भएको बेलायत स्थित मानवअधिकारवादी संस्था सिरियान अब्जरभेटरी फर ह्युमन राईट्सले जनाएको छ । युद्धग्रस्त क्षेत्रमा खाना र औषधिको चरम अभाव रहेको समेत सो संस्थाले उल्लेख गरेको छ । एलेप्पोमाथि पुनस् नियन्त्रण कायम गर्न भैरहेको युद्धका लागी मासाकेन हानानो माथीको जीत महत्पुर्ण भएको सरकारी दावी छ ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...