Monday, November 21, 2016

एमाले अडानले टुंगो लागेन संविधान संशोधन

७ मङ्सिर २०७३,काठमाडौं    सरकारी तबरबाट सबै तयारी पूरा गरेको भनिएको संविधान संशोधन विधेयक संसद्मा कहिले दर्ता हुन्छ, अझै टुंगो लाग्न सकेको छैन।
संविधान संशोधनमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बोलाएको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा कुरा नमिलेपछि अन्योल थप बढेको छ । सरकारी आश्वासनअनुसार ८ गते सम्म संशोधन विधेयक दर्ता हुने मधेसवादी दलहरूको अपेक्षा छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललगायतका शीर्ष नेताको बैठकमा एमालेले संविधान संशोधन आवश्यक नभएको अडान दोहो¥याएपछि मुख्य दलबीच कुरा मिल्न नसकेको हो । ‘एमालेले संशोधन प्रस्तावको पक्षमा छैनौं भनेपछि अब पुनः एकचोटि संविधानप्रति असन्तुष्ट दलहरूसँग छलफल गर्नुपर्ने भएको छ,’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने, ‘संविधान संशोधनमा सामेल नहुने एमालेको निर्णयपछि मधेसवादी दलको न्यूनतम लचकता के हो, जान्नका लागि छलफल आवश्यक प¥यो ।’ एमाले संशोधन प्रक्रियाबाट बाहिरिएपछि सरकार संशोधन विधेयक दर्ता गर्ने या नगर्ने, अलमलमा परेको छ ।

माओवादी नेता नारायणकाजी श्रेष्ठले एमालेले आफ्नो धारणा प्रस्ट पारेपछि संशोधनमा चुनौती थपिएको बताए । ‘सत्तारुढ दल र मधेसी मोर्चासँग अझै छलफल गर्न बाँकी रहेकाले संशोधनबारे टुंगो लाग्न सकेको छैन,’ श्रेष्ठले भने । कतिपय राजनीतिक विश्लेषक भने संशोधनका एजेन्डामा मधेसी मोर्चाभित्रै रहेको विवाद र एमालेको बहिर्गमनले संशोधन विधेयक आउन सक्ने सम्भावना कम हुँदै गएको पनि ठान्छन् । प्रदेशको संख्या र सीमांकनका विषयमा मधेसवादी नेताबीच नै एकमत छैन ।

माओवादीकी प्रवक्ता पम्फा भुसाल मधेसी दलसँगको छलफलपछि अघिल्लो प्रक्रिया अघि बढने बताउँछिन् । सत्ता साझेदार कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ एमालेले संशोधन प्रक्रियामा सहभागी नहुने जनाएकाले अब प्रक्रिया कहिले सुरु हुन्छ, केही भन्न नसकिने बताउँछन् । ‘सरकारले दर्ता गर्ने भनिएको संशोधन विधेयक कहिले दर्ता हुन्छ, मलाई कुनै जानकारी छैन,’ श्रेष्ठले भने । मधेसवादी दलले संविधान संशोधनका लागि दिएको अल्मिेटम मंसिर १५ गते सकिँदैछ ।  प्रधानमन्त्री दाहालले मधेसवादी दलले दिएको समयभित्र संशोधन प्रस्ताव संसद्मा दर्ता गरिने बताउँदै आएका छन् । संशोधन प्रस्ताव पारित हुन संसद्का दुईतिहाइ सदस्यको मत चाहिन्छ ।

जे भए पनि विधेयक दर्ता हुनुपर्छ - मोर्चा

मधेसी मोर्चाले प्रमुख प्रतिपक्ष एमाले सहमत नभए पनि संशोधन विधेयक दर्ता गर्न माग गरेको छ । मोर्चाका नेता तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमाले सहमत नभए पनि मोर्चासँगको तीनबुँदे सम्झौताअनुसार प्रधानमन्त्री दाहालले संशोधन प्रस्ताव दर्ता गर्नुपर्ने बताए ।

दाहालले तयार गरेको भनिएको संशोधन प्रस्तावअनुसार नै विधेयक दर्ता हुनुपर्ने उनको माग छ । संशोधनमा चित्त नबुझे संसद्मा छलफल गर्न सकिने मोर्चाका नेताहरूको भनाइ छ । महतोले संशोधनमा एमालेले के भन्छ, यसमा आफूहरूका चासो नभएको बताए । ‘हाम्रो कुरा सरकारसँग हो । सम्झौताअनुसार सरकारले संशोधन विधेयक दर्ता गर्नुपर्छ,’ उनले भने । तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले पनि मंसिर १४ गतेसम्म संशोधन विधेयक दर्ता हुनुपर्ने माग गरे।

राप्रपा नेपाल र राप्रपाबीच एकता


६ मङ्सिर २०७३,काठमाडौं  ।   काठमाडौं  राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकीकरण भएको छ।
                   
नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा राखिएको छ। कमल थापा र पशुपति शमसेर राणाले पार्टी एकताको समझदारी पत्रमा हस्ताक्षर गर्दै एकिकरणलाई औपचारिकता दिए। संवैधानिक राजतन्त्र र सङ्घीयताका विषयमा महाधिवेशनले टुङ्गो लगाउने उनीहरुबीच समझदारी भएको छ।

संविधान संशोधनको विषयमा सहमति जुटेन


६ मङ्सिर २०७३ काठमाडौं -  प्रमुख तीन दलबीच संविधान संशोधनको विषयमा सहमति जुटाउन बसेको बैठक विना निष्कर्ष सकिएको छ।
बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधन राष्ट्रहितमा नभएको भनेपछि दलहरुबीच सहमति जुट्न नसकेको हो। एमाले नेताहरुले संशोधन प्रस्तावको औचित्य के भन्दै बैठकमा प्रश्न गरेको एमाले उपाध्यक्ष भीम रावलले बताए। संशोधन प्रस्ताव सदनमा लगे एमालेले विरोध गर्ने रावलले बताए। संविधान संशोधनको विषयमा नभएर निर्वाचन र संविधान कार्यान्वयनको विषयमा छलफल गर्नु पर्ने एमालेको धारणा भएको रावलले बताए।

प्रधानमन्त्री निवास बालुवाटारमा संविधान संशोधनमा सहमति जुटाउन शीर्ष नेता बैठकमा जुटेका थिए। बैठक पछि गृहमन्त्री विमलेन्द्र निधिले मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार सदनमा ४ बुँदामा संविधान संशोधन प्रस्ताव लैजाने बताए। एमालेले संशोधन प्रस्ताव अस्विकार गरेको बताउँदै उनले  सीमाङकन, नागरिकता, राष्ट्रिय सभा र भाषाको विषयमा आधारित भएर संशोधन प्रस्ताव लैजाने उनले बताए।

बैठक पछि बोल्दै माओवादी केन्द्रका नेता बर्षमान पुनले एमालेले एकाएक कुरा फेरेको आरोप लगाए। संशोधन प्रस्तावमा सहमति जुट्दै थियोु, पुनले भने, आज एमालेले अचानक धारणा फेर्‍यो। प्रस्ताव नै दर्ता गर्न दिन्नौ भन्यो। माओवादीले एमाले र मोर्चासँग फेरी छलफल गर्ने उनले बताए।  

स्रोतका अनुसार माओवादी भाषा, नागरिकता, सीमांकन र राष्ट्रिय सभामा प्रतिनिधित्वका विषयमा संविधान संशोधनको तयारी गरिएको छ। मधेसवादी दलले कम्तीमा प्रदेश नम्बर २ र ५ को सीमांकन हेरफेरसहित भाषा, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वको विषयमा संशोधन हुनुपर्ने माग गर्दै आएका छन्।

Friday, November 18, 2016

एमाले भेला बुटवलमा

४ मंसिर , २०७३    मधेशी मोर्चाको माग सम्बोधनका लागि भन्दै ५ नम्बर प्रदेश टुक्राउने बिषयमा दलहरुबीच छलफल भईरहेका बेला एमालेले आज बुटवलमा छुट्टै भेला आयोजना गरेको छ ।
५ नम्बर प्रदेशलाई बिभाजन गर्न नहुने अडानमा रहेको एमालेको प्रदेशस्तरीय भेलाको अध्यक्ष केपी शर्मा ओलीले अहिले केहीबेरमा उद्घाटन गर्ने कार्यक्रम छ ।

बांकी ६ वटा प्रदेशमा भेला गरिसकेको एमालेले ५ नम्बर प्रदेशमा हुने कार्यक्रममा भने सवै शीर्ष नेतालाई बोलाएको छ । करिब एकहजारको संख्यामा नेताकार्यकर्ता उपस्थित हुने भेलालाई बरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव इश्वर पोख्रेल लगायत नेताले सम्बोधन गर्नुहुनेछ । 

संविधान बारे जानकारी दिन भन्दै एक नम्बर प्रदेशबाट सुरु भएको एमालेको भेला आज प्रदेश नम्बर ५ बाट सकिन लागेको हो । संविधान कार्यान्वयन, पार्टीको आगामी रणनीति, समसायीक बिषयमा छलफल हुने प्रदेश नम्बर ५ का संयोजक समेत रहेका उपमहासचिव बिष्णु पौडेलले जानकारी दिनुभयो । 

२ अर्ब ४० करोड मानिस शौचालय विहीन

४ मंसिर , २०७३ ।    विश्व शौचालय दिवस, आज नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइँदै छ ।  
विश्व स्वास्थ्य संगठन डब्लु एच ओ को आह्वानमा सन् २००१ देखि प्रत्येक वर्षको नोभेम्बर १९ मा यो दिवस मनाउने गरिन्छ ।  यस बर्ष ‘शौचालय र काम’  भन्ने विश्वव्यापी नाराका साथ यो दिवस मनाइदै छ । विश्वका करिब २ अर्ब ४० करोड मानिस अझै पनि शौचालयको पहुँचभन्दा बाहिर रहेको विश्व स्वास्थ्य संगठन डब्लु एच ओ को तथ्यांकले देखाएको छ ।

डब्लु एच ओ को  दिगो विकासको लक्ष्य अन्र्तगत सन् २०३० सम्म विश्वका हरेक मानिसमा शौचालयको पहुँच पुर्‍याउने लक्ष्य लिइएको छ । विश्व स्वास्थ्य सङ्गठन २०१५ को तथ्याङ्कानुसार विश्वभर १० जनामध्ये एक जनाले खुलेआम दिसापिसाब गर्ने गरेको पाइएको छ । डब्लुएएस–एच वाच २०१६ का अनुसार तीन लाख १५ हजार बालबालिका प्रत्येक वर्ष शौचालयको अभावमा झाडाबान्ताको सिकार हुने गरेका छन् । 

नेपाल सरकारले सन् २०१७ भित्र सबै नेपालीका घर घरमा शौचालय निर्माण गरिसक्ने लक्ष्य लिएको छ । यसै अभियान अन्तर्गत जिल्ला जिल्लामा खुल्ला दिसामुक्त अभियान सञ्चालन भइरहेको छ । हालसम्म ३८ जिल्ला खुला दिसामुक्त घोषणा भइसकेको छ ।  भक्तपुरलाई विसं २०७१ कात्तिक ४ गते खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।  सबैभन्दा बढी सेवाग्राहीको चाप हुने सरकारी कार्यालय मालपोत, नापी, जिविस,प्रहरी कार्यालय र नगरपालिकाका कार्यालयमा समेत  शौचालयको उचित प्रबन्ध नहुँदा सेवाग्राहीले निक्कै  शास्ती व्यहोर्न बाध्य छन् ।   

पछिल्लो समय नेपालमा  लैङ्गिक तथा अपाङ्गमैत्री  शौचालयको अवधारणालाई जोड दिइएको छ ।  शौचालय निर्माण र प्रयोगको अवधारणालाई वर्षभरि नै अभियानका रूपमा सञ्चालन गर्नुपर्ने सरोकारवाला निकायको भनाई छ । 

जिका भाइरस संक्रमणमा लागू अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालिन अवस्था हट्यो

४ मंसिर , २०७३     विश्व स्वास्थ्य संगठन डब्लु एच ओ ले जिका भाइरसको संक्रमणका कारण लागू गरिएको अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालिन अवस्था हटाउने घोषणा गरेको छ ।
जिका भाइरसको संक्रमण व्यापक रुपमा बढेपछि ९ महिनाअघि डब्लु एच ओ ले जिका संक्रमणको नियन्त्रणलाई केन्द्रित गरेर अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालिन अवस्था घोषणा गरेको थियो ।

जिका भाइरसको सबै भन्दा बढी संक्रमण भएको  ब्राजिलमा मात्रै दुई हजार एक सय भन्दा बढी बालबालिका प्रभावित बनेको डब्लुएचओले जनाएको छ । तत्काल आपतकालिन अवस्था अन्त्यको घोषणा गरिए पनि जिका संक्रमणको जोखिम अझै  नटरेको र बिशेष सावधानी अपनाउन आवश्यक रहेको  डब्लुएचओले जनाएको छ । जिका भारइसको संक्रमणबाट विश्वका ३० भन्दा बढी देश प्रभावित बनेको डब्लु एच ओ को तथ्याङ्क छ ।

जिका भाइरसको कारण गर्भमा रहेका बालबालिकामा टाउको सानो हुने समस्या देखा पर्ने गरेको छ ।   सन् १९४७ मा पहिलो पटक युगाण्डामा  बाँदरमा फेला परेको जिका सन् १९५४ मा पहिलोपटक नाइजेरियाका मानिसमा पनि देखा परेको थियो । पछिल्लोपटक भने सन् २०१५ मा  ब्राजिलबाट सुरु भएको जिकाको संक्रमण विश्वभर महामारीको रुपमा  फैलिएको हो । 

देश टुक्राउने उद्देश्यले संशोधनको बिषय आएको हो - गौतम

३ मंसिर , २०७३ ।   नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधान कार्यान्वयनतर्फ सबै दल गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
प्युठानमा आज आयोजित कार्यक्रममा उहॉले अहिले संविधान संशोधन भन्दा पनि यसको कार्यान्वयनतर्फ सबै दल गम्भीर हुनुपर्ने बताउनुभयो । बाहिरी शक्तिको आडमा नेपाललाई टुक्रयाउने उद्देश्यले सीमाङ्कन हेरफेर सहितको संशोधनको बिषय आएको भन्दै उहाँले त्यो आफ्नो पार्टीलाई मान्य नहुने उल्लेख गर्नुभयो ।

हिमाल,पहाडलाई तराईबाट अलग्याएर नेपाल बन्न नसक्ने उहाँको भनाई थियो । संविधान कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन हुनुपर्ने भन्दै २०७४ माघसम्ममा निर्वाचन नभए मुलुक गम्भीर संवैधानिक सङ्कटमा पर्ने उहाँले बताउनुभयो ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...