Friday, November 18, 2016

एमाले भेला बुटवलमा

४ मंसिर , २०७३    मधेशी मोर्चाको माग सम्बोधनका लागि भन्दै ५ नम्बर प्रदेश टुक्राउने बिषयमा दलहरुबीच छलफल भईरहेका बेला एमालेले आज बुटवलमा छुट्टै भेला आयोजना गरेको छ ।
५ नम्बर प्रदेशलाई बिभाजन गर्न नहुने अडानमा रहेको एमालेको प्रदेशस्तरीय भेलाको अध्यक्ष केपी शर्मा ओलीले अहिले केहीबेरमा उद्घाटन गर्ने कार्यक्रम छ ।

बांकी ६ वटा प्रदेशमा भेला गरिसकेको एमालेले ५ नम्बर प्रदेशमा हुने कार्यक्रममा भने सवै शीर्ष नेतालाई बोलाएको छ । करिब एकहजारको संख्यामा नेताकार्यकर्ता उपस्थित हुने भेलालाई बरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव इश्वर पोख्रेल लगायत नेताले सम्बोधन गर्नुहुनेछ । 

संविधान बारे जानकारी दिन भन्दै एक नम्बर प्रदेशबाट सुरु भएको एमालेको भेला आज प्रदेश नम्बर ५ बाट सकिन लागेको हो । संविधान कार्यान्वयन, पार्टीको आगामी रणनीति, समसायीक बिषयमा छलफल हुने प्रदेश नम्बर ५ का संयोजक समेत रहेका उपमहासचिव बिष्णु पौडेलले जानकारी दिनुभयो । 

२ अर्ब ४० करोड मानिस शौचालय विहीन

४ मंसिर , २०७३ ।    विश्व शौचालय दिवस, आज नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइँदै छ ।  
विश्व स्वास्थ्य संगठन डब्लु एच ओ को आह्वानमा सन् २००१ देखि प्रत्येक वर्षको नोभेम्बर १९ मा यो दिवस मनाउने गरिन्छ ।  यस बर्ष ‘शौचालय र काम’  भन्ने विश्वव्यापी नाराका साथ यो दिवस मनाइदै छ । विश्वका करिब २ अर्ब ४० करोड मानिस अझै पनि शौचालयको पहुँचभन्दा बाहिर रहेको विश्व स्वास्थ्य संगठन डब्लु एच ओ को तथ्यांकले देखाएको छ ।

डब्लु एच ओ को  दिगो विकासको लक्ष्य अन्र्तगत सन् २०३० सम्म विश्वका हरेक मानिसमा शौचालयको पहुँच पुर्‍याउने लक्ष्य लिइएको छ । विश्व स्वास्थ्य सङ्गठन २०१५ को तथ्याङ्कानुसार विश्वभर १० जनामध्ये एक जनाले खुलेआम दिसापिसाब गर्ने गरेको पाइएको छ । डब्लुएएस–एच वाच २०१६ का अनुसार तीन लाख १५ हजार बालबालिका प्रत्येक वर्ष शौचालयको अभावमा झाडाबान्ताको सिकार हुने गरेका छन् । 

नेपाल सरकारले सन् २०१७ भित्र सबै नेपालीका घर घरमा शौचालय निर्माण गरिसक्ने लक्ष्य लिएको छ । यसै अभियान अन्तर्गत जिल्ला जिल्लामा खुल्ला दिसामुक्त अभियान सञ्चालन भइरहेको छ । हालसम्म ३८ जिल्ला खुला दिसामुक्त घोषणा भइसकेको छ ।  भक्तपुरलाई विसं २०७१ कात्तिक ४ गते खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।  सबैभन्दा बढी सेवाग्राहीको चाप हुने सरकारी कार्यालय मालपोत, नापी, जिविस,प्रहरी कार्यालय र नगरपालिकाका कार्यालयमा समेत  शौचालयको उचित प्रबन्ध नहुँदा सेवाग्राहीले निक्कै  शास्ती व्यहोर्न बाध्य छन् ।   

पछिल्लो समय नेपालमा  लैङ्गिक तथा अपाङ्गमैत्री  शौचालयको अवधारणालाई जोड दिइएको छ ।  शौचालय निर्माण र प्रयोगको अवधारणालाई वर्षभरि नै अभियानका रूपमा सञ्चालन गर्नुपर्ने सरोकारवाला निकायको भनाई छ । 

जिका भाइरस संक्रमणमा लागू अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालिन अवस्था हट्यो

४ मंसिर , २०७३     विश्व स्वास्थ्य संगठन डब्लु एच ओ ले जिका भाइरसको संक्रमणका कारण लागू गरिएको अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालिन अवस्था हटाउने घोषणा गरेको छ ।
जिका भाइरसको संक्रमण व्यापक रुपमा बढेपछि ९ महिनाअघि डब्लु एच ओ ले जिका संक्रमणको नियन्त्रणलाई केन्द्रित गरेर अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालिन अवस्था घोषणा गरेको थियो ।

जिका भाइरसको सबै भन्दा बढी संक्रमण भएको  ब्राजिलमा मात्रै दुई हजार एक सय भन्दा बढी बालबालिका प्रभावित बनेको डब्लुएचओले जनाएको छ । तत्काल आपतकालिन अवस्था अन्त्यको घोषणा गरिए पनि जिका संक्रमणको जोखिम अझै  नटरेको र बिशेष सावधानी अपनाउन आवश्यक रहेको  डब्लुएचओले जनाएको छ । जिका भारइसको संक्रमणबाट विश्वका ३० भन्दा बढी देश प्रभावित बनेको डब्लु एच ओ को तथ्याङ्क छ ।

जिका भाइरसको कारण गर्भमा रहेका बालबालिकामा टाउको सानो हुने समस्या देखा पर्ने गरेको छ ।   सन् १९४७ मा पहिलो पटक युगाण्डामा  बाँदरमा फेला परेको जिका सन् १९५४ मा पहिलोपटक नाइजेरियाका मानिसमा पनि देखा परेको थियो । पछिल्लोपटक भने सन् २०१५ मा  ब्राजिलबाट सुरु भएको जिकाको संक्रमण विश्वभर महामारीको रुपमा  फैलिएको हो । 

देश टुक्राउने उद्देश्यले संशोधनको बिषय आएको हो - गौतम

३ मंसिर , २०७३ ।   नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधान कार्यान्वयनतर्फ सबै दल गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
प्युठानमा आज आयोजित कार्यक्रममा उहॉले अहिले संविधान संशोधन भन्दा पनि यसको कार्यान्वयनतर्फ सबै दल गम्भीर हुनुपर्ने बताउनुभयो । बाहिरी शक्तिको आडमा नेपाललाई टुक्रयाउने उद्देश्यले सीमाङ्कन हेरफेर सहितको संशोधनको बिषय आएको भन्दै उहाँले त्यो आफ्नो पार्टीलाई मान्य नहुने उल्लेख गर्नुभयो ।

हिमाल,पहाडलाई तराईबाट अलग्याएर नेपाल बन्न नसक्ने उहाँको भनाई थियो । संविधान कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन हुनुपर्ने भन्दै २०७४ माघसम्ममा निर्वाचन नभए मुलुक गम्भीर संवैधानिक सङ्कटमा पर्ने उहाँले बताउनुभयो ।

कार्की विरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल लम्बियो

३ मंसिर , २०७३    व्यवस्थापिका संसदमा अख्तियारका प्रमुख लोकमान सिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको विषयमा चौथो दिनको छलफल सकिंदा ५३ जनाले धारणा राखेका छन् ।
आजको बैठकमा १२ जनाले धारणा राखेको संसद सचिवालयले जनाएको छ । सत्ता साझेदार दल नेपाली कंग्रेसले पार्टीगत धारणा तय नगरेपनि कंग्रेसका सांसदले भने महाअभियोग कै प्रस्तावका पक्षमा धारणा राखेका छन् ।

यद्धपी कंग्रेसका मोहन बस्नेत लगायत केही सांसदले भने महाअभियोग प्रस्ताव नै विधिसम्मत दर्ता नभएको टिप्पणी गरेका थिए । गत कात्तिक ३ गते प्रमुख प्रतिपक्षी एमाले र माओवादी केन्द्रका १५७ सांसदले महाअभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गरेका थिए । सो प्रस्ताव माथि कात्तिक ९ गतेदेखि छलफल सुरु भएको थियो ।


ट्रमसंग उच्च आत्मविश्वास भएको जापानी प्रमको भनाइ

३ मंसिर , २०७३ ।   जापानी प्रधानमन्त्री सिन्जो आवेले  नबनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमसंग उच्च आत्मविश्वास रहेको टिप्पणी गर्नुभएको छ ।
अमेरिका भ्रमणमा रहेका प्रधामन्त्री आवेले ट्रम्पसंगको भेटपछि त्यस्तो प्रतिकृया दिनुभएको हो । ट्रम्पको कार्यकालमा दुईमुलुकबीचको सम्वन्ध थप बिश्वसनीय हुने आवेको भनाई थियो ।

न्युयोर्कमा ट्रम्पसंग डेढधण्टा लामो भेटबार्तापछि पत्रकारहरुसंग अवेले भन्नुभयो, ‘सौहार्दपुर्ण बताबरणमा स्पष्ट कुराकानी भयो ।’ ट्रम्पको चुनावी अभियानका क्रममा जपान सहितको अमेरिकी गठवन्धनलाई लिएर शंका उब्जिरहेका वेला ट्रम्प र आवेबीच भेटबार्ता भएको हो । 

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलोपल्ट विदेशी मुलुकका सरकार प्रमुखसंग ट्रम्पको भेटबार्ता भएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् । दोस्रो विश्वयुद्धपछि दुईमुलुकवीचको सम्वन्ध सुधार भएसंगै अमेरिकाले जपानको पुर्ननिर्माण र अर्थतन्त्रमा सहयोग गर्दै आएको छ ।   

राजनीतिक आस्थाका आधारमा न्यायाधीश नियुक्ति हुँदैन : कार्की

३ मंसिर, २०७३  प्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिक आस्थाका आधारमा न्यायाधीश नियुक्ति नगरेको बताउनु भएको छ ।
सप्तरीको राजविराजमा आज विहान सञ्चारकर्मीसंग कुराकानी गर्दै प्रधानन्यायधिस कार्कीले यस्तो बताउनु भएको हो ।  कार्कीले न्यापालिकामा कुनै पनि राजनीतिक प्रभाव नरहेको दाबी समेत गर्नुभयो । समानुपातिक समावेशीका नाममा विज्ञता नभएका व्यक्तिलाई न्यायाधीश बनाउन नसक्ने भन्दै उहाँले न्यायपालिका जनताको आस्थाको केन्द्र भएकाले न्याय सम्पादन गर्न सक्ने र कानुनमा विज्ञता हासिल गरेका ब्यक्ति मात्र अघि बढन सक्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘बुहारीलाई घुम्टो ओढाएर राख्ने अनि समावेशी समानुपातिकमा नियुक्ति हुनुपर्छ भनेर हुँदैन ।’ कार्कीले न्याय क्षेत्र समेत केही व्यक्तिका कारण भ्रष्टाचार मुक्त भने नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘न्याय क्षेत्रमा रहेका केही मुठीभर गलत व्यक्तिका कारण पुरै न्यायपालिका बद्नाम भइरहेको छ ।’

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...