Tuesday, June 16, 2015

परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीलाई निवेदन दिन उच्च माध्यमिक शिक्षा परिषद्को आग्रह

२ असार/  प्रथम चरणको परीक्षामा सहभागी हुन नपाएका कक्षा ११ र १२ का विद्यार्थीलाई यही असार ७ गतेभित्र निवेदन दिन उच्च माध्यमिक शिक्षा परिषद्ले आग्रह गरेको छ ।
भूकम्पबाट अति प्रभावित १४ जिल्लामा अध्ययनरत् परीक्षार्थीहरुलाई आउँदो ७ गतेभित्र निवेदन दिन परिषद्ले आग्रह गरेको हो ।
परिषद्ले निवेदनका साथमा आवश्यक प्रमाणसहित आफू अध्ययनरत विद्यालयको सिफारिस र आफ्नो प्रवेशपत्रको प्रतिलिपी दिन पनि विद्यार्थीलाई सूचित गरेको छ । उच्च माध्यमिक शिक्षा परिषद्को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर वा उच्च माध्यामिक शिक्षा परिषद्को काठमाण्डौ कार्यालय भीमसेनगोलामा मात्रै निवेदन दिन सकिने परिषद्ले स्पष्ट पारेको छ ।
असार ७ गते भित्रमा निवेदन नदिएका परीक्षार्थीलाई परीक्षामा सहभागी गराउन नसकिने परिषद्ले आज सूचना प्रकाशित गरेर जनाएको छ ।
परिषद्ले गोरखा, धादिङ नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाण्डौ, भक्तपुर, ललितपुर, सिन्धुली, ओखलढुङ्गा र मकवानपुर गरी १४ जिल्लामा १४ असारदेखि कक्षा १२ को र असार २४ गतेदेखि कक्षा ११ को दोस्रो चरणको परीक्षा सञ्चालन गर्न लागेको हो ।
पहिलो चरणको परीक्षामा सहभागी भएका परिक्षार्थी दोस्रो चरणको परीक्षामा सहभागी हुन नपाउने परिषद्ले स्पष्ट पारेको छ । पहिलो चरणको परीक्षामा सहभागी भएको परीक्षार्थी दोस्रो चरणको परीक्षामा पनि सहभागी भएको पाइएमा दुवै परीक्षा रद्द गरिने परिषद्ले निर्णय गरेको छ ।
अन्य ६८ जिल्लामा परिषद्ले कक्षा ११ को पहिलो चरणको परीक्षा भने हिजोदेखि सुरु गरेको छ । त्यसैगरी कक्षा १२ को परीक्षा गएको ३० गते सकिएको थियो । रासस

महिला विश्वकप फुटबलमा अमेरिका विजयी

२ असार/    महिला विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज विहान भएको खेलमा अमेरिका विजयी भएको छ । प्रतिस्पर्धात्मक भएको खेलमा उसले नाइजेरियालाई १–० ले पराजित गर्यो । अमेरिकाको जितमा पहिलो हाफको अन्तिम मिनेटमा वामव्याचले गरेको गोल नै निर्णायक बन्न पुग्यो । जितसँगै अमेरिका समुह डीको शीर्ष स्थानमा उक्लिएको छ । ३ खेलमा २ जित र एक बराबरी खेलेको उसले  ७ अंक जोडेको छ । नाइजेरिया भने ३ खेलमा १ अंकका साथ तालिकाको पुछारमा रहेको छ । यस्तै बुधबार विहान नै भएको अर्को खेलमा अष्ट्रेलिया र स्वीडेनलले १–१ गोलको बराबरी खेलेका छन् । खेल सुरु भएको पाँचौ मिनेटमा नै डी भानाको गोल मार्फत अष्ट्रेलियाले अग्रता लिएको थियो । तर १५ औं मिनेटमा स्वीडेनकी ज्याकोब्सनले बराबरी गोल फर्काइन् । बराबरीसँगै ३ खेलमा ४ अंक जोडेको अष्ट्रेलिया समुह डी को दोश्रो स्थानमा छ । ३ अंक मात्र जोडेको स्वीडेन भने तेश्रो स्थानमा रहेको छ ।

आँफु धर्म निरपेक्षताको पक्षमा नरहेको कोइरालाको भनाई

२ असार/   प्रधानमन्त्री सुशील कोइरालाले आफू धर्म निरपेक्षताको पक्षमा नभइ धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका छन्। चर्चित योगी पाइलट बाबासँग आज बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कोइरालाले यस्तो बताएका हुन् । उनले ८५ प्रतिशत हिन्‍दू जनसंख्‍या भएको मुलुकमा धार्मिक स्वतन्त्रतासहित हिन्‍दू धर्मको रक्षा गरिने बताए। भेटमा पाइलटबाबाले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएर तत्‍कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गल्ती गरेको टिप्‍पणी गरेका थिए। उनले यसलाई सुधार्न सके प्रधानमन्त्री कोइराला अमर हुने बताएको बालुवाटार स्रोतले जानकारी दिएको छ। पाइलट बाबाले नेपालका भूकम्‍पपीडित र वीर अस्पतालको आइसियू कक्ष मर्मतका लागि भन्द‌ै प्रधानमन्त्री राहत कोषमा १ करोड २ लाख रुपैँया आफ्‍नो तर्फबाट हस्तान्तरण गरेका छन्।

एम्नेस्टी इन्टरनेशनल विवादमा तानिँदै

२ असार, काठमाडौं/   नेपालमा एम्नेस्टी इन्टरनेशनल विवादमा तानिँदै आएको छ । अनसनकै क्रममा मृत्यु भएका नन्द प्रसाद अधिकारीको विषयमा एम्नेस्टीले आवाज नउठाएको तर सिके राउतका विषयमा विवादास्पद प्रतिवेदन दिएको भन्दै नेपालमा एम्नेस्टीको आलोचना भइरहेको छ ।

यसैक्रममा बरिष्ठ पत्रकार एवं नागरिक अगुवा कनकमणि दीक्षितले समेत एम्नेस्टीको भूमिकामाथि प्रश्न उठाएका छन् । ‘एम्नेस्टीले अनसनकै क्रममा मृत्यु भएका नन्द प्रसाद अधिकारीको विषयमा कुनै सम्झन लायक भूमिका निर्वाह गरेको मैले व्यक्तिगत रुपमा देखेको छैन,’ पत्रकार दीक्षितले सामाजिक सञ्जालमार्फत् एम्नेस्टीलाई प्रश्न गरेका छन , ‘अब एम्नेष्टीले हामीलाई भनोस, गंगामायाले न्यायका लागि गरेको संघर्षका बारेमा उसको पोजिसन के हो ? किनकि गंगामायाले ट्रमा सेन्टरमा पुनः आमरण अनसन सुरु गरेकी छिन् ।’ दीक्षितले भनेका छन ‘नन्दप्रसाद अधिकारीको ३ सय ३३ दिने आमरण अनसनको  क्रममा एम्नेस्टीले गरेको काम भन्नु नै माओवादीद्वारा मारिएका छोरा कृष्णप्रसादको हत्याको विषयमा न्याय माग्दै संघर्षरत नन्द प्रसादलाई न्याय दिन माग गर्नु र नन्द प्रसादको न्यायको लडाइँमा पूर्ण साथ दिने प्रतिबद्धता जनाउँदै निजलाई आमरण अनसन रोक्न आग्रह गरे ।’एमनेस्टी इन्टरनेशनलले हिजो मात्रै प्रेस वक्तव्य जारी गरेर आफूले नन्दप्रसाद अधिकारीको पक्षमा आवाज उठाउँदै आएको जिकिर गरेको थियो । एम्नेस्टीको जिकिरलाई दीक्षितले आलोचना गर्दै ट्रमा सेन्टरमा गंगामायाको अनसनबारे धारणा मागेका हुन् ।

वैदेशिक रोजगार विभागको काठमाडौ कार्यालय अनिश्चितकालका लागि बन्द

२ असार/  वैदेशिक रोजगार विभागको काठमाडौ कार्यालय बन्द भएको छ । श्रम प्रतिनिधिहरुबीचको विवादले आजदेखि अनिश्चितकालका लागि बन्द भएको हो । कर्मचारीहरुको असुरक्षाको कारण जनाउँदै विभागको काठमाडौ कार्यालय आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको हो ।
हिजो केही श्रम प्रतिनिधिहरुले कार्यालय प्रमुख लगायतका कर्मचारीमाथि दुर्ब्यवहार, गालीगलौज र ढुंगामुढा गर्नुका साथै कार्यालयका भौतिक संरचनाहरु तोडफोड गरेको भन्दै कार्यालयको कार्य सम्पादन गर्न नसकिने विभागले जनाएको छ । कार्यालयका कर्मचारीमाथि दुब्र्यवाहार तथा आक्रमण गर्ने श्रम प्रतिनिधिमाथि कारबाही तथा कर्मचारीको सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा दिन नसक्ने विभागले जनाएको छ । वैदेशिक रोजगारमा जाने कामदारको फाइल नभेटिएको भन्दै श्रम प्रतिनिधिहरुले कार्यालय कर्मचारीमाथि आक्रमणको प्रयास गरेका थिए । वैदेशिक विभाग काठमाडौ कार्यालयका प्रमुख विश्वप्रकाश सुवेदीले म्यानपावरले पालेका ‘गुण्डा’हरुले आफूहरुमाथि आक्रमणको प्रयास गरेको आरोप लगाए । बिना कारण श्रम प्रनिनिधिहरु कार्यालय प्रवेश गरी कर्मचारीमाथि दुब्र्यवहार गर्ने काम गरेकोले कर्मचारीहरु असुरक्षित रहुन्जेल सेवा दिन नसकिने उनले बताए । विभागको काठमाडौ कार्यालयबाट कतार, साउदी अरेबिया तथा मलेशियाबाहेकका मुलुकहरुका श्रम स्वीकृति दिने कार्य गरिन्छ ।

जापान र क्यामरुन विजयी

२ असार/  क्यानडामा जारी महिला विश्वकप फुटबल प्रतियोगिताको गएराती सम्पन्न खेलमा जापान र क्यामरुन विजयी भएका छन् । समुह सी को खेलमा जापानले इक्वेडरलाई १–० ले पराजित गर्यो । प्रतिस्पर्धात्मक खेलमा पाँचौं मिनेटमा जापानकी ओगीमिले गरेको गोल नै निर्णायक बन्यो ।
जितसँगै जापान समुह सी को शीर्ष स्थानमा उक्लिएको छ । ३ खेलमा ९ अंंक जोडेको जापानले यसअघि क्यामरुन र स्विजरल्याण्डलाई पराजित गरेको थियो । यस्तै गएराती नै सम्पन्न अर्को खेलमा क्यामरुनले स्विजरल्याण्डलाई २–१ ले पराजित गरेको छ ।
क्यामरुनको जितमा दोश्रो हाफको दोश्रो मिनेटमा ओगुने र १७ औं मिनेटमा मानीले गोल गरिन । खेलमा अग्रता भने २४ औ मिनेटमा नोगोरसेरिभको गोल मार्फत स्विजरल्याण्डले लिएको थियो । जितसँगै क्यामरुनले ३ खेलमा ६ अंक जोडेको छ । उ समुह सी को दोश्रो स्थानमा उक्लिएको छ ।

बिहानै भूकम्पको चार पराकम्पन

असार/ आज बिहानै भूकम्पको चारवटा पराकम्पन गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका बिहान २ घण्टाभित्र भूकम्पको चार वटा पराकम्पन गएको हो । बिहान ८ बजे सिन्धुपाल्चोक र तिब्बत केन्द्रबिन्दु भएर ५ दशलमव १ रेक्टर स्केलको पराकम्पन गएको केन्द्रले जनाएको छ । त्यसअघि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर दुईवटा पराकम्पन गएको थियो । बिहान ६ बजेर १४ मिनेटमा ५ दशलमव २ रेक्टर स्केल र ६ बजेर २६ मिनेटमा ४ रेक्टर स्केलको पराकम्पन गएको केन्द्रले जनाएको छ । बिहान ५ बजेर ५८ मिनेटमा काठमाडौं केन्द्रबिन्दु भएर ४ दशलमव ४ रेक्टर स्केलको पराकम्प गएको थियो । योसँगै बैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको ठूलो भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका ३ सय २० भन्दा धेरै पराकम्पन गैसकेको छ । यसअघि हिजो राती ९ बजेर ५६ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको थियो । ठूलो भूकम्पपछि साना पराकम्पन आउनु स्वभाविक भएकाले नआत्तिन तर सतर्क भने हुन केन्द्रका प्रमुख लोकविजय अधिकारीले आग्रह गरे ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...