Thursday, August 27, 2015

संविधान मस्यौदा सुधार्न सामूहिक प्रस्ताव



  ११ भदौ, काठमाडौं/   नयाँ संविधानको अन्तिम मस्यौदा संशोधनका लागि प्रमुख दलले सामूहिक प्रस्ताव लैजाने तयारी गरेका छन्। संघीयतामा प्रदेश संख्या र सीमा, धर्म, थ्रेसोल्डलगायत विवादित
विषयमा आवश्यक संशोधनका लागि सामूहिक प्रस्ताव लैजाने तयारी भएको हो।
कस्तो संशोधन भन्नेमा भने अहिलेसम्म सहमति जुटिसकेको छैन।

प्रदेशको सीमा र संख्या, धर्म, थ्रेसोल्डलगायत विषयमा दलहरुबीच मतभिन्नता कायमै छ।

प्रदेशको सीमा र संख्यामा असहमत हुँदै आन्दोलनमा रहेका शक्तिहरुसँग सहमति भए त्यही आधारमा सामूहिक प्रस्ताव लैजाने तयारी भएको नेताहरुको भनाइ छ।

यस विषयमा छलफल गर्न प्रमुख चार दलका शीर्ष नेता बैठक बिहीबार पनि पटकपटक बसेको थियो।

संविधानसभा भवन, नयाँबानेश्वरमा भएको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत पक्षसँग वार्ताका लागि पत्र पठाइएको भन्दै त्यसको बेहोरा पढेर सुनाएका थिए।

मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेसी, आदिवासी, थारुका जायज माग सुनिदिन आग्रह गरेका थिए। उनले जायज माग पहिचान गरी सामूहिक प्रस्ताव पारित गर्नुपर्ने पनि औंल्याए।

संविधानसभा बिहीबार बैठकमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि संविधानको विधेयकमा सामूहिक संशोधन प्रस्ताव लगेर सबैको भावना सम्बोधन गर्नुपर्ने बताए।

'मधेस, आदिवासी, थारु, कर्णालीका जनताले अघि सारेका माग संविधान संशोधन गरेर पनि पूरा गर्न सकिन्छ,' पौडेलले भने, 'संविधानको विधेयक संशोधनको प्रस्ताव हामीले सामूहिक रुपमा लैजान सक्छौं।'

उनले सीमांकन अन्तिम नभएकाले व्यावहारिक आधारमा पनि सम्बोधन गर्ने समय बाँकी रहेको बताए। 'अहिले सबैभन्दा बढी चित्त नबुझेको सीमांकनमा हो,' पौडेलले भने, 'यो सीमांकन अन्तिम होइन, व्यावहारिकता हेरेर धेरै फेरबदल गर्न सकिन्छ।'

उनले सीमांकनमा नेपालको सन्दर्भमा अव्यावहारिक विषय घुसाएपछि समस्या आएको पनि बताए।

'सीमांकनका मामलामा केही धारणा र मान्यता अघि सारियो,' उनले भने, 'नेपालका सन्दर्भमा अव्यावहारिक कुरा घुसाउन खोजियो। त्यसको तालमेल नमिल्दा समस्या भयो।'

उनले सदनमा लामो छलफल गरेर समिति, उपसमिति हुँदै संविधानसभामा विषयहरु आएको उल्लेख गर्दै 'कुनै कालो कोठी भएका व्यक्तिको दिमागबाट आएका विषयहरु' नभएको स्पष्ट पारे।

लोकतन्त्रका मूल्य र मान्यता संविधानको विधेयकमा समावेश भएको उल्लेख गर्दै उनले त्यसमा आफूहरुले कुनै सम्झौता नगरेको पनि प्रस्ट पारे।

पौडेलले संविधानको विधेयकमा रहेका कमीकमजोरी सच्याएर अघि बढ्न तयार रहेकाले अहिले नै बढी छटपटिनु नपर्ने पनि औंल्याए।

'सीमाको अन्तिम टुंगो लगाउन संघीय आयोग बन्दैछ,' उनले भने, 'अहिल्यै छटपटाउनुपर्दैन। दुनियाँका संविधान संशोधन भएका छन्। हामी पनि संशोधन गर्दै सुधार्दै अघि बढ्न सक्छौं।'

संविधान विधेयकमाथि आफ्नो धारणा राख्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि संविधान निर्माण प्रक्रिया रोक्न नहुने धारणा राखे।

'अब संविधान रोक्नुहुँदैन,' नेपालले भने, 'लामो समय पर्खिनु पनि हुँदैन। जहिले पनि जहाँ पनि सबैलाई चित्त बुझाउन सकिँदो रहेनछ। देशको अखण्डतालाई बलियो बनाउने खालको संविधान आवश्यक छ।'

उनले 'ट्र्याक टु' मार्फत वार्ता गरेर असहमत दललाई पनि सहमतिमा ल्याउनुपर्ने धारणा राखे।

'प्रधानमन्त्रीलाई धन्यवाद दिन चाहन्छु,' नेपालले भने, 'उहाँले औपचारिक वार्ता आह्वान गर्नुभएको छ। अब ट्र्याक टुमार्फत पनि वार्ता गर्नुपर्छ। तपाईंहरुका माग टेबुलमा प्रस्तुत गर्नुस्, जायज जति पूरा हुनेछन्।'

मस्यौदा धेरै ठूलो भएको र त्यसमा धेरै कुरा दोहोरिएको उनले औंल्याए। 'मस्यौदा ठूलो छ,' नेपालले भने, 'धेरै कुरा दोहोरिएका छन्, यसमा रहेका धेरै शब्द हटाएर स्लिम बनाउन सकिन्छ।'

उनले एउटै कुरालाई धारा र दफामा राखिएको बताए।

'संविधानको एक ठाउँमा उल्लेख भएपछि त्यसले सबै विषयवस्तु बोक्छ। हामीले नै विष रोपेका छौं, त्यसले अहिले पोलिराखेको छ।'

एमाओवादी नेता एवं संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले अब संविधानसभाले संविधान नबनाई असफल हुने छुट नपाउने बताए।

'सबैभन्दा राम्रो जनावर बनाउन खोज्दा भगवानले पनि ऊँट बनाएका थिए,' भट्टराईले भने, 'अहिले संविधानको मस्यौदा त्यस्तो हुनु स्वाभाविक हो। यो इतिहासको आवश्यकता पूर्ति गर्ने दस्तावेज हो।'

उनले राप्रपा नेपालतर्फ इंगित गर्दै राजतन्त्रवादीलाई अहिले पूरै निषेध गरेको अवस्था नरहेको बताए।

'त्यो (राजतन्त्र) नियम र कानुनले होइन, क्रान्तिले अन्त्य गरेको हो। विधि र कानुन पुर्यााएर राजतन्त्रको अन्त्य विश्वमा कहीँ भएको छैन। यसलाई भुल्नुभएन,' भट्टराईले भने।

पुँजीवादी युग संस्थागत गर्दै समाजवादतर्फ जाने कुरामा दुई पक्षबीच विवाद हुनु स्वाभाविक रहेको उनले जिकिर गरे।'

'राजतन्त्रवादीले अहिले दुःखमनाउ गर्ने कुनै कारण छैन। उहाँहरुले टेक्ने ठाउँ भन्नुभएको छ, त्यो दिइएको छ,' उनले भने।

भट्टराईले पहिचान र सामर्थ्यबिनाका प्रदेश बन्न नसक्ने पनि स्पष्ट पारे।

'केन्द्र, प्रदेश र स्थानीय स्वीकार गरेपछि अहिलेको प्रशासनिक क्षेत्र रहँदैन,' भट्टराईले भने, 'जिल्ला, क्षेत्र, अञ्चल अब रहँदैन। अहिले पनि हामी त्यही कुरा गर्दैछौं, यो शोभनीय छैन।'

भट्टराईले देशको कुनै धर्म नहुने भएकाले धर्मनिरपेक्षताबाट पछि फर्किन नमिल्ने पनि औंल्याए।

बहुवर्गीय समाजमा सबैको सम्बोधन हुनुपर्ने धारणा उनको छ। 'कालखण्डमा हामी सबै आन्दोलनकारी हौं,' भट्टराईले भने, 'जनताले जहाज अपरणसम्मका काम गरेकै हुन्, आन्दोलनकारीलाई दुत्कार्ने होइन, वार्तामा बोलाउने हो। शान्ति भनेको बलबाट होइन, वार्ताबाट कायम गर्न सकिन्छ।'

राप्रपा नेपालका सुशील कुमार श्रेष्ठले भट्टराईतर्फ संकेत गर्दै 'क्रान्तिको धङधङी' छाड्न सुझाए।

उनले आफूहरुका पनि जनताको मतबाट संविधानसभामा आएको बताउँदै कसैको विचारलाई निषेध गर्ने काम नगर्न चेतावनीसमेत दिए।

एमाले नेता भरतमोहन अधिकारीले संविधान विधेयकमा ठाउँठाउा देखिएका समस्या सम्बोधन गर्नुपर्ने सुझाए। उनले नेपालजस्तो मुलुकमा हुने चुनावमा राज्यकोषबाट खर्च गर्ने व्यवस्था कायम गर्नुपर्ने पनि बताए।

एमाले नेता रवीन्द्र अधिकारीले जनतालाई अधिकार दिँदा जहिले पनि महँगो पर्ने भए पनि यसलाई महँगो मान्न नहुने धारणा राखे।

'जनताको सहभागितामा संविधान बनेको हो भन्ने सबैले बुझ्नुपर्छ,' अधिकारीले भने, 'सबैभन्दा बढी उत्पीडनमा परेको समुदायको माग सम्बोधन नभए यहाँबाट बाहिर जाँदा पनि हामीले हँसिलो मुख बनाउन पाउनेछैनौं।'

सभासद सीतादेवी यादवले मधेसी जनताको मागमा खेलबाड नगर्न चेतावनी दिइन्। सभासद गंगा चौधरी सत्गौवाले पनि थारुका जायज मागलाई बेवास्ता नगर्न चेतावनी दिइन्।

उनले थरुहट प्रदेश नाम नराखेपछि थारु बसोबासको क्षेत्रलाई नटुक््रयाउन आग्रह गरिन्। बिहीबार बेलुकासम्म २ सय २ जनाले आ–आफ्ना धारणा राखेका छन्। बाँकी सभासदले शुक्रबार र शनिबारसम्म आफ्नो धारणा राखिसक्ने संविधानसभा सचिवालयले जनाएको छ।
- See more at: http://www.nagariknews.com/main-story/story/44253.html#sthash.kygFmriE.dpuf

उपाधीका लागी नेपाल र भारत भिड्ने


१० भदौ,काठमाडौं/  प्रथम साफ अन्डर नाइन्टिन च्याम्पियनसीप

फुट्बल प्रतियोगिताको उपाधीका लागी नेपाल र भारत भिड्ने निश्चित भएको छ । बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलार्इ हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो भने भारतले बंगलादेशलाई सडन डेथमा पाखा लगायो। नेपालले भने अफगानिस्तान विरूद्ध ३–२ को गोल अन्तरले सेमिफाइनलमा जित दर्ता गरेको हो।

खेलको ३४  मिनेटमा स्ट्राइकर अन्जन विष्टले  गोल गर्दै नेपालका लागि खाता खोलेका थिए। त्यसपछि अझ आक्रामक बनेको नेपालले अन्जनकै  ३७ औं मिनेटमा पेनाल्टीमार्फत गोल अन्तर दोब्बर बनाएको थियो । उता अफगानिस्तानका लागी नेपाली
अनन्त तामाङले  आत्मघाती गोल गरेका थिए भने तेस्रो गोल  ५३ औं मिनेटमा सुनिल बलले गरे । अफगानिस्तानकातर्फबाट ७२ औं मिनेटमा मेहदी रेजाइले गोल गरेका थिए । भारतले भने बंगलादेशलाई सडन डेथमा ४–३ ले पराजित गरेको हो । निर्धारीत ९० मिनेट सम्म दुबैले गोलरहित बराबरी खेलेपछि खेल सडन डेथ सम्म पुगेको थियो । 

टीकापुरमा कर्फ्यू अवज्ञा गर्नेमाथि गोली प्रहार


१० भदौ /  कैलालीको टीकापुर दुर्गौलीमा सुरक्षाकर्मीको गोली लागेर बिहीबार एक व्यक्ति घाइते भएका छन्। सुरक्षाकर्मीको गोली लागेर सुगरखाल गाविस १, फल्लेबिसौनीका २० वर्षीय जगतराज देवकोटा घाइते भएका छन्। गस्तीमा खटिएको सुरक्षाकर्मीले कर्फ्यूको समयमा मोटरसाइकल चलाएका देवकोटालाई रोक्न नमानेपछि गोली चलाएको बताइएको छ। उनको पेट र घुँडामा गोली लागेको छ। टीकापुर अस्पतालमा उपचार हुन नसकेपछि देवकोटालाई नेपालगञ्ज मेडिकल कलेज रिफर गरेको डा. लालसिंह टमट्टाले जानकारी दिएका छन्। उनको अवस्थामा चिन्ताजनक नरहेको डा.टमट्टाले बताएका छन्  

मधेसको आन्दोलन मधेसी दलले नगरेको गुप्ताको भनाइ





१० भदौं,काठमाडौं/  तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ताले मधेसमा जारी आन्दोलन असन्तुष्ट तराई–मधेस केन्द्रीत दलको नेतृत्व नभएको बताएका छन्। तराई-मधेसमा स्वतः स्फुर्त आन्दोलन सुरु भएपछि मात्र त्यसको नेतृत्व गर्न संविधानसभामा प्रतिनिधित्व गर्न तराई(मधेस केन्द्रीत दल पुगेको गुप्ताको दाबी छ। मधेस र मधेसी जनताको मुद्दाको सही प्रतिनिधित्व ती दलबाट हुन नसक्ने पनि गुप्ताको जिकिर प्रस्तुत भएको छ।
मधेसमा जारी आन्दोलन उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महत्तोले गरेका होइन, आन्दोलन स्वतः स्फुर्त भइरहेको छ,गुप्ताले नागरिकन्युजसँगको कुराकानीमा भने, मधेसमा आन्दोलन सुरु भएपछि मात्र त्यसलाई क्याच गर्न मधेसमा झरेका हुन् तर हिजो सत्तामा पुगेर पनि मधेसी जनतालाई केही नगरेको यो नेतृत्वलाई जनताले पत्याएका भने छैनन, जसका कारण पनि यिनीहरुको नेतृत्वमा आन्दोलनले उचाई लिन सकिरहेको छैन्। तराई - मधेसको मुद्दामा नेतृत्व गर्ने अर्को शक्ति हाल नभएकाले मात्रै केन्द्रमा ती दल देखिएका हुन्।

तराई-मधेस दलको आन्दोलनको कुनै उद्देश्य नभएको र मागबारे प्रस्टता नभएको पनि गुप्ताको आरोप छ। जनकपुर र बिराटनगर लगायत धेरै ठाउँमा उनीहरुलाई घेरेर सोधिएको छ( तपाईहरुले मधेसमा १, २ अथवा ३ कत्ति प्रदेश बनाउन चाहेको हो, नागरिकतामा ठोस धारणा के होरु जस्ता प्रश्न राखेर बारम्बार मधेसी जनताले सोधेका छन, तर यो कुरा मिडियाले लेख्दैनन, गुप्ताले अगाडि भने, तर, गोलमोटल जवाफ दिएर मधेसी जनतालाई अझै पनि झुक्याउने काम गरिरहेका छन्, जनताका सबालको जवाफ दिन नसकेर हायल कायल भइरहेका छन्।

संविधानसभाको जारी प्रक्रियालाई नै बहिस्कार गर्दै आएका संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टी र तराई मधेस सदभावना पार्टी बिच नै एकता हुन नसकेको उनको भनाइ छ।

राजेन्द्र महत्तो राजीनामा दिएर हिँड्छन, उपेन्द्र, महन्थ र महेन्द्र यादव राजीनामा दिनै मान्दैनन, त्यस्तै राजेन्द्र उग्र कुरा गरेर हिँडिरहेका छन् तर महन्थजी भने नरम हुदैँ वार्ताका लागि तयारी देखिएका छन्,गुप्ताले भने, राजीनामा दिएर बाहिरिनेमा यिनीहरुबीच कुरा मिल्छ, न सरकारसँग वार्तालाई हेर्ने दृष्टिकोण नै मिल्छ तैपनि भन्छन, हामी एक छौं। उक्त दुई उदाहरणले नै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवबद्ध दलबीचमै एकता हुन नसेको पुष्टि गरेको उनले जनाएका छन्।

मुख्यतः गत जेठ २५ प्रमुख दल बिच भएको १६ बुदेँ सहमति प्रति असन्तुष्टी जनाउँदै यी दल आन्दोलनमा छन् । आन्दोलन असन्तुष्ट ४ दलको नियन्त्रण भन्दा बाहिर रहेकाले तत्कालै साम्य हुने स्थीति नभएको उनको बिश्लेषण छ ।

मधेसी जनतालाई अधिकार प्राप्त गर्नका लागि अतिवादी शक्ति र हिजो सत्तामा रहेर पनि मधेसका लागि केही गर्न नसकेको आरोप खेपिरहेका दल बाधक बन्दै गएको गुप्ताको पछिल्लो बिश्लेषण छ । एउटा अतिवादी र अर्को अवसरवादी शक्तिका कारण मधेसी जनता थप अन्यायमा परिरहेका छन्, यी दुवै शक्तिका पछाडी मधेस जनता लाग्ने छैनन्, लागेका पनि छैनन् गुप्ताले भने, तर, आफनो अधिकारका लागि मधेसी जनता पछाडी हटनेवाला पनि छैनन ।

स्वतः स्र्फुत रुपमा उठेको आन्दोलनले नयाँ नेतृत्वको खोजी गरिरहेको गुप्ताले जनाएका छन् । अतिवादी र अवसरवादी शक्तिको खिलाफमा एउटा अर्को शक्तिको खोजी मधेसी जनताले गरिरहेका छन, त्यसको जसले नेतृत्व गर्न सक्छ, मधेस अब उसैले हाँक्छु गुप्ताको निष्कर्ष छ ।

Wednesday, August 26, 2015

निषेधाज्ञा तोड्न खोज्दा परासीमा प्रहरीले गोली हान्यो, दुई घाइते


 भदौ ९ , नवलपरासी /   आन्दोलनकारीले निषेधाज्ञा तोड्न खोजेपछि नवलपरासीको परासीमा गोली चलेको छ । प्रर्दशनकारीले भूमही-भैरहवा वाइपास रोडको बाल गोविन्द पेट्रोल पम्पबाट निषेधाज्ञा तोड्न खोज्दा प्रहरीसँग झडप भएको हो । झडपको क्रममा प्रहरीले गोली चलाएको हो । गोली लागेर दुई जना घाइते भएका छन् । प्रहरीले चलाएको गोली लागेर नवलपरासीको सनई -९ का ५० वर्षका बिहड धोबी र रामग्राम-५ का ४५ वर्षकी मुना जयसवाल घाइते भएका छन् । भैरहवामा उपचारतर दुवैको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । प्रहरीले निषेधाज्ञा नतोड्न आग्रह गर्दा नमानेकाले झडप भएको र अश्रुग्यास, हवाइफायर गर्दा पनि नभएपनि गोली चलाउनु परेको सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुंगानाले बताए ।

कैलालीमा धोकापूर्ण ढंगले प्रहरीको हत्या भयो - ओली


९ भदौ, काठमाडौं/  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा भड्काउने र संविधान निर्माण प्रक्रिया असफल बनाउने षड्यन्त्र भएको बताएका छन् ।

संविधानसभामा संविधानको विधेयकमाथि सुरु भएको छलफलमा भाग लिँदै एमाले अध्यक्ष ओलीले कैलाली लगायतका स्थानमा भएको घटना त्यसको उदाहरण भएको बताए । उनले भने-‘हिंसा भड्काउन खोजिएको छ । यो दुःखद हो । संविधान निर्माण प्रक्रिया विथाल्ने, समाजिक सद्भाव खलबल्याउने र विध्वंस मच्चाउने प्रयास भएका छन् ।’
एमाले अध्यक्ष ओलीले कैलालीमा धोकापूर्ण ढंगले प्रहरीमाथि हमला भएर हत्या भएको बताए । उनले जातीय वा साम्प्रदायिकता भड्काउन खोज्नेहरुबाट सजग रहनु पर्ने बताए । ‘घरमा सुतिरहेको बच्चालाई गोली हानेर मारिएको छ’ एमाले अध्यक्ष ओलीले भने-‘यसले देखाउँछ परिस्थिति विथोल्न खोज्नेहरुले मानवियता बाँकी नभएको अवस्थामा पुर्याएको छ । यस्तो अमानवीय कुरासँग हामी होसियार हुनुपर्छ ।’
कुनै असहमति छन् भने सम्वाद गर्न सकिने भन्दै उनले हतियारको भाषा बोल्ने गैरजिम्मेवार तरिकाप्रति आफूहरु सहमत हुन नसक्ने बताएका छन् । उनले भने,-‘कहिँ कतै कमजोरी छन् भने संशोधन राख्न सक्छौं । तर, हिंसा भड्काएर आगजनी गरेर कुनै कुरा पुरा हुँदैन ।’
एमाले अध्यक्ष ओलीले संविधान सम्झौतासहितको सहमतिको दस्तावेज भएको भन्दै सबैका कुरा सामेल गर्न नसकिने बताए ।
- See more at: http://www.onlinekhabar.com/2015/08/317107/#sthash.7fdms9g6.dpuf

सेना परिचालन फिर्ता लिन वैद्यको माग


, ९ भदौ,काठमाडौँ/  नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले कैलालीलगायतका जिल्लामा गरिएको सेना परिचालन फिर्ता लिन माग गर्नुभएको छ ।
पार्टी कार्यालय बुद्धनगरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले कैलालीको टीकापुरमा सोमबार भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै गृहप्रशासनको लापर्बाहीका कारणले सो घटना भएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, “चालीस हजारको जुलुसलाई रोक्न ४० जनामात्रै प्रहरी किन परिचालन गरेको ?, राज्यको लापर्बाहीले कैलाली घटना घटेको हो ।”
अध्यक्ष वैद्यले कैलालीमा प्रशासनको मिलेमतोमा उत्पीडित थारु समुदायलाई दमन गर्न थालिएको भन्दै त्यसलाई रोक्न पनि माग गर्नुभयो ।
संविधानसभाको अहिलेको प्रक्रिया रोकी सर्वपक्षीय राजनीतिक सभामार्फत निकास निकाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सेना परिचालन र निषेधाज्ञा लगाएर ल्याइएको संविधान दिगो नहुने बताउँदै उहाँले आन्दोलनरत सबै पक्षसँग संवादमार्फत समाधान खोज्न आग्रह गर्नुभयो ।
उहाँले सरकारले आफूहरुलाई वार्तामा नबोलाएको स्पष्ट पार्दै वार्ताका लागि आफ्नो दल तयार रहेको जानकारी दिनुभयो । साम्प्रदायिक गतिविधिको अन्त्य तथा सामाजिक सद्भाव कायम गर्न पनि अध्यक्ष वैद्यले अपिल गर्नुभएको छ । रासस

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...