Thursday, March 16, 2017

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि सुरु


यसवर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि सुरु भएको छ । परीक्षाको पहिलो दिन अहिले अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षामा कुल ५ लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी छन् । जसमध्ये नियमिततर्फ २ लाख ३५ हजार ३ सय २ छात्रा र २ लाख ३३ हजार ९८ छात्र छन् । 
see
परीक्षाका निम्ति देशभरि १ हजार ९ सय २३ केन्द्र, त्यत्ति नै संख्यामा केन्द्राध्यक्ष, २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४ सय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार ५ सय ९१ जनशक्ति खटाइएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका रेग्मीले बताउनुभयो । परीक्षामा अमर्यादित कार्य वा नियम उल्लंघन गरेमा कडा कारबाही गरिने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा अनुगमनका निम्ति मन्त्रालयले सहसचिवको नेतृत्वमा १८ वटा अनुगमन टोली खटाएको छ । क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लामा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिको अनुगमन टोली खटिएको जनाइएको छ । यसैबीच माध्यमिक शिक्षा परीक्षा अवधिभर देशरभर लोडसेडिङ नगर्ने भएको छ ।

विद्यार्थीको परीक्षालाई लक्षित गर्दै मुलुकभर लोडसेडिङ अन्त्य गरिएको प्राधिकरणले जनाएको छ । नदीहरुमा पानीको सतह बढेकाले लोडसेडिङ अन्त्य गर्न सकिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताउनुभयो । परीक्षा अवधिभर विद्युत खपत कम हुने सामाग्री प्रयोग गर्न प्राधिकरणले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

चैत्र ३, २०७३

विकास कानुन संहिताको मस्यौदा संसदमा दर्ता गर्न सरकारलाई विकास समितिको निर्देशन

व्यवस्थापिका संसदको विकास समितिले राष्ट्रिय गौरवका आयोजनालाई दु्रतमार्गबाट समयमै सम्पन्न गर्न आवश्यक पर्ने विकास कानुन संहिता मस्यौदा गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरवारमा आज बसेको समिति बैठकले राष्ट्रिय योजना आयोगसँगको छलफलपछि सरकारलाई यस्तो निर्देशन दिएको हो । समितिले कानुन संहिताको मस्यौदा एक महिनाभित्र संसदमा दर्ता गराई सक्न सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आयोगलाई समितिले निर्देशन दिएको हो ।
sambidhan-sabha
राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगतिप्रति असन्तुष्टि जनाउँदै समिति सदस्यहरुले यथाशिघ्र कार्यान्वयमा जोड दिएका थिए । समितिका सभापति रविन्द्र अधिकारीले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बिना नै आयोजनाहरु अघि बढाउँदा समस्या भइरहेको बताउनुभयो । 

समितिले योजना आयोगलाई योजना बैंक (प्रोजेक्ट बैंक) को रुपमा काम गर्न निर्देशन दिएको छ । स्थानीय तहको पुनसंरचना भइसकेको अवस्थामा अब बनाइने योजनाहरु संघीयता मैत्री हुनु पर्नेमा समिति बैठकले जोड दिएको छ । स्थानीय तहको संरचनामा भएको परिवर्तनले हालको परियोजना चक्रमा केही परिवर्तन गर्नु पर्ने देखिएकाले सो सम्बन्धमा स्पष्ट अवधारणा तयार गर्न समितिले आयोगलाई निर्देशन दिएको छ ।

योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले निर्वाचनलाई आधार मानेरै आगामी आर्थिक वर्षको बजेट जेठ १५ मा आएलगतै १६ गतेबाट स्वत अख्तियारी हुने र असोजभित्रमा सबै आयोजनाका टेन्डरहरु भइसक्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो । आयोगका सदस्य डा. स्वर्णीम वाग्लेले राष्ट्रिय गौरवका आयोजनाको निर्धारण र कार्यान्वयन सम्बन्धी प्रारम्भिक मस्यौदा तयार भएको जानकारी दिनुभयो ।

चैत्र २, २०७३

Wednesday, March 15, 2017

श्रीलंकाको खराब प्रदर्शन



उत्तम रिजाल,  बंगलादेश विरुद्धको दोस्रो टेष्टको पहिलो इनिङ्गमा श्रीलंकाले खराब प्रदर्शन गरेको छ । कोलम्बोमा टस जितेर ब्याटिङ्ग गरेको घरेलु टोलिले पहिलो दिनको खेल सकिंदा सम्म ८३.१ ओभर खेल्दै ७ विकेटको क्ष्यतिमा २ सय ३८ रन बनाएको छ । क्रिजमा दिनेश चण्डीमाल सर्बाधिक ८६ रनमा अविजित छन् ।


उनले २ सय १० बलको सामनामा ४ चौकाको सहायताले सो रन बनाएका हुन् । उनलाई कप्तान रंगना हेराथले ६३ बलमा २ चौकाको सहायताले १८ रनमा साथ दिइरहेका छन् । यसअघि ओपनर दिमुथ करुनारत्नेलाई पहिलो विकेट स्वरुप ७ रनमा गुमाएको श्रीलंकाले कुशल मेण्डिसलाई दोस्रो विकेट स्वरुप ५ रनमा गुमाएको थियो ।


त्यसपछि अर्का ओपनर उपल थारंगा ११ तथा गनारत्ने १३ रनमा आउट हुँदा धनन्जय डे शिल्भा र निरोशन डिकवेलले समान ३४ रनको योगदान दिए । त्यसपछि दिलरुवान परेराले ९ रनमा चित्त बुझाए । बलिङ्गतर्फ मुस्तफिजुर रहमान र मेहेदि हसनमिराजले २/२ तथा सुबाशिस रोय, तैजुल स्लाम र सकिब अल हसनले समान एक विकेट लिए ।


भोलि दोस्रो दिनको खेल शुरुहुँदा घरेलु टोलिले ७ विकेटको क्ष्यतिमा २ सय ३८ रनबाट खेल्न शुरु गर्नेछ ।


२ चैत्र,२०७३

Monday, March 13, 2017

दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी


उत्तम रिजाल,   आइसिसि वल्ड क्रिकेट लिग च्याम्पियनसिपको केन्या विरुद्धको दोस्रो खेलमा नेपाल विजयी भएको छ । नेपाल आज ७ विकेटले विजयी भएको हो । पहिलो खेलमा पराजय भोगेर दवावमा रहेको नेपालले आजको जितसँगै केहि आशा भने जगाएको छ । 

किर्तिपुर स्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ्ग गरेको पाहुना टोली केन्याले प्रस्तुत गरेको एक सय ५६ रनको लक्ष्य नेपालले खेल सकिन एक सय १८ बल अगावै पुरा गरेको थियो । नेपालका लागि कप्तान तथा ओपनर ज्ञानेन्द्र मल्लले सर्बाधिक अविजित ६४ तथा दिपेन्द्रसिंह ऐरीले ६२ रनको योगदान दिए । ९३ बलको सामना गरेका मल्लले ८ चौका र एक छक्का प्रहार गरे । उता सिनियर टोलीबाट दोस्रो अन्तराष्ट्रिय प्रतियोगिता खेलेका ऐरीले ६६ बलमा ८ चौका र एक छक्का प्रहार गरेका थिए । उनको अन्तराष्ट्रिय प्रतियोगिताको दोस्रो सर्वाधिक रन हो ।

 यस अघि गत बर्ष मात्र अन्डर नाइन्टिन एशिया कपको समुह चरणको खेलमा श्रीलंका विरुद्ध ९० रन बनाएका थिए । सो खेलमा उनी एलबीडब्लु धरापमा परेसँगै नेपाल एक रनले पराजित भएको थियो । त्यस्तै आज शरद भेष्वाकरले आफ्नो आक्रामक खेल देखाए । ११ बल मात्र खेलेका उनी ४ चौका र एक छक्का प्रहार गर्दै २४ रनमा अविजित रहे । उनले ३१ औं ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दा नेपालले एक सय ६० रन जोड्यो । अर्का ओपनर सुनिल धमला एक तथा सागर पुन ५ रनमा पेवेलियन फर्किए ।

 केन्याले एक वाइ,दुई लेगवाई र एक वाइड गरी चार रन अतिरिक्त दिएको थियो । यसअघि पहिले ब्याटिङ्ग गरेको केन्या ४६ दशमलव एक ओभरमा एक सय ५५ मा समेटिएको थियो । उसका लागि कोलिन्स ओमोन्दी ओवुयाले सर्बाधिक ४८ तथा ओपनर इर्फान करिमले ३८ र कप्तान राकेप पटेलले २१ रन जोड्न बाहेक अन्यले खासै प्रदर्शन गर्न सकेनन् । केन्यालाई सस्तैमा समेट्ने क्रममा अलराउण्डर शरद भेष्वाकरले ४, मेहबुब आलम र बसन्त रेग्मीले दुई/दुई तथा संदिप लामिछाने र सागर पुनले एक/एक विकेट लिएका थिए । जितसँगै नेपालको अघिल्लो चरण पुग्ने सम्भावना कायमै रहेको छ ।

३० फागुन,२०७३

Sunday, March 12, 2017

रङहरुको पर्व होली पहाडी जिल्लामा उत्साहका साथ मनाइयो

रङहरुको पर्व होली उपत्यका सहित पहाडी जिल्लामा आज आपसी सद्भाव, उत्साह र हर्सोल्लासका साथ मनाइएको छ । असत्यमाथि सत्यको जितको प्रतिकका रुपमा यो पर्ब मनाउने गरिन्छ । राजधानीका विभिन्न स्थानमा सामुहिक कार्यक्रम आयोजना गरेर होली खेलिएको छ । 

पहाडी जिल्लामा आज मनाइएको होली तराईमा भने भोली मनाइदैछ । सरकारले पहाडी जिल्लामा आज र तराई मधेसमा भोली सार्वजनिक बिदा दिएको छ । होलीका क्रममा अहिलेसम्म कुनै अपृय घटना नभएको प्रहरीले जनाएको छ । 

काठमाण्डौको बसन्तपुरमा एक साता अघि विधिपूर्वक चिर ठड्याएपछि होली पर्व शुरुवात भएको थियो । असत्यमाथि सत्यको जीतको सुचकका रुपमा ठड्याइएको चीरलाई आज टुँडीखेलमा विर्सजन गर्ने चलन छ । 

यसैबीच होलीको अवसरमा शुभकामना दिंदै राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीमा खुसीका रङहरु छर्दै हर्षोल्लास र शान्तिको सन्देश फैलाउन सकोस् भन्ने कामना गर्नुभएको छ । होलीले नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्दै सबै संस्कृति एवम् परम्पराको संरक्षण र संवद्र्धन गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि राष्ट्रपतिले गर्नुभएको छ ।
२९ फागुन,२०७३

Wednesday, February 1, 2017

निर्वाचन मिति घोषणाको तयारीमा प्रधानमन्त्री, छलफल जारी

निर्वाचन मिति घोषणाको अन्तिम तयारीमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले कानुनमन्त्री र सरकारका कानुनी सल्लाहकारसँग छलफल गरिरहनु भएको छ । 

कानुनमन्त्री अजयशंकर नायक र महान्यायाधिक्ता रमन श्रेष्ठलाई राजधानीको वालुवाटारस्थित सरकारी निवासमा बोलाएर प्रधानमन्त्री दाहालले निर्वाचनको मिति र संविधान संशोधन विधेयकमा राय माग्न लाग्नु भएको हो । आज अपरान्ह बस्ने मन्त्रीपरिषद् बैठकमा निर्वाचनको मिति घोषणा प्रस्ताव लैजाने तयारी भएपछि प्रधानमन्त्रीले त्यसको कानुनी बाटो बारे छलफल थाल्नु भएको हो । 

छलफलमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री प्रकाशसरण महत, शहरी बिकास मन्त्री अर्जुनरसिंह केसी पनि सहभागी हुनु भएको वालुवाटार स्रोतले जनाएको छ ।  यसअघि प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री महतसँग बिभिन्न मुलुकमा राजदूत नियुक्तीमा भईरहेको ढिलाईबारे छलफल गर्नुभएको थियो । संसदीय समितिले चाडो राजदूत नियुक्ति प्रक्रिया सुरु गर्न निर्देशन दिएपछि मन्त्री महत परराष्ट्र सचिव शंकरदास बैरागी सहित वालुवाटार पुग्नु भएको थियो ।  

प्रधानमन्त्री दाहालले आजै बिहान अर्थ सचिव शान्तराम सुवेदी र गर्भनर चिरञ्जीवी नेपालसँग समेत पछिल्लो आर्थिक अवस्थाबारे छलफल गर्नु भएको थियो । 
 २० माघ, २०७३

संसदले निर्वाचनसम्बन्धी थप विधेयक आज पारित गर्दै

ब्यवस्थापिका संसदले आज निर्वाचनसम्बन्धी थप विधेयक पारित गर्दैछ । राज्यब्यवस्था समितिले हिजोको बैठकमा प्रतवेदन सहित प्रस्तुत गरेको स्थानीय तह निर्वाचनसम्बन्धी विधेयक छलफल पछि पारित गर्न लागेको हो । समिति सभापति दिलबहादुर घर्तीले विधेयकमाथिको दफावार छलफलका क्रममा प्राप्त सुझाव र सहमतिलाई समेटेर प्रतिवेदन हिजोको बैठकमा पेस गर्नुभएको थियो ।

nepali-constituent-assembly-24012017093802-1000x0
दिउँसो एक बजे बस्ने संसद बैठकले सो विधेयक सामान्य छलफलपछि पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । योसँगै संसदले निर्वाचनसम्बन्धी चार वटा विधेयकलाई अन्तिम टुंगो लगाउनेछ । राजनीतिक दलसम्बन्धी विधेयक भने राज्यब्यवस्था समितिमा छलफल कै क्रममा छ । समितिको आज बस्ने बैठकले सो विधेयकमा रहेको थ्रेसहोल्डमा कायम रहेको विवाद अन्त्यको प्रयास आज पनि गर्ने समिति सदस्य रामेश्वर फुँएलले जानकारी दिनुभयो । यद्यपी बैठकको समय भने निर्धारण भएको छैन ।
संसदले यसअघि निर्वाचन कसुर तथा सजाय, मतदाता नामावली र निर्वाचन आयोगको काम, कर्तब्य र अधिकारसम्बन्धी तीन वटा विधेयक पारित गरिसकेको छ । थप चार वटा विधेयक संसदमा दर्ता हुन बांकी छन् । राष्ट्रिय सभा सदस्य निर्वाचन, प्रतिनिधिसभा सदस्य निर्वाचन, प्रदेश सभा निर्वाचन र निर्वाचन क्षेत्र निर्धारण आयोगसम्बन्धी विधेयकको मस्यौदा तयार हुन सकेको छैन ।
२० माघ, २०७३

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...