Tuesday, December 20, 2016

४ पुस,२०७३।  सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलमा सेनाको त्रिभूवन आर्मी  र नेपाल पुलिस क्लवले  लगातार दोश्रो जित निकालेका छन् । 
सुनसरीको दुहबीमा भएको खेलमा आर्मीले पूर्वाञ्चललाई ३-० ले हरायो । आर्मीका लागि सुष्मिता तामाङ्गले १५ औं मिनटमा गोल गरिन् गरिन भने  खेलको ५४ औं र ७० औं मिनटमा ईन्दिरा राईले गोल गर्दै आर्मीको जित पक्का गरिन् । आर्मीकी ईन्दिरा राई वुमन अफ द म्याच चुनिइन् । अर्को खेलमा प्रहरीले पश्चिमाञ्चललाई ४- ० ले पाखा लगायो । विजयी टिमका लागि वुमन अफ दि म्याच यशोदा लामाले खेलको १९ औं मिनटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि २९ औं मिनटमा निरु थापाले गोल गर्दै गोल संख्यालाई दोब्बर पारिन् । यस्तै श्रृजना खड्काले खेलको ४६ औं मिनटमा गोल थपिन् । त्यसपछि ५७ औं मिनटमा मञ्जु गुरुङ्गले गोल  गरिन् । जितसँगै दुबै टोलिले उपाधि दाबेदारी प्रस्तुत गरेका छन् ।

मलेशिया विरुद्ध नेपालको कठिन जित


उत्तम रिजाल, ३ पुस,२०७३  ।    श्रीलंकामा जारी अण्डर नाइन्टिन एशिया कप क्रिकेटमा नेपालले कठिन जित हात पारेको छ । आज सम्पन्न समुह चरणको अन्तिम खेलमा नेपालले मलेशियालाई एक विकेटले पराजित गरेको हो ।

कोलम्बोमा टस हारेर ब्याटिङ्ग गरेको मलेशियाले ४४ दशमलव ४ ओभरमा एक सय ५३ रन बनाएको थियो । उसका लागि कप्तान विरन्दिप सिंहले सर्वाधिक ७५,मोहम्मद हासिफले २१ र सैफ उल्लाह मल्लिकले ११ रनको योगदान दिन बाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् । आठ रनमा पहिलो विकेट गुमाएको मलेशियाले दोस्रो विकेट पनि आठ रनमै गुमाएको थियो । ४८ मा तेस्रो,५७ मा चौथो,७३ मा पाँचौ,७९ मा छैटौ,८५ मा सातौ,एक सय २० मा आठौ र एक सय ३७ मा नौ औं विकेट गुमाएको थियो । मलेशियालाई सस्तैमा समेट्ने क्रममा बलिङ्गतर्फ नेपालका आदिल खानले तीन तथा कप्तान संन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए ।
nepal-u19-team2
जबाफमा एक सय ५४ रनको झिनो लक्ष्य लिएर मैदान उत्रिएको नेपालले ओपनर आसिफ सेखलाई एक तथा अर्का आक्रामक ब्याट्समेन आदिल खानलाई विना कुनै रनमा गुमाएको थियो । टिमको स्कोर ६ रन भएको अबस्थामा दुई विकेट गुमाएको नेपालले ३९ रनमा तेस्रो विकेट गुमाएको थियो । त्यसपछि दबाबमा रहेको नेपालले ६२ मा चौथो विकेट गुमायो । ओपनर अभिनास कर्ण २९ रन जोड्दै आउट भए । त्यसपछि आस गरिएका दिपेन्द्रसिंह ऐरी पनि २२ रन जोड्दै आउट हुँदा नेपालले मात्र ८० रन जोडेको थियो । त्यसपछि विकेट किपर प्रकाश केसी दोस्रो बलको सामना गर्ने क्रममा विरन्दिप सिंहको बलमा एलबीडब्लु धरापमा पर्दा नेपालले ८० रनमै छैटौ विकेट गुमाएको थियो । त्यसपछि पराजय उन्मुख रहेको नेपालका लागी रोहित कुमार पौडेलले केहि सम्माले पनि उनीपनि १२ रन जोड्दै मोहम्मद अमिरको बलमा बोल्ड आउट भए ।
nepal-2016
त्यपछि झन दबाबमा रहेको नेपालले एक सय ८ रनमा आठौ विकेट गुमाएको थियो । आठौ विकेट झरेसँगै समुह चरणको अन्तिम खेलमा मात्र भएपनि जित निकाल्ने सोचमा रहेको नेपाल पराजय नजिक पुगेको थियो । त्यसपछि अनिल शाहाले सम्मालिदै ब्याटिङ्गगर्दा टिमलाई जित नजिक पुर्याए । उनले ६६ बलको सामना गर्दै ३२ रनको योगदान दिए । उनी नौ औं विकेट स्वरुप आउट हुँदा नेपालले एक सय ४५ रन जोडेको थियो । शाहालाई पबन सराफले साथ दिएका थिए । सराफ ६७ बलको सामना गर्दै २ चौका र एक छक्काको मद्दतमा २९ रनमा अविजित रहे । टिमलाई जित दिलाउने क्रममा अन्तिम विकेटका रुपमा क्रिजमा आएका कप्तान संन्दिप लामिछानेले तीन बलमा तीन रनको योगदान दिए । यसअघि समुह चरणका दुई खेल गुमाएसँगै प्रतियोगिताबाट बाहिरीसकेको नेपालले जितको स्वाद पाएपनि आस गरिए अनुसारको भने खेल खेल्न सकेन् । नेपाल पहिलो खेलमा आयोजक श्रीलंकासँग एक रनले र दोस्रो खेलमा इण्डीयासँग ६ विकेटले पराजित भएको थियो ।

Friday, December 16, 2016

५ नम्बर प्रदेशका विभिन्न जिल्लामा पुनः आन्दोलन चर्कियो, प्रहरी र प्रदर्शनकारीबीच झडप

पुस १, २०७३ ।  प्रदेश सीमाङ्कन हेरफेर गर्नेगरी सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकको विरोधमा ५ नम्बर प्रदेशका विभिन्न जिल्लामा पुनः आन्दोलन चर्किएको छ ।
जसले गर्दा १७ दिनदेखि बन्द रहेको गुल्मीमा आज प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनकारीले सरकारी कार्यालयमा तोडफोड गरेका छन् । झडपमा एकदर्जन बढी घाइते भएका छन् । प्रहरीले भीड नियन्त्रण गर्न झण्डै २ दर्जन राउण्ड अश्रु ग्यास प्रहार गरेको हाम्रा सहकर्मी घनश्याम गौतमले जनाएका छन् । प्रदर्शनकारीले जिल्ला प्रशासन र जिल्ला विकास समितिको कार्यालय तोडफोड गरेका छन् । 

त्यस्तै जिविसको बा १ झ ६६८१ नम्बरको ल्याण्ड क्रुजर गाडी जलाएका छन् । जिल्ला प्रशासन, शिक्षा, वन र हुलाक कार्यालयमा प्रदर्शनकारीले लगाएको ताला प्रहरीले खोल्ने क्रममा झडप भएको हो । नेकपा मालेकी सांसद कमला विश्वकर्मा सहित एक दर्जन प्रदर्शनकारी र ४ जना प्रहरी घाइते भएका छन् । यस्तै बाँके, रुपन्देही र पाल्पामा समेत बन्द आव्हान गरिएको छ । बाँकेमा बन्दको अवज्ञा गरेको भन्दै प्रर्दशनकारीले केही सवारीसाधनमा तोडफोड  गरेका छन् । 

पुष्पलाल चोकमा सडक डिभिजन कार्यालयको भे १ प ५६३ नम्वरको मोटरसाइकल र बिपीचोकमा निजी कार तोडफोड गरेको प्रहरीले जनाएको छ । यस्तै, रुपन्देहीमा समेत आमहड्तालले जनजीवन प्रभावित भएको छ । यस्तै, निरन्तर ११ दिन पाल्पा बन्द गरेर केही दिनलाई स्थगित गरेको संयुक्त संघर्ष समितिले पुनस् दुई दिने आमहड्ताल घोषणा गरेपछि जनजीवन कष्टकर बनेको छ । बर्दियामा पनि आज बन्द आव्हान गरिएको थियो ।

संशोधन प्रस्तावमा केही दलले बिमति राख्नुको कुनै तुक छैन्–प्रम दाहाल

पुस १, २०७३ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावमा केही दलले बिमति राख्नुको कुनै तुक नभएको बताएका छन् ।
सम्वाद र सहमतिबाट मात्र निकास सम्भव रहेको उल्लेख गर्दै उनले कसैको मागले मात्र संशोधन प्रस्ताव फिर्ता नहुने बताए ।  तर, उनले सहमतिमा संसदीय प्रक्रियाबाट यसलाई परिमार्जन गर्न भने सकिने बताए । पोखरामा आज सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले बिगतमा दलहरुले सहमति जनाएकै बिषयलाई समेटेर सरकारले विधेयक ल्याएको उल्लेख गर्नुभयो । उनले भने, विगतमा आफैले सहमति जनाएका बिषयमा अहिले विरोध गर्नुको कुनै अर्थ नभएको बताए ।  


सरकारले दर्ता गराएको प्रस्तावले राष्ट्रिय हित र एकतामा कुनै आँच नआउने दावी गर्दै प्रधानमन्त्री दाहालले सबैको सहमतिमा राष्ट्रिय संकटको समाधान खोज्न सरकार प्रयासरत रहेको उल्लेख गरे । उनले भने, ‘सरकार सहमतिमै राष्ट्रिय संकटको समाधान चाहन्छ । म हिमाल, पहाड र तराईलाई मिलाएर राष्ट्रिय एकता हासिल गर्ने र संविधान कार्यान्वयन गर्ने प्रयत्नमा छु । यसलाई गलत अर्थमा व्याख्या गर्नु कसैको हितमा छैन ।


प्रधानमन्त्री दाहालले सरकार स्थानीय तहको निर्वाचनकै पक्षमा रहेको बताएका छन् । पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्नेबारे प्रमुख दलहरु निश्कर्षमा पुगी नसकेको जानकारी दिदै उनले पुरानो वा नयाँ संरचनामा स्थानीय निकायको निर्वाचन गर्ने भन्नेबारे केही दिनभित्रै निश्कर्षमा पुग्ने उल्लेख गरे ।  सरकार बैशाखसम्म स्थानीय तहको निर्वाचन गर्ने तयारीमा रहेको उनले बताए । 

१० प्रतिशत निशुल्क स्वास्थ्य सेवा प्रक्रिया आजबाट शुरु

पुस १, २०७३ ।    निजी स्वास्थ्य संस्थाहरुले बिपन्न, असहाय र वेवारिसे नागरिकलाई कुल शैयाको १० प्रतिशत निशुल्क स्वाथ्य सेवा दिने प्रक्रिया आजबाट शुरु गरेका छन् । सरकारले स्वास्थ्य निर्देशिकामा रहेको बिपन्न, असाहय र असक्त बर्गलाई निशुल्क सेवा दिने सम्बन्धी व्यवस्थालाई आजबाट अनिवार्य रुपमा कार्यान्वयन गराउन निर्देशन दिइसकेको छ ।
निशुल्क स्वास्थ्य सेवा लिनका लागि गाविस वा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, स्वास्थ्य मन्त्रालय र काठमाडांैको हकमा बीर अस्पतालको सिफारिस अनिवार्य चहिनेछ । त्यसरी सिफारिस लिएर आएकाहरुलाई निजी अस्पतालहरुले कुल शैयाको १० प्रतिशत निशुल्क उपलव्ध गराउनेछन् । निशुल्क उपचार सेवा अन्र्तगत बिरामीले चिकित्सकको परामर्श, ल्याव परीक्षण नर्सिङ, शैया अस्पतालमा उपलव्ध डाइग्नोष्टिक र अक्सिजनका लागी पैशा तिर्नुपर्ने छैन । 

स्वास्थ्यमन्त्री गगन थापाले १० प्रतिशत निशुल्कको व्यवस्था कार्यान्वयनमा निजी अस्पतालहरुलाई परिपत्र भइसकेकाले आजदेखी बिपन्न, असक्त र असहाय बिरामीले केही राहत पाउने बताउनुभयो । यद्यपी यो व्यवस्था कार्यान्वयनमा केही जटिलता आउन सक्ने निजी अस्पतालका संचालकहरुले बताएका छन् । 

निजी अस्पतालहरुको छाता संगठन अफिनका बरिष्ठ उपाध्यक्ष कुमार थापाले सरकारले तोकेका शिर्षकमा निशुल्क गर्दा बिरामी थप गम्भिर भई आइसियूमा जाने अवस्था आए के गर्ने भन्ने स्पष्ट भइनसकेको बताउनुभयो । स्वास्थ्य मन्त्री थापाले तत्काल सरकारले निशुल्क गर्न भनेको शिर्षकमा सेवा दिन आग्रह गर्दै मन्त्रालयले केही दिनमा थप स्पष्ट नीति तय गर्ने बताउनुभयो । 

एलेप्पोबाट बालबालिकासहित ३ हजार बढी अन्यत्र स्थानान्तरण

पुस १, २०७३ ।  सिरियाको द्वन्द्वग्रस्त क्षेत्र एलेप्पोबाट बालबालिकासहित ३ हजार बढी घाइते  तथा गैरसैनिकलाई स्थानान्तरण गरिएको छ ।  
गत बुधबार बिद्रोहीले अघि सारेको नयाँ सम्झौता लागू भएसंगै त्यहाँबाट ४० बढी घाइते र बालबालिकासहित ३ हजार बढीलाई अन्यत्र स्थानान्तरण गरिएको अन्तर्राष्ट्रिय रेड क्रसले जनाएको हो  ।  हजारौं सिरियाली विद्रोही तथा तिनका परिवारलाई पनि इड्लिब र एलेप्पो प्रान्तकै अन्य विद्रोही नियन्त्रित क्षेत्रमा स्थानान्तरण गरिदैछ । इन्टरनेशनल कमिटि अफ रेड क्रसले बिद्रोही नियन्त्रित क्षेत्रबाट मानवीय स्थानान्तरण गर्न अझै केही दिन लाग्ने जनाएको छ । 

चार बर्षे  गृहयुद्धपछि सरकारी सेनाले एलेप्पोमा विद्रोहीले नियन्त्रणमा लिएका अधिकांश भाग पुनस् कब्जा गरेपछि कमजोर बनेका बिद्रोहीले गत बुधबार नयाँ सम्झौता गरी मानवीय सहायताका लागि तयार भएका थिए ।   सम्झौताका लागि मध्यस्थता गरेको रुसले, स्थानान्तरण प्रकृया  छिटो र प्रभावकारी बनाई घाइते तथा अन्य सबैको सुरक्षाको प्रत्याभुती गराउने र कुनै समस्यामा पर्न नदिइने संयुक्त राष्ट्र संघलाई बताएको छ ।   राष्ट्रपति बसर अल असदले भने यसलाई महत्वपूर्ण जीतका रुपमा हेरिएको बताएका छन् ।

इण्डीयासँगको पराजयसँगै नेपाल बाहिरीयो


उत्तम रिजाल, १ पुस, २०७३ ।   श्रीलंकामा जारी अण्डर नाइन्टीन एशिया कप क्रिकेटमा नेपाल इण्डीयासँग पराजित भएको छ । इण्डीयासँगको पराजयसँगै नेपाल प्रतियोगिताबाट पनि बाहिरीएको छ ।
समुह चरणको पहिलो खेलमा आयोजक श्रीलंकासँग एक रनले पराजित भएपछि बाँकी दुबै खेल जित्नु पर्ने दबाबमा रहेको नेपाल आज इण्डीयासँग ६ विकेटले पराजित भएको हो । कोलम्बोमा टस जितेर ब्याटिङ्ग गरेको नेपालले प्रस्तुत गरेको एक सय ७३ रनको लक्ष्य इण्डीयाले खेल सकिन ९९ बल अगाबै पुरा गरेको थियो । ओपनर  पृथ्वी सावलाई ५ रनमै नेपालका कप्तान तथा स्पिनर संदिप लामिछानेले पेवेलियनको बाटो देखाउँदै विकेट लिएर जित निकाल्न सक्ने संकेत देखाएपछि त्यसपछि सहत विकेट लिन नसक्दा पराजय भोगेको थियो ।
दोस्रो विकेटका लागी नेपालले १९ औं ओभर सम्म पर्खिनु परेको थियो । अर्का ओपनर हिमांसु राना दोस्रो विकेट स्वरुप १९ औं ओभरको अन्तिम बलमा विकेट किपर प्रकाश केसीद्धारा समातिएका थिए । उनी पवन सराफको बलमा केसीद्धारा समातिदा ६१ बलमा ५ चौका सहित ५१ रनमा थिए । टिमका लागि अर्का आक्रामक ब्याट्समेन सुबमन गिलले ५७ रनको योगदान दिएका थिए । बलिङ्गतर्फ पवन सराफले तीन तथा सन्दिप लामिछानेले एक विकेट लिए ।
यसअघि नेपालले रोहित कुमार पौडेलको अविजित ६८,दिपेन्द्रसिंह ऐरीको ३४,आसिफ सेखको १८,प्रकाश केसीको १३ तथा कप्तान सन्दिप लामिछानेको ७ रनको मद्दतमा निर्धारीत ५० ओभरमा ९ विकेट गुमाइ एक सय ७२ रन जोडेको थियो । नेपालले अब समुह चरणको अन्तिम खेलमा मलेशियाको सामना गर्नेछ । 

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...