Sunday, October 23, 2016

अख्तियारका निलम्बित प्रमुख कार्कीलाई महाअभियोग लगाएर हटाउने माओवादी केन्द्रको निर्णय

७ कार्तिक, २०७३ ।   सत्ताको नेतृत्वकर्ता दल माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोगको माध्यमबाट हटाउन पार्टीले भुमिका निर्वाह गर्ने औपचारिक निर्णय गरेको छ । 
नयाँ बानेश्वरस्थित संसद भवनमा आज बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले कार्कीलाई महाअभियोग लगाउने तयारी अनुमोदन गर्दै दृढतापूर्बक अघि बढ्ने निर्णय गरेको नेता अग्नी सापकोटाले जानकारी दिनुभयो । 

संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बैठकमा कार्की बिरुद्धको महाअभियोगको प्रस्ताव निष्कर्षमा पुर्‍याउन पार्टीले खेल्नुपर्ने भूमिकाबारे निर्देशन समेत दिनुभएको छ । नेता दाहालले प्रस्तावमाथि छलफल गरेर महाअभियोगबाट कार्कीलाई हटाउन आफ्नो तर्फबाट भुमिका खेल्न पार्टीका सांसदलाई निर्देशन दिनुभएको हो ।

यसअघि हिजो बसेको माओबादी हेडक्वाटर बैठकले महाअभियोगको प्रस्तावमा अन्य दलहरुसँग परामर्श गरेर निष्कर्षमा पुग्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको थियो ।

जनमतअनुसार अघि बढ्छौँ - देउवा

७ कार्तिक, २०७३   नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावका बारेमा पार्टीको केन्द्रिय समितिले नै निर्णय गर्ने बताउनुभएको छ । 
महाअभियोग प्रस्ताव पारितका लागि दबाब दिन बुढानिलकण्ठस्थित निवासमै पुगेका संयुक्त विद्यार्थी संगठनका प्रतिनिधिसँग आज बिहान भएको भेटमा सभापति देउवाले महाअभियोगबारे पार्टी र संसदीय दलको निर्णय पर्खिन आग्रह गर्नुभयो ।  

 महाअभियोग प्रस्तावका बिषयमा व्यक्तिगत धारणा भन्दा पनि जनमतको आधारमा पार्टीले जारी केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने देउवाले बताउनुभयो । महाअभियोग प्रस्तावमा जनमतविरुद्ध नजाने उहाँको भनाई थियो यसैबीच संयुक्त विद्यार्थी संगठनले कार्कीको महाअभियोग प्रस्ताव पारित गराउन अन्य दलका शिर्ष नेताहरुलाई पनि भेटेर ध्यानाकर्षण गराउने अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताउनुभयो । 

कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारितका लागि वातावरण बनाउन दलहरुलाई दवाव दिने अभियान अन्र्तगत आजै बिद्यार्थी संगठनले राजधानीमा खवरदारी जुलुस निकाल्दैछ । दिउँसो २ बजे माइतीघर मण्डलामा जुलुस मार्फत महाअभियोग प्रस्ताव पारित गराउन सांसदहरुलाई खबरदारी गरिने बिद्यार्थी नेताहरुले बताएका छन् । 

कार्कीविरुद्धको महाअभियोग प्रताव संसद बैठकमा पेश गर्ने तयारी

 ७ कार्तिक, २०७३     अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्ताव आजको संसद बैठकमा प्रस्तुत हुँदैछ । बिहान ११ बजेका लागी बोलाइएको संसद बैठकमा अख्तियार प्रमुख कार्कीविरुद्धको महाअभियोग प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचि छ । 
आजको बैठकमा सभामुख ओनसरी घर्तिले महाअभियोग प्रस्तावमाथी छलफलका लागी समय निर्धारण गरेपछि थप प्रक्रिया अघि बढाइने संसद सचिवालयले जनाएको छ । संसद बैठकमा महाअभियोग प्रस्तावमाथी प्राम्भिक छलफल गरी अनुसन्धान गर्न महाअभियोग सिफारिस समितिमा पठाउनेछ । 

समितिले काम सुरु गरेको तीन दिनभित्र सदनमा अनुसन्धान प्रतिवेदन बुझाउनुपर्ने बाध्यात्मक व्यवस्था छ । कार्कीविरुद्ध महाअभियोग प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचिमा बिहिवारका लागी बोलाइएको बैठक प्रधानमन्त्री पुष्प कमल दाहालको आग्रहमा समामुख घर्तिले आजसम्मका लागि स्थगित गर्नुभएको थियो । 

प्रमुख प्रतिपक्ष एमाले र सरकारको नेतृत्वकर्ता दल माओवादीका १ सय ५७ सांसदले अघि बढाएको अख्तियार प्रमुख कार्कीविरुद्धको महाअभियोगको प्रस्ताव पारित गराउन संसदको सवैभन्दा ठुलो  दल कंग्रेसको समर्थन अनिवार्य छ । कंग्रेसले आफुहरुसँग कुनै परामर्श नगरी प्रस्ताव अघि बढाइएको भन्दै अहिलेसम्म महाअभियोगका बिषयमा आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

Saturday, October 22, 2016

प्रम दाहाल र कंग्रेस सभापति बीच भेटघाट

 ६ कार्तिक, २०७३ ।   अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गराउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कंग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । 
वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा महाअभियोग प्रस्तावलाई पारित गराउने विषयमा दलहरुबीच भईरहेको आन्तरिक छलफलका विषयमा कुराकानी भएको हो । कार्की विरुद्ध महाअभियोग प्रस्ताव पेस भएको तीन दिन वित्दा समेत दलहरुबीच सघन छलफल हुन सकेको छैन । माओवादी केन्द्रले आफुहरुसँग छलफल नै नगरी प्रमुख प्रतिपक्षी एमालेसँग मिलेर महाअभियोग प्रस्ताव पेस गरेको भन्दै कंग्रेस असन्तुष्ट बनेको छ । 

प्रमुख दलहरुले अहिलेसम्म महाअभियोग प्रस्ताव कसरी अघि बढाउने भन्ने ठोस निष्कर्ष निकालेका छैनन् । केन्द्रीय समिति बैठक जारी रहेको भन्दै संसदको ठूलो दल नेपाली कंग्रेसले कार्की बिरुद्धको महाअभियोग प्रस्तावबारे कुनै धारणा सार्वजनिक गरेको छैन । 

केन्द्रीय समिति बैठक पर्सी सोमबार विहान ८ बजेसम्मका लागि स्थगित भएको छ । सभामुख ओनसरी घर्तीले समेत महाअभियोग प्रस्तावमाथिको छलफलका लागि वातावरण बनाउन प्रमुख दलहरुलाई आग्रह गर्दै आउनुभएको छ । 

ब्याडमिन्टनको मिक्स डबल्समा नेपाललाई पहिलो अन्तराष्ट्रिय स्वर्ण

६ कार्तिक, २०७३  पाकिस्तानमा सम्पन्न योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा नेपालले स्वर्ण जितेको छ । 
नेपाली ब्याडमिन्टनको इतिहासमा कुनै पनि खेलाडीले अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेको यो पहिलो पटक हो । यसअघि दुई भिन्नभिन्नै अन्तराष्ट्रिय प्रतियोगितामा सुमिना श्रेष्ठ र पूजा श्रेष्ठले महिला डबल्समा रजत जितेका थिए ।   

 राजधानी इस्लामवादस्थित पाकिस्तानी स्पोर्टस कम्प्लेक्सको कोर्टमा दिदीभाइ नङशल  तामाङ र  रत्नजितको जोडीले पाकिस्तानी मोहम्मद इरफान सइद भाटी र मेहमोना अमिरको जोडी सोझो सेटमा हराउँदै पदक जितेका हुन्।

२३ मिनेट चलेको प्रतिस्पर्धामा उनीहरूले २१–१३ र २१–१५ को सोझो सेटमा पराजित गरे । प्रतियोगितामा नङशलले महिला सिंगल्समा पनि कास्य पदक जितिकी छन् । 

अष्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु

  ६ कार्तिक, २०७३   अष्ट्रेलियाको पश्चिम पर्थमा उच्च शिक्षा अध्ययन गरिरहेका विराटमान ताम्राकारको मृत्यु भएको छ । काठमाडौं नरदेवी घर भएका ताम्राकार गत बिहीबार विहान काममा जाने क्रममा सडकमा ढलेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो । 
पर्थमा रहेको इडिथ कोवान युनिभर्सिटीमा इन्जिनियरिङ बिषय अध्ययन गरिरहेका ताम्राकार करिब डेढ बर्षअघि अष्ट्रेलिया गएका थिए । उनीसँगै बस्ने डिल्ली पराजुलीकाअनुसार ताम्राकार स्थानीय एक कम्पनीमा कार्यरत थिए । काममा जाने क्रममा स्थानीय सडकमा ढलेका उनलाई तत्कालै उपचारका लागि रोयल पर्थ अस्पतालमा लगिएको थियो । 

चिकित्सकहरुले उनको मृत्यु हार्टअर्टयाक अथवा ब्रेन ह्यामरेजका कारण भएको हुनसक्ने अनुमान गरेपनि पोष्टमार्टमको रिपोर्ट आएपछि यथार्थ थाहा हुने पराजुलीले बताएका छन् ।  परिवारका एक्ला छोरा ताम्राकार आफ्नो अध्ययनको अन्तिम बर्षमा थिए । उनको शवलाई परिवारको आग्रह अनुसार नेपाल ल्ःयाउने तयारी थालिएको पर्थमा रहेको नेपाली एसोसिएसन अफ वेष्टर्न अष्ट्रेलियाका सदस्य कमल सिलवालले जानकारी दिए । 

सिलवालका अनुसार शव नेपाल पठाउनका लागि करिब १२ हजार ५ सय डलर लाग्ने र सो रकम संकलनका लागि विराट ताम्राकार आकस्मिक सहयोग खाता खोलेर रकम संकलन थालिएको छ । पोस्टमार्टमबाट शव आएपछि जतिसक्दो नेपाल पठाइने सिलवालले जानकारी दिए ।

Friday, October 21, 2016

एमाले अध्यक्ष ओलीको भ्रमण स्थगित

५ कार्तिक , २०७३    एमाले अध्यक्ष केपी शर्मा ओलीले बंगलादेश भ्रमण स्थगित गर्नुभएको छ । बंगलादेशको सत्तारुढ अवामी लिग पार्टिको कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आज दिउँसो पौने २ बजे ढाका उड्ने कार्यक्रम थियो । 

अख्तियार प्रमुख लोकमानसिंह कार्की बिरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारितका लागि दलीय सहमति जुटाउने निर्णय गरेपनि एमाले नेताहरु भने बिदेश भ्रमणमा निस्कन लागेको समाचारप्रति चौतर्फी बिरोध भएपछि अध्यक्ष ओलीले अन्तिम समयमा भ्रमण स्थगित गर्नुभएको हो । एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठकाअनुसार, सांसद राजन भट्टराईको नेतृत्वमा दुई सदस्यीय टोलीमात्र दिउँसो पौने २ बजे ढाका उड्नेछ । 

एमाले संसदीय दलको हिजो बसेको बैठकले महाअभियोग प्रस्ताव पारितका लागि अन्य दलसँग गम्भीर छलफल गर्ने निश्कर्ष निकाल्दै आइतवारबाट संसदमा हुने छलफलमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई ह्वीप जारी गरेको थियो ।   यस्तै पार्टीको कामका लागि भन्दै बरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालको पूर्व निर्धारित कार्यतालिका भने यथावत छ । 

नेता खनाल भोली जापान र नेता नेपाल पर्सि भियतनाम जाने कार्यक्रम रहेको एमालेले जनाएको छ । महासचिव ईश्वर पोख्रेल पनि अष्ट्रेलिया र न्युजिल्याण्डको भ्रमणमा हुनुहुन्छ । उहाँ १२ गते मात्र काठमाडौं फर्कनु हुनेछ । 

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...