Saturday, July 23, 2016

प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव आज निर्णयार्थ प्रस्तुत हुदै

९ श्रावण ,२०७३ /  प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव आजको बैठकमा निर्णयार्थ प्रस्तुत हुदैछ ।  


व्यवस्थापिका–संसदको आजकै पहिलो बैठकमा अविश्वासको प्रस्तावमाथिको छलफल सकिएपछि दोस्रो बैठकको प्रारम्भमा प्रधानमन्त्री ओलीले उनी विरुद्ध लगाइएका आक्षेपहरुको जवाफ दिने छन् । त्यसपछि अविश्वासका प्रस्तावमा मतदान हुनेछ । 

अविश्वासको प्रस्तावमाथि शुक्रबारबाट सदनमा छलफल हुँदै आएको छ । वर्तमान गठबन्धन सरकारको ठूलो दल नेकपा ९माओवादी केन्द्र०ले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै ओली सरकार संकटमा परेको हो । 

प्रधानमन्त्री ओलीको दम्भ र अहंकारका कारण आफूले समर्थन फिर्ता लिएर उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताउँदै आएका छन् । 
व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका २८१ जना सांसदको हस्ताक्षर गरेर उक्त प्रस्ताव संसद्मात पेश गरिएको हो । 

माओवादीले समर्थन फिर्ता लिएसँगै मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राप्रपाले पनि समर्थन फिर्ता लिएर अविश्वासको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । 

नेपालको संविधान जारी भएसँगै व्यवस्थापिका–संसद्माक प्रतितिनिधित्व गर्ने अधिक राजनीतिक दलको समर्थनमा नेतृत्व सम्हाल्न पुगेका प्रधानमन्त्री ओली सरकार नौ महिनाको अवधि पार गर्दा नगर्दै संकटमा परेको हो । प्रधानमन्त्री ओलीलाई सहमतीय राजनीतिलाई बेवास्ता गर्दै एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप छ ।


दाहालको आरोपबारे प्रधानमन्त्रीको जवाफ, 'म राजतन्त्रविरुद्ध संघर्ष गर्दा कुन स्कुल पढ्दै हुनुहुन्थ्यो ?'

९ श्रावण, २०७३ / प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार संसदमा लगाएका आरोपप्रति असन्तुष्टि जनाएका छन् ।


नेपाल टेलिभिजनको सीधा कुरा प्रधानमन्त्रीसँगमा उनले दाहालले आफूविरुद्ध लाञ्छानापूर्ण अभिव्यक्ति दिएको बताए । राजतन्त्रविरुद्ध संघर्ष गर्दा उहाँ कुन स्कुल पढ्दै हुनुहुन्थ्यो, राजतन्त्रविरुद्ध संघर्ष गरेकै कारण जेल जाँदा कुन स्कुल पढ्दै हुनुहुन्थ्यो भन्दै जबाफ दिएका छन् । , उनले आफू वादविवाद गर्न नचाहेको बताउँदै भने, मैले राजासँग कार्यगत एकता गरिन, उहाँसग पनि सम्झौता अन्तर्गत चलेको हो, तर सम्झौता अरु आस्थागत विषय होइन, परिस्थितिगत विषय हो ।

अविश्वासको प्रस्ताव पेस गर्दै दाहालले शुक्रबार संसदमा प्रधानमन्त्री गणतन्त्र र संघीयताविरोधी रहेको आरोप लगाएका थिए । उनले इतिहासको यो नै अन्तिम घडी नभएको बताउँदै पछि आफैले खण्डन गर्ने दिन आउने बताए । म आधा शताब्दीभन्दा बढी संघर्ष गरेको व्यक्ति हो, २९ वर्षदेखि खुल्ला छु, मलाई लाखौंले भेटेका छन्, तथ्य र प्रमाणबाट पुष्टि गरे हुन्थ्यो, पछि काट्नुपर्दा असुविधा हुन्छ कि भन्ने हेक्का राखे राम्रो, उनले भने ।

प्रधानमन्त्रीले आफूलाई धेरै ठूलो योजना र प्रयासपछि हटाइएको दाबी गरे । सरकारले ऐतिहासिक काम गरेको छ, जति पनि काम भएको छ, त्यसलाई मन नपराउनेहरु, स्वाभिमानको लहर जो सिर्जना भयो, देश परनिर्भरताबाट आत्मनिर्भरतारित लाग्यो, त्यसलाई मन नपराउनेहरु सक्रिय भए, उनले भने ।

प्रधानमन्त्रीले आफूविरुद्ध माओवादीले धोका दिने पूर्वजानकारीमा रहेको बताए । चैतदेखि नै डिलिङ भएको थियो, सबैले सबैतिर कुरा गरिरहेका थिए, उनले भने, असार लागेपछि म्याचुअर्ड भयो ।

वैशाख २२ गते सभामुख ओनसरी घर्तीको निवासमा कांग्रेससँग माओवादीको ७ बुँदे सहमति भएको प्रधानमन्त्रीको भनाइ थियो । उनले आफूले सुरु गरेका कतिपय कामलाई नयाँ सरकारले पनि असफल पार्न नसकने बताए । जसरी जम्मा गरेर सरकार बनाएको थिएँ, मौका पाएकाबेला अप्ठ्यारो बेला, सहकार्य कसरी गरेको छु हिजो देखियो नि, उनले भने, कतिवटा मेट्न सक्दैन, हुती छैन, कतिपय मेट्नेछ ।

प्रधानमन्त्रीले मुलुकलाई अनुमान नगरिएको परिस्थितितर्फ जाने प्रयास भएको बताउँदै त्यतातर्फ जान नदिन सहजीकरण गर्ने उल्लेख गरे । उनले अहिले राष्ट्रवादी र अर्को पक्षधर समूहबीच ध्रुविकरण रहेको बताए ।प्रधानमन्त्रीले आफूलाई पदमोह नभएको बताउँदै तर संवैधानिक र कानुनी बाटो सहज बनाएरमात्रै नयाँ सरकार गठन टुंगो लाग्ने बताए ।

प्रधानमन्त्रीले संसदमा कांग्रेस सांसदले आफ्नो मानसिक अवस्थामाथि गरेको प्रश्न टिप्पणी गर्न लायक विषय नभएको बताए । कुनै जन्तुले खुट्टा टोक्छ, तर त्यसमा आक्रोसित भएर त्यसको खुट्टा टोक्न गइँदैन, त्यो दल र त्यसका सांसदले विचार गर्नुपर्ने हो, खुदै व्यक्तिले विचार गर्नुपर्ने हो, पढाइलेखाइ त छ होला, विषयगत ज्ञान त होला, तर सभ्यता सिकिंदो रहनेछ, उनको भनाइ थियो ।


कुनै आश्चर्य नभए एमाले १२ वर्षपछि सत्ताबाहिर पुग्ने

८ श्रावण,२०७३,काठमाडौं /  कुनै आश्चर्य नभए नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित विभिन्न दलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध शुक्रबार संसद्मा पेस गरेको अविश्वास पारित हुने देखिन्छ। एमाले संसद्मा प्रमुख प्रतिपक्षी रहनेछ।  
यससँगै ०६१ मा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारयता प्रत्येक दलीय सरकारमा सहभागी रहेको एमाले १२ वर्षपछि सत्ताबाहिर पुग्नेछ।
यसबीच डा. बाबुराम भट्टराई नेतृत्व सरकारमा भने एमाले १३ दिन मात्र रह्यो।
२०६२/६३ को जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वमा बनेको सात राजनीतिक दलको सरकारमा एमाले वरिष्ठ नेतृ सहाना प्रधान नेतृत्वमा सरकारमा सहभागी भएको थियो भने पछि नेकपा माओवादी पनि सरकारमा आएपछि केपी शर्मा ओली नेृतत्वमा सरकारमा रह्यो।
संविधानसभाको पहिलो निर्वाचनमा एमाले नराम्रोसँग पराजित भएर तेस्रो दल बन्यो। त्यसलगत्तै बनेको एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारमा वामदेव गौतम नेतृत्वमा सहभागी भयो।
प्रधानसेनापति रुक्मांगत कटवाल काण्डपछि माधवकुमार नेपाल नेतृत्वमा सरकार बन्यो।
२०५१ सालमा उपनिर्वाचनपछि मनमोहन अधिकारी नेतृत्वको एकमना सरकारपछि एमाले नेतृत्वमा बनेको दोस्रो सरकार यही थियो। नेपाली कांग्रेस, विभिन्न मधेसवादी दलसँगको गठबन्धन सरकार संवैधानिक जटिलताका कारण सात महिना कामचलाउ रुपमा रह्यो।
त्यसपछि नेकपा माओवादीसँग गठबन्धन गर्र्दै तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वमा नयाँ सरकार बन्यो र ६ महिना मात्र चल्यो। त्यसपछि माओवादी नेता बाबुराम भट्टराई नेतृत्वमा बनेको सरकारमा महासचिव ईश्वर पोखरेल नेतृत्वमा १३ दिन सरकारमा सहभागी भएको थियो एमाले।
दलहरुबीच संविधान निर्माणको विषयमा भएको सहमतिबाट सरकारको नेतृत्व गर्दै तत्कालीन एकीकृत नेकपा माओवादीले दलहरुबीच भएको सहमतिबाट पछि हटेको भन्दै कांग्रेस र एमाले सरकारबाट बाहिरिएका थिए। संवैधानिक रिक्तताका कारण दलहरुबीच दोस्रो संविधानसभा निर्वाचनका लागि बनेको तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी सरकारमा अन्य दलसँगै एमालेले दुई प्रतिनिधि पठाएको थियो।
२०७० मंसिरमा भएको निर्वाचनबाट संसद्मा पहिलो दल बनेको नेपाली कांग्रेस र दोस्रो एमाले गठबन्धनको सरकार गठन भयो। त्यसमा एमालेका तर्फबाट उपाध्यक्ष वामदेव गौतमले मन्त्रिपरिषदमा नेतृत्व गरे। दलहरुले निर्धारण गरेको समयभन्दा केही ढिलो गरी संविधान जारी भयो।
लगत्तै संविधानको संक्रमणकालीन व्यवस्थाअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। त्यही सरकार अहिले अविश्वासको प्रस्तावको सामना गरिरहेको छ।अहिलेसम्मको संसदीय गणित हेर्दा सरकार अल्पमतमा परेको छ।

प्रधानमन्त्रीको म्युजिकल चियरमा रुमल्लिएर देश बन्दैन् – नेपाल

८ श्रावण,२०७३, काठमाडौं /  नेकपा एमाले नेता तथा पूर्वप्रधामन्त्री माधव नेपालले सँधै प्रधानमन्त्रीको म्युजिकल चियरमा रुमल्लिएर देश नबन्ने बताएका छन्। 
संसदमा सरकारको अविस्वासको प्रस्तावको छलफलमा भाग लिँदै नेता नेपालले नेपाली नेता तथा दलमा समग्र राष्ट्रलाई कसरी अगाडि लाने भन्दा पनि आफ्नो दलगत तथा व्यक्तिगत स्वार्थबाट अगाडि बढ्न नसकेको बताए। उनले भने, ‘संविधानसभाका उपलब्धिलाई समाप्त पार्दै देशमा एक जटिल अवस्थामा लाने खेल भैरहेको छ। २०७४ माघ ७ सम्ममा संविधानलाई कार्यान्वयन नगर्ने षड्यन्त्र भैरहेको छ। देशलाई आर्थिक गती दिन र संविधान  कार्यान्वयनकालागि सबैमा आपसी सहमतिको खाँचो रहेको छ।’

उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय हतास र दुर्भाग्यपूर्ण भएको बताए। उनले अरुलाई आरोप प्रत्यारोप लगानु भन्दा पनि सबैले आफ्नो  कमी कमजोरीको आत्म समिक्षा गर्न जरुरी रहेको बताए। उनले भने, ‘अहिलेको सरकारले केही गरेन भन्नु भन्दा पनि सरकारमा रहेर पनि हामीले केही गर्न सकेनौं भनेर आत्म समिक्षा गर्नुपर्छ। बजेट ,सरकारको नीति तथा कार्यक्रम देशको हितमा भएपनि दलगत स्वार्थका कारण असफल बनाइएको छ।’
उनले अविस्वासको प्रस्ताव आश्रित विधेयक पछिपनि ल्याउन सक्ने भन्दै माओवादीले गल्ती गरेको आरोप लगाए। उनले राजनीतिक अस्थिरता भएपनि विकासका योजना तथा परराष्ट्र नीतिमा सबै दलको एक धारणा हुनुपर्ने बताए। नेपालले राम्रो कामको सकारात्मक समिक्षा गर्नु पर्ने र गलत कुरालाई आलोचना गर्न सक्नु पर्ने बताए।

जर्मनीको म्युनिखमा अन्धाधुन्ध गोली प्रहार ९ जनाको मृत्यु

८ श्रावण, २०७३ /  जर्मनीको बभेरिया राज्यस्थित म्युनिख शहरमा अन्धाधुन्ध गोली प्रहारबाट ९ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।


स्थानीय समय अनुसार शुक्रबार साँझ ६ बजेतिर ओलम्पिया शपिङ सेन्टरननजिकै १८ बर्षीय इरानी मूलका एक किशोरले अन्धाधुन्ध गोली प्रहार गरेको त्यहाँको प्रहरीले जनाएको छ । घटनापछि  एक हमलाकारीले आफूलाई समेत  गोली हानेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनालगत्तै गम्भीर आतंककारी परिस्थिति भन्दै संकटकाल घोषणा गरिएको छ । 

सर्वसाधारणलाई घरभित्रै बस्न र सार्वजनिक स्थानमा नजान अपिल जारी गरिएको छ । सो क्षेत्रमा हाल उच्च सुरक्षा सर्तकता अपनाएको छ । घटनापछि जर्मन चान्सलर एङ्गेला मर्कलले सुरक्षा परिषद्को आपतकालिन बैठक आव्हान गर्नुभएको छ ।


संसद बैठकमा प्रधानमन्त्रीको अविश्वासको प्रस्तावमाथि छलफल जारी

८ श्रावण , २०७३ /   बिहान ११ बजे सुरु भएको संसद बैठकमा प्रधानमन्त्रीको अविश्वासको प्रस्तावमाथि छलफल जारी रहेको छ । शुक्रबार बेलुकादेखि सुरु भएको छलफल शनिबार पनि जारी छ । 


बैठकको सुरुमा नेपाली कांग्रेसका सांसद रमेश लेखकले बोलेका थिए । त्यसपछि एमाले नेता माधव नेपाल र माओवादी सांसद हरीबोल गजुरेल बोलेका थिए । अन्य सांसदहरुले बोल्ने क्रम जारी छ । प्रस्ताव माथिको छलफल भोली सकिने र त्यसपछि मतदान हुने छ ।


Friday, July 22, 2016

बजेट अाश्रित विधेयकहरू पारित हुन सकेनन्, सरकार अल्पमतमा

७ श्रावण,२०७३,काठमाडौं / आर्थिक वर्ष २०७३/०७४ बजेट संसदबाट अस्वीकृत भएको छ। एमाओवादी केन्द्र बजेटविरुद्ध उभिँदा आर्थिक विधेयक, राष्ट्रऋण उठाउने विधेयक, ऋण तथा जमानत (२१ औं संशोधन) विधेयक संसदबाट पारित हुन नसकेका हुन्।
आज संसदमा भएको मतदानमा ध्वनि मतबाट बजेट आश्रित विधेयकहरु अस्वीकृत भएका हुन्। आर्थिक विधेयक असफल हुँदा सरकार स्वतः अल्पमतमा परेको छ।
नेपाली कांग्रेस, सरकार छोडेको माओवादी तथा मधेसी दलले विधेयकहरुका विरुद्धमा मतदान गरेका छन्।
 
शुक्रबार संसदमा भएको मतदानमा ध्वनि मतबाट बजेट आश्रित विधेयकहरु अस्वीकृत भएका हुन्। आर्थिक विधेयक असफल हुँदा सरकार स्वतः अल्पमतमा परेको छ।
मतदान अघि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले आर्थिक विधेयकको औचित्य नभएको बताएका थिए। माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले विधेयकको औचित्य नभएको उनले दाबी गरेका थिए।
माओवादीले उठाएका प्रश्नको जवाफमा अर्थमन्त्री विष्णु पौडेलले प्रश्न सोधका थिए, ‘पहिला मन्त्रिपरिषदबाट स्वीकृत गर्दा केही भएन। अहिले कसरी खिचडी भयो?’ महराले आर्थिक विधेयक एकातिकार र पुँजिवादको खिचडी भएको टिप्पणी गरेका थिए।
कांग्रेस, माओवादीले सरकारविरुद्ध संसदमा दर्ता गराएको अविश्वास प्रस्तावमा छलफल हुनुअघि बजेटसँग सम्बन्धित विधेयकहरु संसदमा पेश भएका थिए। एमाले आर्थिक विधेयकमाथि पहिला छलफल गर्ने सर्तमा संसद बैठक सञ्चालन गर्न दिन सहमत भएको थियो।
अर्थमन्त्रीले जेठ १५ गते संसदमा बजेट पेस गरेका थिए।गत असार २५ गते बसेको संसद बैठकले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको विनियोजन विधेयक २०७३ पारित गरे पनि अर्थसम्बन्धी अन्य तीन विधेयक पारित हुन बाँकी रहेका थिए। बजेटकाे एउटा विधेयक पारित भएकाे अवस्थामा असार २९ का लागि बाेलाइएकाे संसद बैठक सभामुखले पछि सारेकी थिइन्।
विगतमा असार मसान्तमा बजेट आउने र बजेट पारित गर्न समय लाग्ने हुँदा खर्च तथा पेस्की विधयेक पनि ल्याउने चलन थियो। नयाँ संविधानले जेठ १५ गतेलाई बजेट ल्याउने दिन तोकेपछि असार अन्तिममा बजेट पेस गर्ने र नयाँ आर्थिक वर्ष लागेपछि पेस्की विधेयकबाट खर्च गर्ने परम्परा हट्ने अनुमान गरिएकाे थियाे।
नयाँ संविधानअनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ गते आर्थिक वर्ष २०७३/०७४ का लागि १० खर्ब ४८ अर्ब रुपैयाँको बजेट पेस गरेका थिए। समयमै बजेट आएकाले अर्थतन्त्रमा यसको सकारात्मक असर पर्ने आस गरिएको वर्ष फेरि बद्लिँदो राजनीतिक घटनाक्रमले आर्थिक वर्षको सुरुमै बजेट कार्यान्वयनमै शंका सुरु भएको छ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...