Thursday, October 15, 2015

नेपाल–चीन रसुवागढी नाका आजदेखि खुला



२८ असोज,रसुवा / भूकम्पपछि बन्द भएको नेपाल–चीन उत्तरी रसुवागढी नाका आजदेखि सञ्चालनमा आएको छ ।
केरुङतर्फ सडक मर्मत सम्पन्न गरी औपचारिक रुपमा चिनियाँ सरकारका तर्फबाट डेपुटी डाइरेक्टर जनरल माक्विन्सेङ्गले आज नाका खोलेको घोषणा गर्नुभएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइरालाले जानकारी दिनुभयो । छिमेकी भारततर्फको दक्षिणी नाकाबाट आउने इन्धनलगायत उपभोग्य वस्तु ल्याउन अघोषित नाकाबन्दी भइरहेको अवस्थामा चीन तर्फ उत्तरी नाका रसुवागढी खुल्दा स्थानीयवासीमाझ उमङ्ग छाएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।
रसुवागढी नाका खोलेको घोषणा गर्नुपूर्व चीन सरकारले बडादसँैका लागि नेपाललाई पठाएको छवटा ट्रकमा राखिएको ५० टन खाद्यान्न सीमा क्षेत्रमा आइसकेको परराष्ट्र मन्त्रालयका उपसचिव मणि भट्टराईले बताउनुभयो । नेपाललाई सहयोग गरिने बडादसैँका लागि खाद्यान्न रु एक करोड ६० लाखबराबरको भएको बताइएको छ ।
यस्तै, नाका खुलेलगत्तै सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मले सीमा क्षेत्रमा आफ्नो पोस्ट खडा गरिसकेकाले सुरक्षा तथा राजस्व सङ्कलनमा कुनै कमी नआउने सशस्त्र प्रहरी नायब उपरीक्षक दर्शन गिरीले जानकारी दिनुभयो ।
औपचारिक नाका घोषणा कार्यक्रममा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति, परराष्ट्र, गृह र अर्थ मन्त्रालयका प्रतिनिधि, भन्सार विभागका प्रतिनिधि, रसुवाका प्रमूख जिल्ला अधिकारी शीवराम गेलाल, नेपाली सेनाका प्रमूख सेनानी विक्रम गुरुङ, नेपाल प्रहरीका नायव प्रहरी उपरीक्षक अवधेश विष्ट तथा अध्यागमनका अधिकारी एवम् चिनियाँतर्फबाट राजदूतावासका प्रतिनिधि, अध्यागमनलगायत सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केदारप्रसाद पनेरुले बताउनुभयो । रासस

कुटनीतिक सम्बन्ध सुधार्न परराष्ट्रमन्त्री भारत भ्रमणमा जाने



२८ असोज,काठमाडौ / नेपाल भारत वीचको सम्बन्धमा केही साता यता देखिएको चिसोपन अन्त्यको कुटनीतिक पहल गर्न उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा भारत भ्रमणमा जाने भएका छन ।
 
उनको औपचारिक भ्रमणको लागि आन्तरिक रुपमा तयारी थालिसकिएको छ । स्रोतका अनुसार थापाले दशै अघि नै भारत भ्रमण गर्ने गरी तयारी भईरहेको छ । हिजो भारतीय राजदुत रञ्जित रेसँग भएको भेटवार्तामा यस विषयमा
कुराकानी भएको र राजदुत पनि सकारात्मक रहेको बताईएको छ । प्रधानमन्त्रीको विशेष दुतको रुपमा भारत जाने परराष्ट्रमन्त्री थापाले त्यहाँ रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री शुष्मा स्वराजसँग भेटवार्ता गर्ने गरी पहल भईरहेको छ । उनले भारत भ्रमणको क्रममा नेपालमा देखिएको अघोषित नकाबन्दीलाई अन्त्य गरेर आपूर्ति सूचारु गर्ने, संविधानमा रहेका अन्र्तबस्तुको विषयमा ब्रिफिङ गर्ने र दुई मुलुक वीचको चिसिएको सम्बन्धलाई न्यानो पार्ने प्रयास गर्नेछन ।

चीनबाट ग्यास ल्याउने प्रस्ताब प्रति निगम मौन

काठमाडौं / नेपाल एलपी ग्यास उद्योग सङ्घले निगमसँग व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले ग्यास आयात गर्न चाहने कम्पनीलाई तत्काल स्वीकृति दिन सरकारलाई निर्देशसमेत गरिसकेको छ। हालसम्म कुनै निर्णय भने हुन सकेको छैन। जसका कारण उपभोक्ता लामो लाइनमा बसेरसमेत ग्यास पाउने अवस्थामा छैनन् । ग्यास बिक्रेता महासङ्घका महासचिव चन्द्र थापाले उपत्यकाको कुल खपत मध्ये ९० प्रतिशतभन्दा बढी ग्यास वीरगन्ज नाकाबाट आउने भएकाले सो नाका अवरुद्ध भएकाले समस्या बढी परेको बताए।

काठमाडौँ उपत्यकामा दैनिक ३० हजार सिलिण्डर आवश्यक पर्दछ। विगत दुई महिनाभन्दा बढीदेखि तराई आन्दोलनका कारण सहज रुपमा काठमाडौँमा ग्यास आयात हुन सकेको छैन। निगमले कुल २९ हजार मेट्रिक टन ग्यास आयात गर्ने कोटा निर्धारण गरेको छ। हाल आयात भएका ग्यास उपत्यका बाहिर नै वितरण गरिएको छ । काठमाडौँमा सहज रुपमा ग्यास उपलब्ध हुनका लागि वीरगन्ज नाका सहज हुनुपर्ने महासचिव थापाको भनाइ छ। जनताको चुल्हो निभेको छ। बिक्रेताका पसल बन्द छन्। उपभोक्ता मारमा छन्, तर आयात नै नभएपछि कसरी वितरण गर्ने, हामी पनि उस्तै समस्यामा छौ, उनले भने।

निगमले भने व्यवसायीलाई तीन-चार दिनमा समस्या समाधान हुने आश्वासन दिँदै आएको छ। तर आश्वासन दिएको पनि लामो समय भइसक्यो, तर समस्या घट्नेभन्दा पनि बढ्दै गएको छ। निगमले सार्वजनिक र निजी सवारीलाई भन्दै कुल सात लाख पचास हजार लिटर इन्धन वितरण गरेपनि धेरै उपभोक्ताले नपाएको गुनासो गरेका छन्। रातभर लाइनमा बस्दा पनि इन्धन नपाएको भन्दै उपभोक्ताले निगमको व्यवस्थापन फितलो भएको बताएका छन्।

निगमका प्रवक्ता दीपक बरालले खाना पकाउने ग्यासको चर्को अभाव रहेको स्वीकारे। निगमको तहबाट गर्न सक्ने अवस्था केही छैन। समस्याको समाधान गर्ने प्रयास जारी छु, उनले भने, काठमाडौँमा एकाध दिनमा ग्यास भित्रने कुनै अवस्था भने छैन। व्यावसायीले चीनबाट ग्यास ल्याउन गरेको प्रस्तावमाथि पनि निगमले हालसम्म कुनै निर्णय गरेको छैन।
 
वैकल्पिक माध्यमबाट ग्यास ल्याउने अनुमति दिन आग्रह गरेको भएपनि आजसम्म निगमले सो प्रस्तावमाथि कुनै निर्णय गरेको छैन । सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले चीनको स्वशाति क्षेत्र तिब्बतको खासादेखि २३ किलोमिटर टाढा रहेको न्यालमबाट ग्यास ल्याउने तयारी गरेका थिए।

विकल्प खोज्ने सरकारको निर्णय

सरकारले भने इन्धन आयातमा वैकल्पिक उपाय अपनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले इन्धन आपूर्तिका लागि वैकल्पिक उपाय अपनाउने निर्णय गरेको सरकारका प्रवक्ता अग्नि खरेलले जानकारी दिए।नेपालीहरुको ठूलो चाड दसैँ तथा तिहार सुरु भएपनि राजधानी काठमाडौँमा खाना पकाउने ग्यासको अभावका कारण उपभोक्ता चर्को सङ्कट ब्यहोर्न बाध्य छन्। चाडवाडमा घर जान चाहने उपभोक्ताले पेट्रोलियम पदार्थको अभावमा घर जान पाएका छैनन् भने ग्यासको अभावमा काठमाडौँमा बस्न सक्ने अवस्था रहेको छैन।
 
ग्यासको खोजीमा भौतारिरहेका उपभोक्ताले डिपो र पसलमा नाम लेखाएको पनि धेरै दिन भयो, तर अन्य पेट्रोलियम पदार्थ सिमित मात्रामा आएपनि ग्यास भने आउन सकेको छैन। भारतले नाकाबन्दी गरेपछि सबैभन्दा बढी मार सहरिया तथा मध्यमवर्गीय उपभोक्तालाई परेको छ। नेपाल आयल निगमकाअनुसार चाडवाडको समयमा ग्यासको माग अत्याधिक हुने गर्दछ। काठमाडौं उपत्यकामा मात्रै करिब ३० लाख ग्यासका उपभोक्ता रहेका छन्।


राष्ट्रिय मुद्दामा काँग्रेससँग मिलेर अघि बढ्नुपर्ने एमालेको ठहर

काठमाडौँ नेकपा एमालेको स्थायी कमिटी बैठकले राष्ट्रिय मुद्दामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग मिलेर अघि बढ्नुपर्ने ठहर गरेको छ। पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकले काँग्रेससँगको सहयात्राका बारेमा आवश्यक छलफल र समन्वयका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मा दिएको छ।


बैठकपछि स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले ुभद्र सहमतिु तोडिएर प्रतिस्पर्धाका आधारमा प्रधानमन्त्रीको चयन भएको अवस्थामा पनि काँग्रेससँग मिलेरै राष्ट्रिय समस्याको समाधान गर्नुपर्नेमा पार्टीले जोड दिएको बताए। संविधान जारी हुनु पूर्व एमालेलाई प्रधानमन्त्री र काँग्रेसलाई राष्ट्रपतिको जिम्मेवारी बाँडफाँड गर्नेबारेमा प्रमुख दलबीच भद्र सहमति भएको बाहिर आएको थियो ।


बैठकले रिक्त सभामुख र उपसभामुखको निर्वाचनका सन्दर्भमा अन्य दलसँगको समन्वय र आवश्यक निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई नै दिएको छ। बैठकमा मुलुकको वर्तमान अवस्थाबारे प्रधानमन्त्री ओलीले समग्र जानकारी गराएका थिए। बैठकले विद्यमान आपूर्ति व्यवस्थापनको समस्या सम्बोधनका लागि उच्च प्राथमिकता दिन सरकारलाई आग्रह गरेको छ। सोही सन्दर्भमा छिमेकी भारतसँग सीमामा जारी अघोषित नाकाबन्दीलगायतका विषयमा वार्ता गर्न उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा यही साता भारतको भ्रमणमा जाने बैठकमा जानकारी गराइएको छ । थापालाई सरकारले भारतसँगको वार्ताका लागि गठित समितिको संयोजक पनि तोकेको छ।


बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएपनि ठोस निर्णय भएन । नेता पाण्डेका अनुसार मन्त्री चयनको मापदण्डबारे छलफल भएको र विधि र प्रक्रियाबाट निर्णय गर्न जोड दिइएको छ । बैठकले प्रधानमन्त्री ओली र नयाँ मन्त्रीलाई कार्यकालको सफलताको कामना गर्दै बधाई पनि दिएको छ । रासस

Wednesday, October 14, 2015

काँग्रेसले राष्ट्रपतिलगायत सबै पदमा प्रतिष्पर्धा गर्ने


काठमाडौँ/   नेपाली काँग्रेस पदाधिकारी बैठकले नयाँ संविधानअनुसार हुने विभिन्न पदमा प्रतिष्पर्धा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निर्वाचनमा सहयोग गर्ने सबैदलसँग परामर्श गरेर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा उम्मेद्वारी दिने निर्णय गरेको उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए। बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री पदमा प्रतिष्पर्धा गरिसकेकाले अब निर्वाचन हुन गइरहेका अन्य पदमा पनि प्रतिष्पर्धा गर्दा स्वभाविक हुने भन्दै सो निर्णय गरेको पौडेलले जानकारी दिए। प्रधानमन्त्रीको निर्वाचनमा सहयोग गरेका दलसँग परामर्श गरेर सबै पदमा उम्मेदवारी दिने निर्णय भयो, पौडेलले भने, त्यसका लागि आजैदेखि वार्ता र सम्बाद सुरू गर्ने निर्णय भयो। सभामुख र उपसभामुखको निर्वाचन यही शुक्रबार गर्ने संसद सचिवालयले जनाएको छ। प्रधानमन्त्री निर्वाचनपछि पहिलोपटक आज बसेको काँग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री पदमा समर्थन गर्ने दल र सांसद सबैलाई धन्यवाद दिदै भविष्यमा पनि सहकार्य हुने विश्वास व्यक्त गरेको पौडेलले जानकारी दिए।

उपप्रधान तथा परराष्ट्रमन्त्री थापा र भारतीय राजदूतबीच भेट

२७ असोज,काठमाडाैं/ उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र नेपालका लागि भारतीय राजदूत रञ्जित रे बीच परराष्ट्र मन्त्रालयमा भेट भएको छ । केपी शर्मा अोली नेतृत्वको नव निर्वाचित सरकारले भारतसँग समन्वय गरेर अहिलेको नाकाबन्दी समस्या समाधान गर्न मन्त्री थापालाइ जिम्मेवारी तोकेको थियो। भेटमा मन्त्री थापाले भारतीय नाकाबन्दीका कारण नेपालमा उत्पन्न समस्या र चाडपर्वको समयमा कठिन हुँदै गएकाे नेपाली जनजीवनबारे अवगत गराएका थिए । भेटका क्रममा राजदूत रेले अब समस्या नहुुने बताएको एक उच्च श्रोतले जानकारी दिएको छ ।

Tuesday, October 13, 2015

राष्ट्रपति एमाले आफैंले राख्‍ने


२७ असोज,काठमाडौं/  नेकपा एमालेले राष्ट्रपति पद आफैंसँग राख्ने भएको छ। सत्ता साझेदार तीन दलबीच मंगलबार एमालेलाई राष्ट्रपति, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई उपराष्ट्रपति, एकीकृत नेकपा माओवादीलाई सभामुख र राप्रपा नेपाललाई उपसभामुख पद बाँड्ने सहमति जुटेको हो। उनीहरुले सोहीअनुसार निर्वाचनमा उम्मेदवारी दिने पनि सहमति भएको छ।

बैठकमा एमाले र एमाओवादीले ७–७ वटा मन्त्रालय बाँडफाँट गर्ने सहमति पनि भएको छ। स्रोतकाअनुसार एमालेको भागमा रक्षा, अर्थ, सहरी विकास र शिक्षा मन्त्रालय परेको छ। पर्यटन, ऊर्जा र स्वास्थ्य मन्त्रालयमध्ये एउटा पनि एमालेले पाउनेछ। एमालेका तर्फबाट सोमप्रसाद पाण्डेले उद्योग र अग्नि खरेलले कानुन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।

एमाओवादीले उपप्रधानमन्त्रीसँगै गृह, वन, सामान्य प्रशासन, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्राप्त गर्नेछ। त्यसैगरी स्वास्थ्य, ऊर्जा, स्थानीय विकास, पर्यटन मन्त्रालयमध्येबाट २ मन्त्रालय पनि एमाओवादीले पाउनेछ। एमालेका सत्यनारायण मण्डल विनाविभागीय मन्त्री बनेका छन्। एमाओवादीका हरिबोल गजुरेलले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।

राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले स्थानीय विकास मन्त्रालय राप्रपा नेपाललाई दिन सहमति भइसकेको जानकारी दिए। भागबन्डा मिलाउन मंगलबार बिहान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसहितका नेताबीच छलफल भएको थियो। अर्को सत्ता साझेदार दल राप्रपा नेपालका अध्यक्ष कमल थापा भने पार्टी महामन्त्री चन्द्रबहादुर गुरुङको अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले बैठकमा अनुपस्थित थिए।

प्रधानमन्त्री ओलीले अमेरिकी राजदूत एलाइना टेप्लिजलाई भेट्न समय दिएकाले तीन दलको बिहानको बैठक बिनानिष्कर्ष टुंगिएको थियो। ुदलहरूबीच अझै केही विषयमा निर्णयमा पुग्न बाँकी छ,ु एमाले उपमहासचिव विष्णु पौडेलले नागरिकसँग भने, ुमन्त्रिपरिषद विस्तारका लागि अझै केही दिन लाग्छ।ु

स्रोतका अनुसार एमालेले राष्ट्रपतिमा उपाध्यक्ष विद्या भण्डारी वा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पठाउने सम्भावना छ। एमाले र एमाओवादीबीच मंगलबार दिउँसो भएको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति एमालेलाई लिन प्रस्ताव गरेका थिए। एमाओवादी अध्यक्ष दाहालले नै एमालेलाई राष्ट्रपति राख्न प्रस्ताव गर्नुभएको थियो, एमाले स्रोतले भन्यो-उहाँले राष्ट्रपतिमा विद्या भण्डारीको नाम पनि प्रस्ताव गर्नुभयो।

साँझ प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा एमाले नेताहरूको बैठक बसेको थियो। प्रधानमन्त्री ओली, वरिष्ठ नेता झलनाथ खनाल, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, उपाध्यक्षहरू वामदेव गौतम, विद्या भण्डारी, भीम रावल, महासचिव ईश्वर पोखरेल बैठकमा थिए। बैठकमा राष्ट्रपति उम्मेदवारका रूपमा वरिष्ठ नेता खनाल र उपाध्यक्ष भण्डारीको नाममा छलफल भएको थियो। बैठकमा उपाध्यक्ष रावलले वरिष्ठ नेता खनाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका थिए।
मधेसबाट राष्ट्रपति बनाउन सके राम्रो हुने विषयमा समेत छलफल भएको थियो,ु बैठकमा संलग्न एक नेताले भने, तर, कुनै ठोस निर्णय नभई बैठक टुंगियो। बैठकमा नेता नेपालले पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई राष्ट्रपतिका लागि प्रस्ताव गरेका थिए। पछिल्लो समय पण्डितले मन्त्रिपरिषदमा राम्रो काम गरेर लोकप्रिय बनेका छन्, एक एमाले नेताले भने, अहिलेको अवस्थामा मधेसीमूलको व्यक्तिलाई राष्ट्रपति बनाउँदा राम्रो सन्देश दिनेछ। नेता नेपालले एमालेको भागमा उपराष्ट्रपति पद परे युवा नेत्री शान्ता चौधरीलाई बनाउनुपर्ने प्रस्ताव गरेका थिए।

एमाओवादीबाट महासचिव कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा जाने करिब निश्चित भएको स्रोतले जनाएको छ। यही विषयमा निर्णय गर्न बुधबार बिहान एमाओवादीले स्थायी समिति बैठक बोलाएको छ। प्रधानमन्त्री ओलीले सोमबार ९ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए। त्यसमा मधेस समता पार्टीका मेघराज नेपाली एक जना विनाविभागीय राज्यमन्त्री रहेका छन्।

राप्रपा नेपालबाट उपप्रधान तथा परराष्ट्रमन्त्रीमा अध्यक्ष कमल थापा र विनाविभागीय मन्त्रीमा रामकुमार सुब्बाले शपथ लिएका छन्। फोरम लोकतान्त्रिकबाट पार्टी अध्यक्ष गच्छदारले उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी लिएका छन्। पत्रकार प्रमोद दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार नियुक्त हुने भएका छन्। रेडियो नेपालमा कार्यरत दाहाललाई अब बस्ने मन्त्रिपरिषदको बैठकले सल्लाहकारमा नियुक्त गर्ने एमालेनिकट स्रोतले जनाएको छ। शंकर पोखरेल सञ्चारमन्त्री हुँदा दाहाल उनका प्रेस सल्लाहकार थिए।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...