नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माविबाट मतदान गर्नु भएको छ ।
पत्नि राधिका शाक्य सहित ओलीले सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोटको मतदान केन्द्रबाट मतदान गर्नु भएको हो । मतदानपछि ओलीले चुनाव संविधान कार्यान्वयनको पहिलो खुड्कीला भएको प्रतिक्रिया दिनुभयो । स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयन एवम् विकास र समृद्धिको बाटो पनि खुलेको ओलीले बताउनुभयो ।
निर्वाचनमा मतदाताको सहभागिता उत्साहजनक भएकाले देश विकास र अग्रगतितर्फ मुलुक अगाडि बढ्ने अध्यक्ष ओलीको विश्वास छ । २० बर्षअघि निर्वाचन गर्न नपाएका र १८ बर्ष उमेर पुगेका नागरिकले पहिलो पटक अधिकार सम्पन्न स्थानीय तहको निर्वाचनमा सहभागि हुन पाएकाले पनि यो निर्वाचन ऐतिहासिक निर्वाचन भएको उहाँको ठहर छ ।
जिल्लामा ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईले बताउनुभयो । यसैबीच नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका ५, साकोठा स्थित विद्यार्थी निकेतन उच्च माविको केन्द्रबाट पहिलो मतदाताको रुपमा मतदान गर्नु भएको छ ।
स्थानीय तह निर्वाचनमा मतदान गर्दै अध्यक्ष बिजुक्छेले बीस वर्षपछि स्थानीय जनप्रतिनिधि चयनका लागि भएको मतदानले प्रजातन्त्र सुदृढ पार्ने विश्वास व्यक्त गर्नुभयो । स्थानीय जनप्रतिनिधि चयनपछि स्थानीय तहको विकास निर्माणको गति बढ्ने भएकाले जनताले आफ्ना जनप्रतिनिधि राम्रोसँग छान्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।
२०७४, वैशाख ३१
No comments:
Post a Comment