दमक/ झापामा शुक्रबार १२ जना सशस्त्र प्रहरीसहित १३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पूर्वी नाका काँकडभिट्टास्थित राजस्व तथा भन्सार गुल्ममा कार्यरत १२ जना र अर्जुनधारा नगरपालिकाका एक सर्वसाधारणमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।
काँकडभिट्टा सशस्त्रका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मेचीनगर नगरपालिकाका फोकल पर्सन नवीन बरालले जानकारी दिए । उनका अनुसार मेचीनगर नगरपालिकाबाट ३२ जना सशस्त्र प्रहरीसहित एक सय १७ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो । जसमा १२ जना सशस्त्रमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
सशस्त्रका कोरोना सङ्क्रमित हुनेमा १० पुरुष र २ महिला छन् । सङ्क्रमित हुने पुरुषहरु २७ वर्षदेखि ४० वर्षसम्मका छन् । त्यस्तै, दुवै महिला २७ वर्षीया हुन् । योसँगै काँकडभिट्टामा कोरोना सङ्क्रमित हुने सशस्त्र प्रहरीको सङ्ख्या ३२ पुगेको छ । यसअघि सोही गुल्मका २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु आइसोलेसनमा छन् ।
सङ्क्रमित १० पुरुषलाई मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको कोभिड अस्पताल पठाइएको छ भने २ महिलालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताल पठाइएको छ । शुक्रबार आएको रिपोर्टले मेचीनगरमा समुदायमा भने कोरोना सङ्क्रमण नभएको प्रस्ट भएको मेचीनगर नगरपालिकाको उपप्रमुख मीना पोखरेल उप्रेतीले प्रतिक्रिया दिइन् ।
उप्रेतीले भनिन, ‘मेचीनगरबाट पठाइएका एक सय १७ जनामध्ये १२ जनामा कोरोना देखियो, ती सबै सशस्त्रका हुन् । समुदायका कसैको पनि रिपोर्ट पोजेटिभ देखिएन । यसले समुदायमा कोरोना फैलिएको छैन भन्ने प्रस्ट भएको छ ।’
उप्रेतीले सशस्त्रका थपमा कोरोना देखिनुले सङ्क्रमित एउटै हलमा बस्दा पनि कोरोना फैलन सक्ने देखिएको भन्दै सामुदायिक भवनलाई क्वारेन्टाइन बनाउन उपयुक्त नहुने देखिएको बताइन । उपप्रमुख उप्रेतीले सबैमा सचेत रहन पनि अनुरोध गरेकी छन् । उनले सञ्चार क्षेत्रले सही सूचना सम्प्रेषण गरेर खबरदारी गर्न पनि अनुरोध गरिन ।
यससँगै झापामा कोरोना सङ्क्रमित सशस्त्रको सङ्ख्या ३५ पुगेको छ । बिहीबार मात्र झापाको पाथीभरा शिक्षालयका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यस्तै, अर्जुनधारा नगरपालिका–१ का ३१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनलाई थप उपचारका लागि गोठगाउँ पठाइएको छ । यससँगैै झापामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ३ सय ६८ पुगेको छ ।