Monday, July 27, 2020

घरमै बसेका बाह्रदशीका २ जनामा कोरोना, ३ वडा सिल


दमक/ 
झापाको बाह्रदशी गाउँपालिकाको तीनवटा वडा सिल गरिएको छ । घरमै बसेका दुई जना पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको वडा नम्बर १, २ र ३ अर्थात साबिकको राजगढ सिल गरिएको वडा नम्बर ३ का वडाध्यक्ष वीरेन्द्रप्रसाद राजवंशीले जानकारी दिनुभयो ।


घरमै बस्दै आएका उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना समुदायमा प्रवेश गरिसकेको देखिएको छ । यही साउन ८ गते स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएकोमा सोमबार आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना पोजेटिभ देखिनेमा बाह्रदशी गाउँपालिका–३ का ५१ वर्षीय र वडा नम्बर–२ का ४० वर्षीय पुरुष हुन् । सङ्क्रमण पुष्टि भएकामा एक जना राजनीतिकर्मी हुन् भने अर्का स्वाथ्यकर्मी हुन् । घरमै बसेकामा कोरोना सङ्क्रमण देखिएपछि स्थानीयमा त्रास बढेको छ । दुवै जना समाजमा घुलमिल हुने भएकाले कोरोना सङ्क्रमण देखिएपछि कोरोना नियन्त्रण स्थानीय समन्वय समितिको आकस्मिक बैठक बसी यी वडाहरु सिल गर्ने निर्णय भएको हो ।

बैठकमा गाउँपालिकाका प्रमुख, उपप्रमुख, सुरक्षाकर्मी, उद्योग वाणिज्य संघका अध्यक्ष तथा अन्य वडाका वडा अध्यक्षसहित राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । बैठकपछि समितिले ती वडाहरु आज मध्यराति देखि लागू हुनेगरि सिल गरेको भनि सूचना निकालेको छ । घरमै बसेकामा सङ्क्रमण देखिएकाले झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले उनीहरुसँगको भेटघाट भएकाहरुको खोजी गरी स्वाब सङ्कलन गरी पीसीआर परीक्षणको रिपोर्ट नआउन्जेलसम्मका लागि सो क्षेत्रमा लकडाउन गरिएको बताए ।

त्यस्तै, वडा नम्बर ३ का वडा अध्यक्षले भोलि मङ्गलबार उनीहरुको ट्राभल हिस्ट्री, क्लोज कन्ट्र्याक ट्रेसिङ गर्ने तथा डिटेल लिने बताए । त्यसपछि उनीहरुको स्वाब सङ्कलन गरी कोरोना सङ्क्रमण भए नभएको परीक्षण गर्ने बताए । सोको रिपोर्ट नआएसम्म तोकिएको क्षेत्र खुला नहुने राजवंशीले बताए ।

उनले निर्माण सामग्री, यातायात, होटल, रेस्टुरेन्ट, यातायात,बैंक तथा वित्तिय संस्थाहरु पनि बन्द रहने सवाल नेपाललाई जानकारी दिनुभयो । सङ्क्रमित दुवै जनालाई मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको कोभिड अस्पताल पठाइएको पनि वडा अध्यक्ष राजवंशीले जानकारी दिनुभएको छ ।


No comments:

Post a Comment

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...