Friday, January 13, 2017

मध्यरातमा ८० न्यायाधीश नियुक्त

न्याय परिषदले उच्च अदालतमा रिक्त ८० जना न्यायाधीश नियुक्ति गरेको छ । गएराति बसेको न्याय परिषद बैठकले विवादका बिच न्यायाधीश नियुक्त गरेको हो । न्यायपरिषदका सदस्य रामप्रसाद सिटौला र वरिष्ठतम् न्यायधीश बैजनाथ उपाध्यायले बैठक बहिष्कार गर्नुभएको थियो । 
प्रधानन्यायाधीश सुशीला कार्की, कानुनमन्त्री अजय शंकर नायक र माओवादीद्वारा परिषद सदस्य नियुक्त पदम वैदिक सहभागी बैठकले न्यायाधीश नियुक्ति गरेको हो । ५ सदस्यीय परिषदले बहुमतको आधारमा न्यायधीश नियुक्ति गरेपनि यसले विवाद बढाउने देखिएको छ । 

                                                                                २९ पुस,२०७३

अर्घाखाँचीमा सुरु हुन लागेको महोत्सवको उद्घाटन सत्रमा ढुंगा बर्सिए, उर्जामन्त्री शर्मा सम्बोधन नै नगरी काठमाडौं फर्किए

अर्घाखाँचीमा बिहीबारदेखि सुरु हुन लागेको महोत्सवको उद्घाटन सत्रमा ढुंगा बर्सिए पछि उर्जामन्त्री जनार्दन शर्मा सम्बोधन नै नगरी काठमाडौं फर्किनुभएको छ । ‘नेकपा माओवादी केन्द्रका नेता डिलाराम आचार्यले देश टुक्रिन भएन, ५ नम्बर टुक्रेमा केही हुँदैन’ भनेपछि स्थानीय युवाले ढुगांमुढा गरेका हुन । 
महोत्सव उद्घाटन गर्न भनेर हेलिकप्टर चढेर आएका उर्जामन्त्रीले महोत्सवमा मन्तब्य राख्न पाउनु भएन, त्यसै फर्किनुभयो । स्थानीय बासिन्दाको ढुंगामुढा र चर्का नारावाजी पछि कार्यक्रम पनि स्थगित भएको छ । 
स्थानीय बासिन्दाको नाराबाजी र ढुंगामुढा पछि उर्जा मन्त्री शर्मालाई प्रहरीले स्कटिङ गरेर कार्यक्रम स्थलबाट बाहिर लगेको थियो । माओवादी नेता डिलाराम आचार्यले आफूले बोलेका शब्दहरु फिर्ता लिएको आफू पनि अर्घाखाँचीबासी भएको र जिल्लाबासीहरुसँग टाढा हुन नसक्ने भन्दै माफी मागे पछि भीड नियन्त्रण भएको छ ।
नाराबाजी र ढुंगा बर्सिएपछि दुई जना सर्वसाधरण घाइते भएका छन् । डिभर्नाका प्रेम खड्का र किमडाँडाका मानबहादुर भुसाल घाइते भएका हुन् । उनीहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ । 

२८ पुस,२०७३ 

मधेसी मोर्चाको सहमतिविना कुनै पनि निर्वाचन सम्भव छैन–राणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले मधेसी मोर्चाको सहमतिविना कुनै पनि निर्वाचन सम्भव नभएको बताउनु भएको छ । रफत सञ्चार क्लबले बिहीबार भक्तपुरको सुर्यबिनायकमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राणाले यस्तो बताउनु भएको हो ।
 उहाँले संविधान संशोधन गरी मधेसका जायज माग सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले संबिधान संशोधनमा अंगिकृत नागरिकलाई देशको नागरिकता त्याग्नासाथ नेपाली नागरिकता उपलब्ध गराउने प्रावधान गलत भएको बताउनु भयो । अध्यक्ष राणाले सिमांकनको बिषय नटुंगिएसम्म अरु प्रक्रिया अघि नबढ्ने बताउनु भयो ।
संविधानमा धर्म निरपेक्षता राख्नु गलत भएको भन्दै राणाले हिन्दु राष्ट्रका सवालमा जनमत संग्रह गरिनु पर्ने र सबै धर्म प्रति सद्भाव रहेको हिन्दु राष्ट्र कायम गरिनु पर्ने बताउनु भयो । उहाँले अब सरकारमा राप्रपा अध्यक्ष कमल थापा जाने बताउँदै तत्काल सरकार भने परिवर्तन नहुने बताउनु भयो ।
भूकम्पपीडितलाई उपलब्ध गराएको पचास हजार सबैले नपाएको र जगसमेत हाल्न नपुग्ने भन्दै उहाँले तत्काल सरकारले छानो छाउन सक्नेसम्मको बजेट उपलब्ध गराउनु पर्नेमा जोड दिनु भयो । 
२८ पुस,२०७३

पोखरा जान टाढा भएमा सुरुङ मार्ग निर्माण गरिदिने उर्जामन्त्री शर्माको भनाई

उर्जामन्त्री जनार्दन शर्माले रोल्पा र रुकुमका जनताको माग अनुसार नै पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग्याएको बताउँदै अर्घाखाँचीका जनतालाई पोखरा जान टाढा भएमा सुरुङ मार्ग निर्माण गरिदिने आश्वासन दिनुभएको छ । 
बिहीबारदेखि अर्घाखाँचीको सन्धिखर्कमा सुरु भएको अर्घाखाँची महोत्सवको उद्घाटन गर्न हेलिकप्टर चढेर सन्धिखर्कमा आएका नेता शर्माले प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलनमा प्रदेश विभाजन जनताको चाहनाअनुसार नै भएको दाबी गर्दै अर्घाखाँचीका जनतालाई पोखरा जान टाढा भएमा सुरुङ मार्ग निर्माण गरिदिने आश्वासन दिनुभएको हो । 
उर्जामन्त्री शर्माले एमालेसँग संविधान संशोधनको बिषयमा मतदान प्रक्रियामा जाने र निर्वाचनको मिति तोक्ने सहमति पनि भएको बताउनुभयो । उहाँले सरकार पक्षले संविधान संशोधनको पक्षमा र प्रतिपक्षले विपक्षमा मत हालेर प्रक्रियामा गई टुंगाउने र छिटो भन्दा छिटो सहमतिमा निर्वाचनको मिति तोक्ने सहमति भएको बताउनुभयो । 
‘सबै राजनीतिक दलहरुसँग सहमतिद्वारा मिति तोक्न सरकारले प्रयत्न गरिरहेको छ, विवादका बिचबाट एउटा सहमतिका बिचमा सरकार अगाडी बढेको छ, टेवुल गर्नका लागि सहमतिमा संसद खुलेको छ’ उहाँले भन्नुभयो । उहाँले गणतन्त्र, संघीयता र प्राप्त उपलब्धीलाई संस्थागत गर्न प्रमुख दलहरु एक हुनुपर्ने समेत बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका शर्माले सबै क्षेत्रलाई समेटेर लैजाने गरी संविधान संशोधनको प्रस्ताव दर्ता भएको बताउनुभयो । मन्त्री शर्माले नेपाललाई लोडसेडिङ मुक्त बनाउन जनताको साथ र समर्थन पाएको पनि सुनाउनुभयो ।
२८ पुस,२०७३

तराई र पहाडलाई अगल बनाएर दुई राष्ट्रियता बनाउन खोजिएको पोखरेलको आरोप

नेकपा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले संविधान संशोधनमार्फत तराई र पहाडलाई अगल बनाएर दुई राष्ट्रियता बनाउन खोजिएको आरोप लगाउनुभएको छ । 
पहिलो चरणमा ५ नम्वर प्रदेशको पहाडी जिल्लालाई तराईबाट अलग गराउने र पछि अन्य प्रदेशमा जोडिएको पहाडी जिल्लालाई पनि अलग गराएर समग्र मधेस एक प्रदेश बनाउँदै देशलाई विभाजन गर्ने अभियानका साथ संविधान संशोधनको प्रस्ताव आएको नेता पोखरेलले दाबी गर्नुभयो ।
प्रेस चौतारी पाल्पाले बुधवार तानसेनमा गरेको पत्रकार सम्मेलनमा उहाँले प्रतिपक्षको विरोधका बावजुद पनि सरकारले विधेयक पेश गर्नु संसदीय मूल्य र मान्यता विपरित भएको बताउनुभयो । जालझेल गरी पेश भएको विधेयक कुनै हालतमा पास हुन नदिने उहाँको अडान छ ।
अहिले सरकारले चुनावका कुरा गरेर जनता अल्मल्याउने काम गरेको भन्दै उहाँले निर्वाचनमा भाग लिन एमाले आतुर भएको उल्लेख गर्नुभयो । उहाँले त्यस अघि पार्टी सरकारमा सहभागी नहुने पनि बताउनुभयो । 
वर्तमान सरकारले स्थानीय निर्वाचन गराउन नसके देशमा संवैधानिक संकट निम्तिने भएकोले चुनाव सम्वन्धी हरेक क्रियाकलापमा एमाले जति बेला पनि साथ दिन तयार रहेको नेता  पोखरेलको भनाई छ । 
२७ पुस,२०७३

Tuesday, January 10, 2017

तराइको भु–भाग भारतमा मिलाउने षडयन्त्र भइरहेको केसीको दावी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले मुलुक बिभाजन गरेर तराइको भु–भाग भारतमा मिलाउने षडयन्त्र भइरहेको दावी गर्नुभएको छ । सोहि प्रयोजनका लागि संघियताको अवधारणा ल्याइएको जिकिर गर्दै अध्यक्ष केसीले पछिल्लो पटकको संविधान संशोधन विधेयकपनि त्यसकै निरन्तरता भएको दावी गर्नुभयो ।
उहाँले संघियता सबैका लागी घांडो भएको तर्क गर्दै निर्णय पुर्नविचार गर्नुपर्ने बताउनुभयो । पृथ्वीनारायण शाहको नेपाल एकिकरणमा रहेको योगदानको उच्च मुल्याङ्कन गर्नुपर्ने भन्दै उहाँले पृथ्वी जयन्तीका अवसरमा सरकारले सार्वजनिक विदा नदिएकोमा असन्तुष्टि जनाउनुभयो । जिसस क्राइस्टको जन्मदिनमा विदा दिने तर राष्ट्र निर्माताको जन्मजयन्तीमा नदिने प्रवृत्ति गलत भएको भन्दै उहाँले आगामी दिनमा सच्चाएर अघि बढनुपर्ने बताउनुभयो । पृथ्वीनारायणलाई देखाएर उनका सन्ततीले मुलुकमा शासन गर्न नपाउने भन्दै अध्यक्ष केसीले दलहरुको असफलताका कारण प्रतिगामी शक्तिलाई फाइदा पुगिरहेको टिप्पणी गर्नुभयो । 

पुस २७, २०७३

आज पृथ्वी जयन्ती , नागरिक स्तरबाट मनाइँदै

आधुनिक नेपालका निर्माता राष्ट्र नायक श्री ५ वडामहारजधिराज पृथ्वी नारायण शाहाको जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । गोरखा राज्यका तत्कालिन राजा पृथ्वीनारायण शाहले आफनो कार्यकालमा काठमाडौ उपत्यका सहित अन्य शक्तिशाली राज्यलाइ मिलाएर आधुनिक नेपालको निर्माण गर्न महत्वपुर्ण भुमिका खेल्नुभएको थियो ।
विक्रम सम्वत् १७७९ पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधूनिक नेपालको खाका कोरेको इतिहासकारको भनाइ छ ।  स साना राज्यमा छरिएको भू भागलाई सिङ्गो नेपाल बनाउन शाहले नेतृत्व गरेका थिए । दोस्रो जनआन्दोलनपछि लोकतन्त्रको स्थापना भएसंगै सरकारले पृथ्वी जयन्तीका दिन दिदै आएको सार्वजनिक बिदा कटौती गरेको छ ।
यद्यपी नागरिक समाज तथा केही दलले  भने पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा पनि मनाउने गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी नारायण शाहको शालिकमा माल्र्यापण, प्रभातफेरि र चियापान समारोह गर्दैछ । अपराह्न १ पछि भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गरिएको सो पार्टीले जनाएको छ ।

२७ पुस , २०७३

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...