Friday, November 18, 2016

कार्की विरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल लम्बियो

३ मंसिर , २०७३    व्यवस्थापिका संसदमा अख्तियारका प्रमुख लोकमान सिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको विषयमा चौथो दिनको छलफल सकिंदा ५३ जनाले धारणा राखेका छन् ।
आजको बैठकमा १२ जनाले धारणा राखेको संसद सचिवालयले जनाएको छ । सत्ता साझेदार दल नेपाली कंग्रेसले पार्टीगत धारणा तय नगरेपनि कंग्रेसका सांसदले भने महाअभियोग कै प्रस्तावका पक्षमा धारणा राखेका छन् ।

यद्धपी कंग्रेसका मोहन बस्नेत लगायत केही सांसदले भने महाअभियोग प्रस्ताव नै विधिसम्मत दर्ता नभएको टिप्पणी गरेका थिए । गत कात्तिक ३ गते प्रमुख प्रतिपक्षी एमाले र माओवादी केन्द्रका १५७ सांसदले महाअभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गरेका थिए । सो प्रस्ताव माथि कात्तिक ९ गतेदेखि छलफल सुरु भएको थियो ।


ट्रमसंग उच्च आत्मविश्वास भएको जापानी प्रमको भनाइ

३ मंसिर , २०७३ ।   जापानी प्रधानमन्त्री सिन्जो आवेले  नबनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमसंग उच्च आत्मविश्वास रहेको टिप्पणी गर्नुभएको छ ।
अमेरिका भ्रमणमा रहेका प्रधामन्त्री आवेले ट्रम्पसंगको भेटपछि त्यस्तो प्रतिकृया दिनुभएको हो । ट्रम्पको कार्यकालमा दुईमुलुकबीचको सम्वन्ध थप बिश्वसनीय हुने आवेको भनाई थियो ।

न्युयोर्कमा ट्रम्पसंग डेढधण्टा लामो भेटबार्तापछि पत्रकारहरुसंग अवेले भन्नुभयो, ‘सौहार्दपुर्ण बताबरणमा स्पष्ट कुराकानी भयो ।’ ट्रम्पको चुनावी अभियानका क्रममा जपान सहितको अमेरिकी गठवन्धनलाई लिएर शंका उब्जिरहेका वेला ट्रम्प र आवेबीच भेटबार्ता भएको हो । 

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलोपल्ट विदेशी मुलुकका सरकार प्रमुखसंग ट्रम्पको भेटबार्ता भएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् । दोस्रो विश्वयुद्धपछि दुईमुलुकवीचको सम्वन्ध सुधार भएसंगै अमेरिकाले जपानको पुर्ननिर्माण र अर्थतन्त्रमा सहयोग गर्दै आएको छ ।   

राजनीतिक आस्थाका आधारमा न्यायाधीश नियुक्ति हुँदैन : कार्की

३ मंसिर, २०७३  प्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिक आस्थाका आधारमा न्यायाधीश नियुक्ति नगरेको बताउनु भएको छ ।
सप्तरीको राजविराजमा आज विहान सञ्चारकर्मीसंग कुराकानी गर्दै प्रधानन्यायधिस कार्कीले यस्तो बताउनु भएको हो ।  कार्कीले न्यापालिकामा कुनै पनि राजनीतिक प्रभाव नरहेको दाबी समेत गर्नुभयो । समानुपातिक समावेशीका नाममा विज्ञता नभएका व्यक्तिलाई न्यायाधीश बनाउन नसक्ने भन्दै उहाँले न्यायपालिका जनताको आस्थाको केन्द्र भएकाले न्याय सम्पादन गर्न सक्ने र कानुनमा विज्ञता हासिल गरेका ब्यक्ति मात्र अघि बढन सक्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘बुहारीलाई घुम्टो ओढाएर राख्ने अनि समावेशी समानुपातिकमा नियुक्ति हुनुपर्छ भनेर हुँदैन ।’ कार्कीले न्याय क्षेत्र समेत केही व्यक्तिका कारण भ्रष्टाचार मुक्त भने नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘न्याय क्षेत्रमा रहेका केही मुठीभर गलत व्यक्तिका कारण पुरै न्यायपालिका बद्नाम भइरहेको छ ।’

Wednesday, October 26, 2016

महाअभियोगबारे मोर्चाले भोली धारणा सार्वजनिक गर्ने

१० कार्तिक, २०७३    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगवारे भोली आधिकारिक धारणा तय गर्ने भएको छ । 
मोर्चाका नेताहरु राजधानी बाहिर भएका कारण मोर्चाले कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावका बिषयमा अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन । मोर्चाका सबै नेताहरु आज साँझसम्म राजधानी आइपुग्ने र भोली बैठक बसेर पछिल्लो राजनीतिक घटनाक्रमका बिषयमा साझा धारणा तय गरिने मोर्चामा आबद्ध मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो । उहाँले कार्कीबिरुद्धको महाअभियोग भन्दा पनि त्यसका कारण मधेसको मुद्धा सम्वोधनमा भइरहेको ढिलाईवारे मोर्चाले धारणा बनाउने बताउनुभयो ।

निलम्बित अख्तियार प्रमुख कार्कीको महाअभियोगको बिषयले मोर्चाको मागलाई बिषयान्तार गरेको भन्दै अध्यक्ष यादवले माग सम्वोधनका लागी छठपछि आन्दोलन गर्ने बिषयमा समेत भोलीको बैठकमा छलफल हुने बताउनुभयो । मोर्चाका केही नेताहरुले आफ्ना माग सम्वोधनमा सरकारले उदासिनता देखाएको भन्दै बर्तमान गठबन्धन सरकारलाई दवाव दिन समर्थन फिर्ता लिनेसम्मको निर्णय गर्नुपर्नेमा जोड दिन थालेका छन् । 

Tuesday, October 25, 2016

सडकको गुणस्तर सुधारमा लाग्न विकास समितिको निर्देशन

९ कार्तिक, २०७३  व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले गुणस्तरीय सडक निर्माण, सवारी साधनको बढ्दो चाप नियन्त्रण, सडकको स्तरउन्नति र दुर्घटना न्यूनिकरणलाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । 
सिंहदरबारमा आज बसेको समितिको बैठकले सो कार्यका लागि आवश्यक बजेट बिना अवरोध उपलब्ध गराउन सरकारलाइ निर्देशन दिदै सबै प्रदेशमा सडकको स्थलगत अध्ययनका लागि ७ वटा उपसमिति समेत गठन गर्ने निर्णय गरेको छ ।  भौतिक पूर्वधार यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक र राष्ट्रिय सर्तकता केन्द्रका प्रमुख अधिकारीलाई डाकेर समितिले आज रसुवागढी सडक, पोखरा–बेनी–जोमसोम, अरनिको राजमार्ग, हुलाकी राजमार्ग, चैनपुर–ताक्लाकोट तथा राजधानीका सडक निर्माणको कार्यप्रगति, मर्मत सम्भार र स्तरउन्नतिका लागि भईरहेका प्रयासबारे जानकारी लिएको हो । 

हाल निर्माण भएका सडक गुणस्तहीन भएकाले बनेको केही महिनामै भत्किने र मर्मत सम्भार गर्नुपर्ने भन्दै सममितिले गुणस्तरीय सडक निर्माण नगर्ने निर्माण ब्यवसायी र संलग्न कर्मचारीलाई कारबाही गर्न पनि निर्देशन दिएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप गुणस्तरीय सडक निर्माणलागि आवश्यक प्राविधिक करार वा अस्थाई रुपमा लिई ६ महिना भित्र उपलब्ध गराउन, गुणस्तरहीन निर्माण सामग्री आयात नगर्न र नगराउन तथा सडक तत्काल मर्मतका लागि मोबाईल मेन्टिनेन्स डिभिजन खडा गर्न पनि समितिले सरकारलाई निर्देश गरेको छ । 

साथै समितिले यसै आर्थिक बर्षभित्र उपत्यकाका सबै जिर्ण सडकको स्तरोन्नति, नदिकिनारका करिडोर तीन महिनाभित्र सञ्चालन गर्न तथा अत्याधिक सवारी चाप हुने स्थानमा फ्लाई ओभर निर्माण गर्न पनि सम्बन्धीत मन्त्रालयलाई भनेको छ । समितिले राष्ट्रिय सतर्कता केन्द्रलाइ गुणस्तरहीन सडक निर्माण नगर्ने बिरुद्ध सक्रियता बढाउन पनि निर्देशन दिएको छ । 

कार्की विरुद्धको महाअभियोग प्रस्तावमा आजदेखि छलफल

९ कार्तिक, २०७३  ब्यवस्थापिका संसदमा आजबाट अख्तियार प्रमुख लोकमानसिंह कार्की बिरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल हुँदैछ । 
अपरान्ह ३ बजेपछि बस्ने बैठकमा नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले कार्की बिरुद्धको महाअभियोग प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । सो प्रस्तावमाथि एमाले प्रमुख सचेतक भानुभक्त ढकाल सहित समर्थकहरुले महाअभियोग प्रस्तावको आवश्यकताबारे आफ्नो धारणा राख्नेछन् । 

संसदमा हाल कायम ५ सय ९५ सदस्य मध्ये बोल्न चाहाने सवैले छलफलमा भाग लिन पाउने भएकाले महाअभियोग प्रस्तावमाथिको छलफल कति समय चलाउने भन्ने समय संसद सचिवालयले निर्धारण गरेको छैन । यद्यपी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको र महाअभियोग प्रस्तावबारे निर्णय लिईनसकेकाले छलफलको समय प्रभावित हुने देखिएको छ ।  

संसद सचिवालयमा गत बुधवार साँझ एमाले र माओवादी केन्द्रका १ सय ५७ जना सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेपनि एक सातापछि आजबाट मात्र संसदमा छलफल सुरु हुन लागेको हो । गत आइतवार बसेको संसद बैठकमा सभामुख ओनसरी घर्तीले प्रस्तावमाथि आजबाट छलफल हुने समय निर्धारण गर्नुभएको हो । 

भाइटीकाको उत्तम साइत ११ बजेर ५२ मिनेट

९ कार्तिक, २०७३   यसबर्ष भाइटीकाको उत्तम साइत कात्तिक १६ गते मंगलवार बिहान ११ बजेर ५२ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । 
भाइटीकाको साइत मध्यान्नको समयमा उत्तम हुने जनाउदै समितिले १२ बज्न ८ मिनेट बाँकी रहेको समय जुराएको हो । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले यसवर्ष टीका लगाउन नहुने समय नभएकाले कात्तिक शुक्ल द्वितीयाका दिन दिनभरि टीका लगाउन सकिने बताउनुभयो ।  
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ । यस वर्ष कात्तिक १२ गते शुक्रबार कागतिहार, १३ गते शनिबार कुकुरतिहार, १४ गते आइतबार लक्ष्मीपूजा, १५ गते सोमबार गोवद्र्धन पूजा, गाई पूजा र ह्मपूजा र कात्तिक १६ गते भाइटीका परेको छ ।  

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...