Tuesday, October 25, 2016

भाइटीकाको उत्तम साइत ११ बजेर ५२ मिनेट

९ कार्तिक, २०७३   यसबर्ष भाइटीकाको उत्तम साइत कात्तिक १६ गते मंगलवार बिहान ११ बजेर ५२ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । 
भाइटीकाको साइत मध्यान्नको समयमा उत्तम हुने जनाउदै समितिले १२ बज्न ८ मिनेट बाँकी रहेको समय जुराएको हो । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले यसवर्ष टीका लगाउन नहुने समय नभएकाले कात्तिक शुक्ल द्वितीयाका दिन दिनभरि टीका लगाउन सकिने बताउनुभयो ।  
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ । यस वर्ष कात्तिक १२ गते शुक्रबार कागतिहार, १३ गते शनिबार कुकुरतिहार, १४ गते आइतबार लक्ष्मीपूजा, १५ गते सोमबार गोवद्र्धन पूजा, गाई पूजा र ह्मपूजा र कात्तिक १६ गते भाइटीका परेको छ ।  

महाअभियोगबारे कंग्रेसमा आजपनि छलफल जारी

९ कार्तिक, २०७३    नेपाली कंग्रेसको केन्द्रीय समिति बैठकमा आज पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ । 
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुरु आजको बैठकमा पनि महाअभियोग प्रकरणका बिषयमा सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको कांग्रेस नेताहरुले बताएका छन् । गत बिहीवारबाट सुरु बैठकमा यसअघि ४७ जना सदस्यले धारणा राखिसकेका छन् । निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीबिरुद्धको महाअभियोग प्रस्तावमा सदस्यहरुले धारणा राखेपछि संसदीय दलको बैठकबाट मात्र प्रस्तावको पक्ष वा बिपक्षमा उभिने बारे निर्णय गर्ने कांग्रेसले जनाएको छ ।  

कंग्रेसमा अधिकांस केन्द्रीय सदस्यहरुले कार्कीविरुद्धको महाअभियोग प्रस्तावका पक्षमा पार्टीले निर्णय गर्नुपर्नेमा जोड दिएपनि केही नेताले बचाउनुपर्ने धारणा राख्दै आएका छन् । अझै २५ जना सदस्यले बोल्नका लागि नाम टिपाएकाले आजै निश्कर्षमा पुग्ने सम्भावना समेत कम रहेको एक नेताले बताएका छन् । हिजो धारणा राख्ने २१ केन्द्रीय सदस्यहरु मध्ये अधिकांसले कार्कीविरुद्धको महाअभियोगका पक्षमा पार्टीले तत्काल निर्णय लिनुपर्ने बताएका थिए ।  

स्रोतका अनुसार आजको बैठकबाट पनि कंग्रेसले कार्की प्रकरणवारे आफ्नो औपचारिक धारणा सार्वजनिक नगर्ने रणनीति बनाएको छ । कार्कीले महाअभियोग सिफारिस समिति समक्ष पेश गर्ने स्पष्टीकरणपछि मात्र कंग्रेसले सो प्रकरणमा आफ्नो धारणा सार्वजनिक गर्ने कंग्रेसका एक नेताले जानकारी दिए । 

काठमाडौं उपत्यकाका भुकम्प प्रभावितलाइ आजबाट अनुदान

९ कार्तिक, २०७३    सरकारले काठमाडौं उपत्यकाका भुकम्प प्रभावितलाई पहिलो किस्ता बापतको अनुदान रकम बितरण कार्य आजदेखि शुरु गर्दैछ । 
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना इकाई कार्यलयले काठमाडौं, ललितपुर र भक्तपुरका भुकम्प प्रभावितलाई पहिलो किस्ताको ५० हजार रुपैयाँ आजदेखि बितरण गर्न लागेको हो । उपत्यकाका ३ जिल्लामा हिजो सम्ममा ९० हजार ८ सय ८८ लाभग्राही पहिचान भएका छन् । 

ति मध्ये काठमाडौंमा सबै भन्दा धेरै ४२ हजार, ललितपुरमा ३२ हजार र भक्तपुरमा २४ हजार भूकम्प प्रभावित पहिचान भएको छ । काठमाडौंका ३ जिल्लाका भूकम्प प्रभावितको पहिचान भईसकेकाले आजबाट पहिलो किस्ताको रकम बितरण गर्न लागिएको पूर्ननिर्माण प्राधिकरणले जनाएको छ । 

डेंगुबारे सतर्क रहन सरकारको आग्रह

९ कार्तिक, २०७३    स्वास्थ्य मन्त्रालयले मुलुकका बिभिन्न १३ जिल्लामा डेंगु प्रभावितको संख्या बढ्दै गएकाले सतर्क हुन आग्रह गरेको छ । 
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। भीम आचार्यले डेंगु प्रभावितको संख्या पछिल्लो समय ह्वात्तै बढेको उल्लेख गर्दै सतर्क तर त्रसित नहुन आग्रह गर्नुभएको हो । अस्ति आइतवार झापामा ३४ जना डेंगुका बिरामी देखिएकोमा हिजो एकै दिन सो संख्या एक सय पुगेको थियो ।  
ज्वरो आउने र शरीर शिथिल भएमा तत्काल अस्पताल जान आाग्रह गर्दै रोग नियन्त्रण महाशाखाले डेंगु लामखुट्टेको टोकाइबाट सर्ने भएकाले घर वरिपरि लामखुट्टे नआउने वातावरण बनाउन आग्रह गरेको छ । झापा, चितवनलगायत केही जिल्लामा डेंगुको संक्रमण पुष्टि हुनासाथ डेंगुविरुद्धको विशेष अभियान चलाइएको छ । 
महाशाखाका अनुसार चितवनमा ३ सय ६७, झापामा एक सय, पर्सामा तीन, काठमाडौं, रुपन्देही र कैलालीमा दुईरदुई जनामा संक्रमण देखिएको छ । यस्तै ललितपुर, धादिङ, काभ्रे, कास्की, स्याङ्जा, बागलुङ, बारा र सप्तरीमा पनि बिरामी भेटिएको महाशाखाले जनाएको छ ।   
                            
डेंगु नियन्त्रण र प्रभावितलाई उपचारका लागि सबै ठाउँमा आवश्यक कीट, औषधिलगायत उपचार सामग्रीसहित चिकित्सकको टोली खटाइएको डा आचार्यले जानकारी दिनुभयो ।

राती १० बजेपछि देउसी भैलो नखेल्न गृहको निर्देशन

८ कार्तिक , २०७३    गृह मन्त्रालयले तिहारको अवसरमा देउसी-भैलो लगायतका कार्यक्रम राती १० बजेपछि नगर्न आग्रह गरेको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी रातको समयमा देउसी भैलो खेल्दा शान्ति सुरक्षामा प्रतिकूल असर पुग्न सक्ने भन्दै राती १० बजे पछि देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रम नगर्न आग्रह गरेको हो ।

तिहार र छठ जस्ता पर्वमा भूइचम्पा, पटका र विष्फोटक पदार्थ प्रयोग नगर्न आग्रह गर्दै मन्त्रालयले प्रयोग गरेको पाइए कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

कंग्रेस नेता कोइराला पनि महाअभियोग प्रस्तावको पक्षमा

८ कार्तिक, २०७३  कंग्रेस केन्द्रीय सदस्य शेखर कोईरालाले आफ्नो दल अख्तियारका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको पक्षमा नलाग्ने बताउनुभएको छ । 
गुल्मीको तम्घासमा आज सञ्चारकर्मीसँग नेता कोइरालाले कार्कीले धेरै गल्ती र त्रुटी गरिसकेकाले महाअभियोगबाट जोगाउन नसकिने बताउनुभएको हो । यसअघि नेता कोइराला कार्कीलाई महाअभियोग लगाउन नहुने पक्षमा रहनुभएको बताइएको थियो । 

उहाँले लोकमान प्रकरणमा धेरैले कंग्रेसको आलोचना गरिरहेपनि कुनै अलमल नभएको स्पष्ट समेत दावी गर्नुभयो । एकपछि अर्को गम्भिर गल्ती गर्दै गएकाले कार्की पदबाट हट्नै पर्ने उहाँको भनाई थियो ।

असोजसम्म मेलम्चीको पानी वितरण गर्न संसदीय समितिको निर्देशन

८ कार्तिक, २०७३   व्यवस्थापिका संसदको विकास समितिले बहुप्रतिक्षित मेलम्ची आयोजनाको काम अर्को वर्षको असोजसम्म सकेर पानी वितरण गर्न सम्वन्धित निकायलाई निर्देशन दिएको छ । 
सिंहदरबारस्थित समितिको कार्यालयमा आज बसेको बैठकले यसअघि पनि आयोजना सम्पन्न गर्ने मिति दुई पटक तय भईसकेको भन्दै अब समय थप गर्नेभन्दा पनि चाँडो काम सक्न खानेपानी तथा सरसफाई मन्त्रालय र मेलम्ची खानेपानी आयोजनालाई निर्देशन दिएको हो ।

सुरुङ निर्माणको क्रममा देखिएको कमजोर चट्टान बग्ने समस्यालाई गम्भिरतापूर्वक समाधान गर्न पनि समितिले निर्देशन दिएको छ । बैठकले स्थानीय प्रभावितको भौतिक तथा आर्थिक लाभ सम्बन्धी निर्देशिका तयार गर्न र आयोजना स्थलसम्म पुग्ने सडकको तत्काल स्तरोन्नति गर्न पनि निर्देशन दिएको समिति सभापति रविन्द्र अधिकारीले जानकारी दिनुभयो । 

आयोजनाले पाइप विच्छ्याउने कार्यले सडक सञ्चालनमा कठिनाई देखिएको भन्दै समितिले रातीको समयमा समेत काम गरी पानी वितरणको पूर्वाधारलाई छिटो सम्पन्न गर्न पनि  निर्देशन दिएको छ । बैठकमा मेलम्ची खानेपानी आयोजनाका प्रमुख घनश्याम भट्टराईले आयोजनाको ६२ प्रतिशत काम सकिएको जानकारी दिनुभयो ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...