Tuesday, October 25, 2016

राती १० बजेपछि देउसी भैलो नखेल्न गृहको निर्देशन

८ कार्तिक , २०७३    गृह मन्त्रालयले तिहारको अवसरमा देउसी-भैलो लगायतका कार्यक्रम राती १० बजेपछि नगर्न आग्रह गरेको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी रातको समयमा देउसी भैलो खेल्दा शान्ति सुरक्षामा प्रतिकूल असर पुग्न सक्ने भन्दै राती १० बजे पछि देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रम नगर्न आग्रह गरेको हो ।

तिहार र छठ जस्ता पर्वमा भूइचम्पा, पटका र विष्फोटक पदार्थ प्रयोग नगर्न आग्रह गर्दै मन्त्रालयले प्रयोग गरेको पाइए कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

कंग्रेस नेता कोइराला पनि महाअभियोग प्रस्तावको पक्षमा

८ कार्तिक, २०७३  कंग्रेस केन्द्रीय सदस्य शेखर कोईरालाले आफ्नो दल अख्तियारका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको पक्षमा नलाग्ने बताउनुभएको छ । 
गुल्मीको तम्घासमा आज सञ्चारकर्मीसँग नेता कोइरालाले कार्कीले धेरै गल्ती र त्रुटी गरिसकेकाले महाअभियोगबाट जोगाउन नसकिने बताउनुभएको हो । यसअघि नेता कोइराला कार्कीलाई महाअभियोग लगाउन नहुने पक्षमा रहनुभएको बताइएको थियो । 

उहाँले लोकमान प्रकरणमा धेरैले कंग्रेसको आलोचना गरिरहेपनि कुनै अलमल नभएको स्पष्ट समेत दावी गर्नुभयो । एकपछि अर्को गम्भिर गल्ती गर्दै गएकाले कार्की पदबाट हट्नै पर्ने उहाँको भनाई थियो ।

असोजसम्म मेलम्चीको पानी वितरण गर्न संसदीय समितिको निर्देशन

८ कार्तिक, २०७३   व्यवस्थापिका संसदको विकास समितिले बहुप्रतिक्षित मेलम्ची आयोजनाको काम अर्को वर्षको असोजसम्म सकेर पानी वितरण गर्न सम्वन्धित निकायलाई निर्देशन दिएको छ । 
सिंहदरबारस्थित समितिको कार्यालयमा आज बसेको बैठकले यसअघि पनि आयोजना सम्पन्न गर्ने मिति दुई पटक तय भईसकेको भन्दै अब समय थप गर्नेभन्दा पनि चाँडो काम सक्न खानेपानी तथा सरसफाई मन्त्रालय र मेलम्ची खानेपानी आयोजनालाई निर्देशन दिएको हो ।

सुरुङ निर्माणको क्रममा देखिएको कमजोर चट्टान बग्ने समस्यालाई गम्भिरतापूर्वक समाधान गर्न पनि समितिले निर्देशन दिएको छ । बैठकले स्थानीय प्रभावितको भौतिक तथा आर्थिक लाभ सम्बन्धी निर्देशिका तयार गर्न र आयोजना स्थलसम्म पुग्ने सडकको तत्काल स्तरोन्नति गर्न पनि निर्देशन दिएको समिति सभापति रविन्द्र अधिकारीले जानकारी दिनुभयो । 

आयोजनाले पाइप विच्छ्याउने कार्यले सडक सञ्चालनमा कठिनाई देखिएको भन्दै समितिले रातीको समयमा समेत काम गरी पानी वितरणको पूर्वाधारलाई छिटो सम्पन्न गर्न पनि  निर्देशन दिएको छ । बैठकमा मेलम्ची खानेपानी आयोजनाका प्रमुख घनश्याम भट्टराईले आयोजनाको ६२ प्रतिशत काम सकिएको जानकारी दिनुभयो ।

Sunday, October 23, 2016

मुखर्जीको भ्रमण तयारी गर्न निर्देशन


८ कार्तिक २०७३, काठमाडौं    सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको राजकीय भ्रमण क्रममा धुलिखेल, जनकपुर, पोखरा, लुम्बिनी जानसक्ने भन्दै स्थानीय निकायलाई आवश्यक तयारी गर्न निर्देशन दिएको छ।
स्थानीय विकास तथा संघीय मामिला मन्त्रीले सम्बन्धित नगरपालिकलाई राष्ट्रपति मुखर्जीको स्वागत, झाँकी प्रदर्शन, नागरिक अभिनन्दनलगायत तयारी गर्न आइतबार सम्बन्धित स्थानीय निकायलाई निर्देशन दिएका हुन्।

मन्त्रालयले मुखर्जीबाट धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको अवलोकन हुनसक्ने सम्भावना रहेको जनाएको छ। करिब २ दशकपछि भारतीय राष्ट्रपति राजकीय भ्रमण क्रममा कातिक १७ गते काठमाडौं आउँदैछन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आउन लागेका मुखर्जी विभिन्न कार्यक्रममा सहभागी हुने छन्।

यसैबीच भारतीय विदेश मन्त्रालयका शिष्टाचार महापाल नेतृत्वको टोलीले राष्ट्रपति मुखर्जीको सम्भावित भ्रमणस्थलको सुरक्षालगायत विषयमा जानकारी लिएका छन्। सो टोली फर्केर भारत गएपछि  मुखर्जीको भ्रमण कार्यतालिका सार्वजनिक हुने छ। मुखर्जीको भ्रमणपछि राष्ट्रपति भण्डारीले पनि भारत भ्रमण गर्ने छिन्।

टीकापुर घटनाका अभियुक्तको मुद्धा फिर्ता लिन माग

 ७ कार्तिक २०७३, धनगढी   कैलालीको टीकापुरमा गत भदौ ७ गते भएको हिंसात्मक घटनाका अभियुक्तका आफन्तले कतिपय निर्दोषलाई झुठा मुद्धा लगाइएको भन्दै मुद्धा फिर्ता लिन माग गरेका छन् । उनीहरुले मुद्धा फिर्ता दिन दवाव दिन संघर्ष गर्नेसमेत बताएका छन्।

धनगढीमा आईतबार पत्रकार सम्मेलन गरेर मुद्धा फिर्ता लिन माग गरेका छन्। उनीहरुले  सरकारलाई दवाव दिन आन्दोलनका कार्यक्रम घोषणा गरेको उनीहरुले जनाएका छन्। थापापुर गाविस–६, नवलपुरकी गोकर्णी चौधरीले आन्दोलमा नगएका आफ्ना श्रीमानलाई प्रहरीले पक्राउ गरेर मुद्वा चलाएको बताइन्।

‘श्रीमान आन्दोलनमै जानु भएको थिएन । घटना भएको एक हप्तापछि राति १२ बजे आएर प्रहरीले पक्राउ गरेर लग्यो,’ उनले भनिन्, ‘आन्दोलनमै सहभागि नभएका व्यक्तिलाई मुद्धा चलाइएको छ ।’ घरमा कमाउने व्यक्ति थुनामा पर्दा बिचल्ली भएको उनले बताइन्।

‘निर्दोष आफन्तलाई मुद्धा चलाएर दुःख दिएको छ, ’ उनले भनिन्, ‘पुर्पक्षका लागि थुनामा राखिएकालाई रिहा गरिनुपर्छ।’
गत भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक घटनामा ८ जना प्रहरी र एक नाबालक मारिएका थिए। विभत्स रुपमा हत्या गरिएको उक्त घटनामा सरकारले ५६ जना विरुद्ध मुद्धा चलाएको छ। अभियुक्तमध्ये ३६ जना फरारको सूचिमा छन् भने अन्य पुरपक्षका लागि कारागारमा छन्। घटनाको निश्पक्ष छानविन गरी निर्दोषलाई तत्काल रिहा गर्नुपर्ने आफन्तको माग छ। केहीका आफन्तले भने टीकापुर घटना राजनीतिक घटना भएकाले मुद्धा फिर्ता लिनुपर्ने माग गरे। भदौ ८ गते थारु समुदायका घर जलाउने, तोडफोड गर्नेजस्ताका घटना भए पनि सरकारले भदौ ७ गतेको घटनालाई मात्र हेरेको जोशीपुर–४, की प्रेमादेवी चौधरीले बताइन्। भदौ ७ गतेको घटनामा मुद्वा चलाउने तर ८ गतेको घटनामा संलग्नलाई कारबाहीको दायरामा नल्याएर सरकारले विभेद गरेको उनले बताइन्। मुनुवा गाविस–१, कञ्चनपुरकी सरस्वती चँैधरीले कमाई गर्ने घरमुली कारागार चलान भएपछि परिवारको विचल्ली भएको दुखेसो गरिन्। ‘छोरा र म मात्रै छौं खान जग्गा छैन, अन्य आम्दानीको श्रोत पनि छैन,’ उनले भनिन्, ‘श्रीमानलाई पक्राउ गरेपछि गुजारा चलाउन समस्या भएको छ।’

हाल पुरपक्षका लागि जिल्ला कारागारमा रहेका उनका श्रीमान रामकुमार कठरिया मिस्त्रीको काम गर्थे। मुद्धा फिर्ता लिन दवाव दिन कात्तिक २० गते धनगढीमा र्याली र कात्तिक २३ गतेदेखी जिल्ला प्रशासनमा धर्ना दिने उनीहरुले बताएका छन्।

पार्टीका नेताहरु बिरुद्ध उत्रिएकाले लोकमान बिरुद्ध महाअभियोग ल्याउनु पर्‍यो - गौतम

७ कार्तिक, २०७३    एमाले उपाध्यक्ष बामदेव गौतमले अख्तियार प्रमुख लोकमान सिंह कार्कीले दलका व्यक्ति नै सिध्याउने खेल सुरु गरेकाले महाअभियोग प्रस्ताव ल्याउनु परेको बताउनुभएको छ ।  
रुपन्देहीमा आज पत्रकारसंग उपाध्यक्ष गौतमले आफूलाई स्वीकार नगरेका व्यक्तिमाथि खोजीखोजी प्रतिशोध लिने र बिना कारण दुस्ख दिने प्रवृत्ति बढेकाले लोकमानसिंहलाई कारबाही गर्न दलहरु बाध्य भएको जिकिर गर्नुभयो । 

माओवादी केन्द्रको अगुवाइमा कार्कीलाई महाअभियोगको प्रस्ताव आएपनि यसबाट एमाले पछि नहट्ने गौतमको भनाई थियो । अर्को एक प्रसंगमा उपाध्यक्ष गौतमले राजनीतिक धरातल नभएकै कारण सरकारले जन अपेक्षा अनुरुपका काम गर्न नसकेको आरोप लगाउनुभयो । संबिधान संशोधनको बिषय भारतको इशारामा भईरहेको दाबी गर्दै उहा ले सरकारले यसको औचित्य पुष्टि गर्न नसकेको समेत जिकिर गर्नुभयो ।

अख्तियारका निलम्बित प्रमुख कार्कीलाई महाअभियोग लगाएर हटाउने माओवादी केन्द्रको निर्णय

७ कार्तिक, २०७३ ।   सत्ताको नेतृत्वकर्ता दल माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोगको माध्यमबाट हटाउन पार्टीले भुमिका निर्वाह गर्ने औपचारिक निर्णय गरेको छ । 
नयाँ बानेश्वरस्थित संसद भवनमा आज बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले कार्कीलाई महाअभियोग लगाउने तयारी अनुमोदन गर्दै दृढतापूर्बक अघि बढ्ने निर्णय गरेको नेता अग्नी सापकोटाले जानकारी दिनुभयो । 

संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बैठकमा कार्की बिरुद्धको महाअभियोगको प्रस्ताव निष्कर्षमा पुर्‍याउन पार्टीले खेल्नुपर्ने भूमिकाबारे निर्देशन समेत दिनुभएको छ । नेता दाहालले प्रस्तावमाथि छलफल गरेर महाअभियोगबाट कार्कीलाई हटाउन आफ्नो तर्फबाट भुमिका खेल्न पार्टीका सांसदलाई निर्देशन दिनुभएको हो ।

यसअघि हिजो बसेको माओबादी हेडक्वाटर बैठकले महाअभियोगको प्रस्तावमा अन्य दलहरुसँग परामर्श गरेर निष्कर्षमा पुग्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको थियो ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...