Tuesday, October 18, 2016

सर्वोच्चको प्रश्न: लोकमानको म्याद तामेलमा असहयोग गर्नेलाई किन कारवाही नगर्ने ?

२ कार्तिक, २०७३ / सर्वोच्च अदालतले अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अदालतमा उपस्थित हुन गरिएको म्याद सूचना बुझाउन बाधा पारेको भन्दै तामेलदार शम्भु खत्रीलगायत काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडा सचिव र खरदारलाई कारबाही सिफारिस गरेको छ।
तामेलदार खत्री, वडासचिव सरिता राई र वडाका खरदार सुभाष आचार्यलाई अदालती बन्दोबस्तको १११ नम्बर बमोजिम कारबाही हुनुपर्ने भन्दै सर्वोच्चका रजिष्ट्रार श्रीकान्त पौडेलले आइतबार इजलाससमक्ष प्रतिवेदन पेश गरेका थिए। रजिष्ट्रार पौडेलको प्रतिवेदन अनुसार न्यायाधीश इश्वर खतिवडाको इजलासले किन कारबाही नगर्ने भन्दै तीनै जनालाई प्रश्न सोधेको हो।
उनीहरुलाई इजलासले सात दिनभित्र आफैं उपस्थित भएर सर्वोच्च अदालतमा लिखित जवाफ बुझाउन समेत भनेको छ। तामेलदार खत्रीले जिम्मा पाएको म्याद बदनियत राखेर तामेल नगरेको र वडासचिव राई र खरदार आचार्यले म्याद तामेल कार्यमा अदालतलाई सहयोग नगर बाधा पुर्याएको भन्दै टिप्पणी उठाएर रजिष्ट्रारले इजलासमा पेश गरेका थिए। मुलुकी ऐन अदालती बन्दोबस्तको १११’ बदनियत राखी म्याद तामेल नगर्ने तामेलदारलाई कानुनी कारबाही हुन सक्ने व्यवस्था गरिएको छ। मुलुकी ऐनमा लेखिए अनुसार, यसरी म्याद तामेल नगर्ने तामेलदारलाई १५ दिन कैद वा एक हजार जरिवाना हुन्छ। जरिवाना र कैद दुबै सजाय पनि हुन सक्छ।

हुण्डी कारोबार रोक्न खोज्दा पर्साका एसपी हेडक्वार्टर तानिए

२ कार्तिक २०७३ / रौतहट-  हुन्डीमार्फत अवैध रुपमा करोडौं रुपैया झिकाउने र पठाउने गरिरहेको गिरोहलाई नै पर्दाफास गरेर कानुनी दायरामा ल्याउन खोजेका पर्साका प्रहरी प्रमुख एसपी राजबाबु श्रेष्ठ गृहमा तानिएका छन्। 
गत असोज १६ मा वीरगंजस्थित एउटा घरमा छापामारी हुन्डी कारोबार संचालन गर्ने पाँच जनासहित नगद र चेक गरी दुई करोड  नियन्त्रणमा लिने एसपी श्रेष्ठलाई गृहमन्त्रालयको निर्देशनमा प्रहरी मुख्यालयले  सोमवार हेडक्वार्टर बोलाएको हो।
प्रहरी प्रवक्ता हेमन्त मल्लले जिल्लाको शान्ति सुरक्षाको अवस्था बुझ्नका लागि उनलाई बोलाइएको बताए। तर स्रोतका अनुसार श्रेष्ठले थालेको हुण्डी कारोबारी विरुद्धको कारवाहीले अत्तालिएका ब्यवसायीको योजनामा गृहमन्त्री विमलेन्द्र निधीले कांग्रेस कार्यकर्ताको दवावमा श्रेष्ठलाई काठमाडौं बोलाउन निर्देशन दिएका हुन्।
वीरगंज उपमहानगरपालिका ७ रेशमकोठीस्थित सन्तोष जैनको घरमा गत असोज १६ मा पर्सा प्रहरीले छापामारी घरधनी ५५ वर्षीय सन्तोष जैन, उनकी श्रीमती ५० वर्षीया उषा गोयनका, छोरा ३२ बर्षीय विकी भन्ने अंकुर जैन, वीउनपा ३ प्रगतिनगरका २३ वर्षीय जीवन ठाकुर र लंगडी गाविस १ का ३३ वर्षीय सुनील कुमार पटेललाई ८१ लाख रुपैया नगद र एक करोड ३२ लाख रुपैयाको चेकसहित पक्राउ गरेको थियो । यसैगरी ल्यापटप एक थान, फयाक्स मेशीन एक थान, पैसा गन्ने मेशीन एक थान, मोबाइल सात थान र विभिन्न बैंकको चेक बुक ६ थानसमेत प्रहरीले बरामद गरी हुन्डी कारोबारको विषयलाई गहन अनुसन्धान अगाडि बढाएको थियो।
पर्सा प्रहरी प्रमुखले हुन्डीलाई निरुत्साहित गरी रकमको कारोबारलाई वैध बनाउने कार्यमा लागिरहेको वेला पर्साका नेपाली कांग्रेसका केही नेताहरुले गृहमन्त्री विमलेन्द्र निधिको राजनीतिक शक्ति प्रयोग गरेर एसपी श्रैष्ठलाई तान्न लगाएको स्रोतको दाबी छ।

स्रोतका अनुसार श्रेष्ठले थालेको हुण्डी कारोबारी विरुद्धको कारवाहीले अत्तालिएका ब्यवसायीको योजनामा गृहमन्त्री विमलेन्द्र निधीले कांग्रेस कार्यकर्ताको दवावमा श्रेष्ठलाई काठमाडौं बोलाउन निर्देशन दिएका हुन्।
सन्तोष जैनकी श्रीमती उषा गोयनकाको नाममा दर्ता रहेको न्यु नेहा ओभरसीजले वाणिज्य तथा आपुर्ति मन्त्रालयको वाणिज्य विभागबाट लिएको प्राइभेट फर्म दर्ताको प्रमाणपत्रमा सुर्तीजन्य वस्तु, निर्माण सामाग्री, खाद्य सामाग्री , सुनचांदीको गरगहना तथा सजावटका समानको मात्र कारोबार गर्ने उल्लेख छ। तर न्यु नेहा ओभरसीजले वीरगन्जका विभिन्न उद्योगपति एंव व्यपारीहरुसंग गैर कानुनी रुपमा चर्को ब्याज दरमा कर्जा लगानी गर्ने तथा अवैध रुपमा मुद्राको ओसार पसार (हुण्डी) लगायतका अवैध वित्तिय कारोबार गर्दै आएको सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले छापा मारेको थियो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति बिना कुनै पनि रकम निक्षेप, संकलन, ओसार पसार, लेनदेन गर्नु अवैध वित्तीय कारोबारभित्र पर्ने भएकोले प्रहरीले कारबाही थालेपछि पर्सा कांग्रेसका केही नेताहरुको अवैध आयको बाटो रोकिएको थियो । न्यु नेहा ओभरसिजको संचालक महिला भएकोले महिलालाई पक्राउ गर्न नहुने भनी नेताहरुले पर्सा प्रहरी प्रमुखलाई निरन्तर दबाब दिइरहेका थिए तर कानुनअनुसार चल्न खोजेपछि एसपि श्रेष्ठलाई  प्रहरी प्रधान कार्यालयले तानेको हो।
पक्राउ परेका पांचै जनामाथि बैंक तथा वित्तीय संस्था ऐन बमोजिम कारबाही अगाडि बढाइएको थियो। प्रहरी प्रमुख श्रेष्ठ तानिएपछि हुन्डीको कारोबार वीरगंजमा फेरि फस्टाउने देखिएको छ। दैनिक करोडौंको हुन्डी कारोबार हुने वीरगंजका अन्य हुन्डी संचालकहरु एसपी श्रेष्ठ तानिएपछि हौस्सिएको स्रोतको दाबी छ।
पर्सा प्रहरीका एकजना अधिकारी भन्छन् – इमानदारी पूर्वक प्रहरी संगठनले काम गरिरहेंकै अवस्थामा तानिनु दुर्भाग्यपूर्ण रहेको छ । पर्सा प्रहरी प्रमुख एसपि श्रेष्ठ तानिएपछि सम्पर्क हुन नसकेको र फर्किने विषयमा पनि कुनै निश्चित नरहेकोले अन्यौलको अवस्था सिर्जना भएको अधिकारीको दाबी छ।

उडिसास्थित एक निजी अस्पातालमा आगलागी, कम्तीमा १९ को मृत्यु

२ कार्तिक , २०७३ /  भारतको उडिसास्थित एक निजी अस्पातालमा आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।  उडिसाको राजधानी भुबनेश्वरमा रहेको एक अस्पातालमा सयौँ बिरामी उपचारमा रहेको समय डायलाइसीस वार्डबाट आगलागी सुरु भएको थियो । 

आगलागीमा परी मृत्यु भएका सोहि अस्पातालमा उपचार गराईरहेका बिरामी रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । आगलागीपछि अन्य बिरामीहरुलाई भने उद्धार गरी नजिकका अस्पातालमा भर्ना गरिएको छ । आगलागीको कारण खुलेको छैन् । 

यद्यपी बिद्युत सर्ट भई आगलागी भएको आशंका गरिएको छ । घटनापछि उडिसाका मुख्य मन्त्री नवीन पटनायकले अस्पातालको निरीक्षण गरी अस्पातालका बिरामीलाई अन्य अस्पातालमा उपचारको ब्यबस्था मिलाई घटनाको जाँचका लागी स्थानीय प्रशासनलाई आग्रह गर्नुभएको छ । 

Monday, October 17, 2016

आजदेखी दुई दिनसम्म मुलुकभर राष्ट्रिय भिटामिन ए कार्यक्रम

२ कार्तिक , २०७३  सरकारले आजदेखी दुई दिनसम्म मुलुकभर राष्ट्रिय भिटामिन ए कार्यक्रम संचालन गर्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कार्यक्रम अन्र्तगत आज र भोली मुलुकभरका ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएको हो । 

५ बर्ष मुनिका बालबिालकालाई अनिवार्य रुपमा भिटामिन ए र जुकाको औषधी खुवाउन स्वास्थ्य मन्त्रालयले सवैलाई आह्वान समेत गरेको छ । स्वास्थ्य मन्त्रालय अन्र्तगतको बालस्वास्थ्य महाशाखाका प्रमुख डा. राजेन्द्र पन्तले आज र  भोली स्वास्थ्य मन्त्रालयको अनुगमनमा देशभर ठुलो संख्यामा महिला स्वास्थ्य स्वयवसेविका र स्वास्थकर्मी खटाइएको बताउनुभयो । 

भिटामिन ए को कमीले भविष्यमा बालबालिकामा रतन्धो कुपोषण, दादुरा लगायतका रोग लाग्ने भएकाले अनिवार्य रुपमा यसको सेवन गर्नुपर्ने चिकित्सकहरुले बताउदै आएका छन् । आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य चौकी वा घरघरमा आउने महिला स्वास्थ्य स्वयमसेविका मार्फत भिटामिन ए र जुकाको औषधी खुवाउन सकिनेछ । भिटामिन ए को कमिले लाग्ने रोगको रोकथामका लागी सरकारले सन १९९८ देखी बार्षिक रुपमा दुई पटक यो कार्यक्रम संचालन गर्दै आएको छ । 

अलेप्पोमा एकै परिवारका १४ को मृत्यु



Image copyrightREUTERS


१ कार्तिक, २०७३ / सिरियामा विद्रोही नियन्त्रित पूर्वी अलेप्पो शहरमाथि हवाइ हमला गरिंदा एकै परिवारका १४ जना मारिएको स्वयंसेवक उद्धारकर्ताहरुले बताएकाछन्।
मृतक मध्ये ८ जना बालबालिका र २ जना महिला रहेको व्हाइट हेल्मेट्स नामक नागरिक सुरक्षा फौजले जनाएको छ।
रुसी लडाकु विमानको हमलापछि सोमबार अल-मार्जा क्षेत्रमा उक्त परिवारको मृत्यु भएको सिरियाको नागरिक सुरक्षा फौज व्हाइट हेल्मेट्सले जनायो।
आइतबार अल-कतर्जी जिल्लाको एउटा आवास भवनमाथि आक्रमण हुँदा २५ जना मारिएको उक्त समूहले बतायो।

'युद्धविराम आवश्यक'

उद्धारकर्ताहरुले क्रेनको मद्दतले एकजना १२ वर्षीय बालकलाई एउटा भवनको माथिल्लो तलाबाट बाहिर निकालेको एएफपीसमाचार संस्थाले जनाएको छ।
२ लाख ७५ हजार वासिन्दा रहेको उक्त शहरको घेराबन्दीमा परेका क्षेत्रमा सहायता सामग्री लैजान र नागरिकहरुलाई बाहिर निस्कन दिनका लागि ७२ घण्टाको युद्धविराम अत्यन्त आवश्यक भएको सहायता संस्थाहरु बताउँछन्।
गत महिना तय गरिएको एउटा युद्धविराम केही दिनमै भंग भएको थियो।
त्यसेबलादेखि रुसको समर्थन सहित सिरियाली सेनाले अलेप्पो शहरमाथि आक्रमण गरिरहेका छन्।

प्रतिबन्ध



Image copyrightREUTERS

ती आक्रमणलाई वाशिंटनले भने 'युद्ध अपराध' भनेको छ।
विगत २४ घण्टामा अलेप्पो शहरमा भारी बम आक्रमण भएको एकजना शहरबासीले बीबीसीलाई बताए।
युरोपेली संघकी विदेश मामिला प्रमुख फेडेरिका मोघेरिनीले सिरियामाथि लागू गरिएका प्रतिबन्धहरु लम्बिन सक्ने बताएकी छन्।
तर सिरियाली राष्ट्रपति बशर अल असदका समर्थकमाथि भने प्रतिबन्धहरु बढाउने योजना नरहेको मोघेरिनीले बताइन्।

भविष्य

सोमबार लक्जम्बर्गमा हुन गैरहेको युरोपेली संघको बैठकमा ब्रिटेन, फ्रान्स र जर्मनीले रुस र सिरियाले जारी राखेको आक्रमणको कडा भर्त्सना गर्न दबाब दिने अपेक्षा गरिएको छ।
उक्त बैठकमा पर्यवेक्षण कार्यक्रम सहितको नयाँ युद्धविराम, शान्तिवार्ताका लागि थप प्रयास, युरोपेली संघको सहायताको पहुँच र सर्वसाधारण माथि आक्रमण गर्ने आदेश दिएको आशंका गरिएका करीब २० जना सिरियाली माथि आर्थिक प्रतिबन्ध जस्ता विषयमाथि छलफल हुने अपेक्षा गरिएको छ।              वीवीसी

तिहारअघि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्नुपर्छ : महतो


१ कार्तिक २०७३  संघीय समाजवादी फोरम नेपालका सांसद एवं युवा नेता डा. बीरेन्द्र महताले तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता हुनुपर्ने बताएका छन्।
वर्तमान सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराउन ढिला गरेको भन्दै डा.महतोले तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गराउनु पर्ने बताएका हुन् ।
सोमबार संचारकर्मीहरुसँग कुरा गर्दै नेता महतोले वर्तमान सरकारलाई समर्थन गर्नुको मुख्य उद्देश्य मधेस समस्या समाधान गर्नु रहेको उल्लेख गर्दै महतोले तिहार अगाडि नै सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराउने विश्वास व्यक्त गरे ।
‘प्रधानमन्त्रीले सबै दलका शीर्ष नेतासँग छलफल गरेर सहमतिमै संविधान संशोधन प्रस्ताव दर्ता गराउनुपर्छ,’ उनले भने,‘संविधान कार्यान्वयन गर्न निर्वाचन आवश्यक छ, निर्वाचन गर्न संविधान संशोधन पूर्व सर्त हो।’ समस्या समाधान गर्न सबै पक्ष लचिलो हुनुपर्ने बताए ।
उनले संविधान कार्यान्वयन गर्न समय निकै छोटो रहेको उल्लेख गर्दै संविधान कार्यान्वयन नहुने अवस्था आए मुलुकमा भयावह अवस्था सृजना हुने चेतावनी दिए। मधेसको समस्यालाई सिंगो मुलुकका रुपमा लिन आग्रह गर्दै महतोले मधेसलाई उपेक्षा गरे उपेक्षा गर्ने दलहरुले आगामी निर्वाचनमा त्यसको क्षति व्यहोर्नुपर्ने बताए।
पहिला सररकारले संशोधन प्रस्ताव दर्ता गर्नुपर्ने भन्दै उनले सरकारले प्रस्ताव ल्याइसकेपछि सबै दलसँग परामर्श गरी सहमति मै संविधान संशोधन गर्नुपर्ने उनको भनाइ थियो।

पुनःनिर्माणसम्बन्धी थप नीति बन्दै

१ कार्तिक २०७३  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चार जना विज्ञ सदस्यलाई पुनःनिर्माणसम्बन्धी थप नीति योजना निर्माणको जिम्मेवारी दिएको छ। 
यसअघि बनेका नीति नियमले समेट्न नसकेका विषयलाई समेटी नीति तर्जुमा गर्न निर्देशक समितिको असोज १० गतेको निर्णयअनुसार विज्ञ सदस्यलाई जिम्मेवारी दिइएको हो।

कार्यकारी समितिका विज्ञ सदस्य ध्रुव शर्मालाई पुनःनिर्माणसम्बन्धी नीति योजना निर्माण तथा डा विष्णु भण्डारीलाई जीविकोपार्जन र ग्रामीण आवास निर्माणसम्बन्धी कार्यविधि निर्माणको जिम्मेवारी दिइएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए।

“भूकम्पमा भत्किएर अनुदान सम्झौता हुनुअघि बनिसकेका घरलाई रकम दिने कार्यविधि निर्माणको खाका बनाउन विज्ञ सदस्य डा चन्द्रबहादुर श्रेष्ठलाई अख्तियारी दिइएको छ, न्यूनतम रकममा भूकम्प प्रतिरोधी घर बनाउने नक्सा विज्ञ सदस्य डा हरिनाथ पराजुलीले निर्माण गर्नुहुनेछ”– उनले बताए।

सहरमा भत्किएका घरको प्रवलीकरण (रेक्टोफिटिङ) र गाउँघरमा भत्किएका घरको मर्मत सम्भारका लागि कार्यविधि निर्माणको जिम्मेवारी समेत पराजुलीलाई नै दिइएको प्राधिकरणले जनाएको छ। रासस

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...