१६ कार्तिक, विराटनगर / बिना बिभागीय मन्त्री सत्यनारायण मण्डलले नेपाली जनता भारतको गुलाम नभएको बताएका छन्। मन्त्री मण्डलले भने - हामी भारतका गुलाम होइनौं, नेपाली जनताले आफ्नो भविष्य आफैँ निर्धारण गर्छ। भारतले बिना बर्दीको मानिस पठाएर मधेसमा जारी आन्दोलनलाई उचालेको आरोप समेत लगाएका छन्। विराटनगरमा आज सञ्चारकर्मीसित कुरा गर्दै मन्त्री मण्डलले नयाँ संविधानमा भारतीय चासो पूरा नभएपछि बिना बर्दीको मानिस पठाएर आन्दोलन उक्साएको बताए।
भारतले पछिल्लो समय नेपालमाथि नव उपनिवेश लाद्न खोजेको आरोप लगाउँदै उनले सीमा नाकामा भइरहेको आन्दोलनमा भारतको साथ र सहयोग रहेको बताए। प्रदेशको सीमाकंनमा हाम्रो पनि असहमति छ, उनले भने, तर, मधेसका अरु सबै माग नयाँ संविधानले सम्बोधन गरिसकेको छ। सीमाकंनको असहमति विज्ञहरुको सल्लाहमा टुग्याउनुपर्ने बताए।