Tuesday, September 15, 2015

हिन्दुवादीहरु अब के गर्ने भन्ने सोचमा




नेपाललाई सनातन हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने तथा संविधानमा नै हिन्दु राष्ट्र नेपाल लेख्नु पर्ने माग राख्दै आएका राष्ट्रिय हिन्दु युवा मञ्चका कार्यकर्ता तथा हिन्दु राष्ट्रवादीहरु प्रधानमन्त्रीसंगको भेटवार्तामा प्रधानमन्त्रीले आफ्ना ९ ओटा माग मध्ये २ ओटा माग पुरा नगर्ने जनाएपछि अहिले अब के गर्ने भन्ने सोचमा छन् । १७ दिन सम्म आमरण अनशनमा बस्दा पनि आफुहरुको हिन्दु राष्ट्र हुनुपर्ने माग प्रति सरकार र संविधान सभामा रहेका सभासदहरु मध्ये राप्रपा नेपालका २५ सभासद मात्र आफुहरुको पक्षमा रहेको स्पष्ट देखिएको भन्दै उनीहरुले अब अन्य पार्टीका विरुद्ध रहेर अभियान चलाउने र हिन्दु राष्ट्र हुनुपर्छ भन्ने यस अभियानमा साथ र सहयोग नगर्ने पार्टीका नेताहरुका विरुद्ध सशक्त आन्दोलन गर्ने पनि बताएको छ । उनीहरुले विदेशी डलरमा विकेर मुलुकलाई धर्म निरपेक्ष बनाएका भन्दै डलरको खेती गर्नेका विरुद्ध एक जुट हुन पनि सबैमा अपिल गरेका छन् । त्यस्तै उनीहरुले आगामी निर्वाचनमा हिन्दु विरोधीलाई पराजित गर्न जस्तोसुकै बलिदानी दिनपनि पछि नपर्ने बताएका छन् । यतिका दिन सम्म हिन्दु राष्ट्रको लागी अनशन बस्दा तथा जनताले सुझाव दिदा पनि अधिकांशले हिन्दु राष्ट्र हुनुपर्छ भनेपनि त्यसको वेवास्ता गरेकाले उनीहरुलाई यसको जफाब निर्वाचनबाट मात्र दिन सकिने देखिएको भन्दै त्यसका लागी अब देश व्यापी अभियानमा होमिने पनि बताएका छन् । 

उनीहरुले कुनै पनि हालतमा ढिलै भएपनि नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्ने दाबी समेत गरेका छन् । 

जेल–विमानस्थल सेनाको जिम्मा





काठमाडौं/  संविधान निर्माण प्रक्रियाले गति लिएसँगै सुरक्षा अवस्था विश्लेषण गर्दै गृह मन्त्रालयले एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। संविधान प्रक्रियाका विपक्षमा हिंसात्मक घटना बढेपछि सुरक्षा प्रबन्ध बलियो बनाउन गृहले संविधान निर्माण तालिका हेरेर विशेष योजना ल्याएको हो।




नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई एकीकृत रुपमा परिचालन गर्न मन्त्रालयले शान्ति–सुरक्षामा नियमित परिचालनसँगै सुरक्षा चुनौती बढेका जिल्लामा छुट्टै योजना कार्यान्वयनमा ल्याइसकेको छ। आवश्यकताअनुसार सेनाको समेत सहयोग लिन सकिने सुरक्षा रणनीतिमा संविधान निर्माण प्रक्रिया, संविधान जारी हुने दिन र त्यसपछिको अवस्थाको विश्लेषण, सम्भावित सुरक्षा चुनौती र बल प्रयोगबारे उल्लेख छ।

गृहप्रवक्ता लक्ष्मीप्रसाद ढकालले संविधान निर्माण प्रक्रियासँगै मन्त्रालयले सुरक्षा अवस्था विश्लेषण गरी सोहीअनुसार एकीकृत सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याइसकेको जानकारी दिए। एकीकृत रुपमा सुरक्षा संगठन परिचालन गर्दा सुरक्षा प्रबन्ध बलियो हुने भएकाले मन्त्रालयले विशेष योजना बनाएको हो, ढकालले भने, योजना कार्यान्वयनमा आइसकेको छ।

रणनीतिअनुसार संविधान निर्माण प्रक्रियामा असन्तुष्ट पक्ष, दल, नेताका दैनिकी, तराईमा सशस्त्र भूमिगत समूह, नेत्रविक्रम चन्दुविप्लवु र मोहन वैद्य नेतृत्वको माओवादीको अवस्था र त्यसका नेता तथा कार्यकर्ताको सक्रियता, विखण्डन र धार्मिक मुद्दा उछाल्ने समूह र व्यक्तिका गतिविधि सुरक्षा निगरानीमा छन्।

शान्ति–सुरक्षा बिथोल्न सक्रिय समूहले आन्दोलनरत समूहका नेतालाई समेत निसाना बनाउन सक्छन् भनेर सुरक्षा प्रबन्ध पुनरावलोकन गरी चुस्त पारिएको छ, स्रोतले भन्यो, संविधान निर्माण प्रक्रियामा संलग्न प्राय सबै दलका मुख्य नेता, निर्माण प्रक्रियामा महत्वपूर्ण भूमिका निभाएका सभासदको निवास र व्यक्तिगत सुरक्षा पुनरावलोकन भएको छ।

संविधानसभा भवनको मुख्य सभा कक्ष, भवन परिसरभित्र र बाहिरी क्षेत्रमा सुरक्षा निगरानी बढाइसकिएको छ। नेपाल प्रहरीले संविधानसभा भवनमा समेत एक सय मर्यादापालक थप गरेको छ भने संविधानसभा परिसर सुरक्षामा सशस्त्र प्रहरीको संख्या दोब्बर पारिएको छ।

संविधानसभा परिसर र बाहिरको सुरक्षा निगरानीमा क्लोज सर्किट टेलिभिजनसँगै सुरक्षाकर्मीको संख्या समेत बढाइएको छ। गृहले एकीकृत रुपमा सुरक्षाकर्मी परिचालन रणनीति कार्यान्वयनमा ल्याएसँगै प्रहरी सोहीअनुसार परिचालन भइसकेको छ, नेपाल प्रहरीका आइजिपी उपेन्द्रकान्त अर्यालले नागरिकसँग भने, शान्तिसुरक्षाको अवस्था हेरेर प्रहरी खटिइरहेका छन्।

प्रहरी संख्या बढाउन सेनालाई जेल


कैलालीको टीकापुरमा हिंसात्मक प्रदर्शनपछि स्थानीय प्रशासन ऐनअनुसार स्थानीय निकायलाई सघाउन परिचालित सेनालाई गृहले प्रहरी र सशस्त्र खटिँदै आएको कारागार, महत्वपूर्ण प्रतिष्ठान र विमानस्थलको सुरक्षा जिम्मेवारी थपिएको छ।

संविधान मस्यौदाको विरोधमा तराईका केही जिल्लामा हिंसात्मक प्रदर्शन चर्केपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरी सेनासँग सहयोग मागेपछि ४ जिल्लामा सेना गस्ती–पेट्रोलिङमा छ।

संविधानसभामा संविधान निर्माणको प्रक्रियाले गति लिएसँगै शान्तिसुरक्षामा आउन सक्ने चुनौतीअनुसार परिचालनका लागि प्रहरीको जनशक्ति बढाउन मन्त्रिपरिषदले एक साताअघि प्रहरी–सशस्त्रको जिम्मेवारीमा रहेको कारागार, महत्वपूर्ण सरकारी कार्यालय, निवास र विमानस्थलको सुरक्षा सेनालाई दिने निर्णय गरेको थियो।

गस्ती–पेट्रोलिङमा सेनाको संख्या बढाउँदा सैनिक परिचालन गरेको भन्दै आलोचना बढेपछि सरकारले प्रहरी खटिएका स्थानको सुरक्षा जिम्मेवारी सेनालाई तोकेर सार्वजनिक स्थानमा प्रहरीको उपस्थिति बाक्लो बनाउने रणनीति लिएको हो।

गृहप्रवक्ता ढकालका अनुसार कारागार, महत्वपूर्ण सरकारी प्रतिष्ठान र विमानस्थल सुरक्षामा सेनाको सहयोग लिँदा प्रहरी र सशस्त्रका करिब एक हजार ५ सय जनशक्तिलाई अन्य जिम्मेवारीमा खटाउन सकिन्छ।

संविधानसभा निर्वाचन र सार्क सम्मेलनमा झैं केही समयका लागि प्रहरीको जिम्मेवारी सेनालाई तोक्ने सरकारले निर्णय गरेको थियो, ढकालले भने, सोही निर्णयअनुसार प्रहरी खटिएका स्थानमा क्रमश सेना खटिन थालिसकेको छ।

हिन्दुवादीहरुको आन्दोलनसँग झुके प्रधानमन्त्री


हिन्दु राष्ट्र हुनुपर्ने माग सहित आन्दोलनमा रहेका हिन्दुवादीहरुको आन्दोलनसँग प्रधानमन्त्री शुशील कोइराला झुकेका छन् । हिजो मात्र संविधान सभामा हिन्दु राष्ट्र पक्षको प्रस्ताव अस्विकृत भएको थियो । त्यस लगत्तै आमरण अनशनमा बसेका युवाहरुको जीवनको वेवास्ता गरेको भन्दै हिन्दु युवाहरु सहितको हिन्दुवादीहरुले वानेश्वरमा निकालेको विशाल विरोध र्याली तथा हिन्दु वादीहरुको आजको दवावले प्रधानमन्त्री कोइरालाले संविधानमा धर्म निरपेक्ष नराख्ने प्रतिवद्धता जनाएका हुन् । 

प्रधानमन्त्री र मन्त्री बन्न शैक्षिक योग्यता आवश्यक नपर्ने



 नेपालमा प्रधानमन्त्री र मन्त्री बन्न कुनै पनि शैक्षिक योग्यता आवश्यक नपर्ने भएको छ । धारा ७८ मा प्रधानमन्त्री र मन्त्री हुन न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर उत्तिर्ण गरेको हुनु पर्ने संशोधन प्रस्ताव फिर्ता भएपछि त्यस्तो ब्यवस्था हुने भएको हो । अखण्ड नेपाल पार्टीका सभासद कुमार खड्काले दर्ता गराएको संशोधन प्रस्ताव आजको बैठकको शुरुमा आफ्ना बाँकि संशोधन प्रस्ताव अभिलेखमा रहने गरी फिर्ता लिएपछि प्रधानमन्त्री र मन्त्रीको योग्यताको प्रस्ताव मस्यौदाबाट हटेको हो ।

झापाको तीन बेग्लाबेग्लै स्थानमा बम,दुई वटा विष्फोट

 झापाको तीन बेग्लाबेग्लै स्थानमा राखिएको तीन वटा बममध्ये दुई वटा विष्फोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयबाट प्राप्त जानकारीअनुसार बम गौरादहको चर्च, दमकको चर्च र सुरुङ्गाको चर्चमा राखिएको थियो। दमकको चर्चमा राखिएको बम गएराति ११ः३० बजे विष्फोट भएको थियो । विष्फोटबाट चर्च र मानवीय क्षति नभएको उपरीक्षक ज्ञवालीले जानकारी दिए। यसैगरी सुरुङ्गाको चर्चमा राखिएको बमलाई निस्क्रिय गर्ने क्रममा सुरुङ्गा प्रहरी चौकीकै परिसरमा मंगलबार बिहान ७ः४० बजे भएको विष्फोटबाट प्रहरी सहायक निरीक्षक बेदनाथ यादव, प्रहरी हवल्दार भरत कार्की र प्रहरी जवान केदार पौडेल सामान्य घाइते भई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ। घाइते खतरामुक्त रहेको प्रहरी उपरीक्षक  ठाकुरप्रसादज्ञवालीले जानकारी दिए। घटनाका विषयमा र बम कसले राखेको हो त्यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी बताएको छ। रासस

संचारकर्मीसँग प्रधानमन्त्री कोइराला आक्रोशित

काठमाडौं/  राष्ट्रपति डा. रामबरण यादवसँग भेट गरेपछि प्रधानमन्त्री सुशील कोइराला निकै आक्रोशित देखिए। मंगलबार राष्ट्रपतिसँग भेट गर्न शीतल निवास पुगेका प्रधानमन्त्री कोइराला राष्ट्रपति कार्यालयबाट बाहिरिने क्रममा आक्रोशित भएका हुन्।
राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब एक घण्टा भेटवार्ता भएको थियो । भेटवार्तापछि संचारकर्मीसँग प्रधानमन्त्री कोइराला आक्रोशित रुपमा प्रस्तुत भए। प्रधानमन्त्रीलाई संचारकर्मीले भेटवार्ताका विषयमा प्रतिक्रिया माग गरेका थिए। संचारकर्मीले प्रधानमन्त्रीलाई संविधान कहिले आउँछ भन्ने प्रश्न गरेका थिए। जवाफमा प्रधानमन्त्रीले आक्रोशित हुँदै भने,'संविधान कहिले आउँछ भन्ने कुरा सभामुखलाई सोध्नुस।'
PM koirala comming out after meeting with President 02
शीतल निवासबाट बाहिरिने क्रममा प्रधानमन्त्री । तस्बिर केशव थाेकर
प्रधानमन्त्री आक्रोशित भएपछि संचारमकर्मीले प्रधानमन्त्रीलाई रिसाएजस्तो देखियो नी भन्ने प्रश्न गरेका थिए। जवाफमा प्रधामन्त्रीले आफ्नो बोली नै यस्तै भएको बताएका थिए। राष्ट्रपतिसँग के विषयमा छलफल भयो भन्ने संचारकर्मीको जिज्ञासामा प्रधानमन्त्रीले भने,'के के के कुरा भयो तपाइहरुलाई सबै बताउँ ?'  राष्ट्रपतिसँग भेटगरी बाहिर निस्कने क्रममा राष्ट्रपतिका स्वकीय सचिव ललित बस्नेतले प्रधानमन्त्रीसँग केहीबेर भला कुसारी गरेका थिए। 

भारत र अमेरिकाद्धारा संविधान निर्माण प्रगतिको स्वागत

काठमाडौं/  भारत र अमेरिकाले नेपालमा संविधान सभाबाट हासिल भएको
संविधान निर्माण प्रगतिको स्वागत र प्रशंसा गरेका छन्। दुवै मुलुकले सोमबार राति विज्ञप्ति जारी नयाँ संविधानको दिशामा नेपालमा भइरहेको प्रगतिमा खुशी व्यक्त गरेका हुन्।

संविधान निर्माणका लागि नेपाली नेताहरुले प्रदर्शन गरेको परिपक्व र बुद्धिमानी व्यवहारको दक्षिणी छिमेकी भारतले सरहना गरेको छ।

भारतले सधैँ नेपालमा शान्ति, स्थायित्व, एकता र विकासमा सहयोग गर्दै आएको छु, भारतीय विदेश मन्त्रालयले सोमबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ, दुई देशकयता नेपालमा हिंसा, अस्थिरता, आन्तरिक द्वन्द्व र राजनीतिक विवादको पनि हामी साक्षी छौं, जसले नकारात्मक परिणमहरु समेत दिएका छन्।

राजनीतिक वा प्राकृतिक सबैखाले संकटमा नेपाललाई सहयोग गर्नु भारतले आफ्नो कर्तव्य ठान्ने विज्ञप्तिमा उल्लेख छ। विदेश मन्त्रालयले तराई हिंसाको नाम उल्लेख नगरी नेपालका केही भागमा भइरहेका आन्दोलन तथा संघर्षले चिन्तित भएको जनाएको छ । भारत मात्र होइन यस्तो अवस्थामा संसारका कुनै पनि मानवतावादी देश चिन्तित हुन्छन्, विज्ञप्तिमा उल्लेख छ। भारतले संघर्षका नाउँमा नेपाली नागरिक होस् वा सरकारी कर्मचारी सबै घटनामा बगेको रगत नेपालीकै भएकोु बताएको छ।

भारतले आधुनिक नेपाल निर्माणका लागि स्थायी तथा मजबुत संविधान आवश्यक भएको औंल्याएको छ। उसले भनेको छ, नेपाली नेतृत्वले त्यस्तो संविधान निर्माण गर्न कुनै कसर बाँकी छाड्ने छैनन्।

संविधान सभामार्फत् नयाँ संविधान जारी हुने प्रक्रिया अन्तिम चरणमा पुगेको बेला सोमबार राति नै अमेरिकी विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै नयाँ संविधान नेपालले नेपालको विकासमा आधारशीला खडा गर्ने विश्वास व्यक्त गरेको छ।

विदेश मन्त्रालयका प्रवक्ता किर्वाइले वक्तव्य जारी गरेका हुन्। नेपालमा संविधान लेखन र जारी गर्ने प्रक्रियाको अन्तिम घडिमा आइपुग्दा भइरहेका बहसहरुलाई अमेरिकाले नजिकबाट हेरिरहेको छु, विज्ञप्तिमा भनिएको छ, संयुक्त राज्य अमेरिकाले लोकतान्त्रिक संक्रमण अन्त्य गर्ने र आर्थिक विकासको आधारशीला खडा गर्ने यो प्रक्रियाको महत्वलाई बुझेको छ।

संविधानमा सकेसम्म धेरैको समर्थन हुनुपर्ने र यसले लैङ्गिक समानता र मौलिक जस्ता आधारभूत स्वतन्त्रताका हकहरु समेट्नुपर्ने अमेरिकाले उल्लेख गरेको छ। तराईमा भइरहेको हिंसाको नाम नलिइकनै अमेरिकाले भनेको छ, हामी सबै नागरिकलाई शान्तिपूर्ण र अहिंसात्मक हिसाबले आफ्ना कुरा राख्न र सुरक्षाकर्मीलाई संयम अपनाउन अनुरोध गर्छौं ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...