Tuesday, July 26, 2016

मछिन्द्रनाथको रथ जावलाखेलमा (फोटो फिचर)


११ श्रावण, २०७३ /  वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ शुभ साइतमा मंगलबार ललितपुरको लगनखेलबाट तानेर जावलाखेल ल्याइएको छ। नेपालको सबैभन्दा लामो जात्राको रुपमा परिचित मछिन्द्रनाथको रथ जेठ ६ मा लगनखेल पुर्याइएको थियो।

रथ जावलाखेल लगेको चौथो दिन राष्ट्रप्रमुखलाई भोटो देखाएपछि मात्र जात्रा समाप्त हुने परम्परा छ। यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो। करिब १६ सय वर्ष अघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ।

नेवारी परम्परा तथा बाजागाजाका साथ मंगलबार दिउँसो साढे ४ बजे लगनखेलबाट रथ तान्दै करिब साढे ६ बजे जावलाखेल पुर्याइएको गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले जानकारी दिए।

वि.सं. ५४६ देखि जात्रा शुरु भएको किंवदन्ती छ । यो जात्रालाई सहकालका देवताका रुपमा हिन्दू धर्मवलम्बी र बौद्ध धर्मालम्बीले पनि मनाउँछन् । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालिन राजा नरेन्द्र देवले यो जात्राको सुरुआत गराएको पौराणिक कथन छ । हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ पञ्चबुद्ध मध्येका चौथो बुद्धका रूपमा पूजा गर्ने गर्छन् ।

ललितपुरको पुल्चोकमा निर्माण गरिएको रथ अक्षय तृतियादेखि शुभ साइत पारी मच्छिन्द्रनाथको रथारोहण गरिन्छ । भगवान मछिन्द्रनाथलाई रथमा विराजमान गराइसकेपछि विधिवत रुपमा रथ यात्रा शुरु हुन्छ। रथ तान्नु अगाडी गुरुज्यूको पल्टनबाट सलामी समेत दिइन्छ । बाजागाजासहित तान्न थालिएको रथ यात्रा पहिलो दिन ललितपुरको पुल्चोकबाट गाःबहालसम्म पुर्याइन्छ। दोस्रो दिन सुन्धारा पुर्याइन्छ भने सुन्धारा पुर्याएको एक दिन रथ सोही स्थानमा राखिन्छ। त्यहाँ भएका स्थानीयहरुले सोही दिन मच्छिन्द्रनाथको पूजा अर्चना गर्छन्।
 त्यसपछि ललितपुरको थटीटोलमा रथ पुर्याएर नरिवल जात्रा निकाल्ने परम्परा छ । जहाँबाट जावलाखेल लैजान ज्योतिषहरुले साइत हेर्दछन्। थटीटोलबाट जावलाखेल लैजाँदा पश्चिम गमन हुने भएकाले साइत हेर्ने परम्परा चलेको गुठी संस्थान प्रमुख आचार्यले जानकारी दिए।

यात्रा जावलाखेलमा पुगेको चौथो दिनमा भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्याउनुपर्ने परम्परा रहिआएको छ।  छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ । यसरी रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राख्ने गरिन्छ।






सरकार परिवर्तन आन्तरिक मामिला - चीन


११ श्रावण, २०७३ /  उत्तरको छिमेकी मुलुक चीनले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई आन्तरिक मामिलाको रुपमा विश्लेषण गरेको छ ।
प्रधानमन्त्री केपी ओलीले राजिनामा घोषणा गरेको पर्सिपल्ट चीनको विदेश मन्त्रालयले नेपालको राजनीतिक घटनाक्रमबारे प्रतिक्रिया दिंदै भनेको छ– ‘यो नेपालको नितान्त आन्तरिक मामिला हो ।’ छिमेकी चीनको विदेश मन्त्रालयका प्रवक्ता लु खाङले नियमित पत्रकार सम्मेलनमा आएको जिज्ञासा मत्थर गर्दै भने, ‘नेपालको राजनीतिक स्थितिको परिवर्तनमा हामीले ध्यान दिएका छौं । छिमेकी र साथीको रुपमा रहेको चीनले नेपालका विभिन्न पार्टीले राष्ट्रिय र जातीय हितलाई प्राथमिकतामा राख्दै स्थिरता र विकासका लागि कोसिस गर्ने हाम्रो आशा छ ।’ उनले नयाँ सरकारले मुलुकको हितलाई सर्वोपरी ठानेर काम गर्नेमा समेत चीन विश्वस्त रहेको बताए ।

चिनियाँ विदेशमन्त्रालयको वेवसाइटमा चिनियाँ भाषामा राखिएको नियमित पत्रकार सम्मेलनको पूर्ण अंशमा एक जिज्ञासा नेपालको पनि थियो । प्रधानमन्त्री ओलीको राजिनामालाई चीनले कसरी लिएको छ भन्ने जिज्ञासामा विदेश मन्त्रालयका प्रवक्ता लुले भने, ‘चीन र नेपाल एकै पक्षमा रहेको र अन्तराष्ट्रिय तथा आ–आफ्नो आन्तरिक स्थितिको जसरी परिवर्तन भए पनि चीन–नेपाल मैत्रीपूर्ण र आपसी सहकार्य तथा सहयोग रणनीतिमा परिवर्तन हुदैन ।’

 सरकारमा जाने तयारीमा रहेका दलका शिर्ष नेताले समेत सत्ता परिवर्तनले चीन नेपाल सम्वन्धमा कुनै असर नपर्ने बताइरहेका बेला चिनिया सरकारबाट समेत चीनको समान धारणा आएको हो । नेपालमा सरकार परिवर्तनको गृहकार्य भइरहदा चीनको विभिन्न तहका नेता तथा उच्च अधिकारीहरु काठमाडौंमा आएर राजनीतिक भेटघाट समेत गरिरहेका थिए । चीनका नेताहरुले पछिल्लो समय नेपाली कांग्रेससँगको सम्वन्धलाई बढि नै जोड दिइरहेका छन् । काँग्रेस र चिनिया कम्युनिष्ट पार्टि बीचको सम्वन्धलाई उचाईमा लैजान दुवै पक्षले महत्व दिइरहेको अवस्थामा सरकार परिवर्तनको प्रक्रिया अघि बढेको हो ।   

अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा संसदमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा भएका चीनसँग भएका सम्झौता कार्यावन्यनमा आगामी सरकार गम्भिर भएर अघि बढ्ने बताउदै दुवै छिमेकीसंगको सम्वन्धलाई महत्व दिएर अघि बढ्ने बताएका थिए । माओवादी केन्द्रका अध्यक्ष तथा आगामी प्रधानमन्त्रीको दावेदार पुष्पकमल दाहालले पनि चीनसँगको सम्वन्धमा कुनै असर नपर्ने र दुवै छिमेकीलाई बराबर महत्व दिएर अघि बढ्ने बताएका थिए ।

आगामी असोजको अन्त्यसम्म चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण हुने गरि तयारीहरु भइरहेको छ । चिनियाँ प्रवक्ताको पछिल्लो सकारात्मक धारणाले नेपालमा सरकार परिवर्तन भए पनि चिनियाँ राष्टपतिको भ्रमण नरोकिने संकेत गरेको छ । परराष्ट्र मन्त्रालयका अधिकारीहरु ले पनि चीनको तर्फबाट नेपालमा उच्चस्तरको भ्रमण हुनेमा द्विविधा नभएको दावी गरे । नयाँ सरकार बनेपछि भ्रमणको तिथि तलमाथि होला सन् २०१६ को अन्त्यसम्ममा चीनबाट उच्चस्तरको भ्रमण नेपाल तर्फ हुनेछ, ति अधिकारीले बताए ।



बाढीमा फसेकाहरुको हेलिकप्टरबाट उद्दार [फोटो फिचर]

११ श्रावण, २०७३ /  राप्ती नदीमा आएको भिषण बाढीमा फसेका होलिया चौफेरी गाउँका चार सय बढी सर्वसाधारणहरुलाई सेनाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । डुबानमा परेका फत्तेपुर क्षेत्रका एक सय बढी सर्वसाधारणहरु बिस्थापित भएका छन् । उद्दार गरिएका चौफेरीका स्थानीयलाई होलियाको सुरक्षित स्थानमा राखिएको छ । फत्तेपुरका बिस्थापितरहरु पनि सुरक्षित स्थानमा सरेका छन् ।

















कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

११ श्रावण, २०७३ /  काठमाडौं– रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखा नेपालसँगको समन्वयमा कोरियाको मानव संसाधन विकास विभागले रोजगार अनुमति प्रणालीअन्गर्तत लिएको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
सन् २०१७ मा दक्षिण कोरियाका लागि आवश्यक नेपाली कामदार लैजान गरिएको उक्त परीक्षाको नतिजा एचआरडी कोरियाले मंगलबार सार्वजनिक गरेको हो। नतिजाअनुसार कुल ३ हजार ५ सय १७ जना भाषा परीषामा उत्तीर्ण भएका छन्। यस मध्ये २ हजार १ सय ४० जना कृषि तथा पशुपालनतर्फ र १ हजार ३ सय ७७ जना उत्पादनमूलक उद्योगतर्फ काम गर्न चाहनेहरु रहेको इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले बताए। यस मध्ये ३ सय ३४ महिला र ३ हजार १ सय ८३ जना पुरुष रहेका छन्।

परीक्षाको नतिजा  http://www.dofe.gov.np  मा हेर्न सकिने छ।

यस नतिजामा उत्तीर्ण भएकाहरुले कामका लागि कोरिया जान स्वास्थ्य परीक्षणमा राम्रो नतिजा आउनु पर्ने हुन्छ। स्वास्थ्य परीक्षणमा सफल हुनेहरुले रोजगार आवेदन फारम भर्न पाउँछन् । त्यस्तै, आफूसँग भएको सीपको परीक्षण गराउन चाहनेले परीक्षण पनि गराउन सक्ने व्यवस्था रहेको उनले बताए। सन् २०१६ का लागि भाषा परीक्षा उत्तीर्ण गरेका ८ हजार ४ सय ९० मध्ये ५ हजार ७ सय जना कोरिया पुगिसकेको उनले जानकारी दिए।


राष्ट्रपतिद्वारा जारी 'बाधा अड्काउ फुकाउ' आदेश स‌ंसदद्वारा अनुमाेदन

११ श्रावण,२०७३ /  राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा जारी गरेको बाधा अड्काउ फुकाउ आदेश मंगलबार व्यवस्थापिका संसदले बहुमतले पारित गरेको छ ।
राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा जारी गरेको बाधा अड्काउ फुकाउ आदेश सभामुख औनसरी घर्तीमगरले व्यवस्थापिका संसदमा प्रस्ताव गरेकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राजिनामा दिएसँगै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न ओलीले राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाउ आदेश जारी गर्न सिफारिस गरेका थिए ।

संसदको पहिलो बैठकको विशेष समयमा बोल्दै सांसदहरुले देशका विभिन्न भागमा आएको बाढी पहिरोका कारण कष्टकर समय गुजारी रहेका मानिसहरुका लागि राहतको कार्यक्रम तत्काल ल्याउन सरकारलाई आग्रह गरेका छ । यस्तै सांसदहरुले विपद् व्यवस्थापनका लागि यथेष्ठ तयारी नगरेकोमा पनि सरकारको आलोचना समेत गरेका थिए ।


बेवारिसे झोलामा १० लाख नगद र पेस्तोल

११ श्रावण ,२०७३ /  दार्चुलाको घुसा गाविस वडा नम्बर ८ धनबोरा ठाउमा मंगलबार एक थान पेस्तोल सहित वेवारिसे सामान फेला परेको छ । खण्डेश्वरीका स्थानीय कमल रोकायले वेवारिसे अवस्थामा २ झोला देखेपछि प्रहरीलाई खबर गरेको हो । 
खण्डेश्वरी प्रहरी चौकीले उक्त जानकारी पाएपछि वेवारिसे अवस्थामा झोला रहेको स्थानमा असई कैलाश दत्त भट्ट नेतृत्वमा प्रहरी टोली पुगी वेवारिसे अवस्थामा भेटिएका २ झोलामा १ थान अवैध पेस्तोल सहित ९ लाख ९९ हजार नगद रुपैया र अन्य सामान फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पेस्तोलमा लाग्ने ५ राउन गोली, १ थान चक्कु, एक तोला यार्सागुम्बा, १ किलोग्राम सतुवा, यार्सागुम्बा जोक्ने तराजु, ४ थान ढक, सिक्का ४ थान, क्याल्कुलेटर, पेन, छाता, एक पोका औषधी र यार्सागुम्बा संकलन परिचय पत्र समेत फेला परेको छ । 

आफ्गानिस्तानमा सुरक्षा कारवाहीमा आईएस उच्च नेतासहित १२० मारिए

११ श्रावण, २०७३ /  अफ्गानिस्तानमा सुरक्षाफौजको कारावाहीमा इस्लामिक अतिवादी संगठन आईएसका उच्च नेतासहित १ सय २० लडाकुको मृत्यु भएको छ । 
अफ्गानिस्तानको नान्गार्हारमा भएको कार्बाहिका क्रममा आईएसको अफ्गानिस्तान–पाकिस्तान क्षेत्र हेर्ने प्रमुख साद ईमारतीसहित १ सय २० जना मारिएका हुन् । अफ्गानिस्तान र पाकिस्तानमा सक्रिय आईएसका संस्थापक मध्ये एक ईमारतीको अगुवाईमा सरकार तथा तालेवान बिद्रोही विरुद्ध थुप्रै आक्रमण भएको थियो । काबुलमा केहि दिन अघि आईएसले गराएको बम आक्रमणमा ८० जनाको मृत्यु भएपछि अफ्गान सुरक्षाफौजले कारवाही अभियान तीब्र बनाएको छ ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...