दमक। झापाको दमकमा रहेको दमक हस्पिटल बन्द गरिएको छ । आज कोरोना संक्रमण पुष्टि भएका सशस्त्र प्रहरीका एक पुरुष हस्पिटलमा जाँच गराउन गएको खुल्न आएसँगै हस्पिटल बन्द गरिएको अस्पताल श्रोतले बताएको छ । उनी कोरोना परीक्षणको रिपोर्ट नआउँदै दिउँसो हस्पिटल गएका थिए ।
उनको दमक नगरपालिकाबाट स्वाब संकलन गरी बुधबार पीसीआर परीक्षणका लागि पठाइएको थियो । दमकबाट पठाइएका एक सय ७ जनामध्ये आज ४७ जनाको रिपोर्ट आएको थियो । जसमा उनको मात्र रिपोर्ट पोजेटिभ आएको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
हस्पिटलमा उनी दिउँसो जाँच गराउन गएको श्रोतले बतायो । उनी साथीसँग गएको र उनमा रुगा लागेको अबस्थामा अस्पताल गएको श्रोतले बतायो । श्रोतले भन्यो, उनी दिउँसो हस्पिटल आएका थिए । उनीसँगै अर्का साथी पनि आएका थिए । दुबै जनाले चेक जाँचका लागि पुर्जा लगेको र पछि हस्पिटलबाट फर्किएका थिए । हस्पिटलमा दिउँसो धेरै भिड रहेको पनि बुझिएको छ ।
हस्पिटलका कार्यकारी निर्देशक तेजराज घिमिरेले यो विषम परिस्थितिमा पनि जनतामा सेवा दिदैं आएको तर सुरक्षा निकायका सदस्यबाट नै लापर्वाही गर्नाले हस्पिटलले सेवा दिन नसक्ने बताउनु भयो । वहाँले भन्नु भयो, कन्ट्रयाक ट्रेसिङ्गको रिपोर्ट नआएसम्म सम्पूर्ण सेवा बन्द गरिएको छ ।
नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव भट्टराईले ३–४ दिनमा उनको सम्पर्कमा आएका र हस्पिटलका को–को सँग उनको भेट भएको थियो, तिनीहरुले को–को सँग भेट गरे तिनीहरु सबैको परीक्षण गरिने बताउनु भयो ।
स्वाब संकलन गरीएका व्यक्ति रिपोर्ट नआउँदैं खुल्लम खुला हिडेको पाइएसँगै त्रास बढेको छ । उनमा कोरोना पुष्टि भएको खबर पाएपछि हस्पिटलमा काम गर्नेहरुमा पनि त्रास बढेको छ । एक जनाले नाम नखुलाउने शर्तमा भने, जनतालाई सुरक्षा दिनेबाटै यत्रो गल्ति हुन्छ भने अन्य सर्वसाधारणले के गर्लान । उनको हेल्चेक्राइले अन्यमा पनि संक्रमण भएमा त्यसको जिम्मेबार को हुने ? दमकमा भयावह स्थिति आएमा त्यसको जिम्मेवारी कसले लिने । आजको यस घटनाले सुरक्षा निकायसँग पनि सचेत हुनुपर्ने देखिएको छ ।