Thursday, March 16, 2017

एनसेलको लाभकर उठ्न नसकेको बारे लेखा समितिले प्रधानमन्त्रीसँग छलफल गर्ने


व्यबस्थापिका संसदको सार्वजनिक लेखा समितिले दुरसञ्चार प्रदायक कम्पनी ऐनसेलको खरिद बिक्रिका क्रममा पुँजीगत लाभकर उठन नसकेकोबारे प्रधानमन्त्रीसँग छलफल गर्ने भएको छ । समितिको आज बसेको बैठकले लाभकर असुलीमा सरकार उदासिन भएको ठहर गर्दै प्रधानमन्त्रीलाई छलफलका लागी बोलाउने निर्णय गरेको हो ।
prachanda
सिंहदरवारमा बसेको लेखा समितिको बैठकमा समिति सदस्यले लाभकर असुल गर्न सरकारी निकायले प्रयास नगरेको भन्दै असन्तुष्टि जनाएका थिए । बैठकमा उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले मन्त्रिपरिषदले कम्पनीलाई कर मिनाहा गर्ने निर्णय नगरेको भन्दै बाहिर आएका कुरा भ्रम भएको दावी गर्नुभयो । प्रधानमन्त्री दाहालले प्रस्ताव गरेकाले मन्त्रिपरिषदमा छलफल भएको भन्दै अर्थमन्त्री महराले एनसेललाई कर मिनाहा नहुने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री कार्यलयमा एनसेल कर असुलिको विषयमा निवेदन परेकाले मन्त्रिपरिषदमा छलफल भएपनि कुनै निर्णय भने नभएको मन्त्री महराको भनाई थियो । समिति बैठकमा राजस्व सचिव राजन खनालले एक महिना भित्र लाभकर असुल्ने काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । समिति सदस्य रामहरि खतिवडाले एनसेल खरिद बिक्रि सम्झौताको विवरण समितिमा पेस गर्नुपर्ने माग गर्नुभयो ।

चैत्र ३, २०७३

बन्द हडतालको बिकल्प खोज्छौं : महतो


 चितवन/ सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अवको आन्दोलनमा बन्दहड्तालको बिकल्प खोजिने बताउनुभएको छ । चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग महतोले बिगतका आन्दोलनले जनताले निकै कष्ट भोग्नु परेकाले अव जनतालाई पिडा नहुने गरी आन्दोलका कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयो ।
rajendra mahato
मुलुकको अर्थतन्त्रमा असर नपुग्ने र बालबालिकाको पढाई अवरोध नहुने किसिमको आन्दोलनको रणनीति तयार गरिएको महतोको भनाई छ । उहाँले भन्नुभयो, आन्दोलनबाट हामी धेरै सचेत छौं । अवको आन्दोलनबाट सरकारलाई कसरी दवाव दिन सकिन्छ भन्नेमा छलफल हुँदैछ ।’ बिगतमा बन्द हडतालको पक्षमा रहने अध्यक्ष महतो बन्दहडतालको बिकल्पमा देखिनुभएको हो । परिमार्जन सहितको सविधान संशोधनमा सरकार चुकेको भन्दै उहाँले संसोधन नभएसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने र हुन पनि नदिने चेतावनी दिनुभएको छ ।
बिगतका त्रुटी नसच्याए सम्म मुलुक अगाडी बढ्न र कुनै पनि निर्वाचन हुन नसक्ने उहाँले बताउनुभयो । बिगतमा मधेशी मोर्चाको नेतृत्व तह राजधानी केन्द्रित रहेकाले अवको आन्दोलनमा सबै नेता तराई मधेशमै बसेर जनताको माझमा रहेर संघर्षमा साथ दिने उहाँले बताउनुभयो । तराई मधेशमा मोर्चाको निषेधको राजनिति गर्ने कुनै योजना नरहेको भन्दै महतोले भन्नुभयो ‘हामीले कुनै पनि दललाई निषेध गरेका छैनौ । एमाले मधेश बिरोधी भएकाले जनताले निषेध गरेको हो हामीले होइन ।’

चैत्र ३, २०७३

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि सुरु


यसवर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि सुरु भएको छ । परीक्षाको पहिलो दिन अहिले अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षामा कुल ५ लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी छन् । जसमध्ये नियमिततर्फ २ लाख ३५ हजार ३ सय २ छात्रा र २ लाख ३३ हजार ९८ छात्र छन् । 
see
परीक्षाका निम्ति देशभरि १ हजार ९ सय २३ केन्द्र, त्यत्ति नै संख्यामा केन्द्राध्यक्ष, २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४ सय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार ५ सय ९१ जनशक्ति खटाइएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका रेग्मीले बताउनुभयो । परीक्षामा अमर्यादित कार्य वा नियम उल्लंघन गरेमा कडा कारबाही गरिने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा अनुगमनका निम्ति मन्त्रालयले सहसचिवको नेतृत्वमा १८ वटा अनुगमन टोली खटाएको छ । क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लामा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिको अनुगमन टोली खटिएको जनाइएको छ । यसैबीच माध्यमिक शिक्षा परीक्षा अवधिभर देशरभर लोडसेडिङ नगर्ने भएको छ ।

विद्यार्थीको परीक्षालाई लक्षित गर्दै मुलुकभर लोडसेडिङ अन्त्य गरिएको प्राधिकरणले जनाएको छ । नदीहरुमा पानीको सतह बढेकाले लोडसेडिङ अन्त्य गर्न सकिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताउनुभयो । परीक्षा अवधिभर विद्युत खपत कम हुने सामाग्री प्रयोग गर्न प्राधिकरणले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

चैत्र ३, २०७३

विकास कानुन संहिताको मस्यौदा संसदमा दर्ता गर्न सरकारलाई विकास समितिको निर्देशन

व्यवस्थापिका संसदको विकास समितिले राष्ट्रिय गौरवका आयोजनालाई दु्रतमार्गबाट समयमै सम्पन्न गर्न आवश्यक पर्ने विकास कानुन संहिता मस्यौदा गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरवारमा आज बसेको समिति बैठकले राष्ट्रिय योजना आयोगसँगको छलफलपछि सरकारलाई यस्तो निर्देशन दिएको हो । समितिले कानुन संहिताको मस्यौदा एक महिनाभित्र संसदमा दर्ता गराई सक्न सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आयोगलाई समितिले निर्देशन दिएको हो ।
sambidhan-sabha
राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगतिप्रति असन्तुष्टि जनाउँदै समिति सदस्यहरुले यथाशिघ्र कार्यान्वयमा जोड दिएका थिए । समितिका सभापति रविन्द्र अधिकारीले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बिना नै आयोजनाहरु अघि बढाउँदा समस्या भइरहेको बताउनुभयो । 

समितिले योजना आयोगलाई योजना बैंक (प्रोजेक्ट बैंक) को रुपमा काम गर्न निर्देशन दिएको छ । स्थानीय तहको पुनसंरचना भइसकेको अवस्थामा अब बनाइने योजनाहरु संघीयता मैत्री हुनु पर्नेमा समिति बैठकले जोड दिएको छ । स्थानीय तहको संरचनामा भएको परिवर्तनले हालको परियोजना चक्रमा केही परिवर्तन गर्नु पर्ने देखिएकाले सो सम्बन्धमा स्पष्ट अवधारणा तयार गर्न समितिले आयोगलाई निर्देशन दिएको छ ।

योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले निर्वाचनलाई आधार मानेरै आगामी आर्थिक वर्षको बजेट जेठ १५ मा आएलगतै १६ गतेबाट स्वत अख्तियारी हुने र असोजभित्रमा सबै आयोजनाका टेन्डरहरु भइसक्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो । आयोगका सदस्य डा. स्वर्णीम वाग्लेले राष्ट्रिय गौरवका आयोजनाको निर्धारण र कार्यान्वयन सम्बन्धी प्रारम्भिक मस्यौदा तयार भएको जानकारी दिनुभयो ।

चैत्र २, २०७३

Wednesday, March 15, 2017

श्रीलंकाको खराब प्रदर्शन



उत्तम रिजाल,  बंगलादेश विरुद्धको दोस्रो टेष्टको पहिलो इनिङ्गमा श्रीलंकाले खराब प्रदर्शन गरेको छ । कोलम्बोमा टस जितेर ब्याटिङ्ग गरेको घरेलु टोलिले पहिलो दिनको खेल सकिंदा सम्म ८३.१ ओभर खेल्दै ७ विकेटको क्ष्यतिमा २ सय ३८ रन बनाएको छ । क्रिजमा दिनेश चण्डीमाल सर्बाधिक ८६ रनमा अविजित छन् ।


उनले २ सय १० बलको सामनामा ४ चौकाको सहायताले सो रन बनाएका हुन् । उनलाई कप्तान रंगना हेराथले ६३ बलमा २ चौकाको सहायताले १८ रनमा साथ दिइरहेका छन् । यसअघि ओपनर दिमुथ करुनारत्नेलाई पहिलो विकेट स्वरुप ७ रनमा गुमाएको श्रीलंकाले कुशल मेण्डिसलाई दोस्रो विकेट स्वरुप ५ रनमा गुमाएको थियो ।


त्यसपछि अर्का ओपनर उपल थारंगा ११ तथा गनारत्ने १३ रनमा आउट हुँदा धनन्जय डे शिल्भा र निरोशन डिकवेलले समान ३४ रनको योगदान दिए । त्यसपछि दिलरुवान परेराले ९ रनमा चित्त बुझाए । बलिङ्गतर्फ मुस्तफिजुर रहमान र मेहेदि हसनमिराजले २/२ तथा सुबाशिस रोय, तैजुल स्लाम र सकिब अल हसनले समान एक विकेट लिए ।


भोलि दोस्रो दिनको खेल शुरुहुँदा घरेलु टोलिले ७ विकेटको क्ष्यतिमा २ सय ३८ रनबाट खेल्न शुरु गर्नेछ ।


२ चैत्र,२०७३

Monday, March 13, 2017

दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी


उत्तम रिजाल,   आइसिसि वल्ड क्रिकेट लिग च्याम्पियनसिपको केन्या विरुद्धको दोस्रो खेलमा नेपाल विजयी भएको छ । नेपाल आज ७ विकेटले विजयी भएको हो । पहिलो खेलमा पराजय भोगेर दवावमा रहेको नेपालले आजको जितसँगै केहि आशा भने जगाएको छ । 

किर्तिपुर स्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ्ग गरेको पाहुना टोली केन्याले प्रस्तुत गरेको एक सय ५६ रनको लक्ष्य नेपालले खेल सकिन एक सय १८ बल अगावै पुरा गरेको थियो । नेपालका लागि कप्तान तथा ओपनर ज्ञानेन्द्र मल्लले सर्बाधिक अविजित ६४ तथा दिपेन्द्रसिंह ऐरीले ६२ रनको योगदान दिए । ९३ बलको सामना गरेका मल्लले ८ चौका र एक छक्का प्रहार गरे । उता सिनियर टोलीबाट दोस्रो अन्तराष्ट्रिय प्रतियोगिता खेलेका ऐरीले ६६ बलमा ८ चौका र एक छक्का प्रहार गरेका थिए । उनको अन्तराष्ट्रिय प्रतियोगिताको दोस्रो सर्वाधिक रन हो ।

 यस अघि गत बर्ष मात्र अन्डर नाइन्टिन एशिया कपको समुह चरणको खेलमा श्रीलंका विरुद्ध ९० रन बनाएका थिए । सो खेलमा उनी एलबीडब्लु धरापमा परेसँगै नेपाल एक रनले पराजित भएको थियो । त्यस्तै आज शरद भेष्वाकरले आफ्नो आक्रामक खेल देखाए । ११ बल मात्र खेलेका उनी ४ चौका र एक छक्का प्रहार गर्दै २४ रनमा अविजित रहे । उनले ३१ औं ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दा नेपालले एक सय ६० रन जोड्यो । अर्का ओपनर सुनिल धमला एक तथा सागर पुन ५ रनमा पेवेलियन फर्किए ।

 केन्याले एक वाइ,दुई लेगवाई र एक वाइड गरी चार रन अतिरिक्त दिएको थियो । यसअघि पहिले ब्याटिङ्ग गरेको केन्या ४६ दशमलव एक ओभरमा एक सय ५५ मा समेटिएको थियो । उसका लागि कोलिन्स ओमोन्दी ओवुयाले सर्बाधिक ४८ तथा ओपनर इर्फान करिमले ३८ र कप्तान राकेप पटेलले २१ रन जोड्न बाहेक अन्यले खासै प्रदर्शन गर्न सकेनन् । केन्यालाई सस्तैमा समेट्ने क्रममा अलराउण्डर शरद भेष्वाकरले ४, मेहबुब आलम र बसन्त रेग्मीले दुई/दुई तथा संदिप लामिछाने र सागर पुनले एक/एक विकेट लिएका थिए । जितसँगै नेपालको अघिल्लो चरण पुग्ने सम्भावना कायमै रहेको छ ।

३० फागुन,२०७३

Sunday, March 12, 2017

रङहरुको पर्व होली पहाडी जिल्लामा उत्साहका साथ मनाइयो

रङहरुको पर्व होली उपत्यका सहित पहाडी जिल्लामा आज आपसी सद्भाव, उत्साह र हर्सोल्लासका साथ मनाइएको छ । असत्यमाथि सत्यको जितको प्रतिकका रुपमा यो पर्ब मनाउने गरिन्छ । राजधानीका विभिन्न स्थानमा सामुहिक कार्यक्रम आयोजना गरेर होली खेलिएको छ । 

पहाडी जिल्लामा आज मनाइएको होली तराईमा भने भोली मनाइदैछ । सरकारले पहाडी जिल्लामा आज र तराई मधेसमा भोली सार्वजनिक बिदा दिएको छ । होलीका क्रममा अहिलेसम्म कुनै अपृय घटना नभएको प्रहरीले जनाएको छ । 

काठमाण्डौको बसन्तपुरमा एक साता अघि विधिपूर्वक चिर ठड्याएपछि होली पर्व शुरुवात भएको थियो । असत्यमाथि सत्यको जीतको सुचकका रुपमा ठड्याइएको चीरलाई आज टुँडीखेलमा विर्सजन गर्ने चलन छ । 

यसैबीच होलीको अवसरमा शुभकामना दिंदै राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीमा खुसीका रङहरु छर्दै हर्षोल्लास र शान्तिको सन्देश फैलाउन सकोस् भन्ने कामना गर्नुभएको छ । होलीले नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्दै सबै संस्कृति एवम् परम्पराको संरक्षण र संवद्र्धन गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि राष्ट्रपतिले गर्नुभएको छ ।
२९ फागुन,२०७३

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...