उत्तम रिजाल, अल्ट्रा म्याराथुन धाविका मिरा राई र उनका प्रशिक्षक धर्म विक्रम मल्ल लाई आज सम्मान गरिदैं छ । उनीहरुलाई झापाको दमकमा नगद सहित सम्मान गर्न लागिएको हो । मिरालाई नगद २८ लाख तथा प्रशिक्षक मल्ललाई २ लाख सहित सम्मान गरिने छ। सरकार र नेताले उनको साहासिक यात्रा बुझ्न नसेके पनि झापा दमकका ब्रिटिस आर्मीका खुकुरी प्रशिक्षक राष्ट्र राईले उनलाई सम्मान गर्न लागेका हुन् । उनले अयोग्य भनि फालिएको तथा कम्जोर आर्थिक अबस्था भएको व्यक्तीले राष्ट्रको नाम विश्व सामु चिनाउँदा पनि त्यसको मुल्यांकन गर्न नसकेकाले उनी जस्ता राष्ट्रको नाम रोशन गर्नेका लागि केहि गर्नुपर्छ भन्ने भएर नै सम्मान गर्न लागिएको बताए ।

उनले मिरालाई राष्ट्रले नचिने पनि आँफुहरुले चिनेको बताए । खुकुरी प्रशिक्षक राईले ब्रिटेनमै उनले स्थापना गरेको शगरमाथा ताइकन्दो डोजाङ्ग युकेको पहलमा अन्य चार सहयोगी संस्थाकोे सहयोगमा उक्त रकम दिन लागेका हुन्। उनलाई किराँत राई यायोख्खा, जेन मार्शल आर्ट एकेडेमी, भोजपुर समाज र नेपाल युके युथले सहयोग गरेको राईले बताए । खुकुरी प्रशिक्षक राईले मिरालाई खाडी मुलुक जान रोकेका गुरु धर्म विक्रम मल्ललाई पनि सम्मान गर्नुले राष्ट्रका लागि केहि योगदान दिन खोज्नेहरुलाई प्रेरणा मिल्ने बताए।

बाह्र बर्षको कलिलै उमेरमा माओवादी सशस्त्र द्धोन्द्धमा बन्दुक बोकाइएकी उनी माओवादी शान्ति प्रक्रियामा आएसँगै अयोग्य लडाकुमा परिणत भएकी थिइन् । माओवादी सत्ता प्राप्तीमा लागिरहदा योग्य भएकी उनी त्यतिबेला अयोग्य भइन जतिबेला माओवादी अध्यक्ष प्रधानमन्त्री हुने निश्चित थियो । त्यही पदको आशामा बसेका प्रचण्ड लगायतका माओवादी नेताहरुले अनमीनले लडाकु प्रमाणीकरण गर्दा उनीसँगै सयौं लडाकु अयोग्यको बिल्ला भिर्न बाध्य भए । त्यस पश्चात खिन्न मन भएपछि खाडी मुलुक जाने सोचका साथ तयारी गरेकी उनी धर्म विक्रम मल्ल नामका एक गुरुबाट रोकिइन र दौडतर्फ लागिन् । जसको फलस्वरुप उनी अल्ट्रा म्याराथुन धाविका बनिन् र आँफू अयोग्य नभएको मात्र होईन् नेताको सत्ता र कुर्सी मोहका कारण अयोग्य बनाइएको प्रमाणित गर्न सफल भइन् ।

प्रमाणिकरणमा अयोग्य भनिएपनि हरेश नखाई निरन्तरको मेहेनतले नेपाल र नेपालीको नाम विश्व सामु चिनाउन सकेको भन्दै उनको साहासिक कामको अहिले सर्बत्र चर्चा छ । सम्मान कार्यक्रम दमक रेडक्रस भवनमा गरि सम्मान गरिने शरगमाथा मल्टि मार्शल आर्टका अध्यक्ष तथा प्रशिक्षक दिपक धिमालले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको पनि उनले जानकारी दिए ।
२१ पुस, २०७३